“असल सामरियाली” हुनु भनेको के हो?
बाइबलको जवाफ
“असल सामरियाली” भन्ने अभिव्यक्तिले खाँचोमा परेका मानिसहरूलाई मदत गर्न अघि सर्ने व्यक्तिलाई बुझाउँछ। येसुले यो शब्द आफ्नो उदाहरणमा चलाउनुभएको थियो। उहाँले यस उदाहरणमा असल छिमेकीले अरूको जात र पृष्ठभूमि फरक भए पनि दयालु भई मदत गर्छ भनेर बताउन खोज्दै हुनुहुन्थ्यो।
यस लेखमा
“असल सामरियाली”-को उदाहरण भनेको के हो?
येसुले उदाहरणमा के-के भन्नुभयो छोटकरीमा विचार गरौँ। एक यहुदी मानिस यरुसलेमबाट यरिहोतिर जाँदै थियो। यात्रा गर्दागर्दै उनलाई डाँकुहरूले लुटे, कुटे अनि अधमरो छोडिदिए।
त्यही बाटो हुँदै सुरुमा एक यहुदी पुजारी र पछि एक यहुदी धर्मगुरुले तिनलाई नदेखेझैँ गरी गए। तिनीहरूको जात र पृष्ठभूमि एउटै भए पनि तिनीहरूले ती यात्रीलाई मदत गरेनन्।
पछि फरक जातिको एक मानिस त्यही बाटो भएर यात्रा गरिरहेका थिए। उनी एक सामरियाली थिए। (लुका १०:३३; १७:१६-१८) दयाले भरिएर ती सामरियालीले तिनको घाउमा मलहमपट्टी लगाइदिए। त्यसपछि उनले ती घाइते व्यक्तिलाई पौवामा लगे र रातभरि तिनको स्याहारसुसार गरे। भोलिपल्ट उनले पौवाको मालिकलाई ‘तिनको हेरविचार गर्नु र जति खर्च लाग्छ, फर्केर आउँदा म तिरूँला’ भने।—लुका १०:३०-३५.
येसुले किन यो उदाहरण चलाउनुभयो?
आफ्नै धर्म र जातिका मानिसहरू मात्र छिमेकी हुन्छन् भन्ने सोचाइ राखेका व्यक्तिलाई येसुले यो कथा सुनाउनुभएको थियो। येसु तिनलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन चाहनुहुन्थ्यो। त्यो हो, तिनको “छिमेकी” सङ्गी यहुदीहरू मात्र होइनन्। (लुका १०:३६, ३७) परमेश्वरलाई खुसी बनाउन चाहने व्यक्तिहरूले यसबाट लाभ उठाउन सकून् भनेर यो विवरण बाइबलमा उल्लेख गरिएको हो।—२ तिमोथि ३:१६, १७.
यस उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौँ?
यस उदाहरणबाट असल छिमेकीले कामद्वारा प्रेम देखाउँछ भनेर सिक्न सक्छौँ। मानिसहरूको पृष्ठभूमि, जात र धर्म फरक भए पनि तिनी खाँचोमा परेकाहरूलाई मदत गर्न सधैँ अघि सर्छन्। साँचो छिमेकीले अरूले आफूलाई जस्तो व्यवहार गरोस् भन्ने चाहन्छन्, तिनले पनि अरूलाई त्यस्तै व्यवहार गर्छन्।—मत्ति ७:१२.
सामरियालीहरू को थिए?
सामरियालीहरू यहुदियाको उत्तरी भागमा पर्ने इलाकाहरूमा बस्थे। तिनीहरू यहुदी र गैर-यहुदीहरूबीचको विवाहबाट जन्मेका सन्तानहरू थिए।
इस्वी संवत् प्रथम शताब्दीसम्ममा सामरियालीहरूले आफ्नै धर्म बनाइसकेका थिए। तिनीहरू हिब्रू धर्मशास्त्रमा भएका सुरुको पाँच वटा किताबमा विश्वास गर्थे। तर बाँकी किताबहरूमा भने तिनीहरू विश्वास गर्दैनथे।
येसुको समयका थुप्रै यहुदीहरूले सामरियालीहरूलाई घृणा गर्थे र तिनीहरूसित कुनै सम्बन्ध राख्दैन थिए। (युहन्ना ४:९) केही यहुदीहरूले कसैको अपमान गर्न “सामरियाली” शब्द प्रयोग गर्थे।—युहन्ना ८:४८.
के “असल सामरियाली”-को कथा वास्तविक घटनामा आधारित थियो?
सामरियालीको उदाहरण एउटा वास्तविक घटना थियो भनेर बाइबलमा कतै उल्लेख गरिएको पाइँदैन। तर येसुले मानिसहरूले राम्रोसँग बुझ्न सकून् भनेर प्रायः आफ्नो उदाहरणमा चिरपरिचित ठाउँ र चलनहरूबारे उल्लेख गर्नुहुन्थ्यो।
यस कथामा उल्लेख गरिएका धेरैजसो जानकारी ऐतिहासिक रूपमा सही छन्। उदाहरणको लागि:
यरुसलेमबाट यरिहो जाने बाटो २० किलोमिटरभन्दा लामो थियो, जसमा ओरालो बाटो लगभग एक किलोमिटर जति थियो। अनि येसुले बताउनुभएको कथामा ती यात्री “यरुसलेमबाट यरिहोतिर ओर्लँदै” थिए भनेर बताइएको छ।—लुका १०:३०.
यरिहोमा बस्ने पुजारी अनि लेवीहरू यही बाटो हुँदै यरुसलेम आउने-जाने गर्थे।
डाँकुहरू बाटोको एकान्त ठाउँमा लुकेर बस्थे। तिनीहरू यात्रीहरूलाई, खासगरि एक्लो यात्रीहरूलाई लुट्ने गर्थे।