येसुबाट सिक्नुहोस्
“तिमीहरूले युद्धको कोलाहल . . . सुन्नेछौ”
“मैले १९६० को दशकदेखि अहिलेसम्मको करिअरमा विश्वभरिका ४० भन्दा धेरै युद्धको समाचार तयार पारेको छु। मैले शीतयुद्ध चरममा पुगेको र आफै साम्य भएको देखेँ। तर मैले २०२५ जस्तो चिन्ताजनक वर्ष पहिला कहिल्यै देखेको थिइनँ। कारण, थुप्रै ठूलठूला युद्धहरू भएकाले मात्र होइन तर ती युद्धहरूले संसारको भूराजनीतिमा यस्तो असर पारेको छ, जुन इतिहासमा कहिल्यै भएको थिएन भनेर अहिले छर्लङ्गै भएको छ।”—जोन सिम्सन, बिबिसी विश्वराजनीति सम्पादक।
संसारभरि तीव्र रूपमा बढिरहेको युद्ध देखेर मानिसहरू चिन्तित छन्। थुप्रैले अवस्था राम्रो होला कि नहोला भनेर सोच्ने गर्छन्। यसबारे येसुले चाहिँ के भन्नुभयो?
येसुले के भन्नुभयो?
अहिलेको संसारको अवस्थाबारे येसुले भविष्यवाणी गर्नुभएको थियो। उहाँले आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्नेछौ।”—मत्ति २४:६.
अहिले भइरहेका युद्ध र द्वन्द्व देख्दा हामीलाई दुःख लाग्नु स्वभाविकै हो तर हामीसँग आशावादी हुने राम्रो कारण पनि छ। किन? किनकि यी ठूलठूला युद्धहरूका साथै अरू घटनाहरू, अवस्थाहरू र मानिसहरूको मनोवृत्ति “यस युगको आखिरी समयको चिन्ह” हुनेछन् भनेर येसुले बताउनुभयो। (मत्ति २४:३; लुका २१:७) मतलब, येसुले युद्धहरूलाई नामेट पार्नुहुने दिन नजिकै छ। कसरी?
येसुले के गर्नुहुनेछ?
परमेश्वरको राज्यको राजाको रूपमा येसुले चाँडै ‘पृथ्वीबाट युद्ध नामेट पार्नुहुनेछ।’—भजन ४६:९.
यस शान्तिपूर्ण भविष्यबारे थप कुरा बुझ्न अनि यो कसरी सम्भव हुनेछ र यसले तपाईँको लागि कस्तो अर्थ राख्छ भनेर थाह पाउन “युद्ध र हिंसा कसरी अन्त हुनेछ?” भन्ने लेख पढ्नुहोस्।