प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 मार्च पृ. २६-३१
  • मानिसहरूले घृणा गर्दा पनि हामी किन आनन्दित हुन सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरूले घृणा गर्दा पनि हामी किन आनन्दित हुन सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानिसहरूले हामीलाई किन घृणा गर्छन्‌?
  • मानिसहरूले घृणा गर्दा पनि हामी किन आनन्दित हुन सक्छौँ?
  • प्रेमले घृणा सहन मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • अन्तसम्म सहन हामीलाई मदत गर्ने एउटा पत्र
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा हामीलाई सहनशील हुन कसरी मदत गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “कसको उपासना गर्न चाहन्छौ, आजै रोज”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 मार्च पृ. २६-३१

जून १-७, २०२६

गीत १११ हामी आनन्दित हुनुको कारण

मानिसहरूले घृणा गर्दा पनि हामी किन आनन्दित हुन सक्छौँ?

“आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई . . . घृणा गर्छन्‌।”—लुका ६:२२.

सिक्न सकिने कुरा

यहोवाको सेवा गरेकोले मानिसहरूले हामीलाई घृणा गर्छन्‌। तैपनि हामी किन आनन्दित हुन सक्छौँ?

१. येसुले के भन्‍नुभयो र त्यो कुरा सुनेर हामीलाई किन छक्क लाग्न सक्छ?

डाँडाको उपदेशमा येसुले यसो भन्‍नुभयो: “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई . . . घृणा गर्छन्‌।” (लुका ६:२२) येसुका यी शब्दहरू सुनेर ती मानिसहरू छक्क परेको हुनुपर्छ। किनभने हामी कसैलाई पनि अरूले घृणा गरेको मन पर्दैन। त्यसोभए येसुले घृणा गरिए तापनि आनन्दित हुन सकिन्छ भनेर किन भन्‍नुभयो? यसबारे बुझ्नु महत्त्वपूर्ण छ किनभने आज पनि थुप्रैले येसुका चेलाहरूलाई घृणा गर्छन्‌। यस लेखमा हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: (१) मानिसहरूले हामीलाई किन घृणा गर्छन्‌? (२) घृणा गरिए तापनि हामी किन आनन्दित हुन सक्छौँ?

मानिसहरूले हामीलाई किन घृणा गर्छन्‌?

२-३. (क) साँचो ख्रिष्टियनहरूले खेदो भोग्नुको एउटा कारण के हो? (युहन्‍ना १६:२, ३) (ख) यो कुरा बुझेपछि हामी तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्न सक्नेछौँ?

२ मानिसहरू हामीलाई घृणा गर्छन्‌ किनभने हामी यहोवाको उपासना गर्छौँ। येसुका चेलाहरूलाई मानिसहरूले खेदो गर्नेछन्‌ र कसै-कसैलाई मार्नेछन्‌ भनेर उहाँलाई थाह थियो। मानिसहरूले त्यसो गर्नुको कारणबारे उहाँले यसो भन्‍नुभयो: “तिनीहरूले न बुबालाई न त मलाई नै चिनेका छन्‌।” (युहन्‍ना १६:२, ३ पढ्‌नुहोस्‌।) तर मानिसहरूलाई खेदो गर्ने मुख्य व्यक्‍ति को हो? सैतान हो। त्यसलाई बाइबलमा “यस युगको ईश्‍वर” भनिएको छ। (२ कोरि. ४:३, ४) त्यसले मानिसहरूले यहोवाबारे सत्य कुरा थाह नपाऊन्‌ भनेर तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ। साथै त्यसले यहोवालाई चिन्‍ने र उहाँलाई प्रेम गर्नेहरूको विरोध गर्न मानिसहरूलाई उक्साउँछ। (युह. ८:४२-४४) यो कुरा बुझेपछि खेदो गर्नेहरूप्रति कस्तो दृष्टिकोण राख्न सक्नेछौँ? हामी तिनीहरूलाई घृणा गर्नेछैनौँ। किनभने तिनीहरूलाई सैतानले अन्धो तुल्याइदिएको छ।

३ पाबेलकोa अनुभव विचार गरौँ। तिनी हाम्रो काम प्रतिबन्ध लगाइएको देशमा बस्छन्‌। तिनले वफादार भई यहोवाको उपासना गरिरहेकोले तिनलाई गिरफ्तार गरियो, निर्ममतापूर्वक पिटियो र महिनौँसम्म एकल कारावासमा राखियो। पाबेल अहिले यसो भन्छन्‌: “सैतान र त्यसका प्रेतहरूले हामीलाई यहोवाको उपासना गर्नदेखि रोक्न खोज्छन्‌। हामीले खेदो भोग्नुको मुख्य कारण त्यही हो भनेर मैले बुझेँ। झ्यालखानामा काम गर्ने धेरैजसोको हामीसित व्यक्‍तिगत दुस्मनी हुँदैन। तिनीहरूले आफ्नो जिम्मा पूरा गरिरहेका मात्र हुन्‌।” क्रोएसियामा बस्ने एक भाइले बेग्लै धर्म मान्‍ने आफ्नो आमाबुबाबाट असाध्यै खेदो भोग्नुपऱ्‍यो। तिनी यसो भन्छन्‌: “मेरो शत्रु वास्तवमा सैतान हो, आमाबुबा होइन भनेर मैले बुझेँ।”—एफि. ६:१२.

४. येसु र स्तिफनसबाट हामी के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

४ खेदो गर्नेहरूलाई हामी घृणा गर्दैनौँ बरु तिनीहरूको लागि प्रार्थना गर्नसमेत उत्प्रेरित हुन सक्छौँ। (मत्ति ५:४४) यस सन्दर्भमा हामी येसु र उहाँको चेला स्तिफनसबाट सिक्न सक्छौँ। यातनाको खम्बामा झुन्ड्याइँदा येसुले यसो भनेर प्रार्थना गर्नुभयो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्‌।” (लुका २३:३४) येसुले कसको लागि यहोवासित बिन्ती गर्दै हुनुहुन्थ्यो? रोमी सिपाहीहरूको लागि, जसले उहाँलाई यातनाको खम्बामा टाँगेर मार्न लागेका थिए। साथै उहाँले भीडमा भएका ती मानिसहरूबारे पनि सोचिरहनुभएको हुन सक्छ, जसले उहाँ मारिनुपर्छ भनेर कराइरहेका थिए। तिनीहरूलाई त्यसो गर्न धर्मगुरुहरूले उक्साइरहेका छन्‌ र तिनीहरू जे गर्दै छन्‌, त्यो तिनीहरू जान्दैनन्‌ भनेर येसुलाई थाह थियो। साथै स्तिफनसले पनि आफूलाई ढुङ्‌गाले हानेर मार्न लागेका मानिसहरूलाई क्षमा गरिदिनुहोस्‌ भनेर यहोवासित बिन्ती गरे। (प्रेषि. ७:५८-६०) के यहोवाले येसु र स्तिफनसको प्रार्थनाको जवाफ दिनुभयो? हो, दिनुभयो। येसुको पुर्पक्ष गरिँदा र उहाँलाई मारिँदा साथ दिएका थुप्रैले पछि पश्‍चात्ताप गरे, येसुमाथि विश्‍वास गरे र बप्तिस्मा गरे। (प्रेषि. २:३६-४१) स्तिफनसको हत्यामा साथ दिने एक जना टार्ससका सावल थिए। पछि तिनी ख्रिष्टियन बने र आफूले अनजानमा गरेका नराम्रा कामहरूको लागि असाध्यै पछुताए।—१ तिमो. १:१३.

झ्यालखानामा थुनिएका एक भाइको अनुहारमा चोट लागेको छ। तिनी प्रार्थना गर्दै छन्‌ र गार्डले तिनको निगरानी गर्दै छ।

येसु र स्तिफनसले खेदो गर्नेहरूको लागि प्रार्थना गर्नुभएजस्तै हामी पनि खेदो गर्नेहरूको लागि प्रार्थना गर्न सक्छौँ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. सिजरको अनुभवबाट तपाईँले के सिक्नुभयो?

५ विरोधीहरूको लागि हामीले गर्ने प्रार्थना यहोवा अहिले पनि सुन्‍नुहुन्छ। सिजर भाइको अनुभव विचार गरौँ। तिनी भेनेजुएलामा बस्छन्‌। तिनी यहोवाको साक्षी भएकोले तिनको बुबाले असाध्यै विरोध गरे। सिजर यसो भन्छन्‌: “मेरी आमाले असल पत्नी र आमाको भूमिका राम्रोसँग पूरा गर्नुभएको थियो। उहाँले परमेश्‍वरको राज्यलाई सधैँ पहिलो स्थानमा राख्नुहुन्थ्यो। तर बुबालाई पनि कहिल्यै बेवास्ता गर्नुभएन। उहाँले हामी छोराछोरीलाई बुबाको आदर गर्न सिकाउनुभयो। साथै उहाँले यहोवाको इच्छासित मेल नखाने कुरामा बाहेक सधैँ बुबाको आज्ञा पालन गर्न सिकाउनुभयो।” समयको दौडान बिस्तारै बुबाको विरोध कम हुँदै गयो। सिजर अझ यसो भन्छन्‌: “एक दिन मैले बुबाको लागि मनैदेखि प्रार्थना गरेँ। त्यसपछि उहाँलाई मसित बाइबल अध्ययन गर्न चाहनुहुन्छ कि भनेर सोधेँ। उहाँले ‘हुन्छ’ भन्‍नुहुँदा म कत्ति खुसी भएको थिएँ, त्यो म शब्दमा व्यक्‍त गर्नै सक्दिनँ।” पछि सिजरको बुबाले बप्तिस्मा गरे। हुनत सबैले यस्तै परिवर्तन गर्दैनन्‌। तर हाम्रो दयालु बोली र असल आचरण देखेर कोही-कोहीले विरोध गर्न छोड्‌छन्‌। यस्तो देख्दा हामीलाई असाध्यै खुसी लाग्छ। यहोवा कृपालु परमेश्‍वर हुनुहुन्छ र उहाँ “सारा पृथ्वीका न्यायकर्ता” पनि हुनुहुन्छ। त्यसैले उहाँले यस्ता असल हृदय भएकाहरूलाई पक्कै आफूतर्फ खिच्नुहुन्छ।—उत्प. १८:२५.

६. मानिसहरूले हामीलाई घृणा गर्नुको अर्को कारण के हो? (मर्कुस १३:१३)

६ मानिसहरू हामीलाई घृणा गर्छन्‌ किनभने हामी येसुलाई समर्थन गर्छौँ। येसुको “चेला भएकाले” मानिसहरूले साँचो ख्रिष्टियनहरूलाई घृणा गर्नेछन्‌ भनेर उहाँले बताउनुभयो। (मर्कुस १३:१३ पढ्‌नुहोस्‌।) येसुको चेला हुनुमा परमेश्‍वरको राज्यको राजाको रूपमा उहाँको अख्तियार स्विकार्नु पनि समावेश छ। मानिसहरू हामीलाई घृणा गर्छन्‌ किनकि हामी तिनीहरूले जस्तो मानव शासकहरूमाथि नभई यहोवाले रोज्नुभएको शासक येसु ख्रिष्टमाथि भरोसा राख्छौँ। येसुले १९१४ देखि परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। अब चाँडै येसुले उहाँको अख्तियारलाई नस्विकार्ने सबै मानव सरकारहरूलाई हटाउनुहुनेछ।

७-८. यहोवाका केही सेवकहरू गिल्लाको पात्र बन्‍नुको कारण के हो? (युहन्‍ना १५:१८-२०) (चित्रहरू पनि हेर्नुहोस्‌।)

७ मानिसहरू हामीलाई घृणा गर्छन्‌ किनभने हामी सैतानको संसारको भाग बन्‍न इन्कार गर्छौँ। मानिसहरूले चेलाहरूलाई घृणा गर्नेछन्‌ भनेर येसुले बताउनुभयो किनभने ‘तिनीहरू यस संसारका होइनन्‌।’ (युहन्‍ना १५:१८-२० पढ्‌नुहोस्‌।) सुरु-सुरुतिरका ख्रिष्टियनहरूजस्तै हामी पनि संसारको खराब आचरण, बोली र मनोभावलाई तिरस्कार गर्छौँ। त्यसैले थुप्रै भाइबहिनीहरू स्कुलमा वा काम गर्ने ठाउँमा गिल्लाको पात्र बनेका छन्‌। (१ पत्रु. ४:३, ४) तर खुसीको कुरा, कसै-कसैले हाम्रो विरोध गर्न छोडेका छन्‌ र हाम्रो विश्‍वासको कदर गर्न थालेका छन्‌।

८ इग्नासियोको अनुभव विचार गरौँ। तिनी मध्य अमेरिकामा बस्छन्‌। तिनी स्कुलमा छँदा एक जना शिक्षकले तिनको वर्षौँसम्म खिल्ली उडाए किनकि तिनी यहोवाको उच्च नैतिक स्तरअनुसार जीवन बिताउँथे। स्कुलको पढाइ सकिने बेलातिर ती शिक्षकले अरूले त्यसरी गिल्ला गर्दा पनि तिनी कसरी बाइबलको स्तरअनुसार चलिरहन सके भनेर सोधे। तिनले परमेश्‍वरले हाम्रै सुरक्षाको लागि त्यस्ता स्तरहरू दिनुभएको हो भनेर बताए। त्यसपछि तिनले ती शिक्षकलाई सभाको निम्तो दिए। ती शिक्षक सभामा आएको देख्दा त इग्नासियो छक्कै परे! मण्डलीको न्यानो वातावरण देखेर ती शिक्षक असाध्यै प्रभावित भए र उनी नियमित रूपमा सभामा आउन थाले। बाइबल अध्ययन गर्न थालेपछि उनी आफैले पनि विरोध सहनुपऱ्‍यो। तैपनि उनले आध्यात्मिक प्रगति गरिरहे र बप्तिस्मा गरे।

चित्रहरूको सँगालो: स्कुलमा इग्नासियोको अनुभवको पुनःअभिनय। १. शिक्षकले अरू विद्यार्थीहरूको अगाडि तिनको गिल्ला गर्दा तिनी बदलाभाव नराखी शान्त भएर बस्छन्‌। २. पछि ती शिक्षकले इग्नासियोको कुरा ध्यान दिएर सुन्छन्‌।

जुनसुकै उमेरको भए तापनि हामी साहसी भई आफ्नो विश्‍वासको पक्षमा खडा हुन सक्छौँ (अनुच्छेद ८ हेर्नुहोस्‌)b


९-१०. (क) हामी किन सैतानको संसारका मानिसहरूभन्दा भिन्‍नै देखिन्छौँ? (ख) हामी पावलको उदाहरणबाट के सिक्न सक्छौँ?

९ हामी राजनैतिक मामिलाहरूमा तटस्थ रहन्छौँ र युद्धमा भाग लिँदैनौँ। त्यसैले हामी सैतानको संसारका मानिसहरूभन्दा भिन्‍नै देखिन्छौँ। (युह. १८:३६) रोमी १३:१ मा हामीलाई उच्च अख्तियारवालाहरूको अधीनमा रहन आज्ञा दिइएको छ। त्यसैले हामी देशको नियमकानून पालन गर्छौँ। हामी राजनैतिक मामिलाहरूमा तटस्थ रहने भएकोले चुनावमा उठ्‌दैनौँ र कुनै उम्मेदवारलाई भोट पनि हाल्दैनौँ। किन? किनभने हामी यहोवा र उहाँको राज्यप्रति वफादार छौँ। (प्रेषि. २४:२७; २८:१६, ३०) यहोवाका थुप्रै साक्षीहरू आफ्नो विश्‍वासको कारण झ्यालखानामा परेका छन्‌। तर तिनीहरूले झ्यालखानामै भए पनि प्रचार गर्न छोडेका छैनन्‌। यसरी तिनीहरूले प्रेषित पावलको अनुकरण गरिरहेका छन्‌, जसले वर्षौँसम्म नजरबन्दमा र झ्यालखानामा छँदा पनि प्रचार गर्न छोडेनन्‌। तिनले सुन्‍न चाहनेजति सबैलाई सुसमाचार सुनाए। जस्तै: झ्यालखानाका गार्डहरू, अदालतका पदाधिकारीहरू, राज्यपालहरू, राजाहरू र सम्भवतः रोमी सम्राट्‌ नेरोका अफिसरहरू।—प्रेषि. ९:१५.

१० अहिले पनि झ्यालखानामा परेका हाम्रा भाइबहिनीहरूले सुन्‍न चाहनेजति सबैलाई प्रचार गर्दै छन्‌। जस्तै: न्यायाधीशहरू, सरकारी अख्तियारवालाहरू र झ्यालखानाका गार्डहरू। एक जना भाइले राजनैतिक मामिलामा तटस्थ रहेकोले छ वर्षभन्दा लामो समय झ्यालखानामा बिताउनुपऱ्‍यो। तर तिनले त्यसलाई सजायको रूपमा नभई भेडाखाले मानिसहरू खोज्न यहोवाले दिनुभएको असाइनमेन्टको रूपमा हेरे। त्यस्ता मानिसहरूलाई सुसमाचार सुनाउन यहोवाले हामीलाई प्रयोग गर्नुहुन्छ भने त्यो साँच्चै खुसीको कुरा हो! (कल. ४:३) मानिसहरूले हामीलाई घृणा गरे पनि हामी आनन्दित हुन सक्ने अरू कारणहरू के हुन्‌? आउनुहोस्‌, अब छलफल गरौँ।

मानिसहरूले घृणा गर्दा पनि हामी किन आनन्दित हुन सक्छौँ?

११. खेदो भोग्नुपर्दा हाम्रो विश्‍वास कसरी बलियो हुन्छ? एउटा अनुभव बताउनुहोस्‌।

११ मानिसहरूले हामीलाई घृणा गर्नु भनेको बाइबल भविष्यवाणीको पूर्ति हो भनेर हामीलाई थाह छ। बाइबलमा गरिएको पहिलो भविष्यवाणीमा सैतान र त्यसको सन्तानले यहोवालाई प्रेम गर्ने र उहाँको उपासना गर्नेहरूलाई घृणा गर्नेछन्‌ भनेर बताइएको थियो। (उत्प. ३:१५) यहोवाको उपासना गर्नेहरूलाई घृणा गरिनेछ भनेर येसुले पनि थुप्रै चोटी बताउनुभयो। यो कुरा हामी सुसमाचारको चार वटा किताबबाट थाह पाउन सक्छौँ। (मत्ति १०:२२; मर्कु. १३:९-१२; लुका ६:२२, २३; युह. १५:२०) हामीलाई घृणा गरिनेछ भनेर बाइबलका अरू किताबहरूमा पनि बताइएको छ। (२ तिमो. ३:१२; याकु. १:२; १ पत्रु. ४:१२-१४; यहु. ३, १७-१९) त्यसैले खेदो आइपर्दा हामी अचम्म मान्दैनौँ बरु हामी खुसी हुन्छौँ। किनभने यो बाइबल भविष्यवाणीको पूर्ति हो। साथै यो हामीले साँचो परमेश्‍वरको उपासना गरिरहेका छौँ भन्‍ने कुराको प्रमाण हो। हाम्रो काममा कडिकडाउ गरिएको देशमा बस्ने एउटी बहिनी यसो भन्छिन्‌: “मैले यहोवालाई आफ्नो जीवन समर्पण गर्दा ढिलो होस्‌ या चाँडो, खेदो भोग्नुपर्नेछ भनेर मलाई थाह थियो। त्यसैले पछि खेदो आइपर्दा मलाई अलिकति पनि डर लागेन अनि छक्क पनि परिनँ।” तिनले आफ्नै श्रीमान्‌बाट पनि खेदो भोग्नुपऱ्‍यो। श्रीमान्‌ले तिनलाई दुर्व्यवहार गरे र तिनको बाइबल र अरू प्रकाशनहरू पनि जलाइदिए। तर तिनी डराएर पछि हटिनन्‌। बरु तिनको विश्‍वास झन्‌झन्‌ बलियो हुँदै गयो। (हिब्रू १०:३९) तिनी भन्छिन्‌: “खेदो गरिनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएकोले त्यो त हुनै पर्ने कुरा थियो। आफैले खेदो भोग्नुपर्दा यो नै साँचो धर्म रहेछ भनेर म झनै विश्‍वस्त भएँ।”

१२. एक भाइलाई खेदो सहन केले मदत गऱ्‍यो?

१२ खेदो आइपर्नेछ भनेर हामीलाई थाह छ। तैपनि खेदो आइपर्दा त्यो सहन हामीलाई गाह्रो हुन सक्छ। एक भाइले आफूले जेलमा बिताएको समय सम्झँदै यस्तो लेखे: “कहिलेकाहीँ त म असाध्यै निराश र चिन्तित हुन्थेँ अनि रोएर बस्थेँ।” त्यतिबेला तिनलाई केले मदत गऱ्‍यो? तिनले यसो भने: “म सधैँ प्रार्थना गर्थेँ। मेरो दिन प्रार्थनाबाटै सुरु हुन्थ्यो। दिनभरि पनि गाह्रो अवस्था आउनेबित्तिकै म प्रार्थना गरिहाल्थेँ। अरूले दुर्व्यवहार गर्दा मलाई असाध्यै रिस उठ्‌थ्यो। अनि म बाथरुममा गएर प्रार्थना गर्थेँ।” ती भाइले सत्यनिष्ठ रहेका पुरातन समयका र आधुनिक समयका वफादार उपासकहरूबारे पनि मनन गरे। यसो गर्दा तिनले खेदो सहन सके र येसुले प्रतिज्ञा गर्नुभएको शान्ति पाउन सके।—युह. १४:२७; १६:३३.

१३. हामी कसरी घृणालाई जित्न सक्छौं?

१३ हामीसित भएको प्रेमले घृणालाई पनि जित्न सक्छ। येसुले आफ्नो बुबालाई अन्तिम साससम्मै प्रेम गर्नुभयो। उहाँले आफ्ना मित्रहरूलाई पनि प्रेम गर्नुभयो। (युह. १३:१; १५:१३) हामीले पनि यहोवा र भाइबहिनीहरूप्रति त्यस्तै प्रेम विकास गऱ्‍यौँ भने घृणालाई जित्न सक्नेछौँ। कसरी? यो कुरा बुझ्न प्रेषित पावलको उदाहरण विचार गरौँ।

१४. पावललाई मृत्युसम्मै वफादार रहन केले मदत गऱ्‍यो?

१४ आफूलाई मृत्युदण्ड दिइनुभन्दा केही समयअघि पावलले आफ्नो प्यारो मित्र तिमोथिलाई यस्तो लेखे: ‘परमेश्‍वरले दिनुहुने पवित्र शक्‍तिले हामीमा कायरता होइन तर शक्‍ति अनि प्रेम जगाउँछ।’ (२ तिमो. १:७) पावलले के भन्‍न खोज्दै थिए? तिनले यहोवाप्रतिको गहिरो प्रेमले गर्दा हामी जस्तोसुकै कठिन परीक्षा पनि सामना गर्न सक्छौँ भन्‍न खोज्दै थिए। (२ तिमो. १:८) पावललाई यहोवाको सेवा गर्दा आफ्नो ज्यानै जान सक्छ भनेर थाह थियो। तैपनि उहाँप्रतिको गहिरो प्रेमले गर्दा तिनी साहसी हुन र यहोवाप्रति वफादार रहिरहन सके।—प्रेषि. २०:२२-२४.

१५. भाइबहिनीहरूले एकअर्कालाई कसरी निःस्वार्थ प्रेम देखाएका छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१५ खेदो भोग्नुपर्दा पनि वफादार रहेका हाम्रा भाइबहिनीहरूलाई हामी प्रेम गर्छौँ। कोही-कोही त भाइबहिनीहरूको खातिर ठूलो खतरा मोल्नसमेत तयार हुन्छन्‌। अक्विला र प्रिस्किलाले पनि पावललाई बचाउन आफ्नो ज्यानकै खतरा मोलेका थिए। (रोमी १६:३, ४) उदाहरणको लागि, रूसमा गिरफ्तार परेकाहरूलाई हौसला दिन थुप्रै भाइबहिनी अदालतसम्मै गएका छन्‌। पक्राउ परेकी एक बहिनीलाई सान्त्वना दिन थुप्रै भाइबहिनीहरू अदालतसम्मै गए। त्यो देख्दा तिनी निकै भावुक भइन्‌ र एकछिन त केही बोल्नै सकिनन्‌। भाइबहिनीहरूले देखाएको निःस्वार्थ प्रेमले गर्दा तिनले चाहिएकै समयमा बल पाउन सकिन्‌। हो, हामीसित घृणालाई पनि जित्न सक्ने प्रेम छ!

एउटी बहिनीलाई दुई महिला प्रहरीले भ्यानमा लैजाँदै गर्दा अरू भाइबहिनीले ताली बजाएर तिनको हौसला बढाउँदै छन्‌।

हाम्रो काममा प्रतिबन्ध लगाइएको वा कडिकडाउ गरिएको देशमा पनि भाइबहिनीले सङ्‌गी ख्रिष्टियनहरूप्रति निःस्वार्थ प्रेम देखाएका छन्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)c


१६. यहोवाको सेवा गरेकोले खेदो भोग्नुपरे पनि हामी किन आनन्दित हुन सक्छौँ? (१ पत्रुस ४:१४)

१६ घृणा सहनुपर्दा सहनशील भयौँ भने यहोवाको अनुमोदन पाउनेछौँ भनेर हामीलाई थाह छ। (१ पत्रुस ४:१४ पढ्‌नुहोस्‌।) यहोवाको सेवा गरेकोले खेदो भोग्नुपरे पनि आनन्दित हुन सकिन्छ भनेर पत्रुसले बताए। कसरी? यस्तो दुर्व्यवहार भोग्नु भनेको परमेश्‍वरको पवित्र शक्‍ति ‘हामीमाथि छ’ भन्‍ने कुराको प्रमाण हो। पत्रुसलाई यहोवाको अनुमोदन पाउँदा र खेदो भोग्दा कस्तो महसुस हुन्छ भनेर थाह थियो। इस्वी संवत्‌ ३३ पेन्तिकोसको केही समयपछि मन्दिरका पहरेदारहरूले प्रचार गरेकोमा पत्रुस र अरू प्रेषितहरूलाई गिरफ्तार गरे। तर पत्रुस साहसी हुँदै आफ्नो विश्‍वासको पक्षमा बोले। (प्रेषि. ५:२४-२९) कोर्रा लगाइँदा समेत तिनी र अरू प्रेषितहरूले प्रचार गर्न छोडेनन्‌। बरु तिनीहरू “[येसुको] नाममा अपमान सहन योग्य ठहरिएकोमा” रमाए। परीक्षाहरू सहनुपर्दा हामी पनि रमाउन सक्छौँ।—प्रेषि. ५:४०-४२.

१७. आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले चेलाहरूलाई के भन्‍नुभयो?

१७ आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले चेलाहरूलाई यसो भन्‍नुभयो: “जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु।” (युह. १४:२१) हामी त्यो दिनको पर्खाइमा छौँ, जब यहोवाको सेवा गरेकोमा हामीलाई घृणा होइन, प्रेम गरिनेछ! (२ थिस्स. १:६-८) तर त्यो दिन नआउन्जेल घृणा भोग्नुपरे तापनि आनन्दित हुन सक्ने थुप्रै कारणहरू हामीले पाएका छौँ, जसले हामीलाई सान्त्वना र बल दिन्छ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • येसुका चेलाहरूलाई किन घृणा गरिन्छ?

  • हाम्रो प्रेमले कसरी घृणालाई पनि जित्न सक्छ?

  • घृणा गरिँदा पनि हामी किन आनन्दित हुन सक्छौँ?

गीत १४९ विजयगान

a केही नाम परिवर्तन गरिएका छन्‌।

b चित्रको व्याख्या: इग्नासियोले शिक्षकलाई साक्षी दिइरहेको दृश्‍यको पुनः अभिनय।

c चित्रको व्याख्या: विश्‍वासको खातिर झ्यालखानामा लगिँदै गरेको बहिनीलाई भाइबहिनीहरूले साथ दिइरहेको दृश्‍यको पुनः अभिनय।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने