प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg पृ. २४६-२५५
  • साहसी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी हुनुहोस्‌
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?
  • “साहसी होओ!”
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • तपाईँ अझै साहसी हुन सक्नुहुन्छ!
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • ‘बलियो र अति साहसी हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg पृ. २४६-२५५

समापन

साहसी हुनुहोस्‌

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

१. के साहसबारे हामीले सिक्नुपर्ने कुरा अझ बाँकी छ?

यो किताब पढ्‌नुभएपछि तपाईँलाई ‘मैले साहसबारे जति सिक्नुपर्ने थियो, त्यो सबै सिकिसकेँ’ जस्तो लाग्यो कि? तर बाइबलबाट साहसबारे हामी अझ धेरै कुरा सिक्न सक्छौँ। जस्तै, बाइबलमा अरू थुप्रै साहसी व्यक्‍तिहरूबारे बताइएको छ, जसबारे हामीले यस किताबमा छलफल गरेका छैनौँ। साथै तिनीहरूजस्तै साहसी हुन हामीले एउटा महत्त्वपूर्ण कदम चाल्नै पर्छ। आउनुहोस्‌, त्यसबारे बुझौँ।

२. साहस देखाएका अन्य वफादार व्यक्‍तिहरू को-को हुन्‌?

२ यस किताबमा छलफल गरिएका व्यक्‍तिहरूबाहेक साहस देखाएका अन्य व्यक्‍तिहरूको नाम तपाईँ सम्झन सक्नुहुन्छ कि? सायद तपाईँको मनमा यसैया, यर्मिया, इजकिएल, योना र मलाकिजस्ता हिब्रू धर्मशास्त्रमा उल्लेख गरिएका भविष्यवक्‍ताहरूको नाम आयो होला। तिनीहरूले पनि प्रेषित पावलले हिब्रू अध्याय ११ मा वर्णन गरेका कुराहरू भोगे। पावलले यस्तो लेखे: “[तिनीहरूमध्ये] कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्‌लाले बाँधिए अनि झ्यालखानामा थुनिए।” अरू चाहिँ “सङ्‌कष्टमा परे अनि दुर्व्यवहारको सिकार भए।” अनि कोही-कोहीलाई भने मृत्युदण्ड समेत दिइयो। (हिब्रू ११:३६, ३७) तैपनि तिनीहरू साहसी भई यहोवा परमेश्‍वरको पक्षमा खडा भए।

३-४. राजा दाउदको ज्यान खतरामा परेको बेला बाइबलमा नाम उल्लेख नगरिएका दुई स्त्रीले तिनलाई कसरी मदत गरे?

३ थुप्रै साहसी व्यक्‍तिहरूको नाम बाइबलमा उल्लेख गरिएको छैन। जस्तै: राजा दाउदको समयका दुई स्त्रीहरू। दाउदका आफ्नै छोरा अब्सालोमले तिनलाई मार्न खोज्दा ती दुई स्त्रीले तिनलाई मदत गरे। अब्सालोम घमन्डी अनि क्रूर व्यक्‍ति थिए र आफ्नो बुबाको सिंहासन हडप्न चाहन्थे। त्यसैले दाउद यरुसलेमबाट भाग्न बाध्य भए। अब्सालोमको षड्यन्त्रबारे थाह पाउन दाउदले साहसी पुजारी सादोकलाई यरुसलेम फर्कन भने। सादोकले जासुसी गरेर थाह पाएका कुराहरू दाउदसम्म पुऱ्‍याउनुपर्ने थियो। त्यो खबर पुऱ्‍याउन सादोकले ‘एउटी दासीलाई’ दाउदकहाँ पठाए। हामीलाई उनको नाम थाह छैन तर उनी साहसी थिइन्‌ भनेर हामी भन्‍न सक्छौँ। आफू मारिन सक्ने भए पनि उनले दाउदका दुई साथीलाई सादोकले भनेको सबै कुरा बताइन्‌। तर एक जना युवकले दाउदका ती दुई साथीलाई देखे अनि गएर अब्सालोमलाई बताइदिए। आफ्नो ज्यान जोगाउन तिनीहरू एउटा घरको इनारभित्र पसे। तिनीहरू लुकेको कुरा थाह नपाओस्‌ भनेर त्यस इनारको मालिककी पत्नीले इनारको मुख कपडाले छोपिदिइन्‌ र त्यसमाथि बिस्कुन फिँजाइदिइन्‌। उनको नाम पनि हामीलाई थाह छैन। अब्सालोमका मानिसहरू ती दुई सन्देशवाहकलाई खोज्न आउँदा उनले तिनीहरूलाई अर्कै बाटोतिर पठाइदिइन्‌। यी दुई साहसी स्त्रीले गर्दा यहोवाले रोज्नुभएको राजाको ज्यान जोगियो।—२ समु. १५:२३-३७; १७:८-२२.

चित्रहरूको सँगालो: दाउदलाई मदत गरेका दुई साहसी स्त्री, जसको नाम हामीलाई थाह छैन। १. दासी केटी दाउदका दुई सेवकहरूसँग कुरा गर्दै छिन्‌। २. दाउदका सेवकहरूलाई आफ्नो पतिको इनारमा लुक्न मदत गरेकी स्त्री; अब्सालोमका मानिसहरू उनको घरबाट अलि पर पुगिसकेका छन्‌ र उनी भने सोचमग्न देखिन्छिन्‌।

दाउदलाई मदत गरेका साहसी दासी र निडर स्त्री

४ बाइबलमा साहस देखाएका थुप्रै पुरुष तथा स्त्रीहरूको उदाहरण पाइन्छ। तिनीहरूमध्ये कसैको नाम उल्लेख गरिएको छ भने कसैको छैन, कोही धनी थिए भने कोही गरिब अनि कोही गण्यमान्य व्यक्‍ति थिए भने कोहीचाहिँ साधारण व्यक्‍ति। तर तिनीहरू सबै साहसी भई यहोवाको पक्षमा खडा भए। तिनीहरूको कथाले आज हामीलाई पनि साहसी हुन उत्प्रेरित गर्न सक्छ।

प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?

५-७. घोर विरोधको सामना गर्न पावलले कसरी साहस बटुले?

५ हामी बाइबलमा उल्लेख गरिएका साहसी पुरुष तथा स्त्रीहरूको कसरी अनुकरण गर्न सक्छौँ? ती सबै पुरुष तथा स्त्रीहरू जन्मजातै निडर स्वभावका थिएनन्‌। के तिनीहरूले आफ्नै क्षमता र बलबर्कतमा यहोवाको सेवा गर्न सकेका थिए? अहँ, थिएनन्‌! साहसी हुन तिनीहरूले गर्नै पर्ने एउटा कुरा थियो। त्यो के थियो?

६ प्रेषित पावलबारे एकछिन विचार गरौँ। फिलिप्पीमा पावल र सिलासमाथि भीड जाइलाग्यो। त्यसपछि नगर अधिकारीहरूले तिनीहरूको लुगा च्यातिदिए र तिनीहरूलाई छडी लगाउने हुकुम गरे। अनि तिनीहरूलाई झ्यालखानाको अँध्यारो खोरमा थुनिदिए र तिनीहरूको खुट्टा ठिँगुरोमा हालिदिए। (प्रेषि. १६:१२, १९-२४) झ्यालखानाबाट मुक्‍त भएपछि के पावल डरको कारण प्रचार गर्नदेखि पछि हटे? यस्तो अवस्थामा डर लाग्नु स्वाभाविकै हो। तर पावलले प्रचारकार्यलाई निरन्तरता दिएको यहोवा चाहनुहुन्छ भनेर तिनलाई थाह थियो। त्यसैले तिनी प्रचार गर्न अर्को गन्तव्य थिस्सलोनिका सहर गए। त्यहाँ जान तिनले कसरी साहस र बल पाए?

७ पछि तिनले यस्तो लेखे: “फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि परमेश्‍वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।” (१ थिस्स. २:२) परमेश्‍वरले अह्राउनुभएको काम पूरा गर्न साहस चाहिन्छ भनेर तिनलाई थाह थियो। तर तिनले त्यो साहस कसरी जुटाउन सके? आफ्नै क्षमताले गर्दा हो कि? होइन। तिनी “परमेश्‍वरको मदत पाएर” साहसी हुन सकेका थिए। आफूलाई चाहिएको साहस बटुल्न तिनले नम्र भई यहोवासित मदत मागे। अनि यहोवाले तिनको बिन्ती सुन्‍नुभयो।

८. साहसी हुने सन्दर्भमा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ?

८ पावलले जस्तै तपाईँले पनि साहसको लागि यहोवासित मदत माग्न सक्नुहुन्छ। आफूसित कुनै विशेष योग्यता नभएकाले म साहसी हुन सक्दिनँ भन्‍ने सोचाइ नराख्नुहोस्‌। बरु साहसको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। अनि उहाँले जस्तोसुकै अवस्थामा पनि तपाईँलाई साहसी हुन मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ।—प्रेषि. ४:२९.

९. आफ्नो विश्‍वास बढाउन हामीले किन यहोवासित मदत माग्नुपर्छ?

९ तपाईँ साहससित एकदमै नजिकको सम्बन्ध भएको अर्को गुण विश्‍वासको लागि पनि स्वर्गमा बस्नुहुने बुबासित बिन्ती गर्न सक्नुहुन्छ। विश्‍वास पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२, २३) प्रत्येक ख्रिष्टियनले धारण गर्नुपर्ने आध्यात्मिक हातहतियारमध्ये विश्‍वास पनि एउटा हो। (एफि. ६:१६) विश्‍वास यति शक्‍तिशाली हुन्छ कि यसले ‘संसारमाथि विजय हासिल गर्न’ सक्छ भनेर बाइबलमा बताइएको छ। (१ युह. ५:४) यहोवामाथिको विश्‍वासले नै तपाईँलाई साहसी बनाउँछ। जस्तोसुकै कठिन परीक्षाको सामना गर्नुपरे पनि यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा पूर्णतया विश्‍वस्त हुनुहुन्छ भने तपाईँ अझ धेरै साहसी हुन सक्नुहुन्छ। त्यसैले प्रेषितहरूले जस्तै हामी पनि यहोवासित यस्तो बिन्ती गरिरहौँ: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।”—लुका १७:५.

“साहसी होओ!”

१०-११. पावलले यरुसलेम र त्यसवरपरका ख्रिष्टियनहरूलाई किन साहसी भइरहन प्रोत्साहन दिए?

१० येसुले यरुसलेमको विनाशबारे भविष्यवाणी गर्नुभएको थियो। (लुका १९:४१-४४; २१:२०-२४) त्यस विनाशको बेला यरुसलेममा र त्यसवरपर रहने ख्रिष्टियनहरूको लागि धेरै गाह्रो हुनेछ भनेर पावललाई थाह थियो। त्यसैले पावल तिनीहरूलाई मदत दिन चाहन्थे। पावलले तिनीहरूलाई साहसी हुनुको महत्त्वबारे कसरी जोड दिए? यस किताबको परिचयमा उद्धरण गरिएका तिनका शब्दहरू हामी फेरि विचार गरौँ। यहोवाले गर्नुभएको मायालु प्रतिज्ञाबारे सम्झाउँदै तिनले यसो भने: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” यस प्रतिज्ञाले तिनीहरूलाई कसरी मदत गर्ने थियो? तिनले अझै यसो भने: “त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौँ: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?’”—हिब्रू १३:५, ६.

११ इस्वी संवत्‌ ७० मा रोमीहरूले यरुसलेम विनाश गरेपछि के-कस्तो कुरा भयो भनेर बाइबलमा बताइएको छैन। तर यो कुरामा भने हामी पक्का हुन सक्छौँ: त्यहाँका वफादार ख्रिष्टियनहरूले पावलको सल्लाह सुने। तिनीहरूले साहसी हुँदै येसुको आज्ञा पालन गरे र समय आएपछि तिनीहरू ‘डाँडाहरूतिर भागे।’—लुका २१:२०, २१.

१२. (क) परीक्षाहरू आइपर्दा तपाईँ कसरी साहसी हुन सक्नुहुन्छ? (ख) यस अन्तको दिनमा केही ख्रिष्टियनहरूले कसरी उल्लेखनीय साहस देखाएका छन्‌ र तपाईँ के गर्न कटिबद्ध हुनुहुन्छ? (“तिनीहरूको साहस अनुकरण गर्नुहोस्‌” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१२ यहोवाले तपाईँलाई पनि अहिले र भविष्यमा परीक्षाहरू आइपर्दा साहसी हुन मदत गर्नुहुनेछ। (इज. ३८:१, २, १०-१२; मत्ति २४:२१) यहोवाले हामीलाई जोगाउने प्रतिज्ञा गर्नुभएको छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌। (इज. ३८:१९-२३; २ थिस्स. ३:३) उहाँलाई प्रेम गर्नेहरूलाई र उहाँमाथि विश्‍वास गर्नेहरूलाई उहाँले कहिल्यै त्याग्नु हुनेछैन। यहोवाले यहोसुलाई भन्‍नुभएको यो कुरा आज तपाईँलाई पनि भन्दै हुनुहुन्छ: “साहसी र खूब बलियो होऊ!” (यहो. १:७, ९, १८) साथै येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभएको यो कुरा पनि मनमा राख्नुहोस्‌: “साहसी होओ!” येसुले हाम्रो मदतको लागि आफ्नो बुबाकहाँबाट पवित्र शक्‍ति पठाउने प्रतिज्ञा गर्नुभएको छ र उहाँ आफ्नो हरेक प्रतिज्ञा पूरा गर्नुहुन्छ। पवित्र शक्‍तिले तपाईँलाई यहोवाप्रति वफादार रहन चाहिएकै साहस दिनेछ। (युह. १४:२६; १५:२६, २७; १६:३३) हो, तपाईँ साँच्चै साहसी हुन सक्नुहुनेछ!

चित्रहरूको सँगालो: भाइबहिनीहरू साहसी भई परीक्षाहरूको सामना गर्दै छन्‌। १. हातमा स्कुलको किताब र जीवन सृष्टि कि संयोग? पुस्तिका बोकेकी जवान बहिनी आफ्नो कक्षाकोठामा निर्धक्क भई मुस्कुराउँदै छिन्‌। २. शरणार्थी शिविरमा एउटा परिवार; आमाबुबाले आफ्नी सानी छोरीलाई अँगालो हालेका छन्‌ र तिनीहरू तीनै जना मुस्कुराउँदै छन्‌। ३. जेलको कोठरीमा एक जवान भाइ मुस्कुराउँदै हेरिरहेका छन्‌।

जस्तोसुकै अवस्था वा परीक्षाको सामना गर्नुपरे पनि वफादार रहिरहन यहोवा परमेश्‍वरले हामीलाई पवित्र शक्‍तिमार्फत साहस दिने प्रतिज्ञा गर्नुभएको छ

तिनीहरूको साहस अनुकरण गर्नुहोस्‌

मार्टिन र गर्ट्रुड पोइटजिङ्‌गर

मार्टिन र गर्ट्रुड पोइटजिङ्‌गर।

मार्टिन र गर्ट्रुड पोइटजिङ्‌गरको भर्खरै विवाह भएको थियो र तिनीहरू आनन्दित भई अग्रगामी सेवा गर्दै थिए। तर विवाह भएको साढे तीन महिनामै नाजी शासनको कारण तिनीहरू एकअर्काबाट छुट्टिनुपऱ्‍यो। मार्टिन १९३६ मा पक्राउमा परे र तिनलाई पछि डाकाउ यातना शिविरमा पठाइयो। केही समयपछि गर्ट्रुड पनि पक्राउमा परिन्‌। नौ वर्षसम्म तिनीहरूले एकअर्कालाई भेट्‌न पाएनन्‌। त्यस समयावधिमा तिनीहरूलाई आफ्नो जीवनसाथी जीवित छ कि छैन भन्‍ने कुरा पनि थाह थिएन। तर तिनीहरू दुवै सत्यनिष्ठ रहिरहने कुरामा भने कटिबद्ध थिए। मार्टिनलाई डाकाउबाट कुख्यात माउटहाउसेन यातना शिविरमा सारियो। त्यहाँ तिनी निर्मम यातनाको शिकार भए। गर्ट्रुडलाई साढे तीन वर्ष एकल कारावासमा राखियो। त्यसपछिको अर्को चार वर्ष तिनलाई राभेन्सब्रुक यातना शिविरमा पठाइयो। दोस्रो विश्‍वयुद्धको अन्तपछि गर्ट्रुडले मार्टिन जीवितै रहेछन्‌ भनेर थाह पाइन्‌। तर मार्टिन अझै पनि माउटहाउसेन यातना शिविरमा थिए। त्यसैले गर्ट्रुडले तिनको रिहाइको लागि सैनिक अफिसरसित बिन्ती गरिन्‌। अनि ती अफिसरले मार्टिनलगायत अरू झन्डै १०० जना साक्षीहरूलाई छोडिदिए। बल्ल तिनीहरूको पुनर्मिलन भयो र तिनीहरूले सँगै मिलेर पूर्ण-समय सेवा गरे। पछि तिनीहरूलाई ब्रुक्लिन बेथेलमा खटाइयो जहाँ मार्टिनले यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गरे। मार्टिन भाइबहिनीहरूलाई यसो भन्‍ने गर्थे: “हामीसित हुनुपर्ने सबैभन्दा ठूलो धन भनेको साहस हो!” आफ्नो जीवनको अन्तसम्म तिनीहरू दुवैले वफादार र आनन्दित भई यहोवाको सेवा गरे।

“हामीसित हुनुपर्ने सबैभन्दा ठूलो धन भनेको साहस हो!”—एम. पोइटजिङ्‌गर

भ्यालेन्टिना गर्नोभ्स्की

भ्यालेन्टिना गर्नोभ्स्की।

भ्यालेन्टिनाले १९४५ मा पहिलो चोटि यहोवाका साक्षीहरूलाई भेटिन्‌। उनी २० वर्षकी थिइन्‌ र बेलारूसमा बस्थिन्‌। त्यो पहिलो भेटमा र त्यसपछिको दुइटा भेटमा उनले यहोवा र बाइबलबारे जे-जति सिकिन्‌, त्यो उनलाई धेरै मन पऱ्‍यो। तर त्यसपछि उनले ती साक्षीलाई कहिल्यै भेटिनन्‌। यहोवाका साक्षीहरूको काममा प्रतिबन्ध लगाइएकोले तिनीहरूलाई भेट्‌न पनि निकै गाह्रो थियो। तैपनि आफूले जे-जति सिकेकी थिइन्‌, त्यो उनले साहसी भई अरूलाई बताउन थालिन्‌। यसो गरेकोमा उनी पक्राउमा परिन्‌ र उनलाई आठ वर्षको कैद सजाय सुनाइयो। उनी १९५३ मा रिहा भइन्‌ र उनले तुरुन्तै अरूलाई बाइबलका सत्य कुराहरू सुनाउन थालिन्‌। उनलाई फेरि गिरफ्तार गरियो र यसपटक भने उनलाई दस वर्षको सजाय सुनाइयो। उनलाई कैद गरिएको एउटा शिविरमा उनले केही साक्षी बहिनीहरूलाई भेटिन्‌। ती बहिनीहरूसित निषेधित किताब अर्थात्‌ बाइबल थियो। एक जना बहिनीले भ्यालेन्टिनालाई बाइबल देखाइन्‌। उनले १९४५ पछि पवित्र बाइबल देखेको त्यो नै पहिलो चोटि थियो। सन्‌ १९६७ मा कैदबाट मुक्‍त भएपछि भ्यालेन्टिनाले बप्तिस्मा गरिन्‌। अनि उनी फेरि जोडतोडले प्रचारकार्यमा लागिन्‌। सन्‌ १९६९ मा उनी फेरि पनि पक्राउमा परिन्‌ र यसपटक उनलाई तीन वर्षको जेल सजाय सुनाइयो। तैपनि उनले प्रचार गर्न छोडिनन्‌। सन्‌ २००१ मा उनको मृत्यु भयो। उनले लगभग ४४ जनालाई बाइबलका सत्य कुराहरू सिक्न मदत गरिन्‌। आफ्नो जीवनको अन्ततिर भ्यालेन्टिनाले यसो भनिन्‌: “बस्नको लागि मेरो आफ्नै ठाउँ थिएन। मेरो सारा सम्पत्ति एउटा सुटकेसमै अट्‌थ्यो। तर यहोवाको सेवा गर्न पाउँदा म खुसी र सन्तुष्ट थिएँ।”

“बस्नको लागि मेरो आफ्नै ठाउँ थिएन। मेरो सारा सम्पत्ति एउटा सुटकेसमै अट्‌थ्यो। तर यहोवाको सेवा गर्न पाउँदा म खुसी र सन्तुष्ट थिएँ।”—भि. गर्नोभ्स्की

आल्फ्रेडो फर्नान्डेज

आल्फ्रेडो फर्नान्डेज।

आल्फ्रेडो १९ वर्षको जति हुँदा तिनलाई अर्जेन्टिनाको सेनामा बोलाइयो। तिनले बाइबल प्रशिक्षित अन्तस्करणको कारण संसारको कुनै पनि युद्धमा भाग नलिने निर्णय गरेका थिए। त्यसैले तिनले सेनामा भर्ती हुन इन्कार गरे, यहाँसम्म कि सेनाको पोसाक लगाउन समेत मानेनन्‌। आफ्नो धार्मिक आस्थाको कारण सेनामा जान इन्कार गरेकोले तिनलाई जेल सजाय सुनाइयो। झ्यालखानाका गार्डहरूले तिनलाई एकदमै नराम्रो व्यवहार गरे। कहिलेकाहीँ त तिनलाई मृत्युदण्ड दिन लागे जस्तैगरि यातना दिन्थे। यी सबैको बाबजुद तिनले बाइबल पढ्‌न छोडेनन्‌। अनि बाइबल पढ्‌दा आफूले सिकेका कुराहरू तिनी लेखेर राख्थे। न्यायाधीशले तिनको सुनुवाइको बेला तिनले सेनाको पोसाक लगाएको खण्डमा तिनलाई छोडिदिने प्रस्ताव राखे। तर आल्फ्रेडोले सीधै त्यो प्रस्ताव इन्कार गरे। त्यसैले तिनलाई फेरि झ्यालखानामा पठाइयो। झ्यालखानामा तिनलाई चरम यातना दिइएको कारण तिनी सिकिस्त बिरामी परे। झ्यालखानाको डाक्टरले आल्फ्रेडोलाई तिनी अब धेरै दिन बाँच्ने छैनन्‌ भनेर बताए। आफ्नो मृत्यु नजिकै छ भन्‍ने कुरा थाह पाएपछि आल्फ्रेडोले आफ्नो परिवारलाई एउटा चिठी लेखे। उक्‍त चिठीमा तिनले यसो भने: “मेरो प्यारो परिवार, मैले तपाईँहरूलाई यस्तो चिठी लेख्नुपर्ला भनेर कहिल्यै सोचेको थिइनँ। तर अहिले यो अवस्थामा म तपाईँहरूलाई चिठी लेख्न बाध्य भएको छु।” तिनी झ्यालखानामा हुँदा परिवारले तिनको मनोबल बढाएकोमा तिनले सबैलाई धन्यवाद दिए। तिनले अझै यसो भने: “तपाईँहरूजस्तो मायालु परिवार पाएकोमा म यहोवा परमेश्‍वरप्रति एकदमै आभारी छु। यो चिठी पढ्‌नुहुँदा तपाईँहरूले कत्ति पीडा महसुस गर्नुहुनेछ मलाई थाह छ। गाह्रो भए पनि हरेस नखानुहोस्‌ र यहोवाको सेवामा साहसी भई लागिरहनुहोस्‌। . . . हाम्रा मायालु परमेश्‍वर यहोवाले आफ्नो वचन बाइबलमार्फत तपाईँहरूलाई सान्त्वना दिनुहुनेछ। मेरो मृत्यु अस्थायी हो भन्‍ने कुरा नबिर्सनुहोस्‌। आशा छ, मेरो वफादारीले तपाईँहरूलाई पनि अन्तसम्मै वफादार रहिरहन मदत गर्नेछ।” तीन वर्षको जेल सजायपछि आल्फ्रेडोको १९८२ मा २१ वर्षको उमेरमा मृत्यु भयो। तिनी अन्तसम्मै वफादार रहे।

“गाह्रो भए पनि हरेस नखानुहोस्‌ र यहोवाको सेवामा साहसी भई लागिरहनुहोस्‌।”—ए. फर्नान्डेज

क्यारेन ओम

क्यारेन र राइनर ओम।

क्यारेनले जवान छँदादेखि नै आनन्दित भई यहोवाको सेवा गर्दै आएकी थिइन्‌। तिनी अग्रगामी सेवामा रमाइरहेकी थिइन्‌। पछि तिनले आफ्नो पति राइनरसँगै अमेरिकाको बेथेलमा सेवा गरिन्‌। तर तिनी ५५ वर्षजति हुँदा तिनलाई नसासम्बन्धी एउटा घातक रोग लाग्यो। ए एल एस (Amyotrophic Lateral Sclerosis) भनिने त्यो रोगले बिस्तारै बिरामीलाई चलहल गर्न नसक्ने र बोल्न नसक्ने बनाउँछ, यहाँसम्म कि बिरामीको मृत्युसमेत हुन्छ। क्यारेनले आफूलाई त्यो रोग लागेको थाह पाएपछि आफ्नो समयको सदुपयोग गर्ने र सकारात्मक रहने सङ्‌कल्प गरिन्‌। रोगले गाह्रो बनाउँदै लगे पनि तिनले आफ्नो तर्फबाट सक्दो गर्ने कोसिस गरिन्‌। तिनले व्यक्‍तिगत अध्ययन र प्रचारकार्यमा सकेजति धेरै समय बिताइन्‌। अनि रोगले गाह्रो बनाउँदै लगे पनि त्यसअनुसार छाँटकाँट गर्ने कोसिस गरिन्‌। आफ्नो बोल्ने क्षमता गुमाउन थालेपछि तिनले एउटा यस्तो प्रकारको कम्प्युटर चलाउन सिकिन्‌, जसमा आँखाको इसाराले लेख्न सकिन्छ। त्यो प्रविधि चलाएर टाइप गर्न तिनलाई धेरै गाह्रो हुन्थ्यो। तैपनि तिनले सभाहरूको लागि टिप्पणीहरू लेख्थिन्‌ र मानिसहरूलाई सुसमाचार सुनाउन चिठीहरू लेख्थिन्‌। तिनको नर्स, जो एक जना साक्षी पनि थिइन्‌, उनले यसो भनिन्‌: “उहाँले ‘मलाई नै यो किन भएको’ भनेर कहिल्यै भन्‍नुभएन। आफ्नो मृत्यु हुनुभन्दा दुई हप्ताअघि मात्र पनि उहाँले मैले प्रचारमा भेटेको एउटी महिलालाई चिठी लेख्नुभएको थियो। उहाँले आफ्नो चिठीको अन्तमा यसो भन्‍नुभएको थियो, ‘तपाईँ निराश हुनुहुन्छ भने म सधैँ तपाईँको कुरा सुन्‍न तयार छु।’” अर्को नर्सले यसो भनिन्‌: “आफ्नो रोगको कारण उहाँ कहिल्यै निराशामा डुब्नु भएन। उहाँसित निराश हुन सक्ने थुप्रै कारणहरू थिए तर फेरि जीवित हुने कुरामा उहाँको विश्‍वास एकदमै बलियो थियो। त्यसैले उहाँलाई निराश भएर बस्नु बेकार हो जस्तो लाग्थ्यो। यहोवाले उहाँलाई फेरि जीवित पार्नुहुनेछ र आफू पूर्णतया स्वस्थ हुनेछु भन्‍ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो।” क्यारेनलाई यो रोग लागेको सुरुसुरुतिर तिनकी जुम्ल्याहा बहिनीले यस्तो सोधिन्‌: “तपाईँ कसरी यस्तो साहसी हुन सक्नुभएको?” क्यारेनले सरल शब्दमा यसो भनिन्‌: “यहोवाले हामीलाई चाहिएकै साहस दिनुहुन्छ।” अनि यहोवाले तिनको जीवनको अन्तसम्मै साहस दिनुभयो पनि। क्यारेनको मृत्युपछि तिनले आफ्नो परिवार र साथीभाइहरूलाई लेखेका थुप्रै चिठीहरू क्यारेनको पतिले तिनीहरूलाई दिए। तिनले लेखेका ती चिठीहरू धन्यवाद, सान्त्वना र प्रोत्साहनका शब्दहरूले भरिएका थिए।

“यहोवाले हामीलाई चाहिएकै साहस दिनुहुन्छ।”—के. ओम

१३. यस अन्तको दिनमा साहसी हुन तपाईँलाई कुन कुराले उत्प्रेरित गर्छ?

१३ चाँडै पृथ्वीभरि शान्ति छाउनेछ र हामीले यहोवाको सम्झनामा भएकाहरूलाई फेरि स्वागत गर्ने मौका पाउनेछौँ। कल्पना गर्नुहोस्‌, त्यो कत्ति खुसीको क्षण हुनेछ! त्यतिबेला हामीले यस किताबमा छलफल गरिएका पुरुष तथा स्त्रीलगायत अरू थुप्रै साहसी व्यक्‍तिहरूलाई पनि भेट्‌नेछौँ। तिनीहरूले सैतानको संसारमा यहोवाको सेवा गरे, कतिपयले त आफ्नो ज्यान समेत गुमाए। तपाईँको विचारमा तिनीहरूले यहोवाको सेवा गर्ने छनौट गरेकोमा के पछुतो मान्‍नेछन्‌ होला? कदापि मान्‍ने छैनन्‌! अनि तपाईँलाई कस्तो लाग्नेछ? यस पृथ्वीलाई फेरि सुन्दर बनाउन तपाईँले तिनीहरूसँगै काँधमा काँध मिलाएर काम गर्ने मौका पाउनुहुनेछ। त्यतिबेला के तपाईँले अन्तको समयमा यहोवाको सेवा गर्ने छनौट गरेकोमा पछुतो मान्‍नुहुनेछ? पक्कै मान्‍नु हुनेछैन। त्यसैले अन्तसम्म साहसी भई यहोवाको सेवा गरिरहने सङ्‌कल्प गर्नुहोस्‌। हो, साहसी भइरह्‍यौँ भने अहिले मात्र होइन सदासर्वदा आनन्दित हुन सक्नेछौँ!

भाइबहिनीहरू र केटाकेटीहरू प्रमोदवनमा जीवनको आनन्द उठाउँदै छन्‌। कोही जिराफलाई खुवाउँदै छन्‌ भने कोही केराकेल भनिने एक किसिमको जङ्‌गली बिरालो हेर्दै छन्‌ अनि अरू कतिपय भने पिज्जा बनाउँदै छन्‌, कुराकानी गर्दै छन्‌ र इस्ट्रुमेन्ट बजाउँदै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने