प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जुलाई पृ. १४-१९
  • के तपाईँ यहोवालाई अझ राम्ररी चिन्‍न कोसिस गर्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ यहोवालाई अझ राम्ररी चिन्‍न कोसिस गर्दै हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई चिन्‍नु भनेको के हो?
  • हामीले किन यहोवालाई अझ राम्ररी चिन्‍न कोसिस गरिरहनुपर्छ?
  • हामी कसरी यहोवालाई अझ राम्ररी चिन्‍न सक्छौँ?
  • हामी यहोवाबारे सिकिरहनेछौँ
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “कसको उपासना गर्न चाहन्छौ, आजै रोज”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जुलाई पृ. १४-१९

सेप्टेम्बर २१-२७, २०२६

गीत १२ महान्‌ परमेश्‍वर यहोवा

के तपाईँ यहोवालाई अझ राम्ररी चिन्‍न कोसिस गर्दै हुनुहुन्छ?

“तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।”—१ इति. २८:९.

सिक्न सकिने कुरा

यहोवालाई चिन्‍नु भनेको के हो, हामीले किन उहाँलाई अझ राम्ररी चिन्‍नुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ?

१. यहोवाबारे सोच्दा हामी कस्तो महसुस गर्छौँ?

हाम्रा परमेश्‍वर यहोवालाई सबै कुरा थाह छ। उहाँ सबैभन्दा बुद्धिमान्‌ हुनुहुन्छ र उहाँले थुप्रै अचम्मलाग्दा कामहरू गर्नुभएको छ। यी कुराहरू विचार गर्दा यहोवाको तुलनामा हामी कत्ति नगण्य छौँ भनेर महसुस गर्छौँ। तपाईँ प्रेषित पावलका यी शब्दहरूमा पक्कै सहमत हुनुहुन्छ: “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका फैसलाहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌!” —रोमी ११:३३, ३४.

२. यहोवालाई चिन्‍न सम्भव छ भनेर हामी किन भन्‍न सक्छौँ?

२ हुनत यहोवाबारे सबै कुरा थाह पाउन असम्भव छ। तर यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर केही हदसम्म भने थाह पाउन सक्छौँ। राजा दाउदले छोरा सुलेमानलाई यसो भने: “तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर। . . . तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।” (१ इति. २८:९) यसको सयौँ वर्षपछि प्रेषित युहन्‍नाले ख्रिष्टियनहरूलाई यो कुरा सम्झाए: “[येसुले] हामीलाई अन्तर्दृष्टि दिनुभएको छ ताकि हामीले साँचो परमेश्‍वरको ज्ञान हासिल गरौँ।” (१ युह. ५:२०) येसु आफैले पनि यसो भन्‍नुभएको थियो: ‘बुबालाई ती मानिसहरूले मात्र राम्ररी चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।’—मत्ति ११:२७.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ हामीमध्ये थुप्रैले यहोवालाई आफ्नो जीवन समर्पण गरिसकेका छौँ र उहाँबारे थुप्रै कुरा सिकिसकेका छौँ। तैपनि हामी उहाँलाई अझ राम्ररी ‘चिन्‍न’ कोसिस गरिरहन्छौँ। (युह. १७:३) यहोवालाई कसरी खुसी बनाउने अनि उहाँमाथिको भरोसालाई कसरी अझ बलियो बनाउने भनेर हामीले सिकिरहनुपर्छ। हामीले यहोवाको सेवा गर्न थालेको जति नै लामो समय भए तापनि यी तीन वटा प्रश्‍नहरूबारे विचार गर्नु महत्त्वपूर्ण छ: यहोवालाई चिन्‍नु भनेको के हो? हामीले किन उहाँलाई अझ राम्ररी चिन्‍न कोसिस गरिरहनुपर्छ? हामी कसरी उहाँलाई अझ राम्ररी चिन्‍न सक्छौँ? यस लेखमा हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ।

यहोवालाई चिन्‍नु भनेको के हो?

४. यहोवालाई चिन्‍नुमा के समावेश छ?

४ यहोवालाई चिन्‍नुमा के समावेश छ? उहाँले बेबिलोनको निर्वासनबाट फर्कने यहुदीहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: ‘तिमीहरूलाई म यहोवा हुँ भनेर चिन्‍न सक्ने हृदय दिनेछु।’ (यर्मि. २४:७) हुनत ती यहुदीहरूलाई यहोवाबारे थुप्रै कुरा थाह थियो। तर बेबिलोनको निर्वासनबाट फर्किएपछि तिनीहरूले यहोवालाई अझ राम्ररी चिन्‍न र उहाँसित घनिष्ठ हुन प्रयास गर्नुपर्ने थियो। यस विषयमा एक बाइबलविद्‌ले यसो भने, “प्रेम-कहानी पढ्‌नु र कसैलाई प्रेम गर्नुबीच जति ठूलो भिन्‍नता छ, परमेश्‍वरबारे थाह पाउनु र उहाँलाई चिन्‍नुबीच पनि त्यति नै ठूलो भिन्‍नता छ।” त्यसैले यहोवालाई चिन्‍नुमा उहाँको नाम थाह पाउनु र उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्नु मात्र पर्याप्त छैन। बरु उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्नु पनि समावेश छ।

५. यहोवालाई चिन्‍ने सन्दर्भमा राजा योसियाहबाट के सिक्न सक्छौँ?

५ यहोवालाई चिन्दै जाँदा उहाँलाई खुसी बनाउने र दु:खी बनाउने कुराहरूबारे थाह पाउछौँ। यसको एउटा राम्रो उदाहरण राजा योसियाह हुन्‌। तिनीबारे बाइबल यसो भन्छ: “तिनले आफ्नो शासनकालको आठौँ वर्षमा—जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्‍वरको खोजी गर्न थाले।” (२ इति. ३४:३) हो, तिनले परमेश्‍वरको वचन अध्ययन गरे। त्यति मात्र होइन, तिनले त्यसअनुसार कदम पनि चाले। यहोवाले यर्मियामार्फत योसियाहबारे यसो भन्‍नुभयो: “तिनले न्यायोचित र असल काम गर्न छोडेनन्‌। मारमा परेकाहरू र गरिबहरूले आफ्नो मामिला पेस गर्दा तिनले उनीहरूको पक्षमा बोले।” त्यसपछि यहोवाले यसो पनि भन्‍नुभयो: “के परमेश्‍वरलाई चिन्‍ने मानिसले त्यसै गर्नुपर्ने होइन र?”—यर्मि. २२:१५, १६.

६. यहोवालाई अझ राम्ररी चिन्दै जाँदा के हुन्छ? (भज. ९:१०)

६ भजन ९:१० पढ्‌नुहोस्‌। हामी यहोवालाई जति राम्ररी चिन्दै जान्छौँ, उहाँप्रतिको हाम्रो भरोसा पनि त्यति नै बढ्‌दै जानेछ। प्रेषित पावलको सन्दर्भमा पनि त्यस्तै भयो। तिनलाई मृत्युदण्ड दिइनुभन्दा केही समयअघि झ्यालखानामै छँदा तिनले यस्तो लेखे: “मैले सरम मानेको छैनँ। किनकि मैले कसलाई विश्‍वास गरेको हुँ, त्यो मलाई थाह छ।” (२ तिमो. १:१२) पावलले आफ्नो जीवनकालमा यहोवाबारे थुप्रै कुरा सिके र विभिन्‍न तरिकामा यहोवाको मदत महसुस गरे। त्यसले गर्दा यहोवामाथिको तिनको भरोसा अझ बलियो भयो। यहोवाले तिनी र तिनको वफादार सेवालाई बिर्सनुहुनेछैन अनि तिनलाई फेरि जीवित पार्नुहुनेछ भन्‍ने कुरामा पावल ढुक्क थिए।

हामीले किन यहोवालाई अझ राम्ररी चिन्‍न कोसिस गरिरहनुपर्छ?

७. वर्षहरू बित्दै जाँदा के हुन सक्छ?

७ हामीले सुरु-सुरुमा यहोवाबारे सक्दो धेरै कुरा सिक्न प्रयास गऱ्‍यौँ होला। तर वर्षहरू बित्दै जाँदा यहोवाबारे सिक्न पहिला जतिको प्रयास गर्न छोड्‌न सक्छौँ। त्यस्तो हुनुको कारण के हो? बाइबल पढ्‌दा वा सभाहरूमा बाइबलका कुराहरू सुन्दा ती आफ्नो जीवनमा वा अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सकिन्छ भन्‍ने कुरातर्फ हाम्रो ध्यान जान सक्छ। हुनत बाइबलमा हामीलाई त्यसो गर्न प्रोत्साहन दिइएको छ। (२ तिमो. ३:१६, १७) तर बाइबल पढ्‌दा हामीले विचार गर्नुपर्ने अझ महत्त्वपूर्ण कुरा छ। (भज. २५:८-१०) हामीले आफूलाई सधैँ यो प्रश्‍न सोध्नुपर्छ: ‘यसबाट म यहोवा परमेश्‍वरबारे के सिक्न सक्छु?’a

८. यहोवाबारे सिक्दै जाँदा उहाँसितको हाम्रो मित्रता कस्तो हुन्छ? (भजन ७३:२४-२८)

८ हामी यहोवालाई जति राम्ररी चिन्दै जान्छौँ, उहाँसितको हाम्रो मित्रता त्यति नै बलियो हुँदै जान्छ। जस्तै: दिनहुँ बाइबल पढेपछि, JW ब्रोडकास्टिङ हेरेपछि अथवा सम्मेलन वा अधिवेशनमा उपस्थित भएपछि तपाईँ कस्तो महसुस गर्नुहुन्छ? पक्कै पनि यहोवासित अझ नजिक महसुस गर्नुहुन्छ। किन? किनकि ती कुराहरूले हामीलाई यहोवाबारे अझ धेरै कुरा सिक्न मदत गर्छ। अनि हामी उहाँको प्रशंसा गर्न र उहाँलाई धन्यवाद दिन उत्प्रेरित हुन्छौँ। हामी पनि भजनरचयिताले जस्तै महसुस गर्छौँ। यहोवाले आफ्नो ख्याल राख्नुभएको कुरामा मनन गरेपछि तिनी यसो भन्‍न उत्प्रेरित भए: “परमेश्‍वर मेरो मनको चट्टान हुनुहुन्छ र सदाको लागि मेरो अंश हुनुहुन्छ।” (भजन ७३:२४-२८ पढ्‌नुहोस्‌।) हामी यहोवालाई अझ राम्ररी चिन्‍न जति धेरै प्रयास गर्छौँ, उहाँसित गाँसेको अमूल्य मित्रताप्रतिको हाम्रो कदर त्यति नै बढ्‌छ।

९. हामीले यहोवालाई ‘सम्झियौँ’ भने कस्ता निर्णयहरू गर्न सक्नेछौँ? उदाहरण दिनुहोस्‌।

९ बाइबलमा यहोवालाई “सम्झ” भनिएको छ। यसको मतलब हामीले यहोवाबारे सिकेका कुराहरूमा मनन गर्नुपर्छ अनि हाम्रो काम देख्दा उहाँ कस्तो महसुस गर्नुहुन्छ भनेर विचार गर्नुपर्छ। यसो गऱ्‍यौँ भने यहोवालाई खुसी तुल्याउने निर्णयहरू गर्न सक्नेछौँ। (हितो. ३:५, ६) यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। थुप्रै भाइबहिनीले अफिसमा, पर्समा वा फोनमा आफ्नो जीवनसाथीको फोटो राख्छन्‌। यसले तिनीहरूलाई आफ्नो जीवनसाथीलाई सम्झिरहन मदत गर्छ। साथै तिनलाई मन पर्ने कुराहरू गर्न अनि चित्त दुखाउने कुराहरू नगर्न पनि मदत गर्छ। त्यसैगरि हामी यहोवालाई जति धेरै सम्झन्छौँ, उहाँलाई खुसी तुल्याउने निर्णयहरू गर्न त्यति नै उत्प्रेरित हुनेछौँ।—भज. १९:१३, १४.

१०. यहोवाबारे जति धेरै सिक्छौँ, त्यति नै हामीले के गर्न सक्नेछौँ?

१० हामी परमेश्‍वरकै स्वरूपमा बनिएका छौँ। त्यसैले हामी पनि उहाँका गुणहरू झल्काउन सक्छौँ। (उत्प. १:२६) हामी यहोवाका गुणहरूबारे जति धेरै सिक्दै जान्छौँ, उहाँका गुणहरू त्यति नै राम्ररी अनुकरण गर्न सक्नेछौँ। येसुको समयका सदुकी अनि फरिसीहरूले यहोवाका गुणहरू आफ्नो जीवनमा झल्काएनन्‌। तिनीहरू व्यवस्थाका ससाना कुराहरूमा नाटीकुटी गर्थे। तर ‘न्याय, कृपा र वफादारी जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता गर्थे।’ (मत्ति २३:२३) हामी ती धर्मगुरूहरूजस्तो हुनु हुँदैन। बरु यहोवाले दिनुभएका नियम र सिद्धान्तहरूमा उहाँका गुणहरू कसरी झल्किन्छ भनेर बुझ्न प्रयास गर्नुपर्छ। त्यसो गऱ्‍यौँ भने हामीले पनि ती गुणहरू अनुकरण गर्न सक्नेछौँ।—१ युह. ४:८, ११.

हामी कसरी यहोवालाई अझ राम्ररी चिन्‍न सक्छौँ?

११. तपाईँले यहोवालाई कसरी चिन्‍नुभयो?

११ तपाईँले यहोवाबारे कोबाट सिक्नुभयो? सायद तपाईँ सत्यमै हुर्कनुभयो होला। त्यसो हो भने आमाबुबाले तपाईँलाई बाइबलका विवरणहरूबाट यहोवाका गुणहरूबारे सिकाउनुभएको हुन सक्छ। अथवा सृष्टिका कुराहरूमा यहोवाको व्यक्‍तित्व कसरी झल्किन्छ भनेर बुझाउनुभयो होला। यदि तपाईँ सत्यमै हुर्कनुभएको होइन भने पनि सायद कुनै एक जना यहोवाको साक्षीसित बाइबल अध्ययन गर्नुभयो। तपाईँले कुनै एउटा किताबबाट अध्ययन गर्नुभयो होला। जस्तै: सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! तपाईँको अध्ययन सञ्चालकले तपाईँलाई बाइबल विवरणहरूबाट अनि सृष्टिका कुराहरूबाट यहोवाका गुणहरूबारे बुझ्न मदत गरे होलान्‌। तर यहोवाबारे सिक्ने काम कहिल्यै सकिँदैन।b (नहे. ८:८; प्रेषि. १४:१७) हामी कसरी उहाँबारे सिकिरहन सक्छौँ? अब छलफल गरौँ।

१२-१३. बाइबल पढ्‌दा हामी यहोवाबारे के सिक्न सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌। (यर्मिया ३९:१५-१८) (आवरण चित्र पनि हेर्नुहोस्‌।)

१२ पहिलो, बाइबल पढ्‌दा र अध्ययन गर्दा हामी यहोवाबारे अझ धेरै सिक्न सक्छौँ। बाइबलका कुनै-कुनै विवरणहरूमा यहोवाका गुणहरूबारे तोकेरै बताइएको छ। (प्रस्थ. ३४:६, ७) तर धेरैजसो विवरणहरूचाहिँ मानिसहरू र तिनीहरूले गरेका निर्णयहरूबारे छ। त्यस्ता विवरणहरू पढ्‌दा यहोवाबारे के सिक्न सक्छु भनेर सोच्नुपर्छ।

१३ एउटा उदाहरण विचार गरौँ। यर्मिया ३८:६-१३ मा इथियोपियाली एबेद-मेलेकबारे बताइएको छ, जसले भविष्यवक्‍ता यर्मियालाई बचाएका थिए। त्यो विवरण पढ्‌दा एबेद-मेलेकले देखाएको आत्मत्यागी मनोभाव, साहस र प्रेमजस्ता गुणहरू कसरी अनुकरण गर्न सकिन्छ भनेर सजिलै पत्ता लगाउन सक्नुभयो होला। तर के तपाईँले यो विवरणमा यहोवाका गुणहरू पनि भेट्टाउनुभयो? (यर्मिया ३९:१५-१८ पढ्‌नुहोस्‌।) जस्तै: यहोवा न्यायी र निष्पक्ष हुनुहुन्छ अनि उहाँको खातिर गरेको कामको मोल गर्नुहुन्छ भनेर तपाईँले कुन पदहरूबाट थाह पाउनुभयो? यस विवरणबाट यहोवाको व्यक्‍तित्वका अरू कस्ता पक्षहरूबारे सिक्नुभयो? बाइबलको कुनै विवरण पढ्‌दा त्यसमा यहोवाका कस्ता गुणहरू झल्किन्छन्‌ भनेर पत्ता लगाउने कोसिस गर्नुहोस्‌। अनि त्यस्ता सुन्दर गुणहरू देखाउनुभएकोमा यहोवालाई धन्यवाद दिनुहोस्‌ र उहाँको प्रशंसा गर्नुहोस्‌।

एबेद-मेलेक र केही मानिसहरू यर्मियालाई इनारबाट बाहिर निकाल्न डोरीले तान्दै छन्‌। हतियार भिरेका केही पुरुषहरू चनाखो भई छेवैमा उभिरहेका छन्‌।

एबेद-मेलेक यर्मियालाई इनारबाट निकाल्न साहस देखाउँछन्‌ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)


१४. हामीले किन सृष्टिका कुराहरूमा गहिरिएर मनन गर्नुपर्छ?

१४ दोस्रो, यहोवाले सृष्टि गर्नुभएका कुराहरूबारे मनन गरेर हामी उहाँबारे सिक्न सक्छौँ। (भज. १४५:९, १०) यहोवाबारे सिक्न सृष्टिका कुराहरू हेर्नु मात्र पर्याप्त छैन। कसै-कसैले प्रकृतिका कुराहरू अध्ययन गर्नमै आफ्नो पूरै जीवन बिताउँछन्‌। तर तिनीहरूले प्रकृतिमा झल्किने परमेश्‍वरका गुणहरूलाई बेवास्ता गर्छन्‌ र ती सबै कुरा बनाउने कोही हुनुहुन्छ भन्‍ने कुरा पनि स्विकार्दैनन्‌। प्रेषित पावलले यस्तो लेखे: ‘उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरू उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिन्छ।’ (रोमी १:२०) एउटा बाइबल अनुवादमा यो पदलाई यसरी अनुवाद गरिएको छ: ‘राम्ररी सोचविचार गर्ने व्यक्‍तिले परमेश्‍वरका अदृश्‍य गुणहरू देख्न सक्छन्‌।’ त्यसैले सृष्टिमा झल्किने यहोवाका गुणहरू पत्ता लगाउन हामीले सृष्टिका कुराहरूमा गहिरिएर मनन गर्नुपर्छ।

१५. यहोवालाई अझ राम्ररी चिन्‍न प्याट्रिकले के गरे र तपाईँ पनि के गर्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१५ हामीमध्ये धेरैजसो सहरी इलाकामा बस्छौँ। त्यसैले प्रकृतिका कुराहरू हेर्ने त्यति मौका हुँदैन। तैपनि वरपर भएका प्रकृतिका कुराहरूलाई राम्ररी नियाल्यौँ भने हामी यहोवाबारे केही न केही सिक्न सक्छौँ। प्याट्रिक भाइलाई विचार गरौँ। तिनी कङ्‌गो गणतन्त्रको ब्राजाभिल भन्‍ने ठूलो सहरमा बस्छन्‌। तिनी भन्छन्‌, “म आफ्नो घरको बार्दलीबाट सृष्टिका कुराहरू नियाल्ने कोसिस गर्छु। अनि ससाना चरा र किरा-फट्याङ्‌ग्राले खानेकुरा वा बस्ने ठाउँ खोज्न निकै मेहनत गरिरहेको देख्छु। एकचोटि मैले चराहरूले गुँड बनाइरहेको देखेँ। तिनीहरूले वरपर भएका कुराहरू खोजेर ल्याएको र त्यसबाट बचेराहरूलाई पनि उपयुक्‍त हुने खालको गुँड बनाएको याद गरेँ।” त्यसरी हेर्दै गर्दा प्याट्रिकले सृष्टिकर्ताबारे पनि गहिरिएर सोचे। तिनी भन्छन्‌, “यहोवा ससाना चरा वा किरा-फट्याङ्‌ग्राको समेत ख्याल राख्नुहुन्छ भनेर बुझ्न सकेँ। यसबाट यहोवा मेरो पनि ख्याल राख्नुहुन्छ र मेरो आवश्‍यकता सधैँ पूरा गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सकेँ।”

ठूलो सहरमा बस्ने एउटी बहिनी बार्दलीमा भएका बिरुवाहरूमा पानी हाल्दै छिन्‌ र फूलको वरिपरि घुमिरहेको चरालाई दङ्‌ग परेर हेरिरहेकी छिन्‌।

सृष्टिका कुराहरूमा मनन गरेर यहोवालाई अझ राम्ररी चिन्‍न कोसिस गर्नुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. मरियमले यहोवालाई कसरी अझ राम्ररी चिन्‍न सकिन्‌ र हामी तिनको कसरी अनुकरण गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१६ तेस्रो, यहोवाले विगतमा आफूलाई कसरी मदत गर्नुभएको थियो, त्यसबारे मनन गरेर उहाँबारे सिक्न सक्छौँ। येसुकी आमा मरियमले पनि त्यसै गरिन्‌। तिनले यहोवालाई राम्ररी चिनेकी थिइन्‌ र उहाँको “निगाह पाएकी” थिइन्‌। (लुका १:३०) पछि तिनले यहोवाबाट एउटा गहन जिम्मेवारी पाइन्‌। त्यो हो, परमेश्‍वरको छोरालाई जन्म दिने। यहोवाले मरियमलाई बल र हौसला दिन गब्रिएल स्वर्गदूत र तिनकी आफन्त इलिसिबालाई चलाउनुभयो। पछि तिनले गब्रिएल स्वर्गदूत र इलिसिबाले भनेका कुराहरूबारे सोचिन्‌। अनि त्यसबाट यहोवाबारे के सिक्न सक्छु भनेर गहिरिएर मनन गरिन्‌। यहोवा शक्‍तिशाली, कृपालु र निष्पक्ष हुनुहुन्छ अनि तुच्छजस्तो देखिने व्यक्‍तिहरूमा पनि चासो राख्नुहुन्छ भनेर मरियम अझ विश्‍वस्त हुन सकिन्‌। (लुका १:४६-५५) मरियम यहोवाले दिनुभएको मदतप्रति कृतज्ञ भइन्‌। यहोवाले “चाहिएकै बेला” मदत दिनुहुँदा हामी पनि कृतज्ञ हुनुपर्छ। (हिब्रू ४:१६) यहोवाबाट मदत पाउँदा आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘यसबाट मैले यहोवाबारे के सिक्न सकेँ? मैले यहोवाका कस्ता गुणहरू देख्न सकेँ?’

चित्रहरूको सँगालो: एक भाइ विगतमा यहोवाले आफूलाई मदत गर्नुभएको कुराबारे मनन गर्दै छन्‌। १. मण्डलीमा भाषण दिने असाइनमेन्ट पाउँदा असाध्यै चिन्ता लागेकोले तिनले यहोवालाई प्रार्थना गरेका थिए। २. पछि तिनले राम्ररी भाषण दिन सके।

यहोवाले विगतमा आफूलाई कसरी मदत गर्नुभएको थियो, त्यसबारे मनन गरेर उहाँलाई अझ राम्ररी चिन्‍नुहोस्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)c


हामी यहोवाबारे सिकिरहनेछौँ

१७-१८. यहोवाबारे सिक्ने काम कहिल्यै सकिनेछैन भनेर हामी किन भन्‍न सक्छौँ?

१७ नयाँ संसारमा हामी यहोवाबारे अझ कत्ति धेरै कुराहरू सिक्नेछौँ, सोच्नुहोस्‌ त। त्यतिबेला यहोवाले हामीलाई नयाँ पुस्तकहरू दिनुहुनेछ र उहाँ हामीबाट के चाहनुहुन्छ भनेर त्यसबाट थाह पाउनेछौँ। (प्रका. २०:१२) यहोवाले बनाउनुभएका जीवजन्तुको अझ नजिक जान सक्नेछौँ। (यसै. ११:६-९) साथै हामीले पहिला कहिल्यै अनुभव नगरेका कुराहरू अनुभव गर्नेछौँ। जस्तै, आफ्ना प्रियजनहरू पुनर्जीवित भएको देख्न पाउनेछौँ अनि हामी आफै पनि त्रुटिरहित हुँदै जानेछौँ। यस्ता नयाँ कुराहरू अनुभव गर्दा हामी यहोवालाई अझ राम्ररी चिन्‍न सक्नेछौँ।

१८ यहोवाबारे सिक्ने काम कहिल्यै सकिनेछैन। उहाँ युगौँयुगदेखि अस्तित्वमा हुनुहुन्छ। त्यसैले “उहाँको समझशक्‍ति अपार छ।” (भज. ९०:२; १४७:५) हामीले “साँचो परमेश्‍वरको काम पूर्ण रूपमा कहिल्यै बुझ्न” सक्दैनौँ। (उप. ३:११) त्यसैले हामीले सत्य सिकेको जति नै लामो समय भए तापनि यहोवाबारे सिक्ने हरेक मौकाको सदुपयोग गरिरहौँ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवालाई चिन्‍नु भनेको के हो?

  • हामीले किन यहोवालाई अझ राम्ररी चिन्‍न कोसिस गरिरहनुपर्छ?

  • हामी कसरी यहोवालाई अझ राम्ररी चिन्‍न सक्छौँ?

गीत २८ यहोवाको मित्र बनौँ

a नयाँ संसार अनुवाद-मा “परमेश्‍वरको वचनको परिचय” -अन्तर्गत प्रश्‍न २० हेर्नुहोस्‌।

b सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ७ को बुँदा ५-७ हेर्नुहोस्‌।

c चित्रको व्याख्या: एन्जाइटीको सामना गरिरहेका एक भाइ विगतमा यहोवाको मदत पाएर मध्यहप्ताको सभामा राम्ररी भाषण दिन सकेको कुरा मनन गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने