प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जुलाई पृ. ८-१३
  • यसैयाको किताबबाट सान्त्वना पाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसैयाको किताबबाट सान्त्वना पाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवनमा सोच्दै नसोचेको परिवर्तन हुँदा
  • दोषी भावनाले सताउँदा
  • प्रियजन गुमाउनुपरेकोले शोकमा पर्दा
  • यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा तपाईँलाई क्षमा गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जुलाई पृ. ८-१३

सेप्टेम्बर १४-२०, २०२६

गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्‌

यसैयाको किताबबाट सान्त्वना पाउनुहोस्‌

“यहोवा यसो भन्‍नुहुन्छ: . . ‘आमाले छोरालाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिइरहनेछु।’”—यसै. ६६:१२, १३.

सिक्न सकिने कुरा

दुःखी वा निराश भएको बेला यसैयाको किताबमा मनन गर्दा हामी सान्त्वना पाउन सक्छौँ।

१-२. दुःखी वा निराश हुँदा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌, एक जना बच्चा ह्वाँ-ह्वाँ गर्दै रोइरहेको छ। सायद ऊ आफ्नो परिवारसँगै अन्त कतै बसाइँ सर्दै छ र उसले आफ्ना साथीहरूलाई पनि छोडेर जानुपर्नेछ। अथवा आफूले कुनै गल्ती गरेकोले उसलाई डर लागिरहेको छ। त्यस्तो बेला एक मायालु आमाले के गर्छिन्‌? तिनले आफ्नो रोइरहेको बच्चालाई अँगालोमा बाँध्छिन्‌, उसको कुरा सुन्छिन्‌ र फकाउन थाल्छिन्‌।

२ बाइबलमा यहोवाले आफूलाई एक मायालु आमासित तुलना गर्नुभएको छ, जसले आफ्नो छोरालाई सान्त्वना दिन्छिन्‌। उहाँ यसो भन्‍नुहुन्छ: “आमाले छोरालाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिइरहनेछु।” (यसै. ६६:१३) आमाबुबाले आफ्ना छोराछोरीलाई जति माया गर्छन्‌, त्योभन्दा कता हो कता धेरै यहोवा हामीलाई माया गर्नुहुन्छ। (यसै. ४९:१५) त्यसैले निराश हुँदा वा गाह्रोसाह्रो पर्दा यहोवा आफ्नो वचन बाइबलमार्फत हामीलाई सान्त्वना र बल दिनुहुन्छ।—रोमी १५:४.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ यसैयाको किताबमा यहोवाले हामीलाई सान्त्वना मिल्ने थुप्रै कुराहरू भन्‍नुभएको छ। (यसै. ४०:१) यहुदाका मानिसहरू एकदमै डामाडोल अवस्थामा बाँचिरहेको बेला तिनीहरूलाई सान्त्वना दिन यहोवाले यो किताब लेख्न लगाउनुभएको थियो। आज हामी पनि ‘असाध्यै कठिन समयमा’ बाँचिरहेका छौँ। (२ तिमो. ३:१) त्यसैले हामीलाई पनि सान्त्वना चाहिन्छ। यसैयाको किताबका केही पदहरूबाट हामी निम्न अवस्थाहरूमा कसरी सान्त्वना र बल पाउन सक्छौँ, विचार गरौँ: (१) हाम्रो जीवनमा सोच्दै नसोचेको परिवर्तन हुँदा (२) दोषी भावनाले सताउँदा (३) प्रियजन गुमाउनुपरेकोले शोकमा पर्दा।

जीवनमा सोच्दै नसोचेको परिवर्तन हुँदा

४. जीवनमा सोच्दै नसोचेको परिवर्तन हुँदा त्यसले हामीलाई कस्तो असर गर्न सक्छ?

४ हाम्रो जीवनमा जतिबेला जे पनि हुन सक्छ। (उप. ९:११; १ कोरि. ७:३१) हामीलाई अचानक कुनै गम्भीर रोग लाग्न सक्छ, आर्थिक रूपमा गाह्रो हुन सक्छ, आफू बसिरहेको देशको राजनैतिक अवस्था डामाडोल हुन सक्छ वा हाम्रो असाइनमेन्ट परिवर्तन हुन सक्छ। यस्ता परिवर्तनहरूले गर्दा हामी चिन्तित हुनु वा अन्योलमा पर्नु स्वाभाविकै हो। हामीलाई यस्तो लाग्न सक्छ, ‘अब के गर्ने होला?’ जोसेफ भाइबारे विचार गरौँ। झन्डै १७ वर्ष बेथेलमा सेवा गरेपछि तिनलाई क्षेत्रमा खटाइयो। तिनी भन्छन्‌, “मैले केही सोच्नै सकिनँ। के गर्ने, कसो गर्ने भयो। यति धेरै वर्ष बेथेलमा सेवा गरिसकेपछि बाहिर गएर नयाँ सुरुवात गर्नु मेरो लागि सजिलो थिएन।” जीवनमा सोच्दै नसोचेको परिवर्तन हुँदा हामी यसैयाको किताबबाट कस्तो सान्त्वना पाउन सक्छौँ?

५. यसैया ४२:१६ मा यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ? (चित्र पनि हेर्नुहोस्‌।)

५ यसैया ४२:१६ पढ्‌नुहोस्‌। यहोवाले प्रतीकात्मक अर्थमा अन्धाहरूलाई नचिनेको बाटोमा डोऱ्‍याउने र अन्धकारलाई उज्यालोमा परिणत गर्ने प्रतिज्ञा गर्नुभएको छ। जीवनमा सोच्दै नसोचेको परिवर्तन हुँदा हामीलाई आफ्नो भविष्य अन्योलपूर्ण लाग्न सक्छ। यस्तो भावनालाई बुझाउन यस पदमा “अन्धा,” “नचिनेको बाटो,” “अन्धकार” र “खाल्टाखुल्टी परेको बाटो”-जस्ता अभिव्यक्‍तिहरू चलाइएको छ। त्यस्तो परिवर्तन हुँदा घना जङ्‌गलमा बाटो बिराएर अलमलमा परेको जस्तो महसुस हुन सक्छ। तर यहोवाले हामीलाई सही बाटोमा डोऱ्‍याउने र कहिल्यै नत्याग्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हाम्रो हात समाएर हामीलाई अन्धकारबाट उज्यालोतर्फ डोऱ्‍याउनुहुनेछ र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पारिदिनुहुनेछ। उहाँले कसरी त्यसो गर्नुहुन्छ? आफ्नो वचन र सङ्‌गठनमार्फत हामीलाई बुद्धिमानी सल्लाहहरू दिनुभएर। (भज. ११९:१०५; यसै. ३०:२१) साथै हामीलाई व्यावहारिक मदत दिन उहाँ भाइबहिनीहरू र अरूहरूलाई पनि चलाउनुहुन्छ। अनजान र गाह्रोजस्तो देखिने बाटोमा पनि यहोवा हामीलाई डोऱ्‍याउनुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। किनकि उहाँ हाम्रो ख्याल राख्नुहुन्छ र हाम्रा भावनाहरू बुझ्नुहुन्छ।—यसै. ४१:१०; १ पत्रु. ५:६, ७.

चित्रहरूको सँगालो: एक दम्पतीले यसैया ४२:१६ मा बताइएको प्रतिज्ञाबाट प्रोत्साहन पाउँछ, जहाँ यसो भनिएको छ: ‘नचिनेको बाटोमा म तिमीहरूलाई त्याग्नेछैनँ।’ १. त्यो दम्पती सामानहरू प्याक गर्दै छ। २. नयाँ मण्डलीमा तिनीहरूलाई एउटा परिवारले न्यानो स्वागत गर्दै छ।

जीवनमा सोच्दै नसोचेको परिवर्तन आउँदा समेत यहोवाले हामीलाई त्याग्नुहुन्‍न (अनुच्छेद ५ हेर्नुहोस्‌)b


६. जीवनमा सोच्दै नसोचेको परिवर्तन आउँदा हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

६ अगाडि उल्लेख गरिएको जोसेफबारे फेरि विचार गरौँ। बेथेल छोडेपछि पनि तिनी र तिनकी पत्नीले यहोवाले ख्याल राखिरहनुभएको महसुस गर्न सके। तिनी भन्छन्‌, “त्यो हाम्रो लागि ठूलो परिवर्तन थियो। त्यस दौडान हामीले विभिन्‍न तरिकामा यहोवाको माया महसुस गर्न सक्यौँ। हामीलाई मदत गर्न उहाँले मायालु भाइबहिनीहरू चलाउनुभयो। उहाँले हामीलाई चाहिएकै समयमा भौतिक र भावनात्मक रूपमा मदत गर्नुभयो र अहिलेसम्म पनि गर्दै हुनुहुन्छ।” तपाईँको जीवनमा पनि सोच्दै नसोचेको परिवर्तन आउन सक्छ र त्यस्तो बेला के गरौँ, कसो गरौँ हुन सक्छ। तर यहोवाले तपाईँलाई बल र डोऱ्‍याइ दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (यसै. ५४:१०; ५८:११) जोसेफ अझै यसो भन्छन्‌, “मौलिक गीतको यो हरफ मलाई असाध्यै मन पर्छ: ‘सोच्छु कस्तो हुन्छ दिन भोलिको, यहोवाको साथ छ हुन्‍नँ एक्लो।’a हो, हाम्रो जीवनमा सबै कुरा हामीले सोचेको जस्तो हुँदैन। तर एउटा कुरामा भने पक्का छौँ: हाम्रो हरेक पाइलामा यहोवा हामीसँगै हुनुहुनेछ।”

दोषी भावनाले सताउँदा

७. विगतमा गरेका गल्तीहरूले गर्दा कसै-कसैलाई कस्तो महसुस हुन सक्छ?

७ एल्डरहरूसामु आफूले गरेको गम्भीर गल्ती स्विकारेपछि हामी तिनीहरूबाट मायालु मदत पाउँछौँ र त्यो गल्ती फेरि नदोहोऱ्‍याउन हामी आफ्नो तर्फबाट सक्दो कोसिस गर्छौँ। (हितो. २८:१३; याकु. ५:१४-१६; १ युह. १:९) तर क्षमा पाइसकेपछि पनि हामीलाई दोषी भावनाले सताइरहन सक्छ। हामीलाई यस्तो लाग्न सक्छ, ‘के यहोवाले मलाई साँच्चै क्षमा दिनुभयो होला र?’ (२ कोरि. २:७) हामीलाई यस्तो लाग्नु स्वाभाविक हो किनभने आफूले गरेको गम्भीर गल्ती बिर्सन धेरै गाह्रो हुन्छ र मन भारी भइरहन सक्छ। राजा दाउदले पनि यस्तो लेखे: “मेरो पापको कारण मेरा हड्डीहरूभित्र अशान्ति मच्चिएको छ। म मुर्छित भएको छु र चूर्ण भएको छु।” (भज. ३८:३, ८) विगतका गल्तीहरूले गर्दा तपाईँ पनि यस्तै महसुस गर्दै हुनुहुन्छ भने यसैयाको किताबबाट सान्त्वना पाउन सक्नुहुन्छ।

८-९. यसैया १:१८ अनुसार यहोवा हामीलाई कुन हदसम्म क्षमा दिनुहुन्छ?

८ यसैया १:१८ पढ्‌नुहोस्‌। यहोवाले हाम्रो पाप पूर्ण रूपमा क्षमा गर्नुहुन्छ। यो कुरा बुझाउन उहाँले एउटा सशक्‍त शब्द-चित्र चलाउनुभएको छ। उहाँले हाम्रा पापहरू “सिन्दूरे रङ्‌गका” भए पनि त्यसलाई “हिउँजस्तै सेता” बनाइदिने प्रतिज्ञा गर्नुभएको छ। सिन्दूरे रङ्‌ग उज्यालो खालको रातो रङ्‌ग हो। कपडामा यो रङ्‌ग लाग्यो भने त्यसको दाग मेटाउन निकै गाह्रो हुन्छ। तर यहोवाले हाम्रो पापको दाग सदाको लागि मेटाइदिने प्रतिज्ञा गर्नुभएको छ।

९ राजा दाउदको उदाहरण विचार गरौँ। तिनले व्यभिचार र हत्याजस्ता गम्भीर पाप गरे तापनि यहोवाले तिनलाई क्षमा दिनुभयो र पछि तिनलाई सत्यनिष्ठ व्यक्‍ति भनेर चिनाउनुभयो। (२ समु. ११:३, ४, १४, १५; १२:१३; १ राजा ९:४, ५) हो, यहोवाले दाउदलाई गम्भीर गल्ती गरेका व्यक्‍तिको रूपमा नभई वफादार व्यक्‍तिको रूपमा सम्झनुभयो। हामीले पनि आफ्नो गल्तीको लागि पश्‍चात्ताप गऱ्‍यौँ भने उहाँले हामीलाई क्षमा दिनुहुन्छ र सफा अन्तस्करण लिएर अघि बढ्‌न मदत गर्नुहुन्छ। दोषी भावनाले सताउँदा हामी यसैयाको किताबबाट थप कस्तो सान्त्वना पाउन सक्छौँ?

१०. यसैया ३८:१७ बाट हामी कस्तो सान्त्वना पाउँछौँ?

१० यसैया ३८:१७ र फुटनोट पढ्‌नुहोस्‌। “मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो” भन्‍ने अभिव्यक्‍तिलाई शाब्दिक रूपमा “मेरा सबै पापहरूलाई तपाईँले आफ्नो पिठ्यूँपछाडि फालिदिनुभयो” भनेर पनि अनुवाद गर्न सकिन्छ। यस पदअनुसार यहोवाले पश्‍चात्ताप गर्ने व्यक्‍तिको पापलाई उठाएर आफ्नो पिठ्यूँपछाडि फालिदिनुहुन्छ। त्यसपछि उहाँले त्यस पापलाई न फर्केर हेर्नुहुन्छ न त त्यसबारे सोच्नु नै हुन्छ। बाइबलसम्बन्धी एउटा स्रोतसामग्रीअनुसार यस अभिव्यक्‍तिलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, ‘तपाईँले मेरा पापहरूलाई मैले गर्दै नगरेको जस्तो ठान्‍नुहुन्छ।’ हो, यहोवाले हाम्रो पाप पूरै बिर्सनुहुन्छ। मानौँ, हामीले त्यो गरेकै थिएनौँ। एकचोटि क्षमा दिनुभएपछि उहाँले त्यो गल्ती कोट्ट्याइरहनुहुन्‍न वा त्यसकै आधारमा सजाय दिइरहनुहुन्‍न। उहाँले त्यो गल्तीको नामोनिसान नै नरहनेगरि मेटाइदिनुहुन्छ। उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म तिमीहरूका पापलाई सम्झनेछैनँ।” (यसै. ४३:२५) कत्ति सान्त्वनादायी कुरा! सर्वोत्कृष्ट न्यायाधीश यहोवाले त हाम्रा गल्तीहरू सम्झिराख्नुहुन्‍न भने हामीले सम्झिरहनुपर्ने कुनै कारण छ र?

विगतमा आफूले गरेका गल्तीहरूको कारण अहिले पाउन सक्ने आनन्ददेखि आफूलाई वञ्चित नगर्नुहोस्‌

११. विगतमा हामीले जस्तोसुकै गल्ती गरे तापनि यहोवा कुन कुरामा ध्यान दिनुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

११ दोषी भावनाले सताउन थाल्दा यहोवाका सान्त्वनादायी शब्दहरू हामीले सम्झनुपर्छ। उहाँले हामीलाई क्षमा दिइसक्नुभएपछि त्यसमा शङ्‌कै गर्नु पर्दैन। उहाँले हामीलाई पूर्ण रूपमा क्षमा दिनुहुन्छ। विगतमा हामीले गरेका गल्तीहरूको कारण उहाँले हामीलाई हेय दृष्टिले हेर्नुहुन्‍न अनि त्रुटिपूर्ण मानिसहरूले जस्तो मनमा रिस पालेर राख्नुहुन्‍न। (यसै. ५७:१६) यहोवा हामी पहिला कस्तो मानिस थियौँ भन्‍ने कुरामा ध्यान दिनुहुन्‍न। बरु अहिले हामी कस्तो मानिस हौँ र कस्तो मानिस बन्‍ने प्रयास गरिरहेका छौँ, त्यसमा ध्यान दिनुहुन्छ। (यसै. ५५:७) कत्ति मायालु र क्षमाशील परमेश्‍वर! त्यसैले विगतमा गरेका गल्तीहरूको कारण अहिले पाउन सक्ने आनन्द वा भविष्यमा पाइने आशिष्‌हरूदेखि आफूलाई वञ्चित नगर्नुहोस्‌।

चित्रहरूको सँगालो: एक भाइ यसैया ३८:१७ मा बताइएको प्रतिज्ञाबाट प्रोत्साहन पाउँछन्‌, जहाँ यसो भनिएको छ, “मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो।” १. ती भाइ विगतमा आफूले गरेको गल्तीको कारण एकदमै दुःखी छन्‌। २. पछि तिनी आनन्दित भई अग्रगामी सेवा स्कुलमा टिप्पणी दिँदै छन्‌।

यहोवा हामीले विगतमा गरेका गल्तीहरू बिर्सनुहुन्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)c


प्रियजन गुमाउनुपरेकोले शोकमा पर्दा

१२. आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामीलाई कस्तो महसुस हुन सक्छ?

१२ आफूले माया गर्ने व्यक्‍तिको मृत्यु हुँदा हामीलाई असह्‍य पीडा हुन सक्छ र त्यो पीडा लामो समयसम्म रहन सक्छ। कहिलेकाहीँ त यहोवाले किन त्यस्तो हुन दिनुभयो भन्‍ने समेत लाग्न सक्छ। माइकल भाइका आमाबुबा दुवैको आगलागीमा परेर मृत्यु भयो। तिनी भन्छन्‌, “मलाई असह्‍य पीडा भयो। यहोवाले त्यस्तो घटना हुन दिनुभएकोमा मलाई उहाँसित रिस पनि उठ्यो। मेरो आमाबुबाको मृत्यु उहाँले गर्दा भएको होइन भनेर मलाई थाह थियो। तर उहाँले त्यस्तो हुनदेखि रोक्न त सक्नुहुन्थ्यो नि जस्तो लाग्यो।” आफूले माया गरेको व्यक्‍ति गुमाउनुपर्दा सायद तपाईँले पनि त्यस्तै महसुस गर्नुभएको थियो होला। त्यस्तो बेला यहोवा हामीलाई कस्तो सान्त्वना र आशा दिनुहुन्छ?

१३. यसैया २५:८ मा यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ?

१३ यसैया २५:८ पढ्‌नुहोस्‌। यहोवाले ‘मृत्युलाई सधैँको निम्ति निल्ने’ प्रतिज्ञा गर्नुभएको छ। मृत्यु नै नहुने समय कस्तो होला, कल्पना गर्नुहोस्‌ त! आफूले माया गर्ने व्यक्‍तिको मृत्युले गर्दा तपाईँ कहिल्यै शोकमा पर्नुहुने छैन। (यसै. ३५:१०) आफूले गुमाएको व्यक्‍तिको फोटो हेरेर आँसु बगाउनुपर्ने छैन। हामी आफूले माया गर्ने व्यक्‍तिहरूसित सधैँभरि हाँसीखुसी जीवन बिताउन पाउनेछौँ। यो काल्पनिक कुरा मात्र होइन, साँच्चै पूरा हुनेछ! किनकि यो प्रतिज्ञा यहोवा स्वयम्‌ले गर्नुभएको हो र त्यो पूरा गर्न सक्ने उहाँ मात्र हुनुहुन्छ।—प्रका. २१:४, ५.

१४. फेरि जीवित हुने आशाबारे सोच्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? (यसैया २६:१९) (चित्र पनि हेर्नुहोस्‌।)

१४ यसैया २६:१९ पढ्‌नुहोस्‌। यहोवाले मृत्युलाई नामेट पार्नुहुने मात्र होइन, मरिसकेकाहरूलाई फेरि जीवित पनि पार्नुहुनेछ। उहाँ यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूका लास फेरि जिउँदो हुनेछन्‌।” यस अभिव्यक्‍तिले मरिसकेकाहरूलाई फेरि जीवित पार्ने कुरालाई उहाँ आफ्नो जिम्मेवारीको रूपमा हेर्नुहुन्छ भनेर सङ्‌केत गर्छ। तिनीहरू उहाँको सम्झनामा छन्‌ अनि उहाँले आफ्नो समयमा तिनीहरूलाई फेरि जीवित पार्नुहुनेछ। ओइलाइसकेको बोटबिरुवामा बिहानीको शीत परेपछि त्यो फेरि सप्रन थाल्छ। त्यसरी नै जीवनका मूल यहोवाले मृत्युको चिर निद्रामा परेका हाम्रा प्रियजनहरूलाई फेरि जीवित पार्नुहुनेछ। तिनीहरूलाई फेरि अँगालोमा बाँध्न पाउनु कत्ति खुसीको कुरा!—मर्कुस ५:४२ तुलना गर्नुहोस्‌।

चित्रहरूको सँगालो: एक बहिनी यसैया २६:१९ मा बताइएको प्रतिज्ञाबाट प्रोत्साहन पाउँछिन्‌, जहाँ यसो भनिएको छ, “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌।” १. एउटी आमा आफ्नी सानी छोरीको मृत्युले गर्दा शोकमा छिन्‌। उनी छोरीको कोठामा एक्लै बसिरहेकी छिन्‌ र हातमा एउटा फोटो छ। २. फेरि जीवित भएकी छोरीलाई उनी खुसी हुँदै अँगालोमा बाँध्छिन्‌।

मरिसकेका आफ्ना प्रियजनहरू फेरि जीवित हुने आशा पक्कै पूरा हुनेछ (अनुच्छेद १४ हेर्नुहोस्‌)


१५. हाम्रा प्रियजनहरू फेरि जीवित हुने आशाले हामीलाई कसरी मदत गर्छ?

१५ फेरि जीवित हुने आशाबारे थाह पाएकोले आफ्नो प्रियजनको मृत्यु हुँदा हामीलाई दुःख नै लाग्दैन भन्‍ने त होइन। तर यहोवाले हाम्रा प्रियजनहरूलाई बिर्सनुभएको छैन भनेर थाह पाउँदा हामी सान्त्वना पाउँछौँ। यो आशाले अगाडि उल्लेख गरिएका माइकललाई पनि निकै सान्त्वना दियो। तिनी भन्छन्‌, “यसैया २६:१९ बाट मैले मेरो आमाबुबा यहोवाको लागि कत्ति अनमोल हुनुहुन्छ भनेर बुझ्न सकेँ। उहाँहरू यहोवाको सम्झनामा सुरक्षित हुनुहुन्छ। यहोवाले उहाँहरूलाई बिर्सनुभएको छैन। अनि उहाँहरू जीवित नहुनुभएसम्म यहोवाको सम्झनामा सुरक्षित रहनुहुनेछ। यो कुरा थाह पाउँदा मैले निकै सान्त्वना र बल पाएको छु।” हामी पनि आफूले गुमाएका प्रियजनहरूलाई फेरि भेट्‌ने आशामा ध्यान दिइरहौँ। यसो गऱ्‍यौँ भने हाम्रो पीडा केही हदसम्म कम हुनेछ।

१६. गाह्रो अवस्थाको सामना गर्नुपर्दा तपाईँलाई कुन बाइबल पदले सान्त्वना दिएको छ?

१६ यस लेखमा हामीले यसैयाको किताबका केही पदहरूबारे छलफल गऱ्‍यौँ। हाम्रो जीवनमा सोच्दै नसोचेको परिवर्तन हुँदा, दोषी भावनाले सताउँदा र प्रियजन गुमाएकोले शोकमा पर्दा ती पदहरूले हामीलाई सान्त्वना दिन्छ भनेर बुझ्यौँ। यहोवाले आफ्नो वचनबाट हामीलाई सान्त्वना र दिलासा दिनुभएकोमा हामी उहाँप्रति साँच्चै कृतज्ञ छौँ। (भज. ९४:१९) के तपाईँलाई पनि गाह्रो अवस्थाको सामना गर्नुपर्दा कुनै बाइबल पदले सान्त्वना दिएको छ? सक्नुहुन्छ भने त्यो पद कण्ठ पार्नुहोस्‌। अथवा त्यसलाई लेखेर आफूले देख्ने ठाउँमा राख्नुहोस्‌। हाम्रो मायालु बुबा यहोवाले व्यक्‍त गर्नुभएका हृदयस्पर्शी शब्दहरूले तपाईँलाई सान्त्वना दिइरहोस्‌!

निम्न बाइबल पदहरूबाट तपाईँ कस्तो सान्त्वना पाउन सक्नुहुन्छ?

  • यसैया ४२:१६

  • यसैया १:१८; ३८:१७

  • यसैया २५:८; २६:१९

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

a यो हरफ “साथ छन्‌ यहोवा हरपल” शीर्षकको मौलिक गीतबाट लिइएको हो।

b चित्रको व्याख्या: बेथेल छोडेको दम्पतीलाई नयाँ मण्डलीमा न्यानो स्वागत गरिँदै छ।

c चित्रको व्याख्या: एक भाइ आफूले विगतमा गरेको गल्तीलाई बिर्सेर अग्रगामी सेवा स्कुलमा रमाउँदै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने