जून ८-१४, २०२६
गीत ८ यहोवा हाम्रो शरण
‘सत्यका परमेश्वरले’ सधैँ आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ
“हे यहोवा, सत्यका परमेश्वर, तपाईँले मलाई छुटाउनुभएको छ।”—भज. ३१:५.
सिक्न सकिने कुरा
यहोवाले आफ्ना सबै प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ र चाँडै उहाँको राज्यले सैतानले फैलाएका झूटहरूको नामोनिसान मेटाइदिनेछ भन्ने कुरामा हामी किन विश्वस्त हुन सक्छौँ?
१. भजन ३१:२-५ अनुसार हामी किन यहोवामा भर पर्न सक्छौँ?
सैतानले शासन गरिरहेको यस संसारमा थुप्रै मानिसहरू झूट बोल्छन्, छलकपट गर्छन् र एकअर्कालाई धोका दिन्छन्। त्यसैले कसलाई भरोसा गर्ने भनेर थाह पाउन गाह्रो हुन सक्छ। व्यापारीहरू आफ्ना प्रतिस्पर्धीहरूभन्दा धेरै नाफा कमाउन बेइमानी गर्छन्। मानिसहरू आफ्नो सामान बिकाउन झूटो विज्ञापन गर्छन्। अनि कतिपयलाई आफ्ना मिल्ने साथीहरूमा समेत भरोसा गर्न गाह्रो भएको छ। किनभने तिनीहरू कहिलेकाहीँ आफ्नो वचन पूरा गर्दैनन्। तर हामी यहोवामा पूरा भरोसा गर्न सक्छौँ भन्ने कुरा सान्त्वनादायी छ। किनकि उहाँ “सत्यका परमेश्वर” हुन्छ। (भजन ३१:२-५ पढ्नुहोस्।) सत्य उहाँको व्यक्तित्वको भाग नै हो। उहाँले भन्नुभएका र गर्नुभएका सबै कुरामा हामी भर पर्न सक्छौँ।
२. यस लेखमा हामी के छलफल गर्नेछौँ?
२ यस लेखमा हामी यहोवामा पूरा भरोसा गर्न सक्नुका केही कारणहरू विचार गर्नेछौँ। त्यसपछि सत्यका परमेश्वरले सैतानको दुष्ट संसारलाई कसरी नाश गर्नुहुनेछ अनि उहाँ आफ्नो उद्देश्य पूरा गर्न अहिले के गर्दै हुनुहुन्छ भनेर विचार गर्नेछौँ। साथै यस लेखले हामीलाई साहसी भई यहोवाबारे अरूलाई साक्षी दिन पनि मदत गर्नेछ।
हामी किन सत्यका परमेश्वरमा भरोसा गर्न सक्छौँ?
३. हामी किन यहोवामा पूरा भरोसा गर्न सक्छौँ?
३ हामी यहोवामा भरोसा गर्न सक्छौँ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। (उत्प. १:१; प्रका. ४:११) उहाँ जीवनको मूल हुनुहुन्छ। (भज. ३६:९) उहाँले पृथ्वीमा जीवन धान्न चाहिने सबै कुरा बनाउनुभएको छ। पूरै ब्रह्माण्ड उहाँको नियन्त्रणमा छ अनि सधैँ उहाँकै नियन्त्रणमा रहनेछ। त्यसैले हामी आफ्नो जीवन ढुक्क भई बुद्धिमान् अनि शक्तिशाली सृष्टिकर्तालाई सुम्पन सक्छौँ। अनि उहाँले हामीलाई उज्ज्वल भविष्य दिनुहुनेछ भन्ने कुरामा विश्वस्त हुन सक्छौँ।
४. यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा हामी किन भरोसा गर्न सक्छौँ?
४ हामी यहोवामा भरोसा गर्न सक्छौँ किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले मानिस बनाउनुभयो किनभने उहाँ तिनीहरूले पनि आफूले जस्तै जीवनको आनन्द उठाऊन् भन्ने चाहनुहुन्थ्यो। उहाँले आफ्नो उद्देश्यबारे यसो भन्नुभयो: “आऊ, मानिसलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ।” (उत्प. १:२६) उहाँले हामीलाई स्वतन्त्र इच्छा दिनुभयो अनि हाम्रो लागि सुन्दर घर पनि बनाउनुभयो। (भज. ११५:१६) उहाँले हाम्रो प्रथम आमाबुबालाई एउटा रमाइलो काम दिनुभयो: त्यस घरलाई प्रमोदवन बनाउने। (उत्प. १:२८; २:१५) उहाँले तिनीहरू आनन्दित हुन सकून् भनेर प्रशस्त खानेकुरा अनि विभिन्न किसिमका बोटबिरुवा, जनावरहरू र अरू थुप्रै कुरा दिनुभयो। उहाँले गर्नुभएका यी कामहरूबाट “उहाँको अटल प्रेम सदा रहिरहन्छ” भनेर देखिन्छ।—भज. १०३:१७.
५. (क) आदम र हव्वाले विद्रोह गरे पनि यहोवाले आफ्नो उद्देश्य पूरा गर्न के गर्नुभयो? (ख) यहोवाले पूरा गरिसक्नुभएका केही प्रतिज्ञाहरू के-के हुन्? (“यहोवाले पूरा गर्नुभएका केही प्रतिज्ञाहरू” भन्ने पेटी हेर्नुहोस्।)
५ हामी यहोवामा भरोसा गर्न सक्छौँ किनभने उहाँ आफ्नो वचन सधैँ पूरा गर्नुहुन्छ। यहोवाले “व्यर्थैमा [पृथ्वी] बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।” (यसै. ४५:१८, १९) आदम र हव्वाले यहोवाको विद्रोह गरेपछि तिनीहरूलाई सजायस्वरूप मृत्युदण्ड दिइयो। यसो हेर्दा परमेश्वरको उद्देश्य विफल भयो जस्तो देखिन्थ्यो। तर यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने परमेश्वर हुनुहुन्छ। (यसै. ४६:१०, ११) आदम र हव्वाले विद्रोह गरे तापनि पृथ्वीलाई धर्मी मानिसहरूले भर्ने उहाँको उद्देश्यमा कुनै असर परेन। त्यसैले उहाँले तिनीहरूलाई छोराछोरी जन्माउन दिनुभयो। अनि उहाँले आदमका सन्तानहरूलाई बचाउन र अनन्त जीवनको आशा दिन आफ्नो एक मात्र छोरा फिरौतीस्वरूप दिनुभयो।—युह. ३:१६.
सत्यका परमेश्वर आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ
६. आदम र हव्वाले विद्रोह गरेपछि यहोवाले कस्तो भविष्यवाणी गर्नुभयो?
६ आदम र हव्वालाई यहोवाको विद्रोह गर्न उक्साउने “सैतान” हो, जसलाई बाइबलमा “पुरानो सर्प” पनि भनिएको छ।a (प्रका. १२:९; उत्प. ३:४, ५; युह. ८:४४) त्यसैले यहोवाले सैतानलाई मृत्युदण्डको सजाय सुनाउनुभयो। (उत्प. ३:१५) सैतान नाश हुनुअघि थुप्रै मानिसहरू त्यसको पछि लाग्ने थिए अनि त्यसले जस्तै खराब काम गर्ने थिए। तर केही मानिसहरू भने यहोवाप्रति वफादार रहने थिए।
७. को-को सैतानको पछि लागेका छन् अनि तिनीहरूलाई के हुनेछ?
७ यहोवाको विद्रोह गर्ने स्वर्गदूतहरू र मानिसहरू सैतानको पछि लागेका छन्। यहोवाको उद्देश्यविपरीत चलेर तिनीहरूले आफैलाई सैतानको सन्तान बनाएका छन्। तर परमेश्वरले तोक्नुभएको समयमा सैतान अनि त्यसको पछि लाग्नेहरूलाई नाश गरिनेछ।—दानि. २:४४; रोमी १६:२०.
८. सन् १९१४ मा येसुले के गर्नुभयो? (चित्रहरू पनि हेर्नुहोस्।)
८ परमेश्वरले सैतान र त्यसका समर्थकहरूलाई नाश गर्नुहुनेछ भन्ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ? सन् १९१४ मा येसुले सैतान र त्यसका प्रेतहरूसित युद्ध लड्नुभयो अनि तिनीहरूलाई पृथ्वीमा हुर्ऱ्याउनुभयो। (प्रका. १२:७-९) हुनत यो युद्ध स्वर्गमा भएको थियो तर यसले पृथ्वीमा भएकाहरूलाई पनि असर गऱ्यो। बाइबल भन्छ: “पृथ्वी र समुद्रलाई भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।” (प्रका. १२:१२) सन् १९१४ देखियता सैतान धेरैभन्दा धेरै मानिसलाई बहकाउन लागिपरेको छ। त्यसैले संसारको अवस्था झन्झनै बिग्रँदै गइरहेको छ। हो, ‘पृथ्वी धिक्कार’ भन्न लायकको अवस्थामा पुगेको छ। तर चाँडै येसुले “आफ्नो विजययात्रा पूरा” गर्नुहुनेछ अनि सैतान र त्यसका समर्थकहरूलाई नाश गर्नुहुनेछ। (प्रका. ६:२) येसुले यहोवाको नाममा लागेको कलङ्क सदाको लागि मेटाउनुहुनेछ। (भज. ४५:४-६) त्यसपछि सबैले यहोवा नै सत्यका परमेश्वर हुनुहुन्छ भनेर थाह पाउनेछन्।—इज. ३८:२३.
World War I: U.S. National Archives photo; bomb: USAF photo; pandemic: blvdone/stock.adobe.com; riot: inhauscreative/E+ via Getty Images
सन् १९१४ देखि संसारको अवस्था झन्झनै बिग्रँदै गइरहेको छ (अनुच्छेद ८ हेर्नुहोस्)
सत्यका परमेश्वर सत्यका प्रेमीहरूलाई जम्मा गर्नुहुन्छ
९. यहोवा कसलाई जम्मा गर्दै हुनुहुन्छ?
९ त्यो समय नआउन्जेल यहोवा ‘स्वर्गका कुराहरू अनि पृथ्वीका कुराहरूलाई ख्रिष्टमा जम्मा’ गर्दै हुनुहुन्छ। (एफि. १:१०) “स्वर्गका कुराहरू”-ले अभिषिक्त जनहरूलाई बुझाउँछ। यहोवाले तिनीहरूलाई ख्रिष्टसँगै स्वर्गमा शासन गर्न छान्नुभएको छ। “पृथ्वीका कुराहरू”-ले पृथ्वीमा सधैँभरि जीवन बिताउने मानिसहरूलाई बुझाउँछ। परमेश्वरका यी सबै उपासकहरू सैतानको झूटको पर्दाफास गर्न र निष्कपट मानिसहरूलाई सत्य सिकाउन सक्रिय भई लागिरहेका छन्।
१०. यहोवा मानिसहरूलाई सत्य सिक्न कसरी मदत गर्दै हुनुहुन्छ? (प्रकाश १४:६, ७)
१० यहोवा सत्यका प्रेमीहरूलाई प्रचारकार्यमार्फत जम्मा गर्दै हुनुहुन्छ। यस्तो बृहत् प्रचारकार्य इतिहासमा पहिला कहिल्यै भएको थिएन। (प्रकाश १४:६, ७ पढ्नुहोस्।) हुनत सुसमाचार सुनाउन यहोवा मानिसहरूलाई प्रयोग गर्दै हुनुहुन्छ। तर मण्डलीमा निष्कपट मानिसहरूलाई जम्मा गर्न स्वर्गदूतहरू पनि मदत गर्दै छन्। यस साक्षीकार्यले महान् बेबिलोन अर्थात् झूटो धर्मको विश्व साम्राज्यले फैलाएका झूटा शिक्षाहरूको पर्दाफास गर्छ। दियाबलले महान् बेबिलोनलाई चलाएर सयौँ वर्षदेखि यहोवाबारे झूटो कुरा फैलाउँदै आएको छ। (प्रका. १८:२, ४) चाँडै सबै झूटा धर्महरू पूर्णतया नाश हुनेछन् अनि सत्यका परमेश्वरलाई प्रेम गर्नेहरू सबैले उहाँको महिमा गर्नेछन्।—प्रका. १७:१६.
११. हामी यहोवाका साँचो उपासकहरूलाई कसरी चिन्न सक्छौँ?
११ यहोवाको परिवारमा हरेक राष्ट्रका अनि विभिन्न सामाजिक, आर्थिक अनि सांस्कृतिक पृष्ठभूमिका मानिसहरू छन्। (प्रका. ७:९, १०) “सुसमाचार” सुन्दा यो नै सत्य हो भनेर तिनीहरूले महसुस गरे र खुसीसाथ यहोवाको परिवारको भाग बने। (मर्कु. १३:१०) सही तरिकामा यहोवाको उपासना गर्नेहरू र नगर्नेहरूबीचको भिन्नता झन्झनै स्पष्ट हुँदै गइरहेको छ। भविष्यवक्ता मलाकिले यसो भने: “तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच अनि परमेश्वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्नता देख्नेछौ।” (मला. ३:१८) आफ्नो आचरण र प्रचारकार्यबाट यहोवाका सेवकहरूले सत्यका परमेश्वरको उपासना गरेको देखाइरहेका छन्।
१२. प्रचारकार्यले कसरी यहोवाको उद्देश्य पूरा गर्न मदत गर्छ?
१२ ‘राज्यको सुसमाचार’ प्रचार गरेर हामीले येसुको आज्ञा पालन गरिरहेका हुन्छौँ र भविष्यवाणी पनि पूरा गरिरहेका हुन्छौँ। (मत्ति २४:१४; २८:१८-२०) यस कार्यले गर्दा संसारभरिका थुप्रै मानिसहरू येसुको चेला बनिरहेका छन्। साथै तिनीहरूले सधैँभरि सत्यका परमेश्वरको उपासना गर्ने आशा पाएका छन्। यहोवाको उद्देश्य पूरा गर्ने काममा भाग लिन पाउनु कत्ति ठूलो सुअवसर!
यहोवा आफ्ना प्रतिज्ञाहरू सधैँ पूरा गर्नुहुन्छ
१३. सैतानले विशेषगरि कसको खेदो गर्छ र किन?
१३ सैतानको संसार चाँडै नाश हुनेछ। “आफ्नो समय थोरै मात्र बाँकी छ” भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ। (प्रका. १२:१२, १३) अभिषिक्त जनहरू परमेश्वरको राज्यका प्रतिनिधिहरू हुन्, जसले “परमेश्वरको आज्ञा पालन गर्छन् अनि येसुको विषयमा साक्षी दिने काम पाएका छन्।” (प्रका. १२:१७; १४:१२) सैतान विशेषगरि तिनीहरूको खेदो गर्छ। साथै तिनीहरूको काममा सघाउने सबैको पनि खेदो गर्छ।
१४. सैतानले यहोवाका जनहरूमाथि आक्रमण गर्दा के हुनेछ? ( चित्र पनि हेर्नुहोस्।)
१४ महान् बेबिलोनको विनाशपछि सैतानका समर्थकहरूले यहोवाका जनहरूमाथि भीषण आक्रमण गर्नेछन्। त्यस आक्रमणले गर्दा आरमागेडोनको युद्ध सुरु हुनेछ। (प्रका. १६:१३, १४, १६) त्यतिबेला येसुले उहाँको स्वर्गीय सेनासित मिलेर यहोवाका उपासकहरूलाई बचाउनुहुनेछ र सैतानको संसारमा बाँकी रहेका सबै खराब कुराहरूलाई पूर्णतया नाश गर्नुहुनेछ। (प्रका. १९:१९-२१) साथै झूट बोल्नेहरू, दुष्ट मानिसहरू र षड्यन्त्रकारीहरूलाई पनि नाश गर्नुहुनेछ। (प्रका. २१:८) त्यसपछि सबैले यहोवा सत्य र धार्मिकताका परमेश्वर हुनुहुन्छ भनेर थाह पाउनेछन्।
येसु आफ्नो स्वर्गीय सेनासित मिलेर परमेश्वरका शत्रुहरूलाई नाश गर्न आरमागेडोनको युद्ध लड्दै हुनुहुन्छ (अनुच्छेद १४ हेर्नुहोस्)
१५. यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ? (यसैया ६५:१६, १७) (चित्र पनि हेर्नुहोस्।)
१५ संसार यत्तिको विभाजित पहिला कहिल्यै भएको थिएन। तर यहोवाको मदतले गर्दा उहाँका सेवकहरूमाझ भने एकता छाएको छ। उहाँले सत्यका प्रेमीहरूलाई आफ्नो परिवारमा जम्मा गर्दै हुनुहुन्छ। आफ्ना जनहरूलाई आशिष् दिनदेखि यहोवालाई कसैले रोक्न सक्दैन न त तिनीहरूले गरिरहेको कामलाई नै कसैले रोक्न सक्छ। (यसैया ६५:१६, १७ पढ्नुहोस्।) यहोवाले आफ्ना प्रतिज्ञाहरू सधैँ पूरा गर्नुहुनेछ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। किन? किनभने प्रेषित पावलले रोमी ८:३८, ३९ मा यस्तो लेखेका छन्: “न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न सरकारहरूले न अहिले यहाँ भएका कुराहरूले न त पछि आउने कुराहरूले न शक्तिले न उचाइले न गहिराइले न त अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत व्यक्त भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।”
अहिले हामीले भोगिरहेका समस्याहरू नयाँ संसारमा हाम्रो सम्झनामा समेत आउनेछैनन् (अनुच्छेद १५ हेर्नुहोस्)
१६. तपाईँ किन यहोवामा पूरा भरोसा गर्नुहुन्छ?
१६ हामी यहोवामा भरोसा गर्छौँ किनभने उहाँ सत्यका परमेश्वर हुनुहुन्छ, हाम्रो सृष्टिकर्ता हुनुहुन्छ अनि हामीलाई धेरै माया गर्नुहुन्छ। ठूलो भीड दिनप्रतिदिन बढ्दै छ किनभने विभिन्न भाषा बोल्ने जातिजातिका मानिसहरू यहोवाको सङ्गठनमा ओइरिँदै छन्। (यसै. ६०:२२; जक. ८:२३) उहाँ आफ्नो उद्देश्य सधैँ पूरा गर्नुहुन्छ र उहाँले चाँडै सैतानलाई नाश गर्नुहुनेछ। त्यसपछि संसार झूट र छलकपटबाट मुक्त हुनेछ। त्यसैले हामी पनि दाउदजस्तै यसो भनेर प्रार्थना गर्छौँ: “यहोवाको प्रशंसा होस्, उहाँले जस्तो अचम्मका कामहरू गर्ने अरू कोही छैन। उहाँको महिमित नामको सदासर्वदा प्रशंसा होस् अनि उहाँको महिमाले सारा पृथ्वी भरियोस्।”—भज. ७२:१८, १९.
गीत २ यहोवा तिम्रो नाम
a बाइबलमा त्यस पुरानो स्वर्गदूतको नाम बताइएको छैन। बरु त्यसलाई “दियाबल” [निन्दक] र “सैतान” [विरोधी] भनेर सम्बोधन गरिएको छ।