बुधबार, अप्रिल १५
आपसमा प्रेम गर।—युह. १५:१२.
यहोवाका जनहरू एकअर्कालाई मदत गर्न चाहन्छन्। (२ कोरि. ८:४) तर कहिलेकाहीँ त्यसो गर्न साहस चाहिन्छ। जस्तै: युद्ध हुँदा भाइबहिनीलाई प्रोत्साहन, साथ, आध्यात्मिक भोजन र भौतिक कुराहरूको खाँचो पर्छ भनेर एल्डरहरूलाई थाह छ। भाइबहिनीप्रतिको प्रेमले गर्दा एल्डरहरू आफ्नै ज्यानलाई जोखिममा हालेर समेत तिनीहरूलाई मदत गर्छन्। त्यस्ता अवस्थाहरूमा आफूखुसी गर्नुको साटो हामी एकताबद्ध हुनुपर्छ। त्यसको लागि स्थानीय तवरमा सङ्गठनबाट आएको निर्देशन पालन गर्नुपर्छ। (हिब्रू १३:१७) कुनै विपद्को लागि कसरी तयार रहने र विपद् आइहाल्यो भने के गर्ने भन्नेबारे दिइएका निर्देशनहरू एल्डरहरूले बेलाबेलामा पढ्नुपर्छ र आवश्यक कदम चाल्नुपर्छ। (१ कोरि. १४:३३, ४०) साहसी मात्र होइन चनाखो पनि हुनुहोस्। (हितो. २२:३) अनावश्यक जोखिम नमोल्नुहोस्। कुनै कदम चाल्नुअघि सोच्नुहोस्। यहोवामा भर पर्नुहोस्। यहोवा तपाईँ अनि अरू भाइबहिनी सुरक्षित भएको चाहनुहुन्छ। तपाईँले भाइबहिनीलाई मदत गर्दा यहोवाले तपाईँलाई सुरक्षा दिनुहुनेछ। w२४.०७ पृ. ४ अनु. ८; पृ. ५ अनु. ११
बिहीबार, अप्रिल १६
‘आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ, मेरो गुहार उहाँको कानसम्मै पुग्यो।’—भज. १८:६.
दाउदले यहोवालाई राम्ररी चिनेका थिए। त्यसैले तिनी उहाँमा भर परे। राजा साउलले मार्न खोज्दा अनि अरू शत्रुहरूले खेदो गर्दा दाउदले यहोवालाई गुहारे। यहोवाले तिनको प्रार्थना सुन्नुभयो र तिनलाई छुटकारा दिनुभयो। त्यसपछि दाउदले यसो भने: “यहोवा जीवित हुनुहुन्छ!” (भज. १८:४६) त्यतिबेला दाउदले यहोवा साँच्चैको व्यक्ति हुनुहुन्छ मात्र त भनिरहेका थिएनन्। बरु एउटा किताबले बताएअनुसार तिनले “यहोवा आफ्ना जनहरूलाई मदत गर्न निरन्तर कदम चाल्नुहुने जीवित परमेश्वर हुनुहुन्छ” भन्ने कुरामाथिको आफ्नो भरोसा व्यक्त गर्दै थिए। हो, यहोवा वास्तविक हुनुहुन्छ र मदत गर्न सधैँ तयार हुनुहुन्छ भन्ने कुरा दाउद आफैले अनुभव गरेका थिए। त्यस कुरामाथिको बलियो विश्वासले दाउदलाई यहोवाको सेवामा अझ जोडतोडले लाग्न र उहाँको प्रशंसा गर्न उत्प्रेरित गऱ्यो। (भज. १८:२८, २९, ४९) यहोवा जीवित परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भयौँ भने हामी पनि उहाँको सेवामा जोडतोडले लाग्न सक्नेछौँ र जस्तोसुकै समस्याको सामना गर्न बल पाउनेछौँ। साथै यहोवासित नजिक भइरहने हाम्रो सङ्कल्प बलियो हुनेछ। w२४.०६ पृ. २०-२१ अनु. ३-४
शुक्रबार, अप्रिल १७
कसैले तिमीहरूलाई कुनै तरिकामा बहकाउन नपाओस्।—२ थिस्स. २:३.
प्रेषित पावलले थिस्सलोनिकीहरूलाई दिएको सल्लाहबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले बाइबलसित मेल नखाने वा सनसनीपूर्ण हल्ला सुन्दा पत्याइहाल्नुको सट्टा आफ्नो सुझबुझ चलाउनुपर्छ। भूतपूर्व सोभियत सङ्घमा हाम्रा शत्रुहरूले भाइहरूलाई एउटा पत्र पठाए। त्यो पत्र मुख्यालयबाटै पठाइएको जस्तो देखिन्थ्यो। त्यस पत्रमा केही भाइहरूलाई छुट्टै सङ्गठन बनाउन प्रोत्साहन दिइएको थियो। झट्ट हेर्दा त्यो पत्र मुख्यालयबाटै आएको जस्तो देखिन्थ्यो तर हाम्रा वफादार भाइहरू बहकिएनन्। तिनीहरूले त्यसमा लेखिएका कुराहरू आफूले सिकेको कुराहरूसित मेल खाँदैन भनेर चाल पाइहाले। आज पनि सत्यका शत्रुहरूले कहिलेकाहीँ हामीमा शङ्का उब्जाउन र फुट गराउन आधुनिक प्रविधिको प्रयोग गर्छन्। तर हामीले ‘झट्टै आफ्नो सुद्धीबुद्धि गुमाइहाल्नु हुँदैन।’ बरु हामीले सुनेको वा पढेको कुरा बाइबल सत्यसित मेल खान्छ कि खाँदैन भनेर जाँच्नुपर्छ। यसो गऱ्यौँ भने हामी बहकिनेछैनौँ।—२ थिस्स. २:२; १ युह. ४:१. w२४.०७ पृ. १२ अनु. १४-१५