प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ३७ पृ. १६६-१६९
  • ‘तिनले आफूलाई अशुद्ध पारेनन्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिनले आफूलाई अशुद्ध पारेनन्‌’
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • जाँचिएको—तर यहोवाप्रति वफादार!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ३७ पृ. १६६-१६९

३७ दानिएल

‘तिनले आफूलाई अशुद्ध पारेनन्‌’

छापिएको संस्करण
छापिएको संस्करण

दानिएल आफ्नो घरबाट धेरै टाढा थिए। यहुदाबाट बेबिलोनमा कैदी बनाएर लगिएका थुप्रै परिवारमध्ये दानिएलको परिवार पनि थियो। त्यो कठिन यात्रा पूरा गर्न तिनीहरूलाई झन्डै चार महिना लागेको हुन सक्छ। त्यसपछि राजाका सिपाहीहरूले ती बन्दीहरूमध्ये दानिएल र अरू ठिटाहरूलाई तिनीहरूको परिवारदेखि टाढा राजधानी बेबिलोन सहरमा लगे। ती हिब्रू ठिटाहरूमध्ये दानिएलका तीन जना साथीहरू हानन्याह, मिसाएल र अजर्याह पनि थिए। अनि तिनीहरूलाई बेबिलोनको तौरतरिकाअनुसार चल्न तालिम दिन थालियो।

घरपरिवारबाट टाढा भएका दानिएलले आफ्नो विश्‍वासको जाँच हुने थुप्रै चुनौतीको सामना गर्नुपऱ्‍यो

सुरुमा बेबिलोनका राजा नबुकद्‌नेजरले दरबारका प्रमुख अफिसर अस्पनजलाई तिनीहरूको नाम परिवर्तन गर्ने आदेश दिए। प्रायजसो हिब्रू नामहरू साँचो परमेश्‍वरको प्रशंसा गर्ने किसिमका हुन्थे। जस्तै, “दानिएल” नामको अर्थ हो, “परमेश्‍वर मेरो न्यायकर्ता हुनुहुन्छ।” अर्कोतर्फ बेबिलोनीहरूको नामले भने तिनीहरूको झूटा देवीदेवताको प्रशंसा गर्थ्यो। त्यसैले दानिएललाई बेल्तसजर भन्‍ने नाम दिइयो। यो नामको अर्थ हो, “राजालाई सुरक्षित राख्नुहोस्‌।” यो नाम बेबिलोनको प्रमुख देव बेललाई पुकार्न प्रयोग गरिन्थ्यो। साथै नबुकद्‌नेजर ती ठिटाहरूको सोचाइ र व्यवहार बेबिलोनीहरूको जस्तै भएको चाहन्थे। त्यसैले राजाले तिनीहरूलाई कल्दियालीहरूको भाषा सिकाउन हुकुम गरे। राजाले तिनीहरूलाई अरू के-के गर्न भने?

राजाले ती ठिटाहरूको तालिमको निगरानी गर्न अस्पनजलाई खटाएका थिए। तिनीहरूलाई राजा आफैले खाने गरेको स्वादिष्ट भोजन र मद्य दिन भनियो। केही युवकहरूलाई आफूले विशेष सुविधा पाइरहेको छु जस्तो लागेको हुनुपर्छ। तर दानिएललाई भने ती कुराहरू आफू र आफ्ना साथीहरूको निम्ति खतरा बन्‍न सक्छ भनेर थाह थियो। किन?

सायद दानिएलले यस्तो सोचे होलान्‌: ‘यहोवाको व्यवस्थामा निषेध गरिएका खानेकुराहरू हामी खाँदैनौँ भनेर यी बेबिलोनीहरूलाई थाह छ। त्यस्ता खानेकुराहरू खान दिएर तिनीहरूले हामीलाई यहोवाको व्यवस्था उल्लङ्‌घन गर्न लगाउने हुन्‌ कि? अनि हामीले खान मिल्ने जनावरको मासु दिए भने पनि राम्ररी रगत ननिथारिएको वा झूटो देवीदेवतालाई बलि चढाएको मासु दिने हुन्‌ कि? अनि तिनीहरूले धेरै मद्य पिउन दिए भने आफूलाई सम्हाल्न गाह्रो पो हुने हो कि?’a

भव्य भोज भइरहेको ठाउँमा दानिएल आफ्ना तीन हिब्रू साथीहरूसँग कुरा गर्दै छन्‌। अरू युवाहरूले त्यहाँ दिइएको मद्य, सुँगुरको मासु, झिँगे माछा र अरू थुप्रै मिठा परिकारहरू खाएको प्रमुख अफिसर अस्पनजले हेरिरहेका छन्‌।

यस विषयमा दानिएलले धेरै प्रार्थना गरेको हुनुपर्छ। साथै आफ्ना तीन जना साथीहरूसित पनि सरसल्लाह गरे होलान्‌। यहोवालाई खुसी बनाइराख्न तिनले आफूलाई अशुद्ध नपार्ने “अठोट गरे।” त्यसपछि दानिएल अस्पनजकहाँ गए। तिनले आदरपूर्वक आफू र आफ्ना साथीहरूलाई परमेश्‍वरले निषेध गर्नुभएका खानेकुराहरू नदिन बिन्ती गरे। यहोवा दानिएलको साथमा हुनुहुन्थ्यो र ती प्रमुख अफिसरले दानिएलमाथि कृपा देखाए। तर अस्पनजलाई तिनीहरू अरू युवकजस्तो हृष्टपुष्ट नदेखिने हुन्‌ कि भन्‍ने डर थियो। तिनीहरू कमजोर देखिएमा राजा नबुकद्‌नेजरले अस्पनजलाई नै दोषी ठहराउने थिए भन्‍ने कुरा दानिएललाई थाह थियो। त्यसैले दानिएलले उनलाई मनाउने कोसिस गरेनन्‌ बरु अर्कै उपाय निकाले। तिनी साहसी हुँदै तिनीहरूको हेरविचार गर्न अस्पनजले खटाएका अधिकारीकहाँ गए र यसो भने: ‘बिन्ती छ, हामीलाई १० दिन जाँचेर हेर्नुहोस्‌। हामीलाई केवल केही सागपात र पानी दिनुहोस्‌। त्यसपछि हामी चार जनालाई राजाको भोजन खाने युवकहरूसित तुलना गरेर हेर्नुहोस्‌।’ ती अधिकारीले दानिएलको कुरा माने।

दस दिनपछि नतिजा देखेर ती अधिकारी छक्कै परे। ती चार जना हिब्रू ठिटाहरू अरूभन्दा स्वस्थ र हृष्टपुष्ट देखिन्थे। त्यसपछि ती अधिकारीले तिनीहरूलाई सागपात नै खाने अनुमति दिए। स्पष्ट छ, तिनीहरूले देखाएको विश्‍वास र साहसको लागि यहोवाले तिनीहरूलाई इनाम दिनुभएको थियो। यो कुरा तिनीहरूले आफ्नो जीवनभर सम्झेको हुनुपर्छ।

केही समयपछि दानिएलका तीन साथीहरूको साहसको अझ ठूलो जाँच भयो। यसबारे हामी अर्को अध्यायमा थाह पाउनेछौँ। दानिएलले पनि जीवनभर साहस देखाइरहे। तिनी लगभग १०० वर्ष बाँचे र थुप्रै चोटि तिनको पनि साहसको जाँच भयो। उदाहरणको लागि, यहोवाले नबुकद्‌नेजरलाई एउटा सपना देखाउनुभएको थियो। त्यस सपनाको अर्थ राजालाई बताउन तिनलाई धेरै साहस चाहिएको थियो किनभने त्यस सपनाअनुसार राजामाथि ठूलो विपत्ति आइपर्ने थियो। धेरै वर्षपछि बेल्तसजरको शासनको दौडान पनि दानिएलले भित्तामा लेखिएका अक्षरहरूको अर्थ खुलाइदिएका थिए। त्यसअनुसार बेल्तसजरको शासन अन्त हुने थियो। साथै एकदमै वृद्ध अवस्थामा समेत दानिएललाई भोका सिंहहरूको खोरमा फालिएको थियो। ठिटो छँदा तिनले जस्तो साहस देखाएका थिए, पछि पनि तिनले त्यस्तै साहस देखाए। त्यसैले यहोवाका एक स्वर्गदूतले दानिएललाई “अतिप्रिय मानिस” भने।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • दानिएल १:१-२१; ५:१२; १०:११

छलफल गर्नुहोस्‌:

दानिएलले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. के दानिएल १:१ र यर्मिया २५:१ मा लेखिएका कुराहरू एक आपसमा बाझिन्छन्‌? (dp पृ. १८-१९ अनु. १४-१५)

  2. २. दानिएल १:२ अनुसार नबुकद्‌नेजरको ‘आफ्नो देवताको भण्डार’ थियो। यो कुरा सत्य हो भनेर एउटा पुरातन बेबिलोनी लेखोटले कसरी प्रमाणित गर्छ? (दानि. १:२; dp पृ. ३२ अनु. ६) क

    © The Trustees of the British Museum. Licensed under CC BY-NC-SA 4.0. Source. Modifications: Box added

    चित्र क: नबुकद्‌नेजरले मरोदकको मन्दिरको “भण्डार”-बारे उल्लेख गरेको एउटा पुरानो लेखोट

  3. ३. “जादुगर अनि तन्त्रमन्त्र गर्ने” मानिसहरूले के-कस्ता कुराहरू गर्थे? (दानि. १:२०; it “जादुगर अनि तन्त्रमन्त्र” अनु. २-६-wcgr) ख

    चित्र ख: बेबिलोनको एउटा माटोको पाटीमा भूतप्रेतले सताएको व्यक्‍तिलाई “निको” पार्ने तरिकाबारे लेखिएको छ

  4. ४. दानिएल र तिनका तीन जना साथीहरूलाई दिइएको सागपातमा के-के पर्थ्यो? (दानि. १:१२; dp पृ. ४० अनु. २५)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • आफ्नो परिवारबाट टाढा भए तापनि यहोवाप्रति वफादार रहने सन्दर्भमा जवानहरूले कसरी दानिएलको अनुकरण गर्न सक्छन्‌?

  • दानिएलले यहोवाको आज्ञा पालन गर्ने “अठोट” गरेका थिए। यसले तिनलाई साहसी भइरहन कसरी मदत गऱ्‍यो? (दानि. १:८) हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ? ग

    चित्रहरूको सँगालो: १. एक गर्भवती बहिनी आफ्नो बाइबल, ट्याबलेट, स्थायी अख्तियारनामा कार्ड र नोटबुक लिएर बच्चा जन्मने दिनको लागि तयारी गर्दै छिन्‌। २. पछि उनी आफ्नो श्रीमान्‌सित डाक्टरकहाँ जान्छिन्‌ र रगतसम्बन्धी आफ्नो अडानबारे बताउँछिन्‌। डाक्टरले उनको कुरा ध्यान दिएर सुन्दै छन्‌ र अख्तियारनामा कार्ड हेर्दै छन्‌।

    चित्र ग

  • तपाईँ अन्य के-कस्ता तरिकामा दानिएलजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा दानिएललाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

यस बाइबल विवरणसम्बन्धी एउटा भिडियो नाटक हेर्नुहोस्‌।

दानिएल: तिनले जीवनभर विश्‍वास देखाए—भाग १—सानो अंश (१३:०७)

आज जवानहरूले कसरी दानिएलको साहस र वफादारीको अनुकरण गर्न सक्छन्‌?

“दानिएलको अनुकरण गर्नुहोस्‌” (w२३.०८ पृ. २-७)

a प्रस्थान ३४:१५; लेवी ७:२६; ११:१-७; गन्ती २५:२; हितोपदेश २०:१ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने