जुलाई ६-१२, २०२६
गीत ९८ धर्मशास्त्र—ईश्वर प्रेरित
बाइबल सिद्धान्तहरू बुझ्नु किन महत्त्वपूर्ण छ?
“तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाउन सक्नेछौ।”—रोमी १२:१.
सिक्न सकिने कुरा
सिद्धान्त भनेको के हो र बाइबल पढ्दा त्यसमा भएका सिद्धान्तहरू हामी कसरी पत्ता लगाउन सक्छौँ?
१-२. (क) बाइबललाई किन पुरानो किताब भन्न मिल्छ? (ख) बाइबल हाम्रो समयसम्म पनि किन उपयोगी छ?
बाइबल एउटा पुरानो किताब हो। यो झन्डै ३,५०० वर्षअघि लेख्न सुरु गरियो र यसको अन्तिम किताब झन्डै २,००० वर्षअघि लेख्न सिद्धियो। तैपनि “परमेश्वरको वचन” अहिलेसम्म जीवित र प्रबल छ। (हिब्रू ४:१२; २ तिमो. ३:१६, १७) बाइबलको सल्लाह लागू गर्दा थुप्रैले बुद्धिमानी निर्णयहरू गर्न र आनन्दित हुन सकेको कुरा बताएका छन्।
२ यत्ति पुरानो किताब अहिले हाम्रो समयसम्म पनि उपयोगी हुन सक्नुको कारण के हो? यसको दुई वटा कारण विचार गरौँ। पहिलो, बाइबलको सन्देश “जीवित” र बुद्धिमान् परमेश्वरबाट आएको हो। (१ तिमो. ४:१०; रोमी १६:२६, २७) दोस्रो, बाइबलमा भएका सिद्धान्तहरू कहिल्यै पुराना हुँदैनन्। त्यसैले ती जुनसुकै समयको मानिसको लागि र जस्तोसुकै चुनौतीको सामना गर्न उपयोगी हुन्छन्।
३. यस लेखमा हामी कस्ता प्रश्नहरूको जवाफ पाउनेछौँ?
३ यस लेखमा हामी यी प्रश्नहरूको जवाफ पाउनेछौँ: बाइबल सिद्धान्तहरू भनेको के हो? बाइबल सिद्धान्तहरू बुझ्नु अहिले किन झनै महत्त्वपूर्ण छ? बाइबल पढ्दा त्यसमा भएको सिद्धान्त हामी कसरी पत्ता लगाउन सक्छौँ? येसुले मानिसहरूलाई सिकाउनुहुँदा सिद्धान्तहरू बुझ्न कसरी मदत गर्नुभयो?
बाइबल सिद्धान्तहरू भनेको के हो?
४. बाइबल सिद्धान्तहरू भनेको के हो?
४ बाइबल सिद्धान्तहरू भनेको परमेश्वरको वचनमा पाइने आधारभूत सत्यहरू हुन्। ती सत्यको आधारमा परमेश्वरले नियमहरू तोक्नुभएको छ। (मत्ति २२:३७) कुनै-कुनै नियमलाई भने सिद्धान्तकै रूपमा लिन सकिन्छ। बाइबलका कतिपय नियमहरू कुनै खास समय वा अवस्थाको लागि मात्र लागू हुन्थ्यो। त्यसैले त्यसको दायरा सीमित थियो तर सिद्धान्तहरू भने त्यस्तो हुँदैनन्। यस अर्थमा नियमभन्दा सिद्धान्त उत्कृष्ट छ। बाइबल सिद्धान्तले हामीलाई यहोवाको सोचाइ बुझ्न मदत गर्छ। त्यसैले सिद्धान्त भनेको कुनै नियम दिइनुपछाडिको मुख्य कारण हो। यहोवाले दिनुभएको हरेक नियमपछाडि एउटा ठोस कारण लुकेको हुन्छ। त्यो कारणमा आधारित सिद्धान्त विभिन्न अवस्थामा लागू हुन्छ र कहिल्यै पुरानो हुँदैन। (भज. ११९:१११) नियमहरू समय र परिस्थितिअनुसार परिवर्तन हुन सक्छन् तर सिद्धान्तहरू भने कहिल्यै परिवर्तन हुँदैनन्; ती सदासर्वदा रहिरहन्छन्।—यसै. ४०:८.
५. नियम र सिद्धान्तबीचको भिन्नता बुझाउन एउटा उदाहरण बताउनुहोस्। (चित्रहरू पनि हेर्नुहोस्।)
५ नियम र सिद्धान्तबीचको भिन्नता राम्ररी बुझ्न एउटा उदाहरण विचार गरौँ। एउटी आमाले खाना पकाइरहेको बेला आफ्नो सानो छोरालाई यसो भन्छिन्, ‘यो भाँडा नछोऊ है।’ यो एउटा आज्ञा अर्थात् नियम हो। तर यो नियममा लुकेको सिद्धान्त हो: तातो कुरा छोयो भने पोल्छ, त्यसैले छुनु हुँदैन। यो सिद्धान्त घरमा प्रयोग हुने अरू तातो सामानहरूमा पनि लागू हुन्छ; जस्तै: आइरन, हिटर। त्यति मात्र होइन, घरबाहेक अन्य ठाउँहरूमा प्रयोग हुने तातो सामानहरूमा पनि यही सिद्धान्त लागू हुन्छ। यस उदाहरणमा बताइएको छोरा ठूलो भएपछि उसले आफै खाना पकाउन थाल्छ होला। तर तातो भाँडाले नपोलोस् भनेर ऊ सधैँ होसियार हुनुपर्छ। किनभने सिद्धान्त परिवर्तन हुँदैन: तातो कुरा छोयो भने पोल्छ। त्यसैले समय र अवस्थाअनुसार नियम परिवर्तन हुन सक्छ। तर त्यसमा लुकेको सिद्धान्त कहिल्यै परिवर्तन हुँदैन।
नियम परिवर्तन हुन सक्छ तर त्यसमा लुकेको सिद्धान्त कहिल्यै परिवर्तन हुँदैन (अनुच्छेद ५ हेर्नुहोस्)
बाइबल सिद्धान्तहरू बुझ्नु किन महत्त्वपूर्ण छ?
६. (क) यहोवा हामीलाई बाइबलमार्फत के दिनुहुन्छ? (ख) यहोवाले हामीलाई भरोसा गरेको कसरी देखाउनुभएको छ?
६ यहोवा हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ। त्यसैले विभिन्न खतराहरूबाट जोगाउन उहाँले हामीलाई तोकेरै नियमहरू दिनुभएको छ। (याकु. २:११) साथै उहाँले हामीलाई ती नियमहरूपछाडि लुकेको सिद्धान्त अर्थात् उहाँको सोचाइ बुझ्न मदत गर्नुहुन्छ। यसरी उहाँ हामीलाई बाइबलमार्फत भरपर्दो डोऱ्याइ दिनुहुन्छ। त्यसैले कुनै स्पष्ट नियम नभएको अवस्थामा पनि परमेश्वरको डोऱ्याइअनुसार चल्यौँ भने सही निर्णय गर्न र बुद्धिमानी कदम चाल्न सक्नेछौँ। यहोवाले हरेक अवस्थाको लागि नियमहरू दिनुभएको छैन बरु सिद्धान्तहरू दिनुभएको छ। यसरी उहाँले हामीलाई भरोसा गरेको देखाउनुभएको छ। साथै उहाँले हामीलाई निर्णय गर्ने स्वतन्त्रता दिनुभएको छ। त्यसैले हामी आफ्ना निर्णयहरूद्वारा यहोवा र उहाँका स्तरहरूलाई प्रेम गरेको देखाउन सक्छौँ।—गला. ५:१३.
७. बाइबल सिद्धान्तहरू बुझ्नु किन महत्त्वपूर्ण छ? एउटा उदाहरण बताउनुहोस्। (चित्र पनि हेर्नुहोस्।)
७ बाइबल सिद्धान्तहरू बुझ्दा हामीलाई कस्तो फाइदा हुन्छ? एउटा उदाहरण विचार गरौँ। कुनै-कुनै देशका हाइवेहरूमा विभिन्न ट्राफिक साइनहरू राखिएका हुन्छन्। ती साइनहरूमा ड्राइभरले पालन गर्नुपर्ने नियमहरू दिइएका हुन्छन्। जस्तै, ठाउँ-ठाउँमा गति सीमा तोकिएको हुन्छ वा रोक्नुपर्ने साइनहरू राखिएको हुन्छ। ती नियमहरू उल्लङ्घन गरेको खण्डमा ड्राइभरले जरिबाना तिर्नुपर्ने वा सजाय भोग्नुपर्ने हुन्छ। तर अरू कतिपय साइनहरूले भने ड्राइभरलाई सम्भाव्य खतराहरूबारे सतर्क बनाउँछ। जस्तै, बाटो चिप्लो छ वा जनावरले बाटो काट्न सक्छ। त्यस्ता साइनहरू देखेपछि अनुभवी ड्राइभरले सबै कुरा राम्ररी सोचविचार गर्छ र होसियार भई गाडी चलाउँछ। जस्तै, पानी परिरहेको वा बाक्लो हुस्सु लागिरहेको बेला ड्राइभरले सम्भाव्य खतरालाई विचार गर्दै गाडी चलाउँछ। त्यसरी नै ख्रिष्टियनहरूले बाइबलमा तोकेरै दिइएका नियमहरू उल्लङ्घन गर्दैनन्। तर तिनीहरू त्यस्ता नियमहरू उल्लङ्घन गर्ने हदसम्म पुऱ्याउन सक्ने सोचाइ नराख्न वा कदम नचाल्न पनि होसियार हुन्छन्। त्यसैले सही निर्णय गर्न परमेश्वरको सोचाइ राम्ररी बुझ्नु आवश्यक छ।
ट्राफिक साइनहरूले ड्राइभरलाई सम्भाव्य खतराहरूबारे सतर्क बनाउँछ। बाइबल सिद्धान्तहरूले पनि हामीलाई त्यसरी नै मदत गर्छ (अनुच्छेद ७ हेर्नुहोस्)
८. बाइबल सिद्धान्तहरू राम्ररी बुझ्न प्रयास गऱ्यौँ भने कस्तो फाइदा हुन्छ? (रोमी १२:१, २)
८ बाइबल सिद्धान्तहरू राम्ररी बुझ्नु र त्यसअनुसार जीवन बिताउनुका अरू फाइदाहरू पनि छन्। जस्तै, विभिन्न मामिलामा यहोवाको सोचाइ बुझ्न सिकिरहेका हुन्छौँ। बाइबलको कुनै विवरण पढ्दा त्यसमा हाम्रो लागि कस्ता पाठहरू छन् भनेर खोज्न सिक्छौँ। साथै यहोवाले ती पाठहरू बाइबलमा किन समावेश गर्नुभयो र त्यसबाट हामी कसरी लाभ उठाउन सक्छौँ भनेर सोच्न सिक्छौँ। यसरी सिकिरह्यौँ भने हामीले “आफ्नो सोचविचार गर्ने क्षमता चलाएर” यहोवाको सेवा गरिरहन सक्नेछौँ। साथै हामीले “परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन” सक्नेछौँ।—रोमी १२:१, २ पढ्नुहोस्।a
९. बाइबल सिद्धान्तहरूअनुसार जीवन बिताउन सिक्दा अर्को कस्तो फाइदा हुन्छ? (हिब्रू ५:१३, १४)
९ बाइबल सिद्धान्तहरूअनुसार जीवन बिताउन सिक्दा हामी परिपक्व ख्रिष्टियन बन्न सक्छौँ। अनि यहोवासितको हाम्रो सम्बन्ध अझ प्रगाढ हुन्छ। (हिब्रू ५:१३, १४ पढ्नुहोस्।) आमाबुबाले साना छोराछोरीको लागि अक्सर हरेक अवस्थाको लागि नियमहरू तोकिदिएका हुन्छन्। प्रायजसो छोराछोरीहरू सजाय भोग्नुपर्ला भन्ने डरले मात्र यस्ता नियमहरू पालन गर्छन्। तर यहोवा हामीलाई साना केटाकेटीलाई जस्तो होइन तर वयस्कलाई जस्तो व्यवहार गर्नुहुन्छ। हामीले उहाँको इच्छासित मेल खाने निर्णयहरू गर्नेछौँ भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्छ। त्यस्ता निर्णयहरू गर्दा हामीले उहाँको हृदयलाई खुसी बनाइरहेका हुन्छौँ।—भज. १४७:११; हितो. २३:१५, २६; २७:११.
हामी कसरी बाइबल सिद्धान्तहरू पत्ता लगाउन सक्छौँ?
१०. हामी कसरी बाइबल सिद्धान्तहरू पत्ता लगाउन सक्छौँ?
१० हामीले कुनै बाइबल विवरण पढ्दा त्यसमा हाम्रो लागि कस्ता पाठहरू छन् भनेर खोज्यौँ भने त्यसमा लुकेका सिद्धान्तहरू पत्ता लगाउन सक्नेछौँ। यसो गऱ्यौँ भने यहोवा कस्तो सोचाइ राख्नुहुन्छ र उहाँ कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न सक्नेछौँ। बाइबल सिद्धान्तहरू पत्ता लगाउने अर्को तरिका यहोवाले कुनै नियम दिनुपछाडिको कारण के हो भनेर विचार गर्नु हो। ती कारणहरू हामी जति राम्ररी बुझ्छौँ, यहोवाको सोचाइ पनि त्यति नै राम्ररी बुझ्नेछौँ। तर हामीले यहोवाको सोचाइ बुझ्न प्रार्थना गरेर उहाँसित मदत माग्नुपर्छ र हाम्रो सोच्ने क्षमता पनि तिखार्दै लैजानुपर्छ। (हितो. २:१०-१२) हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘यहोवाले यो नियम किन दिनुभयो? यदि मैले यो कुरा गरेको यहोवालाई मन पर्दैन भने यस्तै खालको अर्को कुरा गरेँ भने उहाँलाई कस्तो लाग्ला? यो बाइबल विवरणबाट म कस्तो पाठ सिक्न सक्छु? त्यसलाई म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?’ यदि हामीले बाइबलमा दिइएका नियमहरूपछाडिको कारण र बाइबल विवरणबाट सिक्न सकिने पाठहरू पत्ता लगाउन सक्यौँ भने सही निर्णय गर्न सक्नेछौँ। यस्ता निर्णयहरूले यहोवालाई खुसी बनाउँछ।
११. बाइबल सिद्धान्तहरू पत्ता लगाउने तरिकाबारे हामी डाँडाको उपदेशबाट के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
११ येसुले दिनुभएको डाँडाको उपदेश पढ्दा बाइबल सिद्धान्तहरू कसरी पत्ता लगाउने भनेर बुझ्न सक्छौँ। उहाँले भन्नुभएको तीन वटा कुरा सँगै केलाऔँ। सुरुमा येसुले एउटा नियम उल्लेख गर्नुभयो। त्यसपछि उहाँले त्यस नियममा लुकेको यहोवाको सोचाइ अर्थात् सिद्धान्त बताउनुभयो। येसुले बताउनुभएका कुराहरूमा मनन गऱ्यौँ भने ती सिद्धान्तहरू अहिले आफ्नो जीवनमा कसरी लागू गर्न सक्छौँ भनेर बुझ्नेछौँ। साथै ती सिद्धान्तहरू लागू गर्दा हामीलाई कस्तो फाइदा हुन्छ भनेर बुझ्नेछौँ।
येसुले दिनुभएको डाँडाको उपदेश पढ्दा बाइबल सिद्धान्तहरू कसरी पत्ता लगाउने भनेर बुझ्न सक्छौँ (अनुच्छेद ११ हेर्नुहोस्)
१२. मत्ति ५:२१, २२ मा दिइएको नियममा लुकेको एउटा सिद्धान्त के हो? (चित्र पनि हेर्नुहोस्।)
१२ मत्ति ५:२१, २२ पढ्नुहोस्। “तिमीहरूले हत्या नगर्नू।” यो नियममा लुकेको एउटा सिद्धान्त के हो? यहोवा हामीले अरूलाई घृणा गरेको चाहनुहुन्न, चाहे त्यो हाम्रो काममा, बोलीमा वा सोचाइमा नै किन नहोस्। कसैले हत्या गरेको छैन तर यदि उसले आफ्नो भाइलाई घृणा गर्छ भने उसले हत्या नगर्नू भन्ने नियम उल्लङ्घन गरिरहेको हुन्छ भनेर येसुले बुझाउनुभयो। यदि कोही “आफ्नो भाइसित क्रोधित भइरहन्छ” वा उसलाई मौखिक दुर्व्यवहार गर्छ भने क्रोधित हुने व्यक्ति यहोवासामु “जबाफदेही” हुनेछ। वास्तवमा यस्तै मनोवृत्ति र व्यवहारले हत्या गर्ने हदसम्म पुऱ्याउँछ।—१ युह. ३:१५.
१३. हामी मत्ति ५:२१, २२ मा पाइने सिद्धान्त कसरी लागू गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१३ मत्ति ५:२१, २२ मा पाइने सिद्धान्त हामी अहिले कसरी लागू गर्न सक्छौँ? हामीले अरूविरुद्ध मनमा रिस पाल्नु हुँदैन। (लेवी १९:१८; अय्यु. ३६:१३) किन? किनभने यस्तो भावनाले हाम्रो मनमा घृणा जगाउँछ, जसले गर्दा हामी अरूको चित्त दुख्ने बोली वा व्यवहार गर्ने हदसम्म पुग्न सक्छौँ। (हितो. १०:१२) यसमा कुरा काट्नु र निन्दा गर्नु समावेश छ, जसले गर्दा अरूको बदनाम हुन्छ। (हितो. २०:१९; २५:२३) येसुले यो सिद्धान्त बताउनुहुँदा सामाजिक सञ्जाल, ब्लग, इन्टरनेट वा मेसेजिङ एपजस्ता कुराहरू थिएन। तर यो सिद्धान्तअनुसार चल्दा परिपक्व ख्रिष्टियनहरू सम्भाव्य खतराहरूदेखि जोगिन सक्छन्। हामीले कहिल्यै पनि अरूको बदनाम गर्ने बोली बोल्नु हुँदैन। किनभने त्यसले गर्दा अरूको चरित्र-हत्या समेत हुन सक्छ।
(अनुच्छेद १२-१३ हेर्नुहोस्)
१४. मत्ति ५:२७, २८ मा दिइएको नियममा लुकेको सिद्धान्त के हो? (चित्र पनि हेर्नुहोस्।)
१४ मत्ति ५:२७, २८ पढ्नुहोस्। “तिमीहरूले व्यभिचार नगर्नू।” यो नियममा लुकेको सिद्धान्त के हो? यहोवा अवैध यौनसम्बन्धलाई मात्र होइन तर त्यो हदसम्म पुऱ्याउन सक्ने सोचाइलाई समेत घृणा गर्नुहुन्छ। एक जना विवाहित पुरुषले कुनै स्त्रीलाई (आफ्नी पत्नीबाहेक अरूलाई) हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ भने उसले पाप गरेको हुन्छ भनेर येसुले बताउनुभयो। त्यसैले तिनले आफ्नो मनबाट त्यस्तो अनैतिक विचार हटाउन तुरुन्तै कदम चाल्नुपर्छ। त्यसो गर्न तिनले कडा प्रयास गर्नुपर्ने हुन सक्छ। (मत्ति ५:२९, ३०) यो सिद्धान्त अविवाहित ख्रिष्टियनहरूलाई पनि लागू हुन्छ।
१५. हामी मत्ति ५:२७, २८ मा पाइने सिद्धान्त कसरी लागू गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१५ मत्ति ५:२७, २८ मा पाइने सिद्धान्त हामी अहिले कसरी लागू गर्न सक्छौँ? हामीले अनुचित इच्छाहरूलाई मनमा खेलाइराख्नु हुँदैन। (२ समु. ११:२-४; अय्यु. ३१:१-३) परिपक्व ख्रिष्टियन सबै किसिमका अश्लील कुराहरूदेखि टाढै बस्छन्। तिनले यस्तो तर्क गर्दैनन्, ‘अश्लील कुराहरू हेरेको मात्र हो, गरेको त छैन नि!’ तिनले यस्तो बहाना बनाउँदैनन्, ‘मैले “सफ्ट पोर्न” मात्र हेरेको हो नि, त्यसमा के खराबी छ र!’ सोच्नुहोस् त, येसुको समयमा इलेक्ट्रोनिक डिभाइस, फिल्म वा फोटोजस्ता कुराहरू थिएन। तैपनि येसुले दिनुभएको सिद्धान्तबाट अहिले सामान्य भइसकेको सेक्सटिङ वा साइबर सेक्सजस्ता गतिविधिहरूलाई यहोवा घृणा गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ। यो सिद्धान्त लागू गर्ने विवाहित व्यक्तिले आफ्नो पति वा पत्नीलाई धोका दिनेछैनन्। (मला. २:१५) अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुऱ्याउन सक्ने सबै कुराबाट टाढा रहन यो सिद्धान्तले विवाहित होस् वा अविवाहित, सबै ख्रिष्टियनहरूलाई मदत गर्छ।—हितो. ५:३-१४.
(अनुच्छेद १४-१५ हेर्नुहोस्)
१६. मत्ति ५:४३, ४४ मा दिइएको नियममा लुकेको सिद्धान्त के हो? (चित्र पनि हेर्नुहोस्।)
१६ मत्ति ५:४३, ४४ पढ्नुहोस्। “तिमीहरूले आफ्नो छिमेकीलाई प्रेम गर्नू।” यो नियममा लुकेको सिद्धान्त के हो? हामीले सबै मानिसलाई आफ्नो छिमेकी ठानेको र तिनीहरूलाई प्रेम गरेको यहोवा चाहनुहुन्छ। दुःखको कुरा, येसुको समयका यहुदीहरूले यो नियमको गलत अर्थ लगाएका थिए। तिनीहरूले यहुदीबाहेक अरूलाई शत्रु ठान्थे र घृणा गर्नुपर्छ भन्ने सोचाइ राख्थे। तर येसुलाई यो नियम दिइनुपछाडिको कारण थाह थियो। स्वर्गमा बस्नुहुने मायालु बुबा हामीले सबैलाई आफ्नो छिमेकी ठानेको चाहनुहुन्छ भनेर येसुलाई थाह थियो, चाहे तिनीहरू जुनसुकै जाति वा राष्ट्रको किन नहोऊन्।—मत्ति ५:४५-४८.
१७. मत्ति ५:४३, ४४ मा पाइने सिद्धान्त लागू गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? (चित्र पनि हेर्नुहोस्।)
१७ मत्ति ५:४३, ४४ मा पाइने सिद्धान्त हामी अहिले कसरी लागू गर्न सक्छौँ? छिमेकीप्रतिको प्रेमले गर्दा हामी अहिले भइरहेका युद्ध र द्वन्द्वहरूमा मुछिनेछैनौँ। (यसै. २:४; मिका ४:३) अनि आफ्नो भन्दा फरक जाति, राष्ट्र वा धार्मिक पृष्ठभूमिका मानिसहरूसित दयालु व्यवहार गर्नेछौँ। (प्रेषि. १०:३४, ३५) साथै हाम्रो वा हामीले माया गर्ने व्यक्तिको चित्त दुखाउनेहरूप्रति क्षमाशील हुन सक्नेछौँ।—मत्ति १८:२१, २२; मर्कु. ११:२५; लुका १७:३, ४.
(अनुच्छेद १६-१७ हेर्नुहोस्)
बाइबल सिद्धान्तहरूअनुसार जीवन बिताउने सङ्कल्प गर्नुहोस्
१८. (क) हाम्रो सङ्कल्प कस्तो हुनुपर्छ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?
१८ यहोवाले हामीलाई साना केटाकेटीलाई जस्तो नभई वयस्कलाई जस्तो व्यवहार गर्नुभएकोमा हामी उहाँप्रति साँच्चै कृतज्ञ छौँ। हामीले हरेक अवस्थामा बाइबल सिद्धान्तहरू लागू गरेर निर्णय गरेको यहोवा चाहनुहुन्छ। (१ कोरि. १४:२०) त्यस्ता निर्णयहरू गर्दा ‘यहोवा परमेश्वरको इच्छा के हो, सो बुझिरहनु’ महत्त्वपूर्ण छ। (एफि. ५:१७) सजाय पाइएला भन्ने डरले नभई यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर उहाँलाई खुसी बनाउने निर्णय गर्न सक्नेछौँ। यस्तो निर्णय गर्न सकोस् भनेर यहोवाले हामीलाई अर्को एउटा उपहार दिनुभएको छ। त्यो हो, अन्तस्करण। त्यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।
गीत ९५ ज्योति झनै चहकिलो भयो
a यहोवाले तोकेरै नियम नदिनुभएको अवस्थामा हामीले सिद्धान्तहरू बुझ्नु जरुरी छ। त्यस्तो अवस्थामा कस्ता बाइबल सिद्धान्तहरू लागू हुन्छन् भनेर बुझ्नुपर्ने र त्यसको आधारमा निर्णय गर्नुपर्ने हुन्छ। यसरी सोचविचार गर्ने क्षमता चलाएर निर्णयहरू गर्दा यहोवा खुसी हुनुहुनेछ र आशिष् दिनुहुनेछ। प्रथम शताब्दीका थुप्रै ख्रिष्टियनहरूले यसरी यहोवाको उपासना गर्न सिक्नुपरेको थियो। किनभने पहिला तिनीहरूले यहुदी धर्म मान्दा धर्मगुरुहरूले बनाएका नियमहरू पालन गरे पुग्थ्यो।