प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ३८ पृ. १७०-१७५
  • तिनीहरूले “आगोको ज्वाला निभाए”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले “आगोको ज्वाला निभाए”
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • ‘तिनले आफूलाई अशुद्ध पारेनन्‌’
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ यहोवाका साक्षीहरूको सम्मेलन—शाखा प्रतिनिधिसँग
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ३८ पृ. १७०-१७५

३८ तीन हिब्रू ठिटाहरू

तिनीहरूले “आगोको ज्वाला निभाए”

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

तीन हिब्रूहरू हानन्याह, मिसाएल र अजर्याहलाई बन्दी बनाएर बेबिलोन लगिएको थियो। त्यहाँ तिनीहरूलाई सद्रक, मेसक र अबेद्‌नेगो भन्‍ने बेबिलोनी नाम दिइयो। दानिएल र ती तीन हिब्रूहरू मिल्ने साथी थिए। तर एकपटक ती तीन जनाको ज्यान खतरामा परेको बेला दानिएल भने तिनीहरूसँगै थिएनन्‌। आउनुहोस्‌, त्यस घटनाबारे अझ राम्रोसँग बुझौँ।

नबुकद्‌नेजरले एउटा विशाल मूर्ति बनाउन लगाए। त्यस मूर्तिको लम्बाइ लगभग २७ मिटर थियो भने चौडाइ लगभग ३ मिटर थियो। राजा नबुकद्‌नेजरले त्यस मूर्तिको उद्‌घाटन गर्नको लागि एउटा ठूलो समारोह आयोजना गरे। अनि तिनले त्यस समारोहमा सबै सरकारी अफिसरहरूलाई हाजिर हुन आदेश दिए। ती तीन हिब्रूहरूले पनि राजाको यो आदेश पालन गर्नुपर्थ्यो र त्यस समारोहमा उपस्थित हुनुपर्थ्यो।

त्यहाँ भेला भएका सबैलाई राजाको एक सन्देशवाहकले उक्‍त समारोहमा के-के हुनेछ भनेर ठूलो स्वरमा घोषणा गरे। सुरुमा एउटा धुन बजाइने थियो। सायद त्यस्तो धुन बजाउनुको कारण सबैमा देशभक्‍तिको भाव जगाउनु थियो। त्यसपछि उपस्थित सबैले ‘भुईँसम्मै घोप्टो परेर सुनको मूर्तिलाई ढोग्नुपर्ने’ थियो। तर ती तीन ठिटाहरूले के गर्ने थिए? किनकि तिनीहरूलाई मूर्तिपूजासम्बन्धी यहोवाको आज्ञा राम्ररी थाह थियो।—प्रस्थ. २०:४, ५.

मानिसहरूको ठूलो भीडसामु तिनीहरूलाई मूर्तिको उपासना गर्ने दबाब दिइयो, त्यसो नगरेमा तिनीहरूलाई मृत्युदण्ड दिइने थियो

बाजा बज्न सुरु हुन्छ। त्यसपछि सबै मानिस एकैचोटि भुईँसम्मै घोप्टो परेर मूर्तिलाई दण्डवत्‌ गर्छन्‌। तर ती तीन पुरुष भने उभिनै रहन्छन्‌। अनि सबैको ध्यान तिनीहरूतर्फ जान्छ। त्यही मौकामा केही कल्दियालीहरूले तिनीहरूको बदनाम गर्छन्‌ र तिनीहरूमाथि अभियोग लगाउँछन्‌। अनि ती कल्दियालीहरू नबुकद्‌नेजरकहाँ गएर यसो भन्छन्‌: “हे महाराज, केही यस्ता यहुदीहरू छन्‌, जसले हजुरको अनादर गरेका छन्‌। . . . तिनीहरू हजुरका देवताहरूलाई पुज्दैनन्‌ अनि हजुरले स्थापना गर्नुभएको त्यस सुनको मूर्तिलाई ढोग्न तिनीहरूले इन्कार गरेका छन्‌।” यो सुनेर राजाले ती हिब्रूहरूलाई आफूसामु हाजिर गराउन आदेश दिन्छन्‌ र रिसले चूर हुँदै तिनीहरूमाथि लगाइएका आरोपहरू साँचो हुन्‌ कि होइनन्‌ भनेर सोध्छन्‌। तिनीहरूले जवाफ दिनुअघि नै राजा तिनीहरूलाई धम्की दिन थाल्छन्‌। राजाले तिनीहरूलाई आफ्नो आज्ञा मान्‍ने एउटा अन्तिम मौका दिनेछु भन्छन्‌। राजाले भनेअनुसारै नगरेमा ती हिब्रूहरूलाई ‘उत्तिखेरै दन्किरहेको आगोको भट्टीमा फ्याँकिने थियो।’ राजाले तिनीहरूलाई कुनै देवताले बचाउन सक्नेछैन भनेर फुर्ती पनि लगाउँछन्‌।

ठूलो भीडले नबुकद्‌नेजरको विशाल सुनको मूर्तिलाई ढोगिरहेका छन्‌ अनि हानन्याह, मिसाएल र अजर्याह त्यस भीडसामु साहसी भई उभिरहेका छन्‌। हातहतियार भिरेका तीन सिपाही तिनीहरू भएतिर आउँदै छन्‌।

तर हानन्याह, मिसाएल र अजर्याहमध्ये कोही पनि डरले पछि हटेनन्‌। तिनीहरूले राजालाई यसो भने: “हे महाराज, हामी दन्किरहेको आगोको भट्टीमा फालियौँ भने पनि ठीकै छ। हाम्रा परमेश्‍वर, जसको हामी उपासना गर्छौँ, उहाँले हामीलाई बचाउनुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ। तर हे महाराज, यदि उहाँले त्यसो गर्नुभएन भने पनि न हामी हजुरका देवताहरूलाई पुज्नेछौँ न त हजुरले स्थापना गर्नुभएको त्यस सुनको मूर्तिलाई ढोग्नेछौँ।” तिनीहरूको यस्तो दृढ अडान देखेर नबुकद्‌नेजर झनै क्रोधित भए र भट्टीलाई सदाभन्दा सात गुणा बढी दन्काउन आदेश दिए। त्यसपछि केही पुरुषहरूले ती तीन जनालाई बाँधेर दन्किरहेको आगोको भट्टीमा फ्याँकिदिए। त्यो भट्टी यति तातो थियो कि ती हिब्रूहरूलाई लाने पुरुषहरू त्यही आगोको ज्वालाले गर्दा मरे।

तर त्यसपछिको दृश्‍य देखेर नबुकद्‌नेजर डराए र तिनको होसहवास उड्यो। तिनले दन्किरहेको आगोको बीचमा तीन जना होइन, चार जना हिँडिरहेको देखे। राजाले चौथो व्यक्‍तिचाहिँ “देवताजस्तो देखिन्छ” भने। आगोको बीचमा भए तापनि तिनीहरूलाई त्यसको ज्वालाले छुन सकेको थिएन। त्यसपछि नबुकद्‌नेजर आगोको भट्टीको सक्दो नजिक गए र सद्रक, मेसक र अबेद्‌नेगोलाई चिच्याएर बाहिर बोलाए।

तीन हिब्रू ठिटाहरू आगोको भट्टीमा छन्‌ तर तिनीहरू श्रद्धाले भरिएको जस्तो देखिन्छन्‌। यहोवाको स्वर्गदूत तिनीहरूअघि खडा छन्‌। भट्टीको बाहिरबाट नबुकद्‌नेजर र तिनका सिपाहीहरू छक्क पर्दै हेरिरहेका छन्‌।

कल्पना गर्नुहोस त, आगोको भट्टीबाट तीन जना मानिस सकुशल बाहिर आएको देख्दा त्यहाँका मानिसहरू कति आश्‍चर्यचकित भए होलान्‌? तिनीहरूको शरीर र लुगामा आगोले केही असर गरेको थिएन। तिनीहरूको शिरको एउटा केशसमेत खरिएको थिएन अनि तिनीहरूको शरीरबाट आगोको गन्धसमेत आएको थिएन। साथै तिनीहरूको हात पनि बाँधिएको थिएन। यो सब देखेर राजा नबुकद्‌नेजर पनि एकदमै छक्क परे। परमेश्‍वरप्रति भक्‍ति देखाएकोमा तिनले ती हिब्रूहरूको प्रशंसा गरे। तिनले यसो भने: “तिनीहरूले उहाँमा भरोसा राखे अनि राजाको आदेश मान्‍न इन्कार गरे; आफ्ना ईश्‍वरबाहेक अरू कुनै देवताको उपासना गर्नुभन्दा बरु मर्न तयार भए।”

त्यसपछि नबुकद्‌नेजरले यहोवाको विरुद्धमा कुनै व्यक्‍तिले केही भन्यो भने तिनलाई मृत्युदण्ड दिइनेछ भनेर उर्दी जारी गरे। साथै तिनले ती तीन ठिटाहरूको पदोन्‍नति गरिदिए। तर यहोवाले भने तिनीहरूको लागि अझ धेरै गरिदिनुभयो। हो, यहोवाले तिनीहरूले देखाएको विश्‍वास सधैँ सम्झिरहनुभयो। जस्तै, प्रेषित पावलले लगभग ७०० वर्षपछि उल्लेखनीय विश्‍वास देखाएका पुरुष तथा स्त्रीहरूबारे बताउँदा ‘आगोको ज्वाला निभाएकाहरूबारे’ पनि उल्लेख गरे। यो कुरा लेख्दा पावलले पक्कै हानन्याह, मिसाएल र अजर्याहले देखाएको साहस सम्झेको हुनुपर्छ।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • दानिएल ३:१-३०

  • हिब्रू ११:३३, ३४

छलफल गर्नुहोस्‌:

हानन्याह, मिसाएल र अजर्याहले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. दानिएल अध्याय तीनको विवरण सत्य हो भनेर पुरातात्त्विक उत्खननहरूले कसरी प्रमाणित गर्छ? (w२३.०७ पृ. ३१) क

    © The Trustees of the British Museum. Licensed under CC BY-NC-SA 4.0. Source. Modifications: Box added

    चित्र क: नबुकद्‌नेजरको नाम छापिएको इँटा

  2. २. तीन हिब्रूहरूलाई दिइएको बेबिलोनी नामको अर्थ के थियो? (dp पृ. ३५ अनु. १४)

  3. ३. नबुकद्‌नेजर धर्मकर्म गर्नुपर्ने व्यक्‍ति थिए भनेर हामी किन भन्‍न सक्छौँ? (dp पृ. ६९ अनु. ३) ख

    राजा नबुकद्‌नेजर छतमा उभिएर आफूले बनाएको मन्दिरको धरहरातिर हेर्दै छन्‌।

    चित्र ख: नबुकद्‌नेजरले थुप्रै बेबिलोनी देवताहरूको निम्ति मन्दिर बनाए र पुरानो मन्दिरहरूलाई पुनर्निर्माण गरे

  4. ४. आफ्नै देवीदेवताको उपासना गर्ने “विभिन्‍न राष्ट्र र भाषाका मानिसहरू” किन नबुकद्‌नेजरको मूर्तिको उपासना गर्न भेला भए? (दानि. ३:७; dp पृ. ७३ अनु. १०)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • तीन हिब्रूहरूले अशुद्ध ठानिने खानेकुरा खान इन्कार गरेर दृढ अडान देखाए। पछि आफ्नो ज्यानै खतरामा परेको अवस्थामा समेत तिनीहरू दृढ भइरहे। यसबाट सानो कुरामा पनि विश्‍वासयोग्य हुनुको महत्त्वबारे हामी कस्तो पाठ सिक्न सक्छौँ? (लुका १६:१०) ग

    चित्रहरूको सँगालो: जीवनमा स-सानाजस्ता देखिने यी तीन क्षेत्रहरूमा हामी आफ्नो वफादारी देखाउन सक्छौँ। चित्रहरू यसप्रकार छन्‌। एक बहिनी अनलाइनमा भद्र लुगा किन्दै छिन्‌। उनको छेउमा फेसनसम्बन्धी पत्रिकाहरू छन्‌। एक भाइ बिहान ७:२९ बजे काममा आएका छन्‌। तिनका सहकर्मीहरू भने काम सुरु गर्नुको सट्टा फोनमा केही हेरिरहेका छन्‌। एक बहिनी गाडी चलाउनुअघि सिटबेल्ट लगाउँदै छिन्‌।

    चित्र ग

  • खेदो आइपर्दा हामी कसरी तीन हिब्रूहरूले देखाएका निम्न गुणहरू अनुकरण गर्न सक्छौँ? (दानि. ३:१६-१८)

    • नम्रता

    • कोमलता

    • वफादारी

  • तपाईँ के-कस्ता तरिकामा ती तीन पुरुषहरूजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा हानन्याह, मिसाएल र अजर्याहलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

देशभक्‍ति प्रदर्शन गर्ने समारोहमा एक ख्रिष्टियन कसरी आदरपूर्वक तटस्थ रहन सक्छन्‌?

सार्वजनिक कार्यक्रममा तटस्थ रहने (४:२५)

यस विवरणबाट थप कस्ता पाठहरू सिक्न सकिन्छ भनेर मनन गर्न ती तीन हिब्रूहरूको ठाउँमा आफूलाई राखेर हेर्नुहोस्‌।

“दन्किरहेको आगोको भट्टीबाट जोगाइयो!” [शृङ्‌खलाबद्ध अनलाइन लेखहरू “बाइबल अध्ययन सामग्री” (अङ्‌ग्रेजी)]

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने