जुलाई १३-१९, २०२६
गीत १२७ म कस्तो मानिस बनूँ?
अन्तस्करणलाई तालिम दिन बाइबल सिद्धान्तहरू प्रयोग गर्नुहोस्
“हरेकले आफ्नो भारी आफै बोक्नेछ।”—गला. ६:५
सिक्न सकिने कुरा
हामी बाइबल सिद्धान्तहरू प्रयोग गरेर आफ्नो अन्तस्करणलाई तालिम दिन सक्छौँ। यसरी तालिम पाएको अन्तस्करणले हामीलाई सही डोऱ्याइ दिन्छ।
१-२. (क) यहोवाले आदम र हव्वालाई कस्तो उपहार दिनुभयो? (ख) त्यस उपहारप्रति कृतज्ञ भएको तिनीहरूले कसरी देखाउन सक्थे?
जनावरहरू आफूसित भएको सहज ज्ञानअनुसार चल्छन्। मेसिनहरूले पनि त्यसलाई जसरी प्रोग्राम गरिएको हुन्छ, त्यसरी नै काम गर्छ। तर हामी मानिसहरू भने फरक छौँ। यहोवाले हामीलाई एउटा विशेष उपहार दिनुभएको छ र हामी त्यसको निकै मोल गर्छौँ। त्यो उपहार हो, छनौट गर्ने स्वतन्त्रता। त्यसैले हामी आफ्नो निर्णय आफै गर्न सक्छौँ। परमेश्वरले पहिलो मानिस आदमलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो भनी बाइबल बताउँछ। (उत्प. १:२६, २७) आदम र तिनकी पत्नी हव्वा बौद्धिक प्राणीहरू भएकोले तिनीहरूले आफ्नो निर्णय आफै गर्न सक्थे।
२ यहोवाले आदम र हव्वालाई नियमहरूको लामो सूची दिनुभएन। उहाँले तिनीहरूलाई पृथ्वीको हेरचाह गर्नू, छोराछोरी जन्माएर पृथ्वी भर्नू अनि मानिसजातिको हितको लागि सीमा तोकिदिने उहाँको अधिकारको कदर गर्नू भन्ने आज्ञा मात्र दिनुभयो। (उत्प. १:२८; २:१६, १७) आदम र हव्वाले छनौट गर्ने स्वतन्त्रताको लागि यहोवाप्रति कृतज्ञ भएको देखाउन यी आज्ञाहरू पालन गरे पुग्थ्यो। उहाँले तिनीहरूलाई थुप्रै कुरा दिनुभएको थियो। त्यसैले उहाँप्रतिको प्रेम र उहाँलाई खुसी बनाउने इच्छाले उत्प्रेरित भएर तिनीहरूले यी आज्ञाहरू पालन गर्नुपर्थ्यो।—हितो. २३:१५.
३. आदम र हव्वाले छनौट गर्ने स्वतन्त्रताको कसरी दुरुपयोग गरे?
३ आदम र हव्वाले छनौट गर्ने स्वतन्त्रतालाई सही तरिकामा प्रयोग गरेनन्। तिनीहरूले यहोवाको आज्ञा पालन नगर्ने निर्णय गरे। तिनीहरूले किन त्यस्तो निर्णय गरे? किनकि तिनीहरू यहोवालाई होइन, आफैलाई प्रेम गर्थे। (उत्प. ३:१-७) तिनीहरूको त्यो निर्णयको परिणाम हामीले आजसम्म भोग्दै छौँ।—रोमी ५:१२.
४. (क) गलाती ६:५ अनुसार हामी सबैले के गर्नुपर्छ? (ख) यस लेखमा हामी अर्को कुन उपहारबारे छलफल गर्नेछौँ?
४ हाम्रो जीवन झन्झनै जटिल हुँदै गइरहेको छ। हामीले हरेक दिन थुप्रै निर्णयहरू गर्नुपर्छ। (गलाती ६:५ पढ्नुहोस्।) कुनै-कुनै निर्णय गर्न सजिलो छ तर कतिपय निर्णयहरू गर्न भने त्यत्ति सजिलो छैन। त्यसोभए हामी कसरी यहोवालाई खुसी बनाउने निर्णय गर्न सक्छौँ? सबैभन्दा पहिला हामीलाई परमेश्वरको मदत चाहिन्छ भन्ने कुरा स्विकार्नुपर्छ। (हितो. १६:३; यर्मि. १०:२३) त्रुटिरहित मानिस येसुले समेत आफूलाई परमेश्वरको मदत चाहिन्छ भन्ने कुरा स्विकार्नुभएको थियो। (हिब्रू ५:७) हामी त्रुटिपूर्ण मानिसहरूलाई यहोवाको डोऱ्याइ झन् धेरै चाहिन्छ! हामीले सही निर्णयहरू गर्न सकोस् भनेर यहोवाले हामीलाई अर्को उपहार पनि दिनुभएको छ। त्यो हो, अन्तस्करण। अब आउनुहोस्, त्यसबारे छलफल गरौँ।
अन्तस्करण भनेको के हो?
५. (क) अन्तस्करण भनेको के हो? (ख) अन्तस्करणले हामीलाई कसरी मदत दिन्छ? (रोमी २:१४, १५)
५ अन्तस्करण भनेको सही के हो र गलत के हो भन्नेबारे हामीमा भएको आन्तरिक चेतना हो। परमेश्वरले दिनुभएका नियमहरूबारे थाहै नभएका मानिसहरूसित पनि अन्तस्करण हुन्छ। (२ कोरि. ४:२) अन्तस्करण हामीभित्र भएको न्यायाधीशजस्तै हो, जसले हाम्रो सोचाइ र कामको लागि हामीलाई निर्दोष वा दोषी ठहराउँछ। (रोमी २:१४, १५ पढ्नुहोस्।) हामीलाई गलत हो भनेर थाह भएको काम नगर्न अन्तस्करणले चेतावनी दिन्छ। (१ समु. २६:८-११) अथवा हामीलाई सही हो भनेर थाह भएको काम गर्न झकझकाउँछ। हामीसित छनौट गर्ने स्वतन्त्रता हुँदैमा हामीले गर्ने हरेक निर्णयले यहोवालाई खुसी बनाउँछ भन्ने छैन। अन्तस्करणले हामीलाई आफूले गर्न लागेको निर्णय सही हो कि गलत भनेर छुट्ट्याउन मदत गर्छ।
६. अन्तस्करणले हामीलाई किन सधैँ सही डोऱ्याइ दिन्छ भन्ने छैन?
६ दुःखको कुरा, अन्तस्करणले हामीलाई सधैँ सही डोऱ्याइ दिन्छ भन्ने छैन। हामी त्रुटिपूर्ण भएजस्तै हाम्रो अन्तस्करण पनि त्रुटिपूर्ण छ। हामी जन्मेको परिवार, हामी हुर्केको समाज र हामीमा भएका कुइच्छाहरूले अन्तस्करणलाई नराम्रो असर पारेको हुन सक्छ। बाइबलअनुसार हाम्रो अन्तस्करण “कमजोर,” “अशुद्ध,” “तातो फलामले डामेझैँ डामिएको” र “दुष्ट”-समेत हुन सक्छ। (१ कोरि. ८:१२; ति. १:१५; १ तिमो. ४:२; हिब्रू १०:२२) त्यस्तो अन्तस्करण भनेको बाफले गर्दा धमिलो भएको चस्माजस्तै हो। सिसा राम्रोसित पुछ्यौँ भने मात्र स्पष्टसित देख्न सकिन्छ। त्यसरी नै अन्तस्करणलाई तालिम दिएर ठीक अवस्थामा राख्यौँ भने मात्र त्यसले हामीलाई सही डोऱ्याइ दिन सक्छ। (१ पत्रु. ३:१६) त्यसोभए हामी अन्तस्करणलाई कसरी तालिम दिन सक्छौँ?
हामी अन्तस्करणलाई कसरी तालिम दिन सक्छौँ?
७-८. (क) हामी अन्तस्करणलाई कसरी तालिम दिन सक्छौँ? (ख) बाइबल सिद्धान्तहरूले हामीलाई कसरी डोऱ्याउँछ? उदाहरण दिनुहोस्। (चित्र पनि हेर्नुहोस्।)
७ हामीले नियमित रूपमा बाइबल पढ्नुपर्छ अनि सही र गलतबारे यहोवाको दृष्टिकोण बुझ्नुपर्छ। परमेश्वरले दिनुभएका नियमहरूबारे अध्ययन गर्दा हामी उहाँको सोचाइ बुझ्न सक्छौँ। तर अघिल्लो लेखमा छलफल गरेजस्तै नियमहरूको दायरा सीमित हुन्छ। त्यसैले हामीले ती नियमहरूपछाडि लुकेको सिद्धान्त बुझ्ने प्रयास गर्नुपर्छ। यसो गऱ्यौँ भने यहोवाको सोचाइ र भावना अझ राम्रोसँग बुझ्न सक्नेछौँ।—यसै. ५५:९.
८ हाम्रो जीवनको यात्रालाई मरुभूमिको यात्रासित तुलना गर्न सकिन्छ। मानौँ, तपाईँ यस्तो मरुभूमिमा यात्रा गर्दै हुनुहुन्छ, जहाँ बाटोको राम्रो सुविधा छैन र सङ्केत चिह्नहरू पनि राखिएको छैन। त्यस्तो ठाउँमा सूर्य र ताराहरूलाई हेरेर आफू जानुपर्ने दिशा त पत्ता लगाउन सकिन्छ। तर यदि हामीसित मुख्य-मुख्य ठाउँ सङ्केत गरिएको नक्सा छ भने गन्तव्यमा पुग्न अझ सजिलो हुन्छ। त्यो नक्सा हेर्दै यात्रा गर्दा हामी सही दिशातर्फ हिँडिरहेका हुनेछौँ र बाटो बिराएर अलमलिनेछैनौँ। त्यसरी नै हाम्रो जीवनको गन्तव्य यहोवालाई खुसी बनाउनु हो। त्यो गन्तव्यसम्म पुग्न हामीलाई मदत गर्ने नक्सा भनेको बाइबल हो। बाइबल सिद्धान्तहरूचाहिँ नक्सामा सङ्केत गरिएका मुख्य-मुख्य ठाउँहरूजस्तै हुन्। त्यसैले ती सिद्धान्तहरूअनुसार चल्यौँ भने हामी आफ्नो गन्तव्यमा पुग्न सक्छौँ।
बाइबल सिद्धान्तहरू नक्सामा सङ्केत गरिएका मुख्य-मुख्य ठाउँहरूजस्तै हुन्; यसले हामीलाई सही दिशातर्फ जाँदै छु भनेर ढुक्क बनाउँछ (अनुच्छेद ८ हेर्नुहोस्)
९. अन्तस्करणलाई तालिम दिन हामीलाई मदत गर्ने अर्को कुरा के हो? (रोमी ९:१)
९ अन्तस्करणलाई सही तरिकामा तालिम दिन हामीलाई परमेश्वरको पवित्र शक्तिको मदत चाहिन्छ। (रोमी ९:१ पढ्नुहोस्।) पवित्र शक्तिले परमेश्वरको सोचाइ बुझ्न मदत गर्छ। साथै यसले हामीलाई यहोवाको इच्छासित मेल खाने कुराहरू गर्न उत्प्रेरित गर्छ र बल दिन्छ। (फिलि. २:१३) तर पवित्र शक्तिको मदत पाउन हामीले के गर्नुपर्छ?
१०. हामीले पवित्र शक्ति पाउन के गर्नुपर्छ? (लुका ११:१०, १३)
१० प्रार्थनामा पवित्र शक्ति माग्नुहोस्। (लुका ११:१०, १३ पढ्नुहोस्।) यहोवा हामीलाई आफ्नो पवित्र शक्ति दिन कुनै कन्जुस्याइँ गर्नुहुन्न भन्ने कुरामा हामी ढुक्क छौँ। (युह. ३:३४) उहाँको डोऱ्याइअनुसार चल्नेहरूलाई उहाँले खुला मनले पवित्र शक्ति दिनुहुन्छ। (हितो. १:२३; याकु. १:५) अन्तस्करणलाई तालिम दिन हामीलाई अर्को कुन कुराले पनि मदत गर्छ?
११. (क) हाम्रो जीवनको मुख्य लक्ष्य के हुनुपर्छ? (ख) हामीले किन अन्तस्करणलाई राम्ररी तालिम दिनुपर्छ?
११ सधैँ यहोवालाई खुसी बनाउन प्रयास गर्नुहोस्। (हितो. ८:३४, ३५) यदि हामीले यहोवालाई खुसी बनाउने कुरालाई जीवनको मुख्य लक्ष्य बनाएका छौँ भने अन्तस्करणलाई तालिम दिन सजिलो हुन्छ। अन्तस्करणले राम्ररी तालिम पाएको छ भने हाम्रो सोचाइ र भावना यहोवाको सोचाइ र भावनासित मेल खान्छ। हाम्रो जीवन झन्झनै जटिल हुँदै गइरहेकोले राम्ररी तालिम पाएको अन्तस्करण एकदमै मदतकारी हुन्छ। हामीले हरेक दिन विभिन्न निर्णयहरू गर्नुपर्ने हुन्छ। तर कतिपय क्षेत्रहरूबारे बाइबलमा तोकेरै बताइएको छैन; जस्तै: मनोरञ्जन, काम, पढाइ वा अरूसितको सम्बन्ध। त्यसोभए हामी यस्ता क्षेत्रहरूमा कसरी यहोवालाई खुसी बनाउने निर्णयहरू गर्न सक्छौँ?—२ कोरि. १:१२.
१२. अन्तस्करणले हामीलाई सही निर्णयतर्फ डोऱ्याइरहेको छ कि छैन भनेर बुझ्न केले मदत गर्छ? (एफिसी ५:१०)
१२ परमेश्वरको वचनमा पढेका कुराहरूमा मनन गर्नुहोस्। (भज. ४९:३) बाइबल पढ्दा त्यसमा कस्ता सिद्धान्तहरू छन् भनेर बुझ्ने प्रयास गर्नुहोस्। ती सिद्धान्तहरूले तपाईँलाई यहोवाको सोचाइ बुझ्न मदत गर्नेछ। (एफिसी ५:१० पढ्नुहोस्।) जीवनमा कुनै कठिन समस्या आइपर्दा त्यो अवस्थामा लागू हुने बाइबल सिद्धान्तहरू खोज्नुपर्छ। अन्तस्करणले हामीलाई सही निर्णयतर्फ डोऱ्याइरहेको छ कि छैन भनेर जाँच्न ती सिद्धान्तहरूले मदत गर्छ। (हितो. २:४-९, ११-१३) यदि अन्तस्करणले सही डोऱ्याइ दिइरहेको छैन भने त्यसलाई सच्याउन र छाँटकाँट गर्न ती सिद्धान्तहरूले हामीलाई मदत गर्नेछ अनि हामीले सही निर्णय गर्न सक्नेछौँ।—हिब्रू ५:१४.
१३. हामीले के गर्नु हुँदैन? एउटा उदाहरण दिनुहोस्।
१३ पहिला निर्णय गर्ने अनि त्यसपछि मात्र त्यसलाई समर्थन गर्ने सिद्धान्तहरू खोज्ने नगर्नुहोस्। ईसापूर्व ६०७ मा यरुसलेमको विनाश भएपछि केही इस्राएलीहरू यहुदामै बसिरहेका थिए। तिनीहरूले यर्मियालाई यसो भने: “हामीले के गर्नुपर्ने हो अनि कुन मार्गमा चल्नुपर्ने हो, यहोवा तपाईँका परमेश्वरले हामीलाई देखाइदेऊन्।” (यर्मि. ४२:३-६) तर वास्तवमा तिनीहरूले के गर्ने भनेर पहिल्यै निर्णय गरिसकेका थिए। तिनीहरूलाई यहोवाको निर्देशन चित्त बुझेन। त्यसैले तिनीहरू आफ्नो निर्णयमै अडिग रहे। यसले गर्दा ठूलो विपत्ति निम्तियो। (यर्मि. ४२:१९-२२; ४३:१, २, ४) त्यसैले हामी ती इस्राएलीहरूजस्तो हुनु हुँदैन। बरु कुनै निर्णय गर्नुअघि यहोवाको सोचाइ बुझ्न मदत गर्ने सिद्धान्तहरू खोज्नुपर्छ र त्यसैअनुसार कदम चाल्नुपर्छ।
१४. हामीले किन बाइबल सिद्धान्तहरूको आधारमा निर्णय गर्नुपर्छ?
१४ बाइबल सिद्धान्तहरूको आधारमा निर्णय गर्नुहोस्। (मत्ति ७:२४-२९; याकु. १:२३-२५) यसरी निर्णय गऱ्यौँ भने हामी पवित्र शक्तिको डोऱ्याइअनुसार चलिरहेका हुन्छौँ अनि यहोवाले हामीलाई पवित्र शक्ति दिइरहनुहुनेछ। (प्रेषि. ५:३२) तर हामीले पवित्र शक्तिको डोऱ्याइअनुसार चल्न इन्कार गऱ्यौँ भने त्यसलाई ‘दुःखी बनाइरहेका’ अर्थात् त्यसविरुद्ध काम गरिरहेका हुन्छौँ। (एफि. ४:३०; यसै. ६३:१०; प्रेषि. ७:५१) यहोवाले हामीबाट पवित्र शक्ति खोस्न समेत सक्नुहुन्छ। (भज. ५१:११; १ थिस्स. ५:१९) हामीलाई पवित्र शक्तिले दिने बल र तागत नभई हुँदैन। (एफि. ३:१६) त्यसैले यहोवाबाट पवित्र शक्ति पाएनौँ भने नतिजा दुःखदायी हुनेछ।
आफूलाई चाहिएको बाइबल सिद्धान्तहरू कसरी भेट्टाउन सक्छौँ?
१५-१६. (क) आफूलाई चाहिएको बाइबल सिद्धान्तहरू कसरी भेट्टाउन सक्छौँ? (ख) बाइबल विद्यार्थीलाई चुरोट छोड्न कस्ता सिद्धान्तहरूले मदत गर्न सक्छ?
१५ अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्। बाइबल सिद्धान्तहरूको आधारमा निर्णय गर्न सुरुमा त हामीले सिद्धान्तहरू भेट्टाउनुपर्छ। मानौँ, तपाईँको एक जना बाइबल विद्यार्थीले धूम्रपान गर्छन् र तिनलाई त्यो गलत हो भन्ने कुरा स्विकार्न गाह्रो भइरहेको छ। तिनले यस्तो तर्क गर्न सक्छन्, ‘बाइबलमा चुरोट नखानू भनेर कतै लेखिएको छैन। त्यसैले चुरोट खानु गलत हो र?’ तिनको अवस्थामा लागू हुने बाइबल सिद्धान्तहरू खोज्न र सही निष्कर्षमा पुग्न तपाईँ तिनलाई कसरी मदत गर्न सक्नुहुन्छ? एउटा उपयोगी सामग्री यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी हो। तपाईँ तिनलाई “सैतानको संसार”-अन्तर्गत “सुर्तीजन्य पदार्थ र धूम्रपान” भन्ने शीर्षक देखाउन सक्नुहुन्छ। त्यस शीर्षकअन्तर्गत “धूम्रपानलाई ईश्वर कुन दृष्टिले हेर्नुहुन्छ?” भन्ने विषयको लेख राखिएको छ। (प्रहरीधरहरा, जून १, २०१४) त्यो लेख पढ्दा तपाईँको विद्यार्थीले कस्ता बाइबल पदहरू र सिद्धान्तहरू भेट्टाउन सक्नेछन्?
१६ त्यस लेखमा छलफल गरिएका पाँच वटा बाइबल सिद्धान्त विचार गरौँ। (१) हामीलाई मृत्युसम्म पुऱ्याउने कुराको दास बन्नु हुँदैन। (रोमी ६:१६) (२) हाम्रो शरीरलाई हानि पुऱ्याउने जुनसुकै कुराबाट अलग रहनुपर्छ। (२ कोरि. ७:१) (३) यहोवा हामीले आफ्नो सारा हृदयले, सारा ज्ञानले र सारा दिमागले उहाँको सेवा गरेको चाहनुहुन्छ। (मत्ति २२:३७) (४) हामीले अरूलाई हानि पुऱ्याउने कुनै पनि काम गर्नु हुँदैन। (मत्ति २२:३९; १ कोरि. १०:२४) (५) यहोवा हामीलाई सही काम गर्ने बल दिनुहुन्छ। (फिलि. ४:१३) हुनत बाइबलमा चुरोट खानु हुँदैन भनेर तोकेरै बताइएको छैन। तर बाइबलमा पाइने सिद्धान्तहरूले तपाईँको विद्यार्थीलाई यहोवाको सोचाइ बुझ्न मदत गर्नेछ।
१७. विवाह समारोहको योजना बनाइरहेको जोडीले सही निर्णय गर्न मदत गर्ने सिद्धान्तहरू कसरी खोज्न सक्छन्?
१७ विवाह समारोहको योजना बनाइरहेको जोडीले सही निर्णय गर्न मदत गर्ने सिद्धान्तहरू कसरी खोज्न सक्छन्? तिनीहरूले पनि अनुसन्धान सहयोगी प्रयोग गर्न सक्छन्। “पारिवारिक जीवन”-अन्तर्गत “विवाह र विवाह भोज” भन्ने शीर्षकमा थुप्रै लेखहरू राखिएका छन्। ती लेखहरूमा केही बाइबल सिद्धान्तहरू पाउन सकिन्छ। उक्त दम्पतीले यी छ वटा सिद्धान्त विचार गर्न सक्छन्: (१) सबै प्रबन्ध यहोवाको आदर हुने किसिमको हुनुपर्छ। (१ कोरि. १०:३१, ३२) (२) हाम्रो पहिरन भड्किलो हुनु हुँदैन बरु समारोह-सुहाउँदो र भद्र हुनुपर्छ। (१ तिमो. २:९; १ पत्रु. ३:३, ४) (३) हामीले संसारका मानिसहरूले जस्तो तडकभडक गर्नु हुँदैन। (युह. १७:१४; याकु. १:२७; १ युह. २:१५, १६) (४) सबै कुरा व्यवस्थित ढङ्गमा गर्नुपर्छ। (१ कोरि. १४:४०) (५) विवाह भोजमा अत्यधिक मद्यपान र अनियन्त्रित मोजमस्ती गर्नु हुँदैन। (गला. ५:२१) (६) समारोहको सुपरिवेक्षण गर्न एक जना व्यक्तिलाई खटाइएको हुनुपर्छ।—युह. २:८, ९.
१८-१९. (क) अर्को मदतकारी सामग्री के हो? (ख) यस सामग्रीमा चाडपर्व र दिवसहरूसित सम्बन्धित निर्णय गर्न मदत गर्ने सिद्धान्तहरू कसरी खोज्न सक्नुहुन्छ? (“बाइबल सिद्धान्तहरू खोज्नुहोस्” भन्ने पेटी हेर्नुहोस्।)
१८ अर्को मदतकारी सामग्री हो, ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू। यस किताबमा विभिन्न विषयहरू छन् र त्यसअन्तर्गत थुप्रै बाइबल पदहरू राखिएका छन्। तपाईँले कुनै एउटा विषय छान्नुभएपछि त्यसअन्तर्गत प्रश्नहरू अनि बाइबल सिद्धान्तहरू बुझ्न मदत दिने शास्त्रपदहरू पाउन सक्नुहुन्छ। उदाहरणको लागि, कोही ख्रिष्टियनलाई कुनै समारोहमा जानु ठीक होला कि नहोला जस्तो लागिरहेको हुन सक्छ। त्यस्तो अवस्थामा तिनले “चाडपर्व तथा दिवस”-अन्तर्गत “ख्रिष्टियनहरूले मनाउन नहुने चाडपर्व” हेर्न सक्छन्।
१९ त्यसपछि तिनले त्यसअन्तर्गत छलफल गरिएका निम्न कुराहरू विचार गर्न सक्छन्: “झूटो धर्मले दूषित पारेका चाडपर्वमा भाग लिनु किन गलत हो? (१को १०:२१; २को ६:१४-१८; एफि ५:१०, ११)” त्यहाँ केही चाडपर्वहरूको उदाहरण पनि दिइएको छ। “राष्ट्रिय दिवसहरू”-अन्तर्गत केही बाइबल सिद्धान्तहरू पाउन सकिन्छ। ती सिद्धान्तहरूले निम्न दिवस तथा समारोहमा भाग लिनुहुन्छ कि हुँदैन भनेर निर्णय गर्न मदत दिन्छ: राष्ट्रले हासिल गरेका उपलब्धिहरूको र राष्ट्रले लडेका युद्धहरूको सम्झना गर्ने दिवसहरू अनि प्रभावशाली मानिसहरूको उपासना गर्न मनाइने चाडपर्व तथा समारोह। हाम्रो अन्तस्करणलाई तालिम दिन यहोवाको सङ्गठनले प्रबन्ध गरेका यस्ता सामग्रीहरूको लागि हामी साँच्चै कृतज्ञ छौँ!
अन्तस्करणलाई राम्रोसित तालिम दिइरहौँ!
२०. हाम्रो अन्तस्करणले राम्रोसित तालिम पाएको छ भन्ने कुरा कसरी देखिन्छ?
२० यहोवाले उपहारस्वरूप दिनुभएको छनौट गर्ने स्वतन्त्रताको हामी मोल गर्छौँ। तर यसलाई यहोवालाई खुसी बनाउने तरिकामा प्रयोग गर्न हामीले आफ्नो अन्तस्करणलाई तालिम दिनुपर्छ। राम्रोसित तालिम पाएको अन्तस्करणले यहोवाको आदर हुने र उहाँको इच्छासित मेल खाने निर्णयहरू गर्न मदत गर्नेछ। अन्तस्करणलाई तालिम दिन हामीलाई यहोवाको पवित्र शक्तिको मदत चाहिन्छ। त्यसैले प्रार्थनामा पवित्र शक्ति मागिरहौँ र त्यसको डोऱ्याइअनुसार चलिरहौँ। अन्तस्करणलाई तालिम दिन बाइबल सिद्धान्तहरूले पनि मदत गर्छ। यहोवाले दिनुभएका यस्ता उपहारहरूलाई राम्रोसित प्रयोग गरिरहौँ। यसो गऱ्यौँ भने परमेश्वरको वचनको शक्तिले हाम्रो जीवनमा काम गरेको हामी आफैले अनुभव गर्नेछौँ।—२ तिमो. ३:१६, १७; हिब्रू ४:१२.
गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान् होऊ”