नदी किनाराका मणिहरू
स्पेनका ब्यूँझनुहोस्! संवाददाताद्वारा
पोखरी वा नदी छेउछाउ टहल्न जाँदा प्रायः म मलाई मन पर्ने रातो, नीलो वा हरियो रंगका मणिहरू खोज्ने गर्छु। कोही बेला म कुनैलाई पातमा चलहल नगरी धुमधुमती बसिरहेको देख्छु त कुनै चाहिं पानीमाथि हावामा फन्को मारिरहेको वा मेरैअघिबाट हुँइकिरहेको देख्नसक्छु। मैले खोज्ने मणि हो, झ्यालिन्चा (गाइनेकीरा) अर्थात् कीराजगत्को चहकिलो “हेलिकप्टर”।
धेरै वर्षअघि म जंगलको बाटो हुँदै मन्द मन्द गतिमा सललल बग्ने खोलामा अचानक आइपुग्दा यी उड्ने रत्नहरू पहिलो चोटि देखेको थिएँ। थुप्रै झ्यालिन्चा सूर्यको किरणमा यताउता फिरफिर उडिरहेका थिए। कुनै कुनै धातुरंगको नीलो र कुनै चाहिं चहकिलो हरियो हरियो पहेंलो पहेंलो रंगका थिए। तिनीहरू हावामा नाचिरहेको मैले घण्टौंसम्म हेरिरहें। मानौं, त्यो जंगलको ठूलो खुल्ला ठाउँ एउटा नाचघर हो। त्यस दिनदेखि यता झ्यालिन्चालाई देखें कि म दंग पर्छु।
झ्यालिन्चाबारे जत्ति धेरै सिकें, त्यत्ति नै बढी त्यसको सुन्दरता र महत्त्वलाई बुझ्न थालें। झ्यालिन्चा र ड्यामसेलफ्लाईबीच भिन्नता हुँदो रहेछ भनेर पहिलो चोटि थाह पाएँ। झ्यालिन्चा छिटो रफ्तारमा उड्नसक्छ र साधारणतया ठूलो हुन्छ भने ड्यामसेलफ्लाई यसको अंग्रेजी नाउँको अर्थ सुहाउँदो सुन्दर र उड्नमा निकै कातर हुन्छ। तिनीहरूको मुख्य भिन्नता पखेटा चलाउने तरिका हो। झ्यालिन्चा बस्दाखेरि पखेटा फिजाउँछ जबकि ड्यामसेलफ्लाईले पखेटा जोडेर शरीरमाथि ठाडो पार्छ।a
झ्यालिन्चाले त्यति सजिलै हावामा कसरी लामखुट्टे पक्रनसकेको होला भनेर चकित हुन्थें। मेरै कुरा गर्नुहुन्छ भने, अहँ! भान्साको भित्तामा मजाले घाम तापिरहेको जाबो झिंगालाई पनि म मार्न सक्दिनँ। तर अचम्म लाग्यो, ‘मैले गर्न नसकेको काम झ्यालिन्चाले कसरी गर्नसक्छ?’ हामीसित नभएको दुइटा कुरा त्यससित रहेछन्: आफूलाई पूर्णतया नियन्त्रणमा राखेर हावामा उड्ने क्षमता र अर्को त्यसको आँखाको देख्ने शक्ति। यी दुइ कुराबारे थाह पाउँदा मान्छेको मनमा ईर्ष्यालु भाव जाग्छ।
झ्यालिन्चाको उडान
स्पेनमा झ्यालिन्चाको चल्ती नाम हेलिकप्टर हो। तर त्यसलाई हेलिकप्टरसित तुलना गर्नु अलि अपमानजनक भएन र? किनभने तिनीहरू हावामा यति छिटछिटो खेलक्रिडा गर्छन् कि कोही बेला त ती उडेर कता गए भनेर आँखाले ठम्याउन पनि सक्दैन। तीमध्ये कुनै कुनै खालका त एकै झोंकमा प्रतिघण्टा ५५ किलोमिटरको गतिले उड्नसक्छन्। ती छिनभरमै हावामा फन्को मार्न वा अघिपछि वा छड्के उड्नसक्छ। त्यसबाहेक, हावामा फनक्क घुम्दा झ्यालिन्चाले २.५ सम्मको जीस् अर्थात् गुरुत्वाकर्षण शक्तिलाई रोक्नुपर्ने हुन्छ भनी वैज्ञानिकहरू हिसाब निकाल्छन्।
झ्यालिन्चाको फिताजस्तो दुइ जोडा लचकदार पखेटा हुन्छ। यी पखेटा हेर्दा कलकलाउँदो देखिन्छ। तापनि एक सेकेण्डमा ४० पटक फर्फराउनसक्छ त्यो पनि कुनै नोक्सानीबिना। जीवविज्ञानी राबिन जे. वुटनले यी झ्यालिन्चालाई “कुशल बनावटको उत्कृष्ट कृति” भने।
तिनले अझ भने, “यी कीराको पखेटाबारे बुझ्दै जाँदा त्यसको बनावट झन् झनै कुशल र सुन्दर लाग्न थाल्छ। . . . ती पखेटाहरूसित तुलना गर्न मिल्ने प्रविधि त छँदै छैन भने पनि हुन्छ।” त्यसैकारण झ्यालिन्चाको उड्ने तरिकाबारे हालै उडानसम्बन्धी इन्जिनियरहरूले अध्ययन गरिरहेका छन् भनेर सुन्दा अचम्म मान्नुपर्ने के कुनै कारण छ र?
शिरमा ठूलठूलो आँखा
झ्यालिन्चाको उड्ने ढंग त असाधारण छ नै, तर यसको दृष्टि पनि कम अचम्मको छैन। यसका दुइटा ठूलठूला संयुक्त आँखाले झन्डै झन्डै सम्पूर्ण शिर नै ढाकेको हुन्छ। प्रत्येक आँखामा षड्भुज आकारको ३०,००० वटासम्म कोणहरू हुन्छन्। यसो हेर्दा ती कोणहरू आँखाभित्र अझै स-साना आँखा भएजस्तो देखिन्छन् किनकि ती प्रत्येकले मस्तिष्कमा बेग्लाबेग्लै चित्र पठाउँछ। तथापि, त्यसको अर्थ झ्यालिन्चाले एकै समयमा बेग्लाबेग्लै हजारौं चित्रहरू देख्छ भन्ने होइन। हामीले जस्तो पूर्ण चित्र देख्नुको साटो यसले गति, बनावट, भिन्नता र आकार चाल पाउँछ।
ती जम्मै चित्रहरूलाई छानबिन गर्नुपर्छ। यसर्थ, झ्यालिन्चाको मस्तिष्कको ८० प्रतिशत काम नै देख्ने जानकारीलाई ठम्याउनु हो। झ्यालिन्चाको जस्तो दृष्टि त विरलै पाइन्छ होला। यसले लगभग २० मिटर टाढैबाट लामखुट्टेलाई ठम्याउनसक्छ। उष्ण प्रदेशमा पाइने झ्यालिन्चाले मिरमिरे साँझमा उडिरहेका स-साना झिंगाहरूसमेत च्याप्पै पक्रनसक्छ। मानिसले त ती झिंगाहरू शायदै ठम्याउनसक्लान्।
नदी किनाराको झार-जंगलहुँदो छिटछिटो उड्न झ्यालिन्चाले एकदमै चाँडो निर्णय गर्नुपर्छ। एक सेकेण्डमा सयौं विभिन्न चित्रहरू देख्नसक्ने हुनाले यसले हामीले भन्दा कठिन कार्य गर्नसक्छ। यसर्थ, एक सेकेण्डमा २४ वटा चित्रहरू निकाल्ने चलचित्रका चित्रहरू झ्यालिन्चालाई देखाएमा त्यसलाई ती गतिहीन तस्बिरजस्तो लाग्नेछ।
जीवनचक्रमा परिवर्तन
झ्यालिन्चाको प्रारम्भिक जीवनकाललाई विचार गर्दा यो पछि गएर त्यति आकर्षक ढंगमा र कौशलतासाथ उड्नसक्नेछ भनेर पत्यार गर्ने कुनै छनक पाइँदैन। अण्डाबाट निस्केपछि यसको जलचर लाब्रे पोखरी वा खोलाहुँदो अचल भई वा त्यति चलहल नगरी बस्छ र आफू बसेको ठाउँमा जे चारा भेट्छ, त्यही खान्छ। कति थरिका झ्यालिन्चाको लाब्रेले महिनौं वा वर्षौं लगाएर समेत धेरै चोटि काँचुली फेर्छ अनि पानी छेउछाउको घाँसहुँदो चढ्छ। त्यसपछि भने, अचम्मैसित रूप परिवर्तन हुन थाल्छ।
यसको घाँटीमुनिको छाला च्यातिन्छ अनि पूर्ण विकसित झ्यालिन्चा बाहिर निस्कन्छ। पुतलीलाई झैं भर्खरै निस्केको वयस्क झ्यालिन्चालाई पनि पखेटा फिंजाउँदै नयाँ जीवन सुरुआत गर्न केही घण्टा लाग्छ। केही दिनभित्रै यसको सहज-ज्ञानले यसलाई शिकार गर्न सिपालु र उड्नमा पोख्त बनाउँछ।
उड्दा उड्दै झिंगा र लामखुट्टे पक्रन जवान झ्यालिन्चा चाँडै खप्पिस हुन्छ। यसले आफ्नै ओजन बराबरको लामखुट्टे प्रत्येक दिन खाएर अमूल्य सेवा गर्छ। खानेकुराको आपूर्ति बन्द नहोस् भनेर थुप्रै भाले झ्यालिन्चाहरू स-साना क्षेत्रमा धाक जमाएर गस्ती लगाउँछन्।
केही प्रकारका झ्यालिन्चाले स-साना कीरा वा गोब्रे कीराको शिकार गर्छ अनि अरू कतिपयले चाहिं सानो खाले भ्यागुता पक्रेर खान्छ। उष्ण प्रदेशमा पाइने एक खाले ड्यामसेलफ्लाईले त माकुरासमेत खान्छ। यो ठूलठूला माकुराको जालोको छेउछाउमा ढुकेर बस्छ अनि ती ठूलो माकुराले छोडेको खानेकुराको टुक्राटाक्री खान आउने स-साना माकुराहरूलाई पक्रन्छ।
विकासवादलाई झूटो ठहऱ्याउने प्रमाण
सबैभन्दा पहिले उड्ने कीरामध्ये झ्यालिन्चा नै होलान् भनेर थुप्रै विकासवादी वैज्ञानिकहरू भन्छन्। फ्रान्समा एउटा जीवाशेष भेट्टाइयो र त्यो झ्यालिन्चाको ७५ सेन्टिमिटर फैलिएको पखेटाको छाप थियो! यो अहिलेसम्म थाह लागेको सबैभन्दा ठूलो कीरा हो र वर्तमान झ्यालिन्चाभन्दा तीन गुणा ठूलो छ।
आफैलाई सोधें, ‘मानिसले थाह पाएका सबैभन्दा जटिल उड्ने प्रक्रिया यति दुरुस्तसित विकास हुनु कसरी सम्भव छ र?’ विदेशी साम्राज्य—कीराहरूको जीवनबारे खोज (अंग्रेजी) पुस्तक स्वीकार्छ, “कीराहरूको त्यस्तो जीवाशेष अर्थात् पखेटा नभएको र भएको बीचको अवस्थाको जीवाशेष पाइएको छैन।” यसले प्रमाणित गर्छ कि झ्यालिन्चा महान् र बुद्धिमान् सृजनहारको हस्तकला हो।
झ्यालिन्चाले विश्वको कुनाकाप्चा सबैतिर बस्ती बसालेको छ। हिमाली ताल, भूमध्य क्षेत्रको दलदल वा शहरबाहिरको स्वीमिङ पुललाई समेत यसले आफ्नो बासस्थान बनाउँछ।
मैले अफ्रिकाको उष्ण कटिबन्द क्षेत्रको समुद्री तीरमा झ्यालिन्चाको ताँती र एक्ले सम्राट झ्यालिन्चा आफूलाई मन पर्ने युरोपीय पोखरीहुँदो गस्ती लगाइरहेको देखेको छु। अनि फिलिपिन्समा झारपातले झ्वाम्मै ढाकेको नदीको घाटी भएर डुंगा खियाउँदै यात्रा गर्दा प्रतिभाशाली ड्यामसेलफ्लाईहरू पनि मेरो पाखुरामा बसेर मसँगसँगै यात्रा गरे। यस्तो लाग्यो, ठूलो सम्मान गारतले झैं यिनीहरूले मेरो भव्य स्वागत गरिरहेका छन्।
झ्यालिन्चालाई पृथ्वीको सबैभन्दा जटिल उडानमध्ये लिन सकिन्छ। तर म भने झ्यालिन्चाको उड्ने कौशलताभन्दा पनि त्यसको भद्रचाल र सुन्दरतादेखि बढी मोहित भएको छु। त्यसले हाम्रो पोखरी र नदी किनारालाई झन् रमणीय बनाउँछ। ती वास्तवमा मणि नै हुन्। यस्तो मणि—जसलाई जुनै पनि बखत हेरेर रम्न सकिन्छ।
[फुटनोट]
a कहिलेकाहीं झ्यालिन्चाले पखेटालाई तलतिर ढल्काएर राख्छ र शरीर सूर्यतिर ठाडो पार्छ। त्यसको यो शरीर चिसो पार्ने आसन हो किनकि यसो गर्नाले शरीरको धेरैजसो भाग घामबाट छेकिन्छ।
[पृष्ठ १७-मा भएको चित्र]
पखेटा फिंजाएर बस्ने झ्यालिन्चा साधारणतया पखेटा शरीरमाथि ठाडो पारेर बस्ने ड्यामसेलफ्लाईभन्दा ठूलो हुन्छ