युवाहरू सोध्छन्
बप्तिस्मा गरूँ कि नगरूँ?—भाग १: बप्तिस्माको अर्थ
यहोवाका साक्षीहरूका परिवारमा हुर्किएका थुप्रै जवानहरूले हरेक वर्ष बप्तिस्मा गर्छन्। के तपाईँ पनि त्यस्तो कदम चाल्नेबारे सोच्दै हुनुहुन्छ? त्यसो हो भने सुरुमा तपाईँले समर्पण र बप्तिस्माको अर्थ बुझ्नुपर्छ।
बप्तिस्मा भनेको के हो?
बाइबलले बताएअनुसार बप्तिस्मा भनेको पानी छम्कनु मात्र होइन बरु पानीमा चुर्लुम्मै डुब्नु हो र यसको गहिरो अर्थ छ।
पानीमा चुर्लुम्मै डुबेर बप्तिस्मा गर्दा अबदेखि तपाईँ आफ्नो खुसीको लागि मात्र बाँच्नुहुनेछैन भनेर सबैसामु देखाइरहनुभएको हुनेछ।
पानीबाट बाहिर निस्किनुले तपाईँको नयाँ जीवन सुरु भयो र अबदेखि परमेश्वरलाई खुसी बनाउने कुरालाई प्राथमिकता दिनुहुनेछ भनेर देखाउँछ।
बप्तिस्मा गर्दा तपाईँको जीवनमा सही र गलतको स्तर तोक्ने अधिकार यहोवासित छ भनेर स्वीकारिरहनुभएको हुनेछ। साथै अबदेखि परमेश्वरले चाहनुभएको तरिकामा जीवन बिताउन तपाईँले गर्नुभएको वाचा सबैसामु देखाइरहनुभएको हुनेछ।
यसबारे सोच्नुहोस्: यहोवाप्रति आज्ञाकारी हुन गरेको वाचा तपाईँले किन सबैसामु देखाउनुपर्छ? पहिलो युहन्ना ४:१९ र प्रकाश ४:११ हेर्नुहोस्।
समर्पण भनेको हो?
बप्तिस्माअघि तपाईँले व्यक्तिगत रूपमा यहोवालाई आफ्नो जीवन समर्पण गर्नुपर्छ। कसरी?
तपाईँले जीवनभर यहोवाको सेवा गर्नेछु र जस्तोसुकै अवस्था आए पनि वा अरूले जस्तोसुकै निर्णय गरे पनि उहाँको इच्छाअनुसार गर्नेछु भनेर व्यक्तिगत प्रार्थनामा उहाँसँग वाचा गर्नुहुन्छ।
बप्तिस्मा गर्दा तपाईँले व्यक्तिगत रूपमा समर्पण गरेको कुरा सबैले देख्नेछन्। साथै तपाईँले आफ्नो लागि नभई यहोवाको लागि बाँच्ने निर्णय गर्नुभएको छ र तपाईँ यहोवाकै हो भनेर यसैबाट देखिन्छ।—मत्ति १६:२४.
यसबारे सोच्नुहोस्: यहोवालाई जीवन समर्पण गर्दा तपाईँको जीवन कसरी अझ राम्रो हुनेछ? यसैया ४८:१७, १८ र हिब्रू ११:६ हेर्नुहोस्।
बप्तिस्मा गर्नु किन महत्त्वपूर्ण छ?
येसुले उहाँको चेला बन्न बप्तिस्मा गर्नुपर्छ भनेर बताउनुभयो। (मत्ति २८:१९, २०) त्यसैले अहिले पनि ख्रिष्टियन बन्न बप्तिस्मा गर्नुपर्छ। उद्धार पाउन यो कदम चाल्नै पर्छ भनेर बाइबलले बताउँछ।—१ पत्रुस ३:२१.
बप्तिस्मा गर्न तपाईँलाई यहोवाप्रतिको प्रेम र कृतज्ञताले उत्प्रेरित गरेको हुनुपर्छ। तपाईँको मनोवृत्ति भजनरचयिताको जस्तै हुनुपर्छ, जसले यस्तो लेखे: “यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो म उहाँलाई के चढाऊँ? म . . . यहोवाको नाम पुकार्नेछु। मैले यहोवासित गरेका भाकलहरू उहाँका सबै मानिससामु म पूरा गर्नेछु।”—भजन ११६:१२-१४.
यसबारे सोच्नुहोस्: यहोवाले तपाईँको लागि के-कस्ता असल कुराहरू गर्नुभएको छ र तपाईँ कसरी त्यसको लागि कृतज्ञता देखाउन सक्नुहुन्छ? व्यवस्था १०:१२, १३ र रोमी १२:१ हेर्नुहोस्।