जीवनी
यहोवाले मलाई युवावस्थादेखि नै सिकाइरहनुभएको छ
एक जना दाइले मलाई एउटा कागज दिनुभयो। त्यसमा यस्तो लेखिएको थियो, “डेभिड स्प्लेन, अप्रिल ८, १९५३: ‘संसारको विनाशको घोषणा।’” त्यो कागज पाएपछि वाल्लै परेँ अनि उहाँलाई सोधेँ, “यो के हो?” उहाँले भन्नुभयो, “ईश्वरतान्त्रिक सेवा स्कुलमा तिम्रो असाइनमेन्ट।”a मैले आपत्ति जनाउँदै भनेँ, “मैले त नाम लेखाएकै छैनँ।”
मैले त धेरै पछिको कुरा बताएछु। अब म सुरुदेखि बताउँछु। मेरो जन्म दोस्रो विश्व युद्धताका क्यानाडाको क्यालगरीमा भयो। आजभन्दा लगभग ७५ वर्षअघिको कुरा हो। एक जवान अग्रगामी डोनाल्ड फ्रेसरले हाम्रो घरको ढोका ढकढक्याउनुभयो र आमा बाइबल अध्ययन गर्न राजी हुनुभयो। उहाँलाई बाइबलको कुरा एकदमै मन पऱ्यो। तर उहाँ असाध्यै बिरामी हुनुहुन्थ्यो। त्यसैले सभाहरूमा नियमित रूपमा जान सक्नुहुन्नथ्यो। तर उहाँले प्रगति गर्दै जानुभयो र १९५० मा बप्तिस्मा गर्नुभयो। दुःखको कुरा, त्यसको दुई वर्ष पनि नहुँदै उहाँ बित्नुभयो। त्यतिबेला बुबा साक्षी हुनुहुन्नथ्यो तर साक्षीहरूको तरिकाअनुसार आमाको अन्त्येष्टि गर्न राजी हुनुभयो।
आमाको अन्त्येष्टिको केही दिनपछि मण्डलीको एक जना दिदी एलिसले मलाई सभाको निम्तो दिनुभयो। उहाँ अभिषिक्त ख्रिष्टियन हुनुहुन्थ्यो। म आमासँगै सभामा जाने भएकोले उहाँले मलाई चिन्नुभएको थियो। मैले सभामा जान बुबासित अनुमति मागेँ र उहाँले “हुन्छ” भन्नुभयो। उहाँ आमाको अन्त्येष्टि भाषण दिने भाइलाई धन्यवाद दिन चाहनुहुन्थ्यो। त्यसैले “म पनि एकचोटि सँगै जान्छु” भन्नुभयो। त्यस दिन ईश्वरतान्त्रिक सेवा स्कुल र सेवा सभाको कार्यक्रम थियो। बुबा सभामा आउनुभएकोले एकदमै राम्रो भयो। भाइहरूले भाषण दिएको सुनेर उहाँ दङ्ग पर्नुभयो। किनभने उहाँले पनि वक्तृत्वकलासम्बन्धी तालिम लिनुभएको थियो। त्यसपछि उहाँले त्यो सभा नछुटाउने निर्णय गर्नुभयो। बिस्तारै-बिस्तारै उहाँ अरू सभाहरूमा पनि उपस्थित हुन थाल्नुभयो।
त्यतिबेला ईश्वरतान्त्रिक सेवा स्कुलको सञ्चालक भाइले सभाको सुरुमा त्यस स्कुलमा भाग लिएका सबैको हाजिरी गर्ने चलन थियो। उहाँले सबैको नाम बोलाउनुहुन्थ्यो अनि आफ्नो नाम आएपछि “प्रेजेन्ट” (हाजिर छु) भन्नुपर्थ्यो। एक दिन मैले “अर्को सभामा मेरो नाम पनि बोलाउनुहोस्” भनेँ। उहाँले “हुन्छ” भन्नुभयो। तर नाम लेखाएपछि के गर्नुपर्छ भनेर चाहिँ भन्नुभएन।
त्यसरी नाम बोलाइएपछि भाषण दिनुपर्छ भनेर मलाई थाह थिएन। म त सभामा आफ्नो नाम बोलाइएको मात्र चाहन्थेँ। त्यसपछिको हप्ता मेरो पनि नाम बोलाइयो। अनि मैले छाती फुलाउँदै “प्रेजेन्ट” भनेँ। सभापछि सबै भाइबहिनी आएर स्कुलमा नाम लेखाएकोमा खुसी व्यक्त गर्नुभयो। त्यसको केही हप्तापछि नै मैले असाइनमेन्टको स्लिप पाएँ। मैले सुरुमा बताएको कागजको टुक्रा वास्तवमा त्यही थियो।
मलाई त एकदमै डर लाग्यो। किनभने त्यतिबेला अहिलेजस्तो बाइबल पढ्ने मात्र होइन तर छ देखि आठ मिनेट लामो भाषण दिनुपर्थ्यो। बुबाले मलाई भाषण तयारी गर्न मदत गर्नुभयो र २० चोटिजति अभ्यास गर्न लगाउनुभयो। भाषण दिएपछि स्कुल निरीक्षकले मलाई साँच्चै राम्रो सल्लाह दिनुभयो। वर्षौँको दौडान बुबा, सिपालु भाइबहिनीहरू र उहाँको सङ्गठन चलाएर यहोवाले मलाई सिकाइरहनुभएको छ।
यहोवाले मलाई सिकाइरहनुभयो
मैले अगाडि उल्लेख गरेको एलिस दिदीले मलाई प्रचार गर्ने तरिका सिकाउनुभयो। त्यतिबेला प्रचारकार्यमा हामी सुरुमा घरधनीलाई तीन वटा शास्त्रपद देखाउँथ्यौँ। त्यसपछि मात्र किताब प्रस्तुत गर्थ्यौँ। मेरो कुराकानी गर्ने पालो आउँदा एलिस दिदीले सुरुमा आफ्नो परिचय दिनुहुन्थ्यो र कुराकानी अघि बढाउनुहुन्थ्यो। त्यसपछि मलाई पहिलो शास्त्रपद पढ्न लगाउनुहुन्थ्यो। त्यहाँबाट मैले कुरा अगाडि बढाउनुपर्थ्यो। मैले दोस्रो र तेस्रो शास्त्रपद पढेर सुनाउँथेँ अनि बल्ल किताब देखाउँथेँ। समयको दौडान मैले आफ्नो परिचय दिएर कुराकानी सुरु गर्न पनि सिकेँ। सन् १९५४ को अन्ततिर बुबाले बप्तिस्मा गर्नुभएपछि उहाँले नै मलाई प्रचारकार्यमा तालिम दिन थाल्नुभयो। बुबा एक्लैले मलाई सत्यमा हुर्काउन सक्दो प्रयास गर्नुभयो। आध्यात्मिक गतिविधिहरूको सन्दर्भमा बुबा एकदमै अनुशासित हुनुहुन्थ्यो। त्यसैले सभा हुने दिनको साँझ अनि शनिबार र आइतबार बिहान मैले के गर्नुपर्छ भनेर सोच्नै पर्दैनथ्यो।
मेरो स्कुलको पढाइ ठीकठीकै थियो। तर स्कुलमा १२ वर्षसम्म सिकेको कुरा अहिले पनि काम लागिरहेको छ। जस्तै, मैले हिसाब गर्न अनि अङ्ग्रेजी व्याकरण सिकेँ। स्कुलमै छँदा मैले अङ्ग्रेजी भाषा र लेखनशैलीबारे सिकेँ। त्यसले गर्दा अहिले मलाई लेखन विभागको असाइनमेन्ट पूरा गर्न सजिलो भएको छ।
थुप्रैले मलाई सङ्गीतमा मेरो चासोबारे सोध्नुहुन्छ। मेरो बुबा र आमा दुवै जनालाई सङ्गीत मन पर्थ्यो। सात वर्षको छँदा मैले पियानो सिक्न थालेँ। तर मेरो शिक्षकलाई म त्यत्ति सिपालु छैन जस्तो लाग्थ्यो। त्यसैले मलाई पियानो नसिकाए पनि हुन्छ भनेर उहाँले बुबालाई भन्नुभयो। त्यसैले मलाई पनि पियानो सिक्न त्यत्ति जाँगर लागेन।
तर बुबा मलाई सङ्गीत सिकाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले मेरो लागि अर्को शिक्षिका खोज्नुभयो। यसपटक भने मैले पियानो बजाउनुका साथै गीत गाउन पनि सिकेँ र दुवैमा सिपालु भएँ। मेरो आवाज सुरिलो थियो र मैले केही प्रतियोगिताहरू पनि जितेँ। म सङ्गीतमा डिग्री हासिल गर्न चाहन्थेँ। त्यसपछि सङ्गीत पढाउँदै पूर्ण-समय सेवा गर्न सकिन्छ जस्तो लाग्थ्यो। तर पढ्दै जाँदा यस्तो डिग्री हासिल गर्न धेरै समय दिनुपर्ने रहेछ भनेर थाह पाएँ। जस्तै, सङ्गीतको हार्मोनी, इतिहास, कम्पोजिसनजस्ता विषयहरू पढ्न र जाँचको तयारी गर्न। त्यसैले मैले सङ्गीतको पढाइ छोडेर नियमित अग्रगामी सुरु गर्ने निर्णय गरेँ। त्यो १९६३ को कुरा थियो।
अग्रगामी सेवा गर्दा पाएका आशिष्हरू
अग्रगामी सेवा गरेको एक वर्षजतिमा मलाई विशेष पूर्ण-समय सेवकको रूपमा ओन्टारियोको कापुसकासिङ्मा खटाइयो। त्यतिबेलाको मेरो अग्रगामी पार्टनर ड्यानियल स्किनर हुनुहुन्थ्यो। उहाँ मभन्दा निकै जेठो हुनुहुन्थ्यो। उहाँले मलाई मण्डलीको कामकुरा कसरी व्यवस्थित ढङ्गमा गर्ने भनेर थुप्रै कुरा सिकाउनुभयो। मण्डलीको सेवा समितिमा नियुक्त गरिँदा म २० वर्षको मात्र थिएँ। त्यसैले मैले सिक्नुपर्ने कुरा धेरै थियो। अहिले सङ्गठनले फेरि जवान भाइहरूलाई तालिम दिएर अगाडि बढाएको देख्दा मलाई असाध्यै खुसी लाग्छ। यस्ता तालिमहरूले गर्दा ती जवान भाइहरूले सानै उमेरमा यहोवाको सेवामा विभिन्न कामकुराहरू गर्न सक्छन्।
कापुसकासिङ्को जाडो सहन असाध्यै गाह्रो हुन्थ्यो। त्यहाँको तापक्रम माइनस ४४ डिग्री सेल्सियससम्म झर्थ्यो। ड्यानियल र म प्रायः हिँडेरै सबै ठाउँमा जान्थ्यौँ। यो असाइनमेन्टमा पाएको एउटा आशिष् भनेको बहिनी लिन्डा कोलसितको भेट थियो, जो पछि लिन्डा स्प्लेन बनिन्।
लिन्डा प्रचारकार्यमा असाध्यै जोसिलो थिइन्। तिनका थुप्रै राम्रा पुनःभेटहरू थिए। तिनी दयालु, ठूलो मनकी र मिलनसार थिइन्। तिनकी आमा गोल्डी वफादार साक्षी हुनुहुन्थ्यो। बुबा एलेनले भने सुरु-सुरुमा निकै विरोध गर्नुहुन्थ्यो। तैपनि लिन्डाकी आमाले तिनी र तिनका भाइहरू जोन र गोर्डनलाई सधैँ सभा र प्रचारमा ल्याउनुहुन्थ्यो। लिन्डा, तिनकी आमा अनि भाइहरू जोन र गोर्डनले कुनै न कुनै समय अग्रगामी सेवा गरेका थिए। वर्षौँपछि लिन्डाको बुबाले पनि सत्य स्विकार्नुभयो र मण्डलीको काममा जोसिलो भएर लाग्नुभयो।
मैले १९६५ मा राज्य सेवा स्कुलको निम्तो पाएँ। त्यो स्कुल क्यानाडा बेथेलमा भएको थियो र एक महिना लामो थियो। स्कुलमै छँदा मलाई गिलियडको आवेदन भर्न पनि भनियो। मैले मिसनरी सेवाबारे कहिल्यै सोचेको थिइनँ अनि गर्न सक्छु जस्तो लागेको पनि थिएन। तैपनि मैले आवेदन भरेँ। मलाई गिलियडको ४२ औँ कक्षामा बोलाइयो। बेलाबेलामा हाम्रा प्रशिक्षकहरूले हामीले क्लासमा कस्तो गर्दै छौँ भनेर रिपोर्ट लेखेर दिनुहुन्थ्यो। मैले पाएको पहिलो रिपोर्टमा “स्कुलमा छँदै सङ्गठनबारे जति धेरै सिक्न सक्छौ सिक” भनेर प्रोत्साहन दिइएको थियो। त्यो सल्लाह २१ वर्षीय ठिटोको लागि एकदमै उपयुक्त थियो।
गिलियडमा सञ्चार माध्यमहरूसित कसरी मिलेर काम गर्ने भनेर पनि सिकाइन्थ्यो। जस्तै, रेडियो स्टेसन, टेलिभिजन स्टेसन र अखबारहरू। यो विषय मलाई असाध्यै रमाइलो लाग्थ्यो। पछि गएर यो मेरो लागि कत्ति उपयोगी हुनेछ भनेर त्यतिबेला मलाई थाहै थिएन। यसबारे म तपाईँहरूलाई पछि बताउँछु।
मलाई सेनेगल खटाइयो
स्नातक भएको केही दिनपछि मेरो मिसनरी पार्टनर माइकल होल र म अफ्रिकाको सेनेगलतर्फ लाग्यौँ। त्यतिबेला देशभरि १०० जनाजति प्रकाशकहरू थिए।
सेनेगलमा खटाइएको केही महिनापछि नै मलाई हप्ताको एक दिन शाखा कार्यालयमा सेवा गर्न भनियो। त्यतिबेला त्यहाँको शाखा कार्यालय भनेको मिसनरी होमको एउटा कोठा थियो। शाखा निरीक्षकको रूपमा इम्मानुएल पातेराकिसले सेवा गर्दै हुनुहुन्थ्यो। शाखा कार्यालय जति नै सानो भए पनि त्यसले यहोवाको सङ्गठनलाई प्रतिनिधित्व गर्छ भन्ने कुरा उहाँसित काम गर्दा मैले राम्ररी बुझेँ। एकदिन उहाँले मलाई मिसनरीहरूको लागि प्रोत्साहनदायी पत्र लेख्नेबारे बताउनुभयो। त्यतिबेला पत्रहरूको कपी बनाउन सजिलो थिएन र महँगो पनि पर्थ्यो। त्यसैले टाइपराइटरमा एक-एक वटा चिठी टाइप गर्नुपर्थ्यो। पत्रमा एउटा पनि त्रुटि हुनु हुँदैनथ्यो। त्यसैले टाइप गर्दा हामी एकदमै होसियार हुनुपर्थ्यो। त्यो काम सजिलो भने थिएन!
त्यही बेलुकी आफ्नो मिसनरी होममा फर्कने तरखर गरिरहेको बेला भाइ पातेराकिसले मलाई एउटा खाम दिँदै यसो भन्नुभयो, “डेभिड, सोसाइटीबाट तपाईँको लागि एउटा पत्र आएको छ।” पछि खोलेर हेर्दा मैले नै टाइप गरेको पत्र पो रहेछ! यस घटनाबाट मैले शाखा कार्यालय सानो होस् या ठूलो, त्यहाँबाट आउने निर्देशनलाई कहिल्यै हल्कासित लिनु हुँदैन भनेर बुझेँ।
सेनेगलमा अरू मिसनरीहरूसँगै, १९६७
मैले मण्डलीका थुप्रै भाइबहिनीलाई साथी बनाउन सकेँ। शनिबार साँझको समय म प्रायः उहाँहरूसँग बिताउने गर्थेँ। ती दिनहरू साँच्चै रमाइला थिए। हामी अहिले पनि उहाँहरूसित बेलाबेलामा कुराकानी गर्छौँ। त्यतिबेला सिकेको फ्रेन्च भाषा अहिले पनि विभिन्न शाखाहरूमा भ्रमण गर्दा काम लागिरहेको छ।
लिन्डा र मैले १९६८ मा इन्गेजमेन्ट गऱ्यौँ। हामी सेनेगलमैअग्रगामी सेवा गर्न चाहन्थ्यौँ। त्यसैले पार्ट-टाइम काम खोजेँ तर काम पाउन सजिलो थिएन। किनकि त्यहाँ विदेशीभन्दा स्थानीयलाई काममा राखिन्थ्यो। पछि म क्यानाडा फर्किएँ अनि हामीले विवाह गऱ्यौँ। त्यसपछि हामीलाई एडमन्स्टनमा विशेष अग्रगामीको रूपमा खटाइयो। त्यो ठाउँ क्युबेक प्रान्तनजिकैको न्यु ब्रुन्स्विक सहरमा पर्छ।
हाम्रो विवाहको दिन, १९६९
न्यु ब्रुन्स्विक र क्युबेकमा अग्रगामी गर्दै
त्यतिबेला एडमन्स्टनमा एक जना पनि स्थानीय प्रकाशक थिएन। तर केही बाइबल विद्यार्थीहरू भने थिए। त्यहाँ क्याथोलिक धर्मको दबदबा थियो र प्रायजसो सबै घरमा नै “यहोवाका साक्षीहरू निषेध” भन्ने साइन राखिएको हुन्थ्यो। त्यतिबेला हामी त्यस्ता साइनहरूलाई त्यति वास्ता गर्दैनथ्यौँ। साइन होस् वा नहोस्, हामी सबै घरमा जान्थ्यौँ। त्यहाँको एउटा क्याथोलिक चर्चले हरेक हप्ता नै स्थानीय अखबारमा यस्तो सूचना छाप्थ्यो: “यहोवाका साक्षीहरूलाई यहाँबाट लखेटौँ!” कसलाई लखेट्ने कुरा गरेको हो भनेर हामीले बुझिहाल्यौँ। किनभने त्यहाँ साक्षीको नाममा हामी चार जना मात्रै थियौँ; भिक्टर र भेल्डा नोरवर्ग अनि लिन्डा र म।
क्षेत्रीय निरीक्षकको पहिलो भ्रमण म कहिल्यै बिर्सन्नँ। हामीसित एक हप्ता बिताएपछि उहाँले हामीलाई यसो भन्नुभयो, “तपाईँहरू यहाँ होउन्जेल गर्न सक्ने एउटा कुरा भनेको यहोवाका साक्षीहरूप्रति मानिसहरूको पूर्वाग्रह कम गर्न प्रयास गर्नु हो।” हामीले त्यसलाई नै आफ्नो लक्ष्य बनायौँ र हामी सफल पनि भयौँ। बिस्तारै मानिसहरूले नम्र यहोवाका साक्षीहरू र क्याथोलिक चर्चका घमन्डी पादरीहरूबीचको भिन्नता याद गर्न थाले। अहिले त्यो ठाउँमा एउटा सानो मण्डली छ।
त्यहाँ एक वर्षजति सेवा गरेपछि हामीलाई क्युबेक सहरको एउटा ठूलो मण्डलीमा खटाइयो। भाइबहिनीहरूले हामीलाई निकै माया देखाउनुभयो। हुनत त्यहाँ हामीले छ महिना मात्र सेवा गऱ्यौँ तर त्यो छोटो समय पनि हाम्रो लागि निकै यादगार भयो। त्यसपछि हामीलाई परिभ्रमण कार्यमा खटाइयो।
त्यसपछिको १४ वर्ष हामीले क्युबेक प्रान्तका विभिन्न सर्किटहरूमा सेवा गऱ्यौँ। त्यहाँको प्रचारकार्य निकै फलदायी र तीव्र गतिमा प्रगति हुँदै थियो। एउटै मण्डलीमा पनि थुप्रै परिवार बप्तिस्मातर्फ अघि बढिरहेको देख्न पाइन्थ्यो। त्यहाँको सेवा साँच्चै रमाइलो थियो!
वफादार भाइबहिनीलाई हामी सधैँ सम्झिरहन्छौँ
क्यानाडाका फ्रेन्चभाषी भाइबहिनीहरू साह्रै मिलनसार हुनुहुन्छ। उहाँहरू सफा मनको, रमाइलो गर्न मन पराउने र जोसिलो हुनुहुन्छ। तर उहाँहरूलाई सत्य स्विकार्न सजिलो भने थिएन; परिवारले निकै विरोध गर्थ्यो। बाइबल अध्ययन गर्न थालेका साना केटाकेटीलाई समेत आमाबुबाले यस्तो धम्की दिन्थे, “यहोवाका साक्षीहरूसित अध्ययन गर्न छोड! होइन भने घर छोडेर जाऊ!” त्यस्तो विरोध आए तापनि प्रायजसो भने वफादार रहिरहे। तिनीहरूलाई देख्दा यहोवा पक्कै खुसी हुनुहुन्छ।
त्यतिबेला क्युबेकमा सेवा गरिरहेका नियमित र विशेष अग्रगामीहरूलाई पनि म कहिल्यै बिर्सन सक्दिनँ। उहाँहरूमध्ये प्रायजसो अर्कै ठाउँहरूबाट त्यहाँ सेवा गर्न आउनुभएको थियो। उहाँहरूले फ्रेन्च भाषा सिक्नुका साथै त्यहाँको चलन र स्थानीय मानिसहरूको सोचाइ पनि बुझ्नुपर्ने हुन्थ्यो। किनभने त्यहाँ क्याथोलिक धर्मले निकै प्रभुत्व जमाएको थियो।
विशेष अग्रगामीहरूलाई प्रायजसो प्रकाशक नभएका ठाउँहरूमा खटाइन्थ्यो। मानिसहरूको पूर्वाग्रहले गर्दा त्यस्ता ठाउँमा कोठा पाउन गाह्रो हुन्थ्यो; पार्ट-टाइम काम पाउन त झनै गाह्रो! भर्खरै विवाह गरेकाहरूसमेत खर्च कम गर्न चार जना, छ जना वा आठ जनासम्म एउटै घरमा बस्थे। छुट्टाछुट्टै बस्न त तिनीहरूलाई पैसा नै पुग्दैनथ्यो। ती अग्रगामीहरू साह्रै मेहनती थिए। आफ्ना बाइबल अध्ययनहरूलाई मदत गर्न तिनीहरू दिलोज्यान दिन्थे। अहिले क्युबेकमा थुप्रै प्रकाशकहरू छन्। त्यसैले अहिले त्यहाँ अरू ठाउँबाट आएर सेवा गर्ने अग्रगामीहरूको त्यति आवश्यकता छैन। ती अग्रगामीहरू अहिले अझ आवश्यकता धेरै भएको ठाउँमा सरेका छन्।
मण्डलीहरूको भ्रमण गर्दा शनिबार बिहानको समय प्रायः हामी किशोरकिशोरीहरूसित प्रचारमा जान छुट्ट्याउँथ्यौँ। त्यसो गर्दा तिनीहरूले कस्ता चुनौतीहरूको सामना गरिरहेका छन् भनेर तिनीहरूकै मुखबाट सुन्न पाउँथ्यौँ। तिनीहरूमध्ये कोही-कोही अहिले विदेशमा मिसनरीको रूपमा सेवा गर्दै छन्। अरू कतिपयले भने गहन जिम्मेवारीहरू सम्हालिरहेका छन्।
कुनै-कुनै मण्डलीहरूले हाम्रो यात्रा खर्च बेहोर्न सक्दैनथ्यो। त्यसैले कहिलेकाहीँ महिनाको अन्तसम्ममा त हामीसित एक पैसा पनि बाँकी रहँदैनथ्यो। त्यस्ता अवस्थाहरूमा हामीसित यहोवामा भर पर्नुबाहेक अरू केही उपाय नै हुँदैनथ्यो। किनभने हाम्रो अवस्था उहाँलाई मात्र थाह थियो। तर यहोवाले हामीलाई कुनै न कुनै तरिकामा सधैँ मदत गर्नुभयो। त्यसैले खर्च नभएकोले अर्को मण्डलीको भ्रमणमा जान नसक्ने अवस्था कहिल्यै भएन।
वफादार भाइहरूबाट मैले थुप्रै कुरा सिकेँ
गिलियडमा छँदा सञ्चार माध्यमसित मिलेर काम गर्नेबारे सिकेको कुरा क्युबेकमा साँच्चै उपयोगी साबित भयो। हामीले रेडियो, टेलिभिजन र अखबारहरूमार्फत साक्षी दिने थुप्रै मौका पायौँ। मलाई अक्सर लियोन्स क्रापोसित काम गर्न खटाइन्थ्यो। उहाँ पनि परिभ्रमण निरीक्षक हुनुहुन्थ्यो र सञ्चार माध्यमसित कुरा गर्न सिपालु हुनुहुन्थ्यो। कुनै सञ्चार माध्यमको हाकिमसित कुरा गर्न जाँदा उहाँ आफूलाई एकदमै जान्ने-सुन्ने देखाउनुको साटो यसो भन्नुहुन्थ्यो: “सर! हामीलाई मिडियामा कसरी कुरा गर्ने केही पनि आउँदैन। हामी त साधारण प्रचारकहरू मात्र हौँ। तर हाम्रो सङ्गठनले हामीलाई यहोवाका साक्षीहरूले गर्न लागेको ठूलो अधिवेशनबारे मानिसहरूलाई बताउनू भनेर अह्राएको छ। त्यसैले के गर्नुपर्छ भनेर हामीलाई सिकाइदिनुभयो भने हामी निकै आभारी हुने थियौँ।” यसरी नम्र भएर कुरा गर्दा थुप्रै सञ्चार माध्यमहरू हामीलाई मदत गर्न इच्छुक भए। सायद त्यसो नगरेको भए तिनीहरूले हामीलाई मदत गर्ने थिएनन्।
पछि मलाई भाइ ग्लेन हाउसित काम गर्न खटाइयो। उहाँ वकिल हुनुहुन्थ्यो र सञ्चार माध्यमको ध्यान खिच्न सक्ने गम्भीर विषयहरूमा मुद्दा लड्नुभएको थियो। गिलियडमा पाएको तालिम र भाइ लियोन्ससित काम गर्दा बटुलेका अनुभवहरूले मलाई निकै मदत गऱ्यो। भाइ हाउसित काम गर्न पाउनु मेरो लागि साँच्चै ठूलो सुअवसर थियो। उहाँ असाध्यै साहसी हुनुहुन्थ्यो। त्यसैले यहोवाको पक्षमा अडान लिएर कानुनी मुद्दाहरू लड्न उहाँलाई पटक्कै डर लाग्दैन थियो। तर उहाँको सबैभन्दा राम्रो पक्ष भनेको उहाँ यहोवालाई असाध्यै प्रेम गर्नुहुन्थ्यो।
हामीलाई १९८५ मा क्यानाडाको पश्चिमी भागमा पर्ने सर्किटमा खटाइयो, जुन सर्किट मेरो बुबाको घरनजिकै पर्थ्यो। त्यसैले बुबाको हेरचाह गर्दै परिभ्रमण कार्य पनि गरिरहन सक्यौँ। तर त्यहाँ सरेको तीन महिनापछि बुबा बित्नुभयो। त्यसपछि पनि हामीले क्यानाडाको पश्चिमी भागकै विभिन्न सर्किटहरूमा सेवा गरिरह्यौँ। तर १९८९ मा हामीले सोच्दै नसोचेको एउटा निम्तो पायौँ। हामीलाई अमेरिका बेथेलमा सेवा गर्न बोलाइयो। यसको मतलब हामीले झन्डै १९ वर्ष गरेको परिभ्रमण कार्य छोड्नुपर्ने भयो। त्यस दौडान सयौँ भाइबहिनीले हामीलाई आवास दिनुभयो र हजारौँ भाइबहिनीलेन्यानो अतिथिसत्कार गर्नुभयो। उहाँहरू सबैप्रति हामी मनैदेखि कृतज्ञ छौँ।
अमेरिका बेथेलमा सेवा गर्दै
हामी ब्रुक्लिन पुगेपछि मलाई सेवा विभागमा खटाइयो। त्यहाँ सेवा गर्दा पाएको तालिमप्रति म सदैव कृतज्ञ छु। त्यहाँ सिकेको एउटा पाठ म कहिल्यै बिर्सन्नँ। त्यो हो, सबै कुराको सत्यतथ्य बुझ्नु अनि कुनै पनि कुरा अनुमानको भरमा नगर्नु। पछि १९९८ मा मलाई लेखन विभागमा खटाइयो। म अहिले पनि कसरी राम्रोसँग लेख्ने भनेर सिक्दै छु। त्यतिखेर भाइ जोन बार लेखन समितिको संयोजक हुनुहुन्थ्यो। मैले धेरै वर्षसम्म उहाँसँगै काम गर्ने मौका पाएँ। उहाँबाट पाएको तालिम र उहाँसँगै बिताएको समय मेरो लागि अनमोल छ। उहाँ असल गुणहरूले भरिपूर्ण हुनुहुन्थ्यो।
जोन र मिल्ड्रेड बारसँगै
लेखन विभागमा सेवा गर्ने नम्र भाइबहिनीहरूसित काम गर्न पाउनु मेरो लागि साँच्चै ठूलो आशिष्को कुरा हो। उहाँहरू आफ्नो असाइनमेन्ट पूरा गर्न सधैँ यहोवासित मदत माग्नुहुन्छ। अनि उहाँहरू सबै कुरा आफ्नै सीप र क्षमताले नभई यहोवाको पवित्र शक्तिले गर्दा मात्र सम्भव भएको हो भनेर मानिलिनुहुन्छ।
सन् २००९ को वार्षिक सभामा वाचटावर कोरसलाई निर्देशन दिँदै
कोरियाको सियोलमा २०१४ मा भएको अन्तरराष्ट्रिय अधिवेशनमा भाइबहिनीलाई बाइबल दिँदै
लिन्डा र मैले ११० वटा देशका वफादार भाइबहिनीसित भेट्ने मौका पाएका छौँ। मिसनरीहरू, शाखा समितिका सदस्यहरू र अरू पूर्ण-समय सेवकहरूले यहोवालाई कत्ति प्रेम गर्छन् भनेर हामीले आफ्नै आँखाले देखेका छौँ। साथै युद्ध, आर्थिक कठिनाइ र खेदोको बाबजुद परमेश्वरको राज्यलाई पहिलो स्थान दिने स्थानीय प्रकाशकहरूको जोस र वफादारी पनि देखेका छौँ। आफ्ना जनहरूलाई यहोवा धेरै माया गर्नुहुन्छ!
मेरा असाइनमेन्टहरू पूरा गर्न लिन्डाले वर्षौँदेखि सघाइरहेकी छिन्। उनी मानिसहरूसित सजिलै घुलमिल हुन्छिन् अनि अरूलाई मदत गर्न सधैँ चनाखो रहन्छिन्। उनी मानिसहरूसित कुराकानी सुरु गर्न पनि निकै सिपालु छिन्। उनले थुप्रैलाई सत्यतर्फ डोऱ्याएकी छिन् र निष्क्रियहरूलाई पनि फेरि फर्कन मदत गरेकी छिन्। म लिन्डालाई यहोवाले मेरो लागि दिनुभएको बहुमूल्य उपहार ठान्छु। अहिले हाम्रो उमेर ढल्कँदै छ। त्यसैले हामीलाई यात्राको बेला र अरू विभिन्न कामकुरा गर्न सघाउने जवान भाइबहिनीहरूप्रति हामी साँच्चै आभारी छौँ।—मर्कु. १०:२९, ३०.
विगत ८० वर्षलाई फर्केर हेर्दा म यहोवाप्रति साँच्चै धन्यवादी छु। म भजनरचयिताले जस्तै महसुस गर्छु, जसले यस्तो लेखे: “हे परमेश्वर, मेरो युवावस्थादेखि नै तपाईँले मलाई सिकाउनुभयो अनि अहिलेसम्म पनि तपाईँका आश्चर्यजनक कामहरूबारे म घोषणा गर्दै छु।” (भज. ७१:१७) म बाँचुन्जेल त्यसै गरिरहन चाहन्छु!
a अहिले यो तालिम मध्यहप्ताको सभामा दिइन्छ।