युवाहरू सोध्छन्
बप्तिस्मा गरूँ कि नगरूँ?—भाग २: बप्तिस्माको तयारी
यदि तपाईँले बाइबलको स्तरअनुसार जीवन बिताउन थालिसक्नुभएको छ र परमेश्वरसित मित्रता गाँस्नुभएको छ भने तपाईँले बप्तिस्माबारे सोच्नु स्वाभाविकै हो। तपाईँ यसको लागि तयार हुनुहुन्छ भनेर कसरी पक्का हुन सक्नुहुन्छ?a
यस लेखमा
मैले कति ज्ञान लिएको हुनुपर्छ?
बप्तिस्माको तयारी गर्नु भनेको स्कुलको परीक्षा पास गर्न पढेको कुरा सबै कण्ठ गर्नुजस्तो होइन। तर तपाईँले “सोचविचार गर्ने क्षमता” चलाएर बाइबलले सिकाउने कुरा साँचो हो भनेर मनैदेखि विश्वस्त हुनुपर्छ। (रोमी १२:१) उदाहरणको लागि:
परमेश्वर हुनुहुन्छ र उहाँ तपाईँको उपासनाको योग्य हुनुहुन्छ भनेर के तपाईँ विश्वस्त हुनुहुन्छ?
बाइबल भन्छ: “जो परमेश्वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।”—हिब्रू ११:६.
आफैलाई सोध्नुहोस्: ‘म किन परमेश्वरमा विश्वास गर्छु?’ (हिब्रू ३:४) ‘मैले किन उहाँको उपासना गर्नुपर्छ?’—प्रकाश ४:११.
मदतका लागि: “सृष्टि या संयोग?—भाग १: ईश्वरमा किन विश्वास गर्नुपर्छ?” भन्ने लेख हेर्नुहोस्।
बाइबल परमेश्वरबाट आएको सन्देश हो भनेर के तपाईँ विश्वस्त हुनुहुन्छ?
बाइबल भन्छ: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन र परमेश्वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी छ।”—२ तिमोथि ३:१६.
आफैलाई सोध्नुहोस्: ‘बाइबलमा परमेश्वरको विचार लेखिएको छ भनेर म किन विश्वस्त छु?’—यसैया ४६:१०; १ थिस्सलोनिकी २:१३.
मदतका लागि: “बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग १: बाइबलसित परिचित हुनुहोस्” भन्ने लेख हेर्नुहोस्।
यहोवाले आफ्नो इच्छा पूरा गर्न ख्रिष्टियन मण्डलीलाई प्रयोग गर्नुहुन्छ भन्ने कुरामा के तपाईँ विश्वस्त हुनुहुन्छ?
बाइबल भन्छ: “मण्डली र ख्रिष्ट येसुमार्फत पुस्तौँपुस्तासम्म सदासर्वदा [परमेश्वरकै] महिमा होस्।”—एफिसी ३:२१.
आफैलाई सोध्नुहोस्: ‘सभाहरूमा बाइबलबाट सिकाइने कुरा मानिसहरूबाट आएको ठान्छु कि यहोवाबाट?’ (मत्ति २४:४५) ‘मेरो बुबाआमा सभामा जान सक्नुभएन भने पनि के म सभामा जान्छु? (यदि आमाबुबाले त्यसो गर्ने अनुमति दिनुभएको छ भने)’—हिब्रू १०:२४, २५.
थप मदतका लागि: “सभाभवनमा हुने कार्यक्रमहरूमा किन उपस्थित हुने?” भन्ने लेख हेर्नुहोस्।
मैले के गरेको हुनुपर्छ?
बप्तिस्मा गर्नको लागि तपाईँ गल्ती नै नगर्ने मानिस हुनुपर्छ भन्ने छैन। तर तपाईँ ‘खराब काम त्याग्न र जे असल छ, त्यो गर्न’ तयार भने हुनुपर्छ। (भजन ३४:१४) उदाहरणको लागि:
के तपाईँ यहोवाको स्तरअनुसार जीवन बिताउँदै हुनुहुन्छ?
बाइबल भन्छ: “आफ्नो अन्तस्करण सफा बनाइराख।”—१ पत्रुस ३:१६.
आफैलाई सोध्नुहोस्: ‘के मैले “आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम” दिएको कुरा देखाएको छु?’ (हिब्रू ५:१४) ‘के साथीहरूले गलत काम गर्न दबाब दिँदा मैले तुरुन्तै तिरस्कार गरेको घटना सम्झन्छु? के मैले सही काम गर्न प्रोत्साहन दिने साथीहरू बनाएको छु?’—हितोपदेश १३:२०.
थप मदतका लागि: “म आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छु?” भन्ने लेख हेर्नुहोस्।
के तपाईँले आफू यहोवासामु जबाफदेही छु भनेर बुझ्नुभएको छ?
बाइबल भन्छ: “हामी सबैले परमेश्वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.
आफैलाई सोध्नुहोस्: ‘म आफूप्रति र अरूप्रति कत्तिको इमानदार छु?’ (हिब्रू १३:१८) ‘म आफ्नो गल्ती स्विकार्छु कि लुकाउन खोज्छु? अथवा त्यसको दोष अरूलाई पो लगाउँछु कि?’—हितोपदेश २८:१३.
थप मदतका लागि: “गल्ती हुँदा म के गरूँ?” भन्ने लेख हेर्नुहोस्।
के तपाईँले यहोवासित मित्रता कायम राखिरहनुभएको छ?
बाइबल भन्छ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.
आफैलाई सोध्नुहोस्: ‘यहोवासित नजिक हुन म कस्तो कदम चाल्दै छु?’ उदाहरणका लागि, ‘के म नियमित रूपमा बाइबल पढ्छु?’ (भजन १:१, २) ‘के म नियमित रूपमा प्रार्थना गर्छु?’ (१ थिस्सलोनिकी ५:१७) ‘के म तोकेरै प्रार्थना गर्छु? के मेरा साथीहरू यहोवाका पनि साथी हुन्?’—भजन १५:१, ४.
थप मदतका लागि: “बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग २: बाइबल पढाइलाई रमाइलो बनाउनुहोस्” र “मैले किन प्रार्थना गर्नुपर्छ?” भन्ने लेखहरू हेर्नुहोस्।
सुझाव: बप्तिस्माको लागि तयार हुन युवा जनहरुका प्रश्न तथा त्यसका उपयोगी जवाफ, खण्ड २ को अध्याय ३७ पढ्नुहोस्। विशेषगरि पृष्ठ ३०८ र ३०९ मा भएको अभ्यास सामग्री हेर्नुहोस्।
a “बप्तिस्मा गरूँ कि नगरूँ?—भाग १” भन्ने लेख पढ्नुहोस्। यस लेखमा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नु अनि बप्तिस्मा गर्नुको अर्थ र त्यसको महत्त्वबारे बताइएको छ।