के बाइबलमा अहिलेका मानिसहरूको सोचाइ र व्यवहारबारे भविष्यवाणी गरिएको थियो?
बाइबलको जवाफ
थियो, हाम्रो समयमा मानिसहरू झनै खराब हुनेछन् भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। मानिसहरूको नैतिक स्तर र सामाजिक मूल्यमान्यता खस्कँदै जानेछ भनेर पनि बताइएको छ।a (२ तिमोथि ३:१-५) तर बाइबलमा केही मानिस भने खराबीको पछि लाग्ने छैनन् भनेर भविष्यवाणी गरिएको छ। परमेश्वरको मदतले गर्दा तिनीहरूले खराब कुराहरूलाई तिरस्कार गर्न सक्नेछन् अनि आफ्नो सोचाइ र व्यवहारमा परमेश्वरको इच्छाअनुसार परिवर्तन ल्याउनेछन्।—यसैया २:२, ३.
यस लेखमा
बाइबलमा हाम्रो समयका मानिसहरूको सोचाइ र व्यवहारबारे कस्तो भविष्यवाणी गरिएको थियो?
बाइबलमा अहिलेको समयमा दुर्गुण र खराब आनीबानी सामान्य हुनेछ भनेर बताइएको छ। अनि यी सब हुनुको मुख्य कारण स्वार्थ हो। मानिसहरू “असंयमित,” “आफैलाई मात्र प्रेम गर्ने” अनि “परमेश्वरलाई नभई सुखविलासलाई प्रेम गर्ने” हुनेछन्।—२ तिमोथि ३:२-४.
यस भविष्यवाणीअनुसारै अहिलेका मानिसहरू आफ्नै फाइदा खोज्ने, आफ्नै बारेमा मात्र सोच्ने र आफ्नै स्वार्थ पूरा गर्ने गर्छन्। अनि मानिसहरूमा यस्तो सोचाइ दिनदिनै बढ्दै गइरहेको छ। थुप्रै मानिसहरू आफ्नै कुरालाई मात्र बढ्तै ध्यान दिने भएकोले तिनीहरू “भलाइलाई प्रेम नगर्ने” मानिसहरू भएका छन्। यहाँसम्म कि, तिनीहरू अरूमा भएका असल गुणहरूको समेत कदर गर्दैनन्। तिनीहरू “कृतघ्न” भएकोले आफूसँग भएको अनि आफ्नो लागि अरूले गरिदिएका कुराहरूप्रति कृतज्ञता देखाउँदैनन्।—२ तिमोथि ३:२, ३.
अहिले मानिसहरूमा व्याप्त भएका दुर्गुणहरूको मुख्य जड स्वार्थ हो:
लोभी: थुप्रै मानिसहरू ‘पैसालाई प्रेम गर्छन्।’ तिनीहरू आफूसित धेरै पैसा र भौतिक चिजबिज भयो भने मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने सोचाइ राख्छन्।—२ तिमोथि ३:२.
घमण्डी: थुप्रै मानिसहरू “अहङ्कारी” हुन्छन्, ‘धाक लगाउँछन्’ र ‘घमण्डले फुल्छन्।’ तिनीहरू आफूसित भएका क्षमता, गुण र धन सम्पत्तिबारे धाक लगाउँछन् अनि त्यसबारे बढाइचढाइ गरेर बताउँछन्।
निन्दक: “निन्दा गर्ने” मानिसहरू जताततै छन्। (२ तिमोथि ३:२, ३) तिनीहरू ईश्वरको र अरू मानिसहरूको विरुद्धमा दुर्वचन बोल्छन् अनि झूटो कुरा फैलाउँछन्।
हठी: मानिसहरू “विश्वासघाती,” “कुनै पनि कुरामा सहमत नहुने,” “धोकेबाज” र “जिद्दी गर्ने” किसिमका छन्। तिनीहरू सम्झौता गर्न खोज्दैनन्, कुनै कुराको सहमतिमा आउँदैनन् र आफूले गरेको वाचा पूरा गर्दैनन्।
हिंस्रक: अहिलेका मानिसहरू “निष्ठुर” छन् र रिसलाई काबुमा राख्न सक्दैनन्। यसले गर्दा तिनीहरू क्रूर र हिंस्रक व्यवहार गर्छन्।—२ तिमोथि ३:३.
दुष्टता: येसुले हाम्रो समयमा “दुष्टता” बढ्नेछ भनेर भविष्यवाणी गर्नुभयो। (मत्ति २४:१२) उहाँले जताततै “गोलमाल” र “विद्रोह” हुनेछ भनेर पनि बताउनुभयो।—लुका २१:९, फुटनोट।
परिवारबीच प्रेम नहुनु: “आमाबुबाको आज्ञा पालन नगर्ने” र परिवारप्रतिको “स्वाभाविक स्नेह नभएका” मानिसहरूले गर्दा परिवारका सदस्यहरूले एकअर्कालाई बेवास्ता गर्छन्। अनि परिवारमा दुर्व्यवहार र घरेलु हिंसा पनि बढ्छ।—२ तिमोथि ३:२, ३.
कपटी: “परमेश्वरको भक्ति गरेको ढोँग गर्ने” मानिसहरू बढ्दै छन्। (२ तिमोथि ३:५) तिनीहरू परमेश्वरको इच्छाअनुसार चल्नुको साटो आफूलाई जे सुन्न मन पर्छ, त्यही मात्र सुनाउने धर्मगुरुहरूको पछि लाग्छन्।—२ तिमोथि ४:३, ४.
स्वार्थी मानिसहरूले गर्दा अरूमा कस्तो असर पर्छ?
थुप्रै मानिसहरू स्वार्थी भएकोले अरूले मानसिक र भावनात्मक चोट सहनुपरेको छ। (उपदेशक ७:७) जस्तै, पैसालाई मात्र प्रेम गर्ने मानिसहरूले अरूको नाजायज फाइदा उठाउने गर्छन्। स्वाभाविक स्नेह नभएका मानिसहरूले परिवारका सदस्यहरूलाइ दुर्व्यवहार गर्छन्, जसले गर्दा उनीहरू डिप्रेसनमा र आत्महत्या गर्ने हदसम्म पुग्न सक्छन्। साथै अरूबाट धोका पाएका व्यक्तिहरूलाई लामो समयसम्म भावनात्मक रूपमा पीडा हुन्छ।
मानिसहरू किन झन्झनै खराब हुनेछन्?
मानिसहरू परिवर्तन हुनुका कारणहरूबारे बाइबलमा बताइएको छ:
ईश्वर र छिमेकीप्रतिको प्रेम सेलाउँदै छ। (मत्ति २४:१२) अनि मानिसहरू झन्झन् स्वार्थी हुँदै गइरहेका छन्।
सैतान अर्थात् दियाबललाई स्वर्गबाट तल पृथ्वीमा हुऱ्याइएको छ। (प्रकाश १२:९, १२) त्यसदेखि यता त्यसको दुष्ट र स्वार्थी मनोभाव मानिसहरूमा झन्झनै फैलिरहेको छ।—१ युहन्ना ५:१९.
मानिसहरू झनै खराब हुँदा हामीले के गर्नुपर्छ?
परमेश्वरको वचन भन्छ: “यिनीहरूबाट अलग बस।” (२ तिमोथि ३:५) यसको मतलब हामी समाजका मानिसहरूबाट पूर्णतया अलग हुनुपर्छ भन्ने त होइन, बरु हामी स्वार्थी र परमेश्वरको भक्ति नगर्ने मानिसहरूसित मित्रता गाँस्नदेखि भने होसियार हुनुपर्छ।—याकुब ४:४.
के सबै मानिस खराब हुनेछन्?
हुनेछैनन्! बाइबलमा केही मानिसहरूले “घिनलाग्दा कामहरू देखेर सुस्केरा हाल्दै अफसोस” गर्नेछन् भनेर भविष्यवाणी गरिएको छ। (इजकिएल ९:४) तिनीहरू स्वार्थी मनोभावको पछि लाग्नेछैनन् र यहोवाको इच्छाअनुसार जीवन बिताउनेछन्। तिनीहरू अरू मानिसहरूभन्दा फरक छन् भनेर तिनीहरूको बोली र व्यवहारबाट स्पष्ट देखिनेछ। (मलाकि ३:१६, १८) जस्तै, तिनीहरूले सबै मानिससँग शान्तिमा रहन सक्दो कोसिस गर्नेछन्। अनि युद्ध र हिंसामा भाग लिनेछैनन्।—मिका ४:३.
के पछि गएर पूरै मानव समाज उथलपुथल हुनेछ?
अहँ! पूरै मानव समाज दुष्टता र हिंसाले भरिनेछैन। किनकि परमेश्वरले अब चाँडै उहाँको स्तरअनुसार नचल्नेहरूलाई नाश गर्नुहुनेछ। (भजन ३७:३८) उहाँले “नयाँ पृथ्वी” अर्थात् यसै पृथ्वीमा नयाँ मानव समाज स्थापना गर्नुहुनेछ, जहाँ नम्रहरू सधैँभरि बाँच्नेछन्। (२ पत्रुस ३:१३; भजन ३७:११, २९) यो काल्पनिक कुरा मात्र होइन। बाइबलले अहिले पनि मानिसहरूलाई परमेश्वरको इच्छाअनुसार आफ्नो जीवन परिवर्तन गर्न मदत गरेको छ।—एफिसी ४:२३, २४.
a बाइबल भविष्यवाणी र अहिले संसारको अवस्थाले हामी अन्तको समयमा बाँचिरहेका छौँ भन्ने सङ्केत दिन्छ। अनि यसलाई “असाध्यै कठिन” समय पनि भनिएको छ। (२ तिमोथि ३:१) थप जानकारीको लागि “‘अन्तको दिन’ वा ‘आखिरी समय’-को चिन्ह के हो?” भन्ने लेख हेर्नुहोस्।