प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 अप्रिल पृ. २६-३१
  • आफ्नो जोडीसितको मित्रता बलियो बनाइराख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो जोडीसितको मित्रता बलियो बनाइराख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ कसरी असल जीवनसाथी रोज्न सक्नुहुन्छ?
  • एकअर्कासित समय बिताएर मित्रता बलियो बनाउनुहोस्‌
  • समस्याहरू आउँदा एकअर्कासित घनिष्ठ भइरहनुहोस्‌
  • तपाईँ कसरी सुहाउँदो जीवनसाथी भेट्टाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 अप्रिल पृ. २६-३१

जून २९–जुलाई ५, २०२६

गीत १३१ “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ”

आफ्नो जोडीसितको मित्रता बलियो बनाइराख्नुहोस्‌

“कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।” —हितो. १८:२४

सिक्न सकिने कुरा

वैवाहिक जीवन सुखी बनाउन पति र पत्नी दुवैले यहोवालाई प्रेम गर्नुपर्छ र एकअर्काबीचको मित्रता बलियो बनाउनुपर्छ।

१. असल साथीहरू किन यहोवाले दिनुभएका उपहार हुन्‌?

असल साथीहरू यहोवाले दिनुभएका उपहार हुन्‌। (याकु. १:१७) तिनीहरू यहोवालाई प्रेम गर्छन्‌ र हामीलाई पनि प्रेम गर्छन्‌। तिनीहरू हामी खुसी हुँदा हामीसँगै रमाउँछन्‌ र हामी निराश हुँदा सान्त्वना दिन्छन्‌। साथै चाहिएको बेला साँचो मनले हामीलाई सल्लाह दिन्छन्‌। तिनीहरू सधैँ हामीलाई साथ दिन्छन्‌ र भरोसायोग्य हुन्छन्‌। यस्ता मित्रहरूले हाम्रो “हृदयलाई प्रसन्‍न बनाउँछ।”—हितो. २७:९.

२. विवाहित जोडीले एकअर्काबीचको मित्रता बलियो बनाइरहनु किन महत्त्वपूर्ण छ? (मत्ति १९:६)

२ पति र पत्नी घनिष्ठ साथी हुनु एकदमै महत्त्वपूर्ण छ। यो मित्रतालाई तिनीहरूले हल्कासित लिनु हुँदैन। बरु यसलाई बलियो बनाइरहनुपर्छ। यसलाई बेवास्ता गर्दा तिनीहरूले एक्लो अनि दिक्क महसुस गर्न सक्छन्‌। तिनीहरूलाई एकअर्कादेखि रिस पनि उठ्‌न सक्छ। तर तिनीहरूले आफ्नो मित्रतालाई बलियो बनाउन निरन्तर प्रयास गरिरहे भने तिनीहरूबीचको बन्धन अटुट हुनेछ। (मत्ति १९:६ पढ्‌नुहोस्‌।) यस लेखमा विवाहित जोडीहरूले आफ्नो मित्रता कसरी बलियो बनाइराख्न सक्छन्‌ भनेर छलफल गर्नेछौँ। तर सुरुमा अविवाहित ख्रिष्टियनहरूले कसरी आफ्नो लागि सुहाउँदो जीवनसाथी रोज्न सक्छन्‌ भनेर विचार गरौँ।

तपाईँ कसरी असल जीवनसाथी रोज्न सक्नुहुन्छ?

३-४. अविवाहितहरूलाई सुहाउँदो जोडी भेट्टाउन केले मदत गर्छ? (हितोपदेश १८:२२)

३ हामीले कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुअघि त्यसले ल्याउन सक्ने खतरा, फाइदा र नतिजाहरूबारे सोच्नुपर्छ। यस्ता निर्णयहरूले जीवनभर असर पुऱ्‍याउन सक्ने भएकोले निर्णय गर्नुअघि नै होस पुऱ्‍याउनुपर्छ।

४ हामीले जीवनसाथी अर्थात्‌ विवाहको लागि जोडी रोज्दा जीवनको एउटा महत्त्वपूर्ण निर्णय गरिरहेका हुन्छौँ। यहोवा विवाहको सुरुवातकर्ता हुनुहुन्छ त्यसैले जोडी छान्‍ने सन्दर्भमा हामीले उहाँको डोऱ्‍याइ खोज्नुपर्छ। उहाँ एक पुरुषले असल पत्नी पाएको र एक स्त्रीले असल पति पाएको चाहनुहुन्छ। हाम्रो भलाइ केमा छ भनेर यहोवालाई सधैँ थाह हुन्छ। (हितोपदेश १८:२२ पढ्‌नुहोस्‌; यसै. ४८:१७, १८) परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूले एक ख्रिष्टियनलाई आफ्नो लागि सुहाउँदो जोडी भेट्टाउन मदत दिन्छ।

५. बप्तिस्मा गरिसकेका व्यक्‍तिसित मात्र विवाह गर्नु किन महत्त्वपूर्ण छ?

५ बप्तिस्मा गरेपछि हामी यहोवाको साथी बन्छौँ। (भज. २५:१४) यदि तपाईँ विवाह गर्न चाहनुहुन्छ भने तपाईँले यहोवाका साथीहरूमध्येबाटै आफ्नो लागि जोडी छान्‍नुपर्छ। (१ कोरि. ७:३९) यसो गर्नुभयो भने तपाईँले यहोवाको स्तरको कदर गरेको देखाउन र आफ्नो जोडीलाई उहाँले दिनुभएको आशिष्‌को रूपमा हेर्न सक्नुहुनेछ। (हितो. १९:१४) साथै विश्‍वास नगर्नेहरूसित ‘एउटै जुवामा नारिँदा’ आइपर्ने समस्याहरूदेखि पनि जोगिन सक्नुहुनेछ। (२ कोरि. ६:१४) साक्षीहरूमाझ आफ्नो लागि सुहाउँदो जोडी छैन भनेर यहोवामा विश्‍वास नगर्नेहरूसित डेटिङ गर्नु मूर्ख कुरा हो। साथै विश्‍वासमा नभएको व्यक्‍तिसित डेटिङ गरेर तिनले पछि सत्य सिकिहाल्छन्‌ नि भन्‍ने सोचाइ राख्नु पनि बुद्धिमानी होइन।

६-७. डेटिङको दौडान के-कस्ता प्रश्‍नहरू विचार गर्नुपर्छ?

६ तर त्यसो भन्दैमा बप्तिस्मा गरेका जो-कोही तपाईँको लागि सुहाउँदो जोडी हुन्छन्‌ भन्‍ने छैन। यदि तपाईँले कसैलाई सम्भावित जोडीको रूपमा हेर्दै हुनुहुन्छ भने आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:a ‘तिनी आफ्नो परिवारसित कस्तो व्यवहार गर्छन्‌? के तिनी अरूको ख्याल राख्छन्‌ र अरूलाई आदर देखाउँछन्‌? तिनी कस्ता व्यक्‍तिहरूलाई आफ्नो साथी बनाउँछन्‌? अरूको विचार आफ्नो भन्दा फरक हुँदा तिनी कस्तो प्रतिक्रिया देखाउँछन्‌? के तिनी आफ्नै कुरामा जिद्दी गर्छन्‌ वा परमेश्‍वरको स्तरसित बाझिँदैन भने अरूको कुरा सुन्‍न पनि तयार हुन्छन्‌? तिनी पैसाप्रति कस्तो दृष्टिकोण राख्छन्‌?’

७ तपाईँ आफूलाई यस्ता प्रश्‍नहरू पनि सोध्न सक्नुहुन्छ: ‘के तिनी यहोवालाई गहिरो प्रेम गर्छन्‌? के तिनले “नयाँ व्यक्‍तित्व धारण” गरेका छन्‌? के तिनले मलाई यहोवाको सेवामा अझ धेरै गर्न मदत दिन सक्छन्‌? के हाम्रो आध्यात्मिक लक्ष्य एउटै छ? के हामी केवल साथी मात्र नभई घनिष्ठ साथी बन्‍न सक्छौँ?’ (कल. ३:९, १०) बहिनीहरू, के तपाईँले डेटिङ गरिरहेको व्यक्‍ति एक असल साथी र असल शिर बन्‍न सक्छन्‌? (१ कोरि. ११:३) भाइहरू, के तपाईँले डेटिङ गरिरहेको व्यक्‍ति तपाईँको कमीकमजोरीको बाबजुद तपाईँको शिरत्वको अधीनमा बस्न तयार छिन्‌? यस्ता प्रश्‍नहरूको जवाफ पाउन समय लाग्छ। त्यसैले डेटिङको दौडान आफ्नो सम्भावित जोडीलाई राम्रोसँग चिन्‍ने प्रयास गर्नुहोस्‌।

८-९. डेटिङ गरिरहेकाहरूलाई बुद्धिमानी निर्णय गर्न केले मदत गर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

८ डेटिङ गर्दा आफ्नो साथी साँच्चै कस्ता छन्‌ भनेर बुझ्ने प्रयास गर्नुभयो भने तपाईँले सही निर्णय गर्न सक्नुहुनेछ। अरूले तिनीबारे कस्तो सोचाइ राख्छन्‌, पत्ता लगाउनुहोस्‌। तपाईँ तिनले कस्तो नाम कमाएका छन्‌ र तिनमा कस्ता गुणहरू छन्‌ भनेर सोध्न सक्नुहुन्छ। उदाहरणको लागि, के तिनी नम्र, दयालु अनि व्यावहारिक व्यक्‍ति भनेर चिनिन्छन्‌। फ्रेन्च गुएनामा बस्ने सारा बहिनी यसो भन्छिन्‌, “मैले विवाहअघि ड्यानियलबारे उहाँसँगै बस्ने उहाँको अग्रगामी साथी, उहाँको मण्डलीको एक जना एल्डर, हामी दुवैलाई चिन्‍ने साथीहरू र उहाँको मण्डलीका केही बहिनीहरूलाई सोधेँ।” आफूले डेटिङ गरिरहेको व्यक्‍तिको विगतबारे वा हालैका व्यक्‍तिगत विषयहरूबारे तपाईँले थाह पाउनुपर्ने केही कुरा छ कि भनेर सोध्नुहोस्‌। किनभने यस्ता कुराहरूले पछि तपाईँको वैवाहिक जीवनमा ठूला समस्याहरू निम्त्याउन सक्छ।

९ तपाईँले डेटिङ गरिरहेको व्यक्‍ति असल पति वा पत्नी हुन सक्छन्‌ कि सक्दैनन्‌ भनेर तपाईँलाई शङ्‌का लाग्न सक्छ अथवा कोही परिपक्व व्यक्‍तिले तिनमा भएको नराम्रो गुणबारे तपाईँलाई बताउन सक्छन्‌। यी कुराहरूलाई हल्कासित नलिनुहोस्‌ किनभने यसले तपाईँलाई डेटिङ गरिरहने कि छोड्‌ने भनेर निर्णय गर्न मदत गर्नेछ।b अब हामी विवाहित जोडीहरूले कसरी आफ्नो मित्रता बलियो बनाउन सक्छन्‌ भनेर विचार गर्नेछौँ।

डेटिङ गरिरहेको जोडी जमघटमा एकअर्कासँग कुराकानी गर्दै छन्‌।

डेटिङको दौडान एकअर्कालाई राम्ररी चिन्‍ने प्रयास गर्नुहोस्‌ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)


एकअर्कासित समय बिताएर मित्रता बलियो बनाउनुहोस्‌

१०. पतिपत्नीले किन एकअर्कासित समय बिताउनुपर्छ?

१० एक पति र पत्नीले जति नै व्यस्त भए पनि एकअर्कासित समय बिताएर आफ्नो वैवाहिक बन्धन र मित्रता बलियो बनाउन सक्छन्‌। यसरी सँगै समय बिताउँदा तिनीहरूले दैनिक कामकुराबारे अनि एकअर्काको गहिरो सोचाइ र भावनाबारे कुरा गर्ने मौका पाउँछन्‌। साथै तिनीहरूले एकअर्कालाई माया देखाउन र सँगै रमाइलो समय बिताउन सक्छन्‌।

११. पति र पत्नीबीचको मित्रतालाई केले खतरामा पार्न सक्छ?

११ एकअर्कासित घनिष्ठ सम्बन्ध गाँसेका पति र पत्नी सधैँ सँगै रहन रुचाउँछन्‌। कहिलेकाहीँ तिनीहरू केही समयको लागि टाढा बस्नुपर्ने हुन सक्छ। तर लामो समयसम्म छुट्टिएर बस्नु भने खतरनाक हुन सक्छ। उदाहरणका लागि, कोही-कोही काम गर्न विदेश गएकोले लामो समयसम्म आफ्नो परिवारदेखि टाढा रहन्छन्‌। यसो गर्दा तिनीहरूले पैसा त कमाउलान्‌ तर लामो समयसम्म आफ्नो जोडीबाट टाढा रहँदा वैवाहिक सम्बन्धमा थुप्रै समस्याहरू आइपर्न सक्छ।

१२-१३. (क) केही विवाहित जोडीहरूले आफ्नो जोडीसित समय बिताउन के गरेका छन्‌? (चित्र पनि हेर्नुहोस्‌।) (ख) आफ्नो जोडीसितको सम्बन्धलाई हामीले कत्तिको महत्त्वपूर्ण ठान्‍नुपर्छ? (“तपाईँको जीवनमा तपाईँको जोडीको स्थान” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१२ केही विवाहित जोडीले एकअर्कासित नियमित रूपमा समय बिताउन के-कस्ता कदम चालेका छन्‌, याद गरौँ। गुआममा बस्ने लिया भन्छिन्‌: “मेरो पति र मलाई विभिन्‍न कामकुरा सँगै गर्न मन पर्छ। हामी खासै एकअर्काविना घुम्न जाने वा सरसङ्‌गतिहरूमा जाने गर्दैनौँ।” अमेरिकामा बस्ने रोक्सेन यसो भन्छिन्‌: “हामी निकै व्यस्त छौँ, त्यसैले महत्त्वपूर्ण कुराको लागि पहिल्यै योजना बनाएजस्तै हामी सँगै समय बिताउन पनि पहिल्यै योजना बनाउँछौँ।” (आमोस ३:३ तुलना गर्नुहोस्‌।) फ्रान्समा बस्ने दामियन यसो भन्छन्‌: “हामीले एकअर्कालाई के गर्न मन पर्छ भनेर थाह पाउनु महत्त्वपूर्ण छ भनेर बुझेका छौँ र त्यसमा आफू पनि रमाउन सिकेका छौँ।” (मत्ति ७:१२) अनि अमेरिकामा बस्ने केट यसो भन्छिन्‌: “एकअर्कासित राम्ररी समय बिताउन सकौँ अनि अलमल्याउने कुरा केही नहोस्‌ भनेर हामी आफ्नो फोन टाढै राख्ने गर्छौँ।”

१३ सबैभन्दा महत्त्वपूर्ण कुरा आध्यात्मिक गतिविधिमा सँगै भाग लिनु हो। फ्रान्समा बस्ने मरियम यसो भन्छिन्‌: “हामी सँगै बाइबल पढेर दिनको सुरुवात गर्छौँ र एकअर्कालाई मन परेको अनि लागू गर्न चाहेको कुरा बताउँछौँ। मलाई यसरी सँगै समय बिताउन एकदमै मन पर्छ।” तिनी अझै यसो भन्छिन्‌: “मलाई मेरो श्रीमान्‌सँगै प्रार्थना गर्न मन पर्छ किनभने यसो गर्दा उहाँ यहोवालाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर सुन्‍न पाउँछु।” अगाडि उल्लेख गरिएकी केट यसो भन्छिन्‌: “हामीलाई प्रचारकार्यमा सँगै समय बिताउन एकदमै मन पर्छ। एकअर्काले आफ्नो विश्‍वासबारे बताएको सुन्दा हामी स्फूर्ति पाउँछौँ र एकअर्काबाट नयाँ कुराहरू पनि सिकिरहन्छौँ।”—हितो. २७:१७.

अगाडिको चित्रमा देखाइएको जोडीको विवाह भइसकेको छ। तिनीहरू क्याम्पिङ्‌ गएका छन्‌ र एकअर्कासँग समय बिताइरहेका छन्‌।

नियमित रूपमा एकअर्कासित समय बिताएर आफ्नो वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)


तपाईँको जीवनमा तपाईँको जोडीको स्थान

जीवनमा थुप्रै महत्त्वपूर्ण व्यक्‍तिहरू हुन्छन्‌। तर तपाईँको लागि आफ्नो जोडी कत्तिको महत्त्वपूर्ण हुनुपर्छ?—फिलि. १:१०.

  1. १. यहोवा। हामी यहोवासितको मित्रतालाई पहिलो स्थानमा राख्छौँ। (मत्ति ६:३३; मर्कु. १२:३०) हामी आफ्नो जोडीलाई खुसी बनाउन यहोवाप्रति कहिल्यै अवफादार हुँदैनौँ।—प्रेषि. ५:२९; तुलना गर्नुहोस्‌: उत्पत्ति २:१६, १७; ३:६.

  2. २. आफ्नो जोडी। पति र पत्नी एउटै शरीर हुन्छन्‌। जसरी हामीले आफ्नो ख्याल राख्छौँ, त्यसरी नै आफ्नो पति वा पत्नीको ख्याल राख्नुपर्छ।—उत्प. २:२४; एफि. ५:२८, २९, ३३.

  3. ३. अरू व्यक्‍ति र जिम्मेवारीहरू। हामी आफ्नो आमाबुबा, आफन्त र आध्यात्मिक भाइबहिनीहरूको ख्याल राख्न चाहन्छौँ। साथै आफ्नो ईश्‍वरतान्त्रिक जिम्मेवारीहरू पनि राम्ररी सम्हाल्न चाहन्छ। तर हामीले आफ्नो जीवनसाथीको खुसीलाई महत्त्व दिनुपर्छ। यहोवासितको सम्बन्धबाहेक हामीले कुनै पनि कुरालाई वा कसैलाई पनि आफ्नो जोडीभन्दा महत्त्वपूर्ण ठान्‍नु हुँदैन।—१ तिमो. ५:८.

समस्याहरू आउँदा एकअर्कासित घनिष्ठ भइरहनुहोस्‌

१४-१५. विवाहित जोडीहरूले समस्याहरू आइपर्दा त्यसको सामना गर्न किन कडा प्रयास गर्नुपर्छ? एउटा उदाहरण दिनुहोस्‌।

१४ त्रुटिपूर्ण भएकोले दम्पतीहरूले वैवाहिक जीवनमा विभिन्‍न चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। बाइबलले पनि विवाह गर्नेले “शारीरिक दुःखकष्ट झेल्नेछ” भनेर बताएको छ। (१ कोरि. ७:२८) यस पदको अध्ययन नोटमा “शारीरिक दुःखकष्ट” भन्‍ने अभिव्यक्‍तिले “साधारणतया विवाहित जोडीहरूले सामना गर्नुपर्ने समस्याहरूलाई बुझाउँछ” भनेर बताइएको छ। यस्ता समस्याहरू आइपर्दा ती सुल्झाउन र एकअर्काबीचको सम्बन्ध घनिष्ठ बनाइरहन विवाहित जोडीहरूले किन कडा प्रयास गरिरहनुपर्छ?

१५ एउटा उदाहरण विचार गरौँ। एउटा प्रख्यात भवनबारे कल्पना गर्नुहोस्‌। यदि त्यो भवनमा कुनै क्षति पुग्यो भने ती भवनका मालिकले के गर्नेछन्‌? तिनले पक्कै त्यो भवन मर्मत गर्नेछन्‌। यसको लागि वर्षौँ लाग्न सक्छ तर त्यसलाई पहिलेको जस्तै बनाउन तिनी जति पैसा खर्च गर्न पनि तयार हुन्छन्‌। किन? किनभने त्यो भवन तिनको लागि बहुमूल्य छ। त्यसैगरि वैवाहिक सम्बन्ध पनि निकै अनमोल हुन्छ। एकदमै राम्रो जोडीबीच पनि कहिलेकाहीँ समस्याहरू आइपर्न सक्छ। तर क्षति पुगेको भवनलाई मर्मत गर्न सकिएझैँ विवाहित जोडीबीच समस्या आए तापनि तिनीहरूले एकअर्काबीचको सम्बन्ध फेरि बलियो बनाउन सक्छन्‌। हुनत यसको लागि समय लाग्न सक्छ र निकै मेहनत गर्नुपर्ने हुन सक्छ। तर यो सम्बन्ध बलियो बनाउन र सँगै रहन गरेको प्रयास देखेर यहोवा खुसी हुनुहुनेछ। (मला. २:१६) यसो गरेर तिनीहरूले एकअर्कालाई प्रेम र आदर गरेको देखाइरहेका हुन्छन्‌। यसको साथै तिनीहरूले विवाहको सुरुवातकर्ता यहोवालाई पनि प्रेम र आदर गरेको देखाइरहेका हुन्छन्‌।

१६. वैवाहिक जीवनमा गम्भीर समस्याहरूको सामना गरिरहेकाहरूलाई केले मदत गर्छ? (१ कोरिन्थी १३:४-८क) (चित्र अनि “एकअर्काबीचको मित्रतालाई बलियो बनाउनुहोस्‌” पेटी पनि हेर्नुहोस्‌।)

१६ वैवाहिक जीवनमा समस्याहरू आउँदा सम्बन्ध तोड्‌न हतार नगर्नुहोस्‌। (१ कोरि. ७:१०, ११) बरु आफैलाई सोध्नुहोस्‌: ‘के म हामीबीचको मित्रतालाई बलियो बनाउन अझै केही गर्न सक्छु?’ प्रेम देखाउने सन्दर्भमा बाइबलले बताएका कुराहरूबारे अध्ययन गर्नुहोस्‌। पहिलो कोरिन्थी १३:४-८क मा प्रेम देखाउन सकिने विभिन्‍न तरिकाहरूबारे बताइएको छ। (पढ्‌नुहोस्‌।) त्यहाँ उल्लेख गरिएका के-कस्ता कुराहरू आफूले अझै लागू गर्न सक्छु भनेर विचार गर्नुहोस्‌। आफ्नो जोडीबाट टाढिने बाटो खोज्नुको साटो फेरि एकअर्काको मनसम्म पुग्ने बाटो खोज्नुहोस्‌। एकअर्काबीचको सम्बन्ध बलियो बनाउन तपाईँको जोडीले के गर्नुपर्छ भन्‍ने कुरामा होइन, तपाईँले के गर्नुपर्छ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। डोऱ्‍याइको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌, हाम्रा प्रकाशन र भिडियोहरूबाट सिक्नुहोस्‌ अनि एल्डर र परिपक्व भाइबहिनीहरूको मदत लिनुहोस्‌। वैवाहिक जीवनको तेस्रो अनि सबैभन्दा बलियो सुता यहोवामा भर पर्नुभयो भने तपाईँको सम्बन्ध ‘सजिलै चुँडिने छैन।’—उप. ४:१२.

उक्‍त जोडी घरमा कुराकानी गर्दै छन्‌। श्रीमती रुँदै आफ्नो मनको बह पोख्दै छिन्‌। श्रीमान्‌ उनको काँधमा हात राखेर शान्त हुँदै कुरा सुनिरहेका छन्‌। तिनीहरूको अगाडि टेबुलमा बाइबल खुला छ र “सुखी परिवार​—⁠तर कसरी?” पुस्तिका पनि छ।

वैवाहिक जीवनमा समस्याहरू आउँदा एकअर्कासित घनिष्ठ भइरहनुहोस्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)


एकअर्काबीचको मित्रतालाई बलियो बनाउनुहोस्‌

विवाहित जोडीबीचको मित्रतालाई बलियो बनाउन र टुटेको सम्बन्धलाई फेरि मजबुत बनाउन यहोवाको सङ्‌गठनले विभिन्‍न सामग्रीहरू उपलब्ध गराएको छ। के तपाईँले तल दिइएका सामग्रीहरूबाट कुनै सुझाव लागू गर्नुभएको छ?

  • सुखी परिवार—तर कसरी? पुस्तिका

  • वैवाहिक जीवन सुखी बनाउनुहोस्‌ भिडियो श्रृङ्‌खला

  • “परिवारका लागि” श्रृङ्‌खलाबद्ध लेख

  • “पारिवारिक तथा वैवाहिक जीवन” jw.org खण्ड

१७. विवाह गर्ने विचार गरिरहेकाहरू र विवाहितहरू कसरी आनन्दित हुन सक्छन्‌?

१७ यहोवा आफ्ना सबै सेवकहरू आनन्दित भएको चाहनुहुन्छ। त्यसमा विवाह गर्ने विचार गरिरहेकाहरू र विवाह गरिसकेकाहरू पनि पर्छन्‌। यदि तपाईँ अविवाहित हुनुहुन्छ र विवाह गर्न चाहनुहुन्छ भने जीवनसाथी छान्दा विचार पुऱ्‍याउनुहोस्‌। यदि तपाईँ विवाहित हुनुहुन्छ भने आफ्नो जोडीसितको मित्रता बलियो बनाइरहनुहोस्‌। वैवाहिक जीवनमा समस्याहरू आउँदा यहोवामा भर पर्दै सँगै मिलेर त्यसको सामना गर्नुहोस्‌। यसो गर्दा तपाईँले आफ्नो प्यारो जोडीसित “आनन्दपूर्वक” जीवन बिताउन सक्नुहुनेछ।—उप. ९:९.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • अविवाहितहरूले कसरी आफ्नो लागि असल जीवनसाथी रोज्न सक्छन्‌?

  • विवाहित जोडीहरूलाई एकअर्काबीचको मित्रता बलियो बनाउन केले मदत गर्छ?

  • वैवाहिक सम्बन्धमा समस्याहरू आए तापनि सँगै रहन विवाहित जोडीलाई केले मदत गर्छ?

गीत १३२ हामी एउटै शरीर भयौँ!

a यहाँ दिइएका प्रश्‍नहरू पुरुष र स्त्री दुवैलाई लागू हुन्छ।

b थप सुझावको लागि मे २०२४ अङ्‌कको प्रहरीधरहरा-मा भएको “तपाईँ कसरी सही निर्णयसम्म पुग्न सक्नुहुन्छ?” भन्‍ने लेखको “एकअर्कालाई राम्ररी चिन्‍नुहोस्‌” उपशीर्षक हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने