प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जुलाई पृ. २-७
  • गिबोनीहरूबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गिबोनीहरूबाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वास र नम्रता देखाउनुहोस्‌
  • अन्याय भोग्नुपर्दा यहोवाको समय पर्खनुहोस्‌
  • साँचो उपासनालाई वफादार भई समर्थन गर्नुहोस्‌
  • बाठा गिबोनीहरू
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • गिबोनीहरूको विवरणबाट सिक्न सकिने पाठहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोसु र गिबोनीहरू
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जुलाई पृ. २-७

सेप्टेम्बर ७-१३, २०२६

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

गिबोनीहरूबाट सिक्नुहोस्‌

‘गिबोनीहरू इस्राएलीहरूसित शान्ति-सम्झौता गरेर तिनीहरूसँगै बसिरहेका थिए।’—यहो. १०:१.

सिक्न सकिने कुरा

गिबोनीहरूबाट र यहोवाले तिनीहरूसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौँ?

१-२. गिबोनीहरूको विवरण पढ्‌नु किन फाइदाजनक छ?

कुरा ईसापूर्व १४७३ को हो। इस्राएल राष्ट्रले प्रतिज्ञा गरिएको देशमाथि कब्जा जमाउँदै छ। इस्राएलीहरूले यरिहो र ऐ सहरमाथि ठूलो विजय हासिल गरेका छन्‌। कनानको अरू सहरहरूमा बसोबास गरिरहेका मानिसहरूले पनि त्यसबारे थाह पाउँछन्‌। तीमध्ये एउटा सहरका केही मानिसहरू इस्राएलीहरूकहाँ आउँछन्‌। अनि तिनीहरूले हामी टाढा देशबाट आएका हौँ र तपाईँहरूसित शान्ति-सम्झौता गर्न चाहन्छौँ भनेर बताउँछन्‌।

२ ती मानिसहरू गिबोनीहरू हुन्‌। बाइबलमा गिबोनीहरूबारे उल्लेख गरिएको यो नै पहिलो विवरण हो तर अन्तिम भने होइन। त्यसपछि पनि गिबोनीहरू सयौँ वर्षसम्म इस्राएलीहरूमाझ बसोबास गरे भनेर बाइबल विवरणहरूले देखाउँछ। यी विवरणहरूबाट हामी थुप्रै बहुमूल्य पाठहरू सिक्न सक्छौँ र यहोवा परमेश्‍वरलाई अझ राम्रोसँग चिन्‍न सक्छौँ।

विश्‍वास र नम्रता देखाउनुहोस्‌

३. (क) गिबोनीहरू को थिए? (ख) तिनीहरूले किन इस्राएलीहरूसित शान्ति-सम्झौता गर्न खोजे?

३ इस्राएलीहरूले कनानलाई कब्जा गर्न थाल्दा गिबोनीहरू गिबोन भन्‍ने सहरमा बसोबास गर्थे। त्यो सहर पर्खालले घेरिएको सुरक्षित सहर थियो। त्यतिबेला कनानमा सात वटा ठूलठूला जातिहरू बसोबास गर्थे। तिनीहरू इस्राएलीहरूभन्दा ‘सङ्‌ख्यामा धेरै र शक्‍तिशाली पनि थिए।’ (व्यव. ७:१) ती जातिहरूमध्ये एउटा हिव्वी जाति थियो र गिबोनीहरू त्यही जातिभित्र पर्थे। त्यस्तो शक्‍तिशाली जातिको भाग भएकोले गिबोनीहरू पनि शक्‍तिशाली थिए। (यहो. १०:२) तैपनि कनानका अरू जातिहरूले जस्तो तिनीहरूले इस्राएलीहरूसित युद्ध लड्‌न खोजेनन्‌। किनकि यहोवा स्वयम्‌ नै आफ्ना मानिसहरूको तर्फबाट लड्‌दै हुनुहुन्छ अनि उहाँले कनानीहरूलाई तिनीहरूको देशबाट धपाउने प्रतिज्ञा गर्नुभएको छ भनेर गिबोनीहरूलाई थाह थियो। (प्रस्थ. ३४:११; यहो. ९:२४) त्यसैले इस्राएलीहरू यरिहो र ऐ सहरमाथि विजयी भएको कुरा थाह पाएपछि गिबोनीहरूले शान्ति-सम्झौता गर्न गिलगालमा यहोसुकहाँ केही प्रतिनिधिहरू a पठाए।

४. (क) गिबोनीहरूले इस्राएलीहरूसित शान्ति-सम्झौता गर्न कस्तो जुक्‍ति निकाले? (चित्र पनि हेर्नुहोस्‌।) (यहोसु ९:८-१३) (ख) गिबोनीहरूको झूट पर्दाफास भएपछि इस्राएलीहरूले के गरे?

४ यहोसु ९:८-१३ पढ्‌नुहोस्‌। गिबोनीहरूले आफूहरू टाढा देशबाट आएको जस्तो देखाए। तिनीहरूले यहोसुलाई यहोवाले मिश्री सेनालाई अनि एमोरीहरूका राजा सीहोन र ओगलाई नाश गर्नुभएको कुरा हामीले सुनेका छौँ भनेर बताए। तर तिनीहरूले चलाखी अपनाउँदै यरिहो र ऐ सहरबारे चाहिँ केही पनि बताएनन्‌। यदि तिनीहरूले त्यो कुरा बताएका भए तिनीहरू नजिकैबाट आएका रहेछन्‌ भनेर थाह हुने थियो। किनकि यदि तिनीहरू साँच्चै नै “टाढा देशबाट” आएका भए त्यहाँसम्म त्यो खबर पुगिसकेको हुने थिएन। इस्राएलका पुरुषहरूले गिबोनीहरूले प्रमाणस्वरूप देखाएका कुराहरू जाँच गरे अनि यहोवा परमेश्‍वरसित सल्लाह नमागिकनै तिनीहरूसित शान्ति-सम्झौता गरे। (यहो. ९:१४, १५) केही समय नबित्दै गिबोनीहरूको झूट पर्दाफास भयो। तर इस्राएलीहरूले गिबोनीहरूसित गरेको शान्ति-सम्झौता तोडेनन्‌ किनकि इस्राएलका कुलनायकहरूले “यहोवाको नाममा शपथ खाएका थिए।” (यहो. ९:१६-१९) इस्राएलीहरूले गिबोनीहरूलाई आफूहरूसँगै बसोबास गर्न अनुमति दिए तर तिनीहरू दास भएर बस्नुपर्ने थियो। तिनीहरूले इस्राएलीहरूको समुदायको लागि र यहोवा परमेश्‍वरको “वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने” जस्तो साधारण काम गर्नुपर्ने थियो।—यहो. ९:२७.

गिबोनी पुरुषहरू यहोसु र इस्राएली सिपाहीहरूसामु घुँडा टेकेर बिन्ती गर्दै छन्‌। गिबोनीहरू आफ्नो फाटेको लुगा र फुटेको मशक देखाउँदै छन्‌।

गिबोनीहरूले यहोसुसित शान्ति-सम्झौता गर्न चलाखी अपनाए (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. गिबोनीहरूले यहोवामाथि विश्‍वास गरेको कसरी देखाए?

५ गिबोनीहरूले इस्राएलीहरूसित शान्ति-सम्झौता गरेको कुरा थाह पाएपछि पाँच जना एमोरी राजा गिबोनमाथि आक्रमण गर्न एकजुट भए। त्यसपछि गिबोनीहरूले यहोसुलाई गुहारे। (यहो. १०:३-७) यहोसुको नेतृत्वमा इस्राएली सेना लडाइँ गर्न गए र यहोवाले तिनीहरूलाई विजयी तुल्याउनुभयो। उहाँले एमोरी सेनाहरूमाथि ठूलठूला असिना बर्साउनुभयो। अनि इस्राएलीहरूले लडाइँ नजितुन्जेल सूर्यलाई आकाशको बीचमा अड्याउनुभयो। (यहो. १०:९-१४) इस्राएलीहरूसित शान्ति-सम्झौता गरेर अनि यहोसुलाई मदतको लागि गुहारेर गिबोनीहरूले यहोवामाथि विश्‍वास गरेको देखाए। यहोवाले आफ्ना प्रतिज्ञाहरू सधैँ पूरा गर्नुहुन्छ र आफूहरूलाई जोगाउनुहुनेछ भन्‍ने कुरामा गिबोनीहरू विश्‍वस्त थिए।

६. यहोवाले गिबोनीहरूसित गर्नुभएको व्यवहारबाट हामी उहाँबारे के सिक्न सक्छौँ?

६ यस विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? यहोवा नम्र र कृपालु हुनुहुन्छ। उहाँले इस्राएलीहरूलाई ‘कनान देशका बासिन्दाहरूलाई धपाउनू’ भनेर पहिल्यै आज्ञा दिनुभएको थियो र त्यसमा गिबोनीहरू पनि पर्थे। (गन्ती ३३:५१, ५२) इस्राएलीहरूले गिबोनीहरूसित शान्ति-सम्झौता गरेका थिए अनि शान्ति-सम्झौता गर्नुअघि यहोवासित सल्लाह पनि मागेका थिएनन्‌। तैपनि यहोवाले गिबोनीहरूलाई कृपा देखाउनुभयो र नाश गर्नुभएन। साथै पछि यहोवाले इस्राएलीहरूलाई आफ्नो शान्ति-सम्झौताअनुसार चल्न र गिबोनीहरूलाई जोगाउन मदत गर्नुभयो।—यहो. ९:२६; ११:१९.

७. हामी गिबोनीहरूको विश्‍वास र नम्रता कसरी अनुकरण गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

७ हामी गिबोनीहरूको कसरी अनुकरण गर्न सक्छौँ? यहोवामाथिको विश्‍वास बलियो बनाएर। अहिले हामीलाई यहोवाबारे गिबोनीहरूलाई भन्दा धेरै कुरा थाह छ। त्यसैले यहोवामाथि पूर्ण भरोसा राख्नु पर्ने अझ धेरै कारणहरू हामीसित छन्‌। (भज. ४०:४, ५) गिबोनीहरूको अनुकरण गर्न सकिने अर्को तरिका भनेको यहोवाको सेवामा सानोजस्तो देखिने काम गर्न पनि इच्छुक हुनु हो। (यहो. ९:२३, २७) एक जवान भाइ लुकबारे विचार गरौँ। तिनले बेथेलका एक जना पाको दाइले त्यसरी नै नम्रता देखाएको कुरा याद गरे र त्यो तिनले कहिल्यै बिर्सेनन्‌। हुनत त्यो पाको दाइले बेथेलमा थुप्रै गहन जिम्मेवारीहरू सम्हालिरहनुभएको थियो। तैपनि उहाँ स्थानीय सभाभवन निर्माण भइरहेको बेला रातको समयमा गार्ड बस्न जाने गर्नुहुन्थ्यो। लुक भन्छन्‌: “मैले उहाँबाट एउटा महत्त्वपूर्ण कुरा सिकेँ। आफू नम्र छु भन्ठान्‍नु मात्र पर्याप्त छैन। यदि हामी साँच्चै नम्र छौँ भने त्यो हाम्रो व्यवहारमा पनि देखिन्छ।” गाह्रो अवस्था आइपर्दा यहोवामा भर परेर अनि उहाँको सेवामा सानोजस्तो देखिने काम गर्न पनि तयार भएर हामी गिबोनीहरूले जस्तै यहोवामा विश्‍वास गरेको देखाउन सक्छौँ।

चित्रहरूको सँगालो: सानोजस्तो देखिने काम गर्न इच्छुक भएकाहरूको केही उदाहरण। १. एक गिबोनी पुरुषले पानीको भाँडो बोकिरहेको छ। २. एक पाको भाइ सभाभवनको बगैँचामा गोडमेल गर्दै छ।

सानोजस्तो देखिने काम गर्न इच्छुक भएर गिबोनीहरूको अनुकरण गर्नुहोस्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)


अन्याय भोग्नुपर्दा यहोवाको समय पर्खनुहोस्‌

८. राजा साउलले गिबोनीहरूविरुद्ध कस्तो अपराध गरे?

८ बाइबलमा राजा साउलको समयमा गिबोनीहरूबारे फेरि उल्लेख गरिएको पाउछौँ। “साउलले इस्राएलीहरू र यहुदीहरूको खातिर जोसमा आएर गिबोनीहरूलाई नाश गर्न खोजेका थिए।”b नतिजास्वरूप थुप्रै गिबोनीहरूको ज्यान गयो। (२ समु. २१:२, ५, ६) यो साँच्चै ठूलो अन्याय थियो। साउलले इस्राएलीहरू र गिबोनीहरूबीचको सयौँ वर्ष पुरानो शान्ति-सम्झौता तोडे।

९. यहोवाले गिबोनीहरूमाथि भएको अन्यायविरुद्ध कहिले कदम चाल्नुभयो?

९ यहोवाले गिबोनीहरूविरुद्ध यस्तो घोर अन्याय गर्नेहरूलाई तुरुन्तै नाश गर्नुभएन। वास्तवमा उहाँले वर्षौँपछि राजा दाउदको शासनकालमा मात्र त्यस अन्यायविरुद्ध कदम चाल्नुभयो। दाउदको शासनकालमा इस्राएलमा तीन वर्षसम्म अनिकाल पऱ्‍यो। यसले गर्दा इस्राएलीहरू भोकै बस्नुपऱ्‍यो। त्यसपछि दाउदले यहोवालाई इस्राएलमा अनिकाल पर्नुको कारण सोधे। यहोवाले यसो भन्‍नुभयो: “साउल र तिनको घराना हत्याको दोषी छ किनकि तिनले गिबोनीहरूलाई मारेका थिए।”—२ समु. २१:१.

१०. गिबोनीहरूले परमेश्‍वरको व्यवस्थाको कदर गरेको कसरी देखाए? (२ समुएल २१:३-६)

१० दोस्रो समुएल २१:३-६ पढ्‌नुहोस्‌। दाउदले गिबोनीहरूलाई साउलले गरेको पापको प्रायश्‍चित गर्न तिमीहरूको लागि के गरूँ भनेर सोधे। तिनीहरूले दाउदसित ‘क्षतिपूर्तिस्वरूप सुन वा चाँदी’ मागेनन्‌ किनकि तिनीहरूलाई परमेश्‍वरको व्यवस्था राम्रोसँग थाह थियो। अनि व्यवस्थाअनुसार मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर छोड्‌न मिल्दैनथ्यो, उसलाई मृत्युदण्ड नै दिनुपर्थ्यो। (गन्ती ३५:३०, ३१) साथै कानुनी आधारविना कसैलाई मृत्युदण्ड दिन मिल्दैन भन्‍ने कुरा पनि गिबोनीहरूलाई थाह थियो। त्यसैले दाउदले गिबोनीहरूलाई साउलको परिवारका सात जना पुरुषहरूको हत्या गर्ने अनुमति दिए, जो साउलले गरेको अपराधमा संलग्न भएका हुन सक्छन्‌। त्यसको केही समयपछि इस्राएलमा पानी पऱ्‍यो र अनिकाल अन्त भयो। यसरी यहोवाले गिबोनीहरूलाई न्याय दिलाउनुभयो। —२ समु. २१:९, १०, १४.

११. यस विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

११ यस विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? यस विवरणले यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ भनेर देखाउँछ। (भज. ३७:२८) उहाँ कसैमाथि पनि अन्याय भएको चाहनुहुन्‍न। अहिले थुप्रै मानिसहरू अर्को देशबाट आएका अनि आफ्नो भन्दा फरक पृष्ठभूमि वा जातका मानिसहरूलाई दुर्व्यवहार गर्छन्‌। यहोवाका सेवकहरू समेत यस्तो व्यवहारबाट अछुतो छैनन्‌। तर यहोवाले आफ्नो समयमा सबै किसिमका अन्यायलाई सच्याउनु हुनेछ। यस विवरणबाट हामी यहोवाबारे अर्को कुरा पनि सिक्न सक्छौँ। उहाँ इस्राएलीहरूले गिबोनीहरूसित गरेको वाचा पूरा गरेको चाहनुहुन्थ्यो। आज हामीबाट पनि उहाँ त्यही नै चाहनुहुन्छ।—आमोस १:९ तुलना गर्नुहोस्‌।

१२. अन्याय भोग्नुपर्दा हामी कसरी गिबोनीहरूको अनुकरण गर्न सक्छौँ?

१२ हामी गिबोनीहरूको कसरी अनुकरण गर्न सक्छौँ? भाइबहिनीहरूबाट अन्याय भोग्नुपर्दा समेत हामी धीरजी भई यहोवाको समय पर्खन सक्छौँ। यसो गर्दा यहोवाले आफ्नो समयमा त्यस्तो अन्यायलाई सच्याउनुहुनेछ भन्‍ने कुरामा भरोसा गरेको देखाइरहेका हुन्छौँ। बहिनी लोरा फ्रेन्चको अनुभव विचार गरौँ। तिनले १९२६ देखि क्यानाडा बेथेलमा सेवा गर्न थालिन्‌। त्यसको लगभग १० वर्षपछि तिनी अन्यायको सिकार भइन्‌। तिनलाई धर्मत्यागीहरूसित मिलेको गलत आरोप लगाइयो र बेथेलबाट निकालियो। यस्तो घोर अन्याय भोग्नुपर्दा तिनले के गरिन्‌? हुनत तिनको असाध्यै चित्त दुखेको थियो तर तिनले कहिल्यै गुनासो गरिनन्‌। बरु बेथेल छोडेलगत्तै तिनले अग्रगामी सेवा थालिन्‌। त्यसपछि तिनले आसै नगरेको कुरा भयो। बेथेल छोडेको चार वर्षपछि १९४० मा तिनलाई फेरि बेथेल बोलाइयो। बहिनी फ्रेन्चले जम्माजम्मी ५० वर्ष बेथेल सेवा गरिन्‌ र मृत्युसम्मै यहोवाप्रति वफादार रहिन्‌। बहिनी फ्रेन्चले जस्तै हामीले पनि अन्याय भोग्नुपर्ने हुन सक्छ। तैपनि हामीले सही काम गर्न छोड्‌नु हुँदैन र यहोवाले आफ्नो समयमा त्यस्तो अन्यायलाई सच्याउनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुनुपर्छ।—यसै. २६:३, ४.

साँचो उपासनालाई वफादार भई समर्थन गर्नुहोस्‌

१३. “नेथिनिम” को थिए? अनि बेबिलोनको निर्वासन अन्त भएपछि तिनीहरूले के गरे?

१३ राजा दाउदको समयभन्दा लगभग ५०० वर्षपछि बाइबलमा गिबोनीहरूबारे फेरि उल्लेख गरिएको पाउँछौँ। बेबिलोनमा इस्राएलीहरूको ७० वर्षे लामो निर्वासित जीवन अन्त भयो। अनि ईसापूर्व ५३७ मा यहुदीहरूको पहिलो समूह राज्यपाल यरुबाबेलसँगै यरुसलेम फर्के। (एज्रा २:१, २, ५८) त्यसपछि ईसापूर्व ४६८ मा यहुदीहरूको अर्को समूह एज्रासँगै यरुसलेम फर्के। (एज्रा ७:१-७) ती दुईवटै समूह तुलनात्मक रूपमा सानो थियो। तर दुई वटै समूहमा नेथिनिमका सन्तानहरू पनि थिए। (एज्रा ७:७ को फुटनोट हेर्नुहोस्‌) नेथिनिम को थिए? तिनीहरू “मन्दिरका सेवकहरू” थिए, जो इस्राएली थिएनन्‌। अनि तिनीहरूमध्ये धेरैजसो गिबोनीहरूका सन्तान थिए जस्तो देखिन्छ।—बाइबलको शब्दावलीमा “नेथिनिम” हेर्नुहोस्‌।

१४. गिबोनीहरूले यहोवाप्रति वफादार भएको कसरी देखाए? (१ इतिहास ९:२ र फुटनोट)

१४ पहिलो इतिहास ९:२ र फुटनोट पढ्‌नुहोस्‌। बेबिलोनको निर्वासनबाट यरुसलेम फर्केका सुरु-सुरुका मानिसहरूमध्ये “मन्दिरका सेवकहरू” पनि थिए। यो कुरा रोचक छ किनकि सबै यहुदी यरुसलेम फर्केका थिएनन्‌। थुप्रै यहुदीहरूले बेबिलोनमा बस्ने निर्णय गरे। किनकि त्यहाँ तिनीहरूले केही हदसम्म सम्पन्‍न जीवन बिताइरहेका थिए। तिनीहरू ती सबै कुरा त्यागेर यरुसलेम फर्कन अनि पुनर्निर्माणको काममा सघाउन इच्छुक थिएनन्‌। तर यहोवाप्रति वफादार मानिसहरू यरुसलेमको मन्दिरमा साँचो उपासना पुनर्स्थापित भएको हेर्न चाहन्थे। त्यसैले तिनीहरू सबै कुरा त्यागेर यरुसलेम फर्किए। त्यसरी फर्कनेहरूमध्ये सम्भवतः गिबोनीहरूका सन्तानहरू पनि थिए। इस्राएलमा यहुदीहरूको पुर्ख्यौली जग्गाजमिन थियो तर गिबोनीहरूको भने थिएन। तैपनि तिनीहरू मन्दिरको सेवकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न अनि पर्खाल मर्मत गर्ने काममा सघाउन यरुसलेम फर्के।—नहे. ३:२६.

१५. यस विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

१५ यस विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? यहोवा आफ्ना वफादार सेवकहरूलाई माया गर्नुहुन्छ र तिनीहरूको सधैँ ख्याल राख्नुहुन्छ। यहोवाले यहोसुको समयमा गिबोनीहरूलाई बचाउनुभएको समयदेखि बेबिलोनको निर्वासन अन्त भएको समयसम्म झन्डै १ हजार वर्ष बितिसकेको थियो। तर त्यो समयावधिभरि नै यहोवाले गिबोनीहरूलाई साथ दिइरहनुभयो। ईसापूर्व ६०७ मा यहुदा र यरुसलेमको विनाश हुँदा उहाँले गिबोनीहरूका सन्तानहरूलाई जोगाउनुभयो। अनि निर्वासनबाट यरुसलेम फर्केपछि पनि यहोवाले तिनीहरूलाई लेवीहरूसँगै मन्दिरको काममा चलाइरहनुभयो। तिनीहरूमध्ये कोही-कोही सम्भवतः मन्दिरनजिकै बस्थे। (एज्रा २:७०; नहे. ११:२१) अनि मन्दिरमा सेवा गरेबापत तिनीहरूले कर, तिरो र महसुल तिर्नुपर्दैन थियो।—एज्रा ७:२४.

१६. हामी गिबोनीहरूको कसरी अनुकरण गर्न सक्छौँ?

१६ हामी गिबोनीहरूको कसरी अनुकरण गर्न सक्छौँ? हामी पनि साँचो उपासनालाई आफ्नो तर्फबाट सघाउन सक्दो गर्न चाहन्छौँ। हामी यहोवाको सेवा गर्न राजीखुसीले त्यागहरू गर्छौँ। किनकि हामी उहाँलाई प्रेम गर्छौँ अनि उहाँलाई खुसी बनाउन चाहन्छौँ। यस सन्दर्भमा फिलिपिन्सका भाइ एल्विनको अनुभव विचार गरौँ। तिनी तेल कम्पनीमा काम गर्थे र तिनको कमाइ पनि निकै राम्रो थियो। तर तिनी यहोवाको सेवामा अझ धेरै गर्न चाहन्थे। तिनी क्षेत्रीय निरीक्षकको भ्रमणको बेला प्रचारमा अझ धेरै भाग लिन कामबाट छुट्टी लिन्थे। अनि नियमित अग्रगामी गर्न सजिलो हुने खालको काम भेटाउन मदत गर्नुहोस्‌ भनेर तिनले यहोवालाई थुप्रै चोटि प्रार्थना गरेका थिए। हुनत तेल कम्पनीको जागिर छोड्‌दा पहिलाजस्तो सम्पन्‍न जीवन बिताउन सकिँदैन भनेर तिनलाई थाह थियो। तैपनि तिनले त्यो काम छोडे अनि नयाँ काम खोजेर नियमित अग्रगामी सुरु गरे। पछि तिनकी पत्नीले पनि अग्रगामी थालिन्‌। तिनीहरूले २१ जनालाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरिसकेका छन्‌। यहोवा यस दम्पतीको त्याग र मेहनत देखेर पक्कै खुसी हुनुहुन्छ। यहोवा हामीले गरेको जुनसुकै त्यागको कदर गर्नुहुन्छ अनि हाम्रो आवश्‍यकता सधैँ पूरा गरिदिनुहुन्छ भन्‍ने कुरामा हामी पनि ढुक्क हुन सक्छौँ।—मत्ति ६:३३.

१७. हामीले गिबोनीहरूको विवरणबाट कस्ता कुराहरू सिक्न सक्यौँ?

१७ गिबोनीहरूको बाइबल विवरणबाट हामीले यहोवाका मनमोहक गुणहरूबारे थुप्रै कुरा सिक्यौँ। उहाँ नम्र, कृपालु, न्यायी र वफादार हुनुहुन्छ। उहाँ आफ्ना वफादार उपासकहरूलाई सधैँ आशिष्‌ दिनुहुन्छ। हामीले गिबोनीहरूबाट पनि थुप्रै व्यावहारिक पाठहरू सिक्यौँ। तिनीहरूजस्तै हामी पनि यहोवामाथिको विश्‍वासलाई बलियो बनाउन चाहन्छौँ। अनि गाह्रो अवस्थाको सामना गर्नुपर्दा उहाँमाथि पूर्ण भरोसा राख्न चाहन्छौँ। त्यस्तो विश्‍वासले हामीलाई यहोवाको सेवामा जस्तोसुकै असाइनमेन्ट पाए पनि त्यो पूरा गर्न उत्प्रेरित गर्छ। साथै यहोवाले आफ्नो समयमा सबै अन्याय सच्याउनुहुनेछ भन्‍ने कुरामा भरोसा राख्दै उहाँको समय पर्खन चाहन्छौँ। अनि हामी जोसिलो भएर साँचो उपासनालाई समर्थन गर्न चाहन्छौँ। गिबोनीहरूको उदाहरण सम्झिरहौँ र तिनीहरूको अनुकरण गरिरहौँ!

हामी गिबोनीहरूबाट निम्न कुराहरूबारे के सिक्न सक्छौँ?

  • विश्‍वास र नम्रता देखाउनेबारे

  • अन्यायको सामना गर्नेबारे

  • साँचो उपासनालाई समर्थन गर्नेबारे

गीत १४८ यहोवा—मेरा उद्धारक

a गिबोनीहरूले पठाएका प्रतिनिधिहरूमा गिबोन र अरू तीन वटा सहरका मानिसहरू पनि थिए। ती सहरहरू हुन्‌: कफिराह, बेरोथ र किर्यथ-येरिम।—यहो. ९:१७.

b साउलले किन यस्तो अपराध गरे भनेर बाइबलमा तोकेरै बताइएको छैन। तर केही बाइबलविद्‌हरूको अनुसार तिनले इस्राएलमा बसोबास गरिरहेका अरू जातिका मानिसहरूप्रतिको पूर्वाग्रहले गर्दा त्यसो गरेका हुन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने