सिंगापुर—खोट परेको एसियाली मणि
क्लांग! यस्तो अनिष्टकर संकेत दिंदै स्त्रीहरू कैद गरिने सिंगापुरको चेंगी झ्यालखानाभित्र ७१ वर्षीया कमजोर मसीही स्त्रीलाई हुत्याएर स्टीलको ढोका लगाइयो। तिनी यहोवाकी साक्षी थिइन्। “म यस सरकारको लागि खतरा होइन” भन्दै तिनले प्रमुख न्यायाधीशसामु आफ्नो अडानबारे सफाई दिन खोजेकी थिइन्।
क्लांग! तिनको पछि ७२ वर्षीया मसीही स्त्रीलाई त्यसरी नै थुनियो र तिनी एक बज्यै थिइन्। तिनको दोष? पवित्र बाइबलको व्यक्तिगत प्रतिलगायत वाच टावर सोसाइटीका बाइबल आधारित चार प्रकाशनहरू तिनीसित हुनु नै तिनको दोष थियो।
सिंगापुरका १६ देखि ७२ वर्षबीचका जम्माजम्मी ६४ जना नागरिकहरूलाई गिरफ्तार गरियो र अभियुक्त ठहऱ्याइयो। तीमध्ये ४७ जनाले जरिमाना तिर्न मानेनन् र कसैलाई एक हप्ता त कसैलाई बढीमा चार हप्तासम्म थुनियो। विश्वभरिमा बस्न लायकको सबैभन्दा उत्कृष्ट ठाउँ मानिएको यस नगर-राज्यमा यी सब कसरी हुनसक्छ? आर्थिक स्थिरता, उल्लेखनीय विकास र आधुनिक भवनहरूका लागि विश्वभरि प्रसिद्ध र धार्मिक सहिष्णुताको ढोल पिट्ने यो नगर-राज्यमा यस्तो काण्ड कसरी मच्चिनसक्छ?
आधुनिक नगर-राज्य
प्रथमतः यसको छोटो इतिहासलाई केलाऔं। सिंगापुरको आधुनिक इतिहास सन् १८१९ मा बेलाइती सर थोमस स्टाम्फर्ड ऱ्याफल्ज त्यहाँ पुगेपछि सुरु भएको थियो। इष्ट इण्डिया कम्पनीका प्रतिनिधि, ऱ्याफल्जले पूर्वी देशहरूमा कार्य परिचालन गर्ने केन्द्र खोजिरहेका थिए। त्यसको लागि सिंगापुर नै तिनलाई उपयुक्त लाग्यो। त्यसरी सिंगापुरले व्यापार केन्द्रको रूपमा अहिलेसम्म पनि पूर्वी एसियाको विकासमा प्रभाव पारेको छ।
सिंगापुरले स्वतन्त्रता पाउनुअघि यसलाई लथालिंगे शहर भनेर चिनिन्थ्यो। आज कसैले पनि सिंगापुरलाई त्यस्तो संज्ञा नदेलान्। बरु, यसको अवस्था ठीक विपरीत भएको छ। गत ३० वर्षभित्र यस शहरको प्रायः पूरै रूपरंग बदलिसकेको छ। सम्भव भएसम्म पुराना भवनहरूको अगाडिपट्टि रंग लगाएर ऐतिहासिक ढाँचाका भवनहरूलाई आधुनिक ढाँचामा ढालिंदैछ। सिंगापुर पूर्वी संसारमा समुद्री ट्राफिकको पार हुने ठाउँ भएको छ। यहाँको बन्दरगाहमा प्रायजसो एकै चोटि ८०० जति जहाजहरू थुप्रिन्छन्। आधुनिक उच्च प्राविधिक उपकरणको प्रयोगले बडे बडेमानका मालवाहक जहाजहरूमा घण्टाभरमै सामानहरू निकाल्न र राख्न सकिने व्यवस्था छ। यस शहरको वित्तीय निकायले घडेरीको मूल्य तोकेअनुसार प्रति वर्ग फिटको लागि ५,००० अमेरिकी डलर वा त्योभन्दा बढी लिन्छ।
त्यहाँ चिनियाँ, माले, भारतीय, युरोपेली र अरू मानिसहरू गरी करिब ३४,००,००० मानिसहरू बसोबास गर्छन्। त्यहाँ बोलिने भाषामध्ये केही हुन्—म्यानडरिन, माले, तामिल र अंग्रेजी।
त्रियासी किलोमिटर चौडा सडक र सबवेको व्यवस्था भएको सिंगापुरमा द्रुत यातायात सेवा उपलब्ध छ। यस्तो व्यवस्थाले सिंगापुरलाई संसारकै सबैभन्दा अत्याधुनिक र अत्युत्तम यातायात प्रणाली भएको देश भनेर चिनाएको छ। आधुनिक गगनचुम्बी भवनका दृश्यहरूलाई माथ गर्ने हरियाली पार्कहरू शहरभरि जताततै छन्। पर्यटकहरूलाई “सुरुमै आकर्षित पार्ने” कुरा हो, झलमल्ल जग्मगिरहेको ऱ्याफल्ज होटेल। यो १८८९ मा बनिएको हुनाले यसलाई अहिले राष्ट्रिय स्मारक घोषित गरिएको छ। दोस्रोमा आउँछ, १२८ एकड जमीन ओगटेको बोटानिकल र कृषिउद्यान केन्द्र। यसको दश एकड चाहिं संरक्षित जंगल पर्छ, जहाँ कुनै समय बाघहरू गर्जन्थे।
धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिइटोपलेको
सिंगापुरले असाधारण आर्थिक उन्नतिको पूरकको रूपमा सबै नागरिकहरूलाई धार्मिक स्वतन्त्रताको वचन दिन्छ। दुःखको कुरा, सिंगापुरले यो वचन पूरा गरेको छैन। विशेषगरि यहोवाका साक्षीहरूको मण्डलीसित संगत गर्ने मानिसहरूले यो कुरा महसुस गरे।
संघीय सिंगापुरको संविधान, धारा १५(१) मा स्वतन्त्र भई उपासना गर्ने मौलिक स्वतन्त्रताको ग्यारेन्टी दिइएको छ: “आफ्नो धर्म खुल्लमखुल्ला स्वीकार्ने, मान्ने र प्रचारप्रसार गर्ने अधिकार प्रत्येक व्यक्तिलाई छ।”
संविधानको धारा १५(३) ले यस्तो ग्यारेन्टी दिन्छ: “प्रत्येक धार्मिक समूहलाई निम्न अधिकारहरू छन्—
(क) आफ्नो धार्मिक क्रियाकलापको प्रबन्ध गर्ने;
(ख) धार्मिक वा परोपकारी लक्ष्य लिएर संस्थाहरू स्थापना गर्ने वा चलाउने; अनि
(ग) सम्पत्ति हासिल गर्ने र नियममुताबिक त्यसको सदुपयोग गर्ने।”
सन् १९३६ देखि नै यहोवाका साक्षीहरू सिंगापुरमा रहँदै आएका थिए। धेरै वर्षसम्म तिनीहरूले व्यस्त बजारको ठीक अघिल्तिर ८ एक्जिटर रोडमा अवस्थित तिनीहरूको राज्यभवनमा नियमित सभाहरू सञ्चालन गर्थे। मण्डली फल्दैफुल्दै गयो र त्यसको साथसाथै त्यहाँको सामुदायिक जनजीवनलाई बलियो पार्नमा अनुपम योगदान पनि ती मण्डलीले दिंदै आयो।
यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध
जनवरी १२, १९७२ मा प्रतिबन्ध लगाइँदा अवस्था पहिलेजस्तो रहेन। सरकारी निर्वासन ऐन अध्याय १०९ अनुसार २३ वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका मसीही मिसनरी नोर्मन डेविड बेलोटी र तिनकी पत्नी, ग्लाडिसलाई देश निकाला गर्ने आदेश पारित गरियो। यो घटनाको तत्कालै पछि सिंगापुरमा यहोवाका साक्षीहरूको मण्डलीको आधिकारिक दर्ता रद्द गरियो। घण्टाभरमै प्रहरीहरूले राज्यभवनको मूल ढोका फोरे अनि भित्र पसेर राज्यभवन जफत गरे। त्यसको तुरुन्तैपछि वाच टावर सोसाइटीका सम्पूर्ण साहित्यमाथि सरकारी प्रतिबन्ध लगाइयो। यसरी यहोवाका साक्षीहरूमाथि दमन सुरु भयो।
आखिर सरकारले कुनै सूचना नदिई, अदालती कारबाही र पुर्पक्ष नगरी राज्यभवनलाई मनोमानी बेच्यो।
यहोवाका साक्षीहरू सैन्य सेवामा सहभागी नहुनु नै तिनीहरूमाथि प्रतिबन्ध लगाउनुको कानुनी कारण हो भनेर सिंगापुर सरकारले बारम्बार भन्दै आएको छ। भर्खरै डिसेम्बर २९, १९९५ तिर जेनेभास्थित संयुक्त राष्ट्रको लागि सिंगापुरका स्थायी प्रतिनिधि श्री. के. कासोभोपोनीले संयुक्त राष्ट्र संघ मानव अधिकारको सहायक प्रमुख सचिव इब्राहीम फाललाई लेखेको पत्रमा यस्तो उल्लेख गरिएको थियो:
“मेरो सरकारले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नै यहोवाका साक्षीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाएको हो। तिनीहरूको गतिविधि चलिरहेमा सिंगापुरको जनकल्याण र सुव्यवस्थामा हानि पुग्नेछ। यहोवाका साक्षीहरूको आधिकारिक दर्ता रद्द गर्दा तिनीहरूका सबै प्रकाशनमाथि पनि प्रतिबन्ध लाग्नु स्वाभाविक हो। यसो गर्नाले तिनीहरूको गतिविधिमाथि कडिकडाउसाथ प्रतिबन्ध लगाउन तथा विश्वास प्रचारप्रसारमा रोक लगाउन टेवा पुग्छ।”
सरकारले सिंगापुरको राष्ट्रिय सुरक्षाको खतराप्रति देखाएको प्रतिवादलाई ध्यानमा राख्दा वर्षेनी लगभग पाँच युवाहरूले सैन्य सेवा अस्वीकार गर्छन् भन्ने तथ्यलाई पनि भुल्नु हुँदैन। सिंगापुरको सैनिक संख्या ३,००,००० छ। ती मुठीभर मानिसहरूका लागि सिंगापुर सरकारले निजामती राष्ट्रिय सेवा दिन समेत अस्वीकार गरेको छ।
खुल्लमखुल्ला दमन
निकै वर्षदेखि कुनै न कुनै प्रकारको दुःख दिइँदै आइएको थियो तर १९९२ मा आपत्तिजनक प्रकाशन ऐनअन्तर्गत प्रतिबन्धित साहित्य राख्ने थुप्रै मानिसहरूलाई दोषी ठहऱ्याई गिरफ्तार गरिंदा मानव अधिकारकै खुल्लमखुल्ला हनन भयो। सन् १९९४ मा वाच टावर सोसाइटीले ७५ वर्षीय क्वीन्स काउन्सल, ग्लेन हाउलाई सिंगापुरमा पठायो। तिनी आजीवन यहोवाका साक्षी हुनुका साथै वकिल थिए। तिनी क्विन्स काउन्सल हुनाले सिंगापुर अदालतमा वकालत गर्ने स्वीकृति पाए। संविधानमा उल्लिखित धार्मिक स्वतन्त्रताको ग्यारेन्टीलाई ध्यानमा राख्दै सिंगापुरको उच्च अदालतमा अपील पेश गरियो र त्यसमा गिरफ्तारी अनि १९७२ मा लगाइएको प्रतिबन्धबारे प्रश्न समावेश थियो। अगस्त ८, १९९४ मा सिंगापुर उच्च अदालतका प्रधानन्यायाधीश योंग पंग हाउले त्यस अपीललाई खारेज गरिदिए। पुनः अपील गर्ने प्रयास पनि विफल भयो।
सिंगापुरको संविधानमा आधारित कानुनी चुनौतीले १९९५ को प्रारम्भसम्ममा झन् दबाब निम्ताएको जस्तो देखियो। अपरेशन होप भनिने सैनिक तरिकाको कारबाहीअनुसार अपराध जाँचबुझ आयोग गोप्य संस्था शाखाका गुप्तचर अधिकारीहरूले निजी घरहरूमा भइरहेका स-साना मसीही सभाहरूमा छापा मारे। करिब ७० जना अधिकारी र तिनीहरूका कर्मचारीहरूले कमाण्डो तरिका अपनाएर छापा मारे र ६९ व्यक्तिलाई गिरफ्तार गरे। सबैलाई सोधपूछ केन्द्रमा लगियो। कतिपयलाई त रातभरि केरकार गरियो अनि सबैलाई यहोवाका साक्षीहरूको सभामा उपस्थित भएको र बाइबल प्रकाशनहरू राखेको आरोप लगाइयो। तिनीहरूमध्ये कति जनालाई त १८ घण्टासम्म नजरबन्द गरियो र तिनीहरूलाई आफ्नो परिवारसित टेलिफोनमा कुरा गर्न समेत दिइएन।
विदेशीहरूमाथि लगाइएको अभियोग फिर्ता लिइयो। तर सिंगापुरका ६४ जना नागरिकहरूलाई १९९५ को अन्त र १९९६ को प्रारम्भतिर अदालतमा सोधपूछ गरियो। ती ६४ जना नै दोषी ठहरिए। सोह्रदेखि ७२ वर्षबीचका ४७ जनाले हजारौं डलरको जरिमाना तिरेनन् र कसैलाई एक हप्ता त कसैलाई बढीमा चार हप्तासम्म थुनियो।
ती पुरुष तथा स्त्रीहरूलाई झ्यालखानामा हाल्नअघि थुप्रै मानिसको अघि पूर्णतया नांगो बनाएर खानतलाश लिइयो। केही स्त्रीहरूलाई हात फैलाउन लगाइयो, पाँच पटक टुक्रुक्क बसाएर मुख खोल्न र जिब्रो उचाल्न लगाइयो। एक स्त्रीलाई त आफ्नो औंलाले मलद्वार खोल्न लगाइयो। झ्यालखानामा कति पुरुषहरूले चर्पीमा राखेको लोटामा पानी थापेर खानुपऱ्यो। कति जवान स्त्रीहरूलाई खतरनाक अपराधीहरूलाई झैं व्यवहार गरियो। तिनीहरूलाई झ्यालखानामा एक्लै एक्लै राखियो र आधा पेट मात्र खान दिइयो। झ्यालखानाका कतिपय पालेहरूले साक्षीहरूलाई बाइबलसमेत राख्न दिएनन्।
अब कैदमा परेका ती स्त्रीहरूको मुखबाट केही टीकाटिप्पणीहरू सुनौं। तिनीहरूको प्रत्यक्ष प्रतिवेदनहरू यस आधुनिक शहरको बाहिरी स्वच्छ रूपसित पटक्कै मेल नखाएको प्रस्ट हुन्छ।
“झ्यालखाना हेरी नसक्नु फोहर थियो। हातमुख धुने बेसिन र चर्पी घीनलाग्दो थियो। ती चिप्ला र फोहर थिए। म बसेको मेचमुनि माकुराको जालो र कसिंगर थुप्रिएको थियो।”
“मलाई सबै लुगा खोल्न लगाइयो अनि एक जोर कैदी लुगा, साबुन राख्ने बट्टा (साबुन नभएको) र दाँत माझ्ने बुरुस दिइयो। त्यहाँका अरू कैदीहरूले बताएअनुसार छोटो अवधिका कैदीहरूले टूथपेस्ट वा टोइलेट पेपर पाउँदैन थिए।”
“झ्यालखानाको एउटै कोठामा हामी २० जना बस्थ्यौं। चर्पी टुक्रुक्क बस्नुपर्ने खालको र भित्ता मेरो कम्मरको उचाइसम्म मात्र थियो। बाथरूममा नुहाउनको लागि एउटा मात्र धारा र हातमुख धुने बेसिनमा पनि एउटा मात्र धारा थियो। हामीले बिहान आधा घण्टाभित्र एक पटकमा छ छ जना गरेर नुहाइसक्नुपर्थ्यो।”
कैदमा यस्तो पीडादायी यातना भोग्नुपरे तापनि यी सबैले जहिलेसुकै, जहाँसुकै र जस्तोसुकै परिस्थितिमा परमेश्वरको सेवा गर्नुलाई नै सुअवसर ठाने। एक किशोरीको निम्न टिप्पणीलाई ध्यान दिनुहोस्:
“झ्यालखानाभित्र छिरेदेखि नै मैले आफू कैद पर्नुको कारण भुलिनँ। मेरो पुकारा सुन्नुहोस् र नत्याग्नुहोस् भन्दै म हर दिन यहोवालाई प्रार्थना गर्थें। उहाँले मेरो पुकारा सुन्नुभएको अनुभव गरें किनकि उहाँकै पवित्र आत्माको मदतद्वारा सहन सकें। त्यसपछि मात्र मैले आफू उहाँसित घनिष्ठ भएको महसुस गरें अनि उहाँले हाम्रो देखभाल गर्नुहुन्छ भन्ने बुझेर साँच्चै बल पाएको अनुभव गरें। उहाँको नाउँको खातिर यस परीक्षा भोग्नु परेकोमा म खुशी नै छु।”
विश्वभरिका समाचारपत्रहरूले यो घटनाको सुइँको पाए। अस्ट्रेलिया, क्यानाडा, युरोप, हङकङ, मलेशिया, संयुक्त राज्य तथा अरू देशका समाचारपत्रहरूले यो घटनाबारे प्रचारप्रसार गरे अनि गरिरहे। क्यानाडाको द टोरोन्टो स्टार-ले त्यस आक्रोशपूर्ण घटनाबारे बताउँदै शीर्षकमै लेख्यो, “बाइबल राखेको कारण बज्यै अपराधी ठहरिन्।” हो, संसारमा थुप्रै मानिसहरूलाई अनेकौं गम्भीर समस्याहरू आइपरेका छन् तर यस घटनाबारे जहींतहींका मानिसहरू आश्चर्यचकित भएका छन् र एउटै प्रश्न सोध्छन्, “के सिंगापुरजस्तो ठाउँमा यस्तो भएको?”
लगभग २०० भन्दा बढी मुलुकमा पूर्णतया कानुनी संरक्षण पाएर खुल्लमखुल्ला सञ्चालन भइरहेको धर्मलाई सिंगापुरले मात्र किन आँखाको कसिंगार ठानेको हो, बुझ्न सकिएको छैन। अझै छक्कलाग्दो कुरा त के हो भने, सिंगापुरमा अरू कुनै पनि धर्ममाथि यस्तो अनुचित र निरंकुश व्यवहार गरिएको थाह छैन।
हो, यहोवाका साक्षीहरूलाई छापा मार्न नेतृत्व गर्ने प्रहरी सहायक सुपरिवेक्षकले स्वीकारेअनुसार धार्मिक सभाहरूमा दखल पुऱ्याउन तिनीहरूलाई आज्ञा दिइएको यो पहिलो चोटि हो। प्रस्तुत छ, बकपत्रका केही उद्धरणहरू:
प्र: (गवाहीलाई) तपाईंलाई थाह भएसम्म यहोवाका साक्षीहरूबाहेक दर्ता नगरिएका कुनै पनि धार्मिक समूहलाई गोप्य संस्था शाखाले सोधपूछ गरेको र सताएको छ?
उ: मलाई थाह भएसम्म यस्तो भएको छैन।
त्यसपछि अर्को प्रश्न सोधियो।
प्र: (गवाहीलाई) संस्थाको ऐनअन्तर्गत दर्ता नगरिएका धार्मिक समूहहरूले निजी घरमा सभा गर्दा के तपाईंले त्यस्तै प्रकारले कहिल्यै छापा मार्नुभएको छ?
उ: छैन।
निवेदन
ती मुद्दाहरूको वस्तुस्थिति बुझ्न एमनेस्टी इन्टरनेशनल तथा इन्टरनेशनल बार एसोसिएशनले एक एक जना विशेष अवलोकनकर्ता पठायो। एमनेस्टी इन्टरनेशनलका निष्पक्ष अवलोकनकर्ता तथा हङकङका ब्यारिस्टर, एन्ड्रु ऱ्याफलले यसो भने: “यो मुद्दाका आरोपहरू सही नभई बँग्याइएको थियो भनेर मैले रिपोर्टमा लेखें।” तिनले अझ भने, सरकारी अधिकारीहरूले यहोवाका साक्षीहरूको साहित्य आपत्तिजनक छन् भनेर साबित गर्न पेश गरेका प्रमाणहरूले तिनीहरूको दाबीलाई सत्यमा बदल्न सकेनन्। ऱ्याफलले आनन्द—यसलाई कसरी प्राप्त गर्ने र तपाईंको युवावस्थाको सर्वोत्तम लाभ उठाउने (अंग्रेजी) लगायत अरू प्रतिबन्धित बाइबल प्रकाशनहरूको सूची उल्लेख गरे। ती प्रकाशनहरूलाई कुनै पनि हालतमा आपत्तिजनक भन्न नसकिने बेहोरा पनि तिनले अवगत गराए।
इन्टरनेशनल बार एसोसिएशनका अवलोकनकर्ता, सेसिल राजेन्द्रले यसो भने:
“यी सम्पूर्ण मुद्दाहरू सिंगापुर प्रजातान्त्रिक देश हो भनेर संसारलाई देखाउनको लागि रचिएको हाँसउठ्दो नाटक सिवाय अरू केही होइन भन्ने तथ्य मैले सुरुदेखि नै स्पष्ट बुझिसकेको थिएँ।
“त्यसको नतिजा पहिले नै थाह थियो। पुर्पक्षअघि, पुर्पक्षको दौडान र पुर्पक्षको अन्तमा सबै अभियुक्तलाई दोषी ठहराइनेछ भन्ने कुरामा शंकै थिएन।
“त्यो मुद्दा निम्न अदालतमा गरिएको र संस्था ऐनलाई उल्लंघन गरिएको सामान्य अभियोग भए तापनि अदालतको वातावरण त्रासपूर्ण थियो।
“वातावरण त्यस्तो त्रासपूर्ण पनि किन नहोस्, त्यहाँ युनिफर्म लगाएका १० जनाभन्दा बढी (अदालतकक्षभित्र ६ जना र बाहिर ४ जना) प्रहरीहरू त थिए नै, त्यसबाहेक गोप्य संस्था शाखाका विशेष प्रतिनिधिहरू साधारण पोशाकमा तैनाथ थिए।”
पुर्पक्ष गरिएको ढंगबारे टिप्पणी गर्दै राजेन्द्रले यसो भने:
“अवलोकनको क्रममा (साथै बकपत्रले पुष्टि गरेअनुसार पुर्पक्ष चलिरहेको सम्पूर्ण अवधिभरि नै) उक्त न्यायाधीशको व्यवहारले राम्ररी मुद्दाको टुंगो लगाउन बाधा पुऱ्यायो। . . . निष्पक्ष पुर्पक्ष गर्नुको साटो ती न्यायाधीशले बारम्बार साक्षी पक्षको वकिललाई बोल्ने मौकै नदिई सरकारी वकिलको पक्ष लिए। अनि किङ जेम्स भर्सन बाइबलको एउटा प्रति सबैलाई देखाउँदै यस्ता प्रतिबन्धित प्रकाशनहरू राखेकोले नै यहोवाका साक्षीहरू दोषी ठहर भएको बेहोरा उल्लेख गरे।”
सिंगापुरमा भएको मानव अधिकारको हनन अन्तरराष्ट्रिय स्तरमा गम्भीर चिन्ताको विषय बनेको छ। त्यसको परिणामस्वरूप, बेल्जियमबाट प्रकाशित हुने सीमाबिनाको मानव अधिकार (अंग्रेजी) शीर्षक पत्रिकामा १८ पृष्ठे लामो प्रतिवेदन प्रकाशित भयो। पूरै प्रतिवेदनमा सिंगापुर सरकारले यहोवाका साक्षीहरूमाथि गरेको आक्रमणबारे बताइएको छ। यस पत्रिकाको सम्पादकीयमा प्रधानसम्पादक भिली फोट्रेले राजनैतिक राज्यमा हुनुपर्ने वास्तविक मानव स्वतन्त्रताको स्पष्ट परिभाषा यसरी दिए:
“कुनै पनि समाजमा मानव स्वतन्त्रता कत्तिको परिचालन भएको छ भनेर छर्लंगै देखिने माध्यम नै धार्मिक स्वतन्त्रता हो। तैपनि, मानव अधिकारसम्बन्धी एकदमै कम्ती संगठनहरूले मात्र धर्म वा मतमा आधारित त्यस्तो मतभेद तथा असहिष्णुतालाई हटाउने कदम चालेका छन् या धार्मिक स्वतन्त्रतालाई बचाउने र उत्प्रेरित गर्ने नीति बनाएका छन्।”
सीमारहित मानव अधिकार-को प्रतिवेदनले पछिल्लो पृष्ठमा मोटो अक्षरमा दर्खास्तहरूको सूची प्रकाशित गरेको छ।
यहोवाका साक्षीहरू सिंगापुरको लागि हितकर मानिसहरू हुन्। तिनीहरू आफ्ना छिमेकीहरूको अधिकारको कदर गर्छन् र छिमेकीहरू विरुद्ध कुनै अपराध गर्दैनन्। यहोवाका साक्षीहरूले घर फोर्लान्, लुटपाट मच्चाउलान्, कुटपिट गर्लान् वा बलात्कार गर्लान् भनेर सिंगापुरका नागरिकहरू डराउनै पर्दैन।
तिनीहरूको स्वैच्छिक जनसेवकाईले पारिवारिक जीवनलाई बलियो बनाउनुका साथै सुधार्छ अनि असल नागरिक बन्न टेवा पुऱ्याउँछ। बाइबलका उत्थानदायी सिद्धान्तहरू सिकेर आफ्नो जीवनमा उतार्न चाहने कुनै पनि व्यक्तिसित तिनीहरू निश्शुल्क बाइबल अध्ययन गर्छन्। बाइबल अध्ययन सभाहरू र प्रार्थना तिनीहरूको मसीही शिक्षाको भाग हुन्। यसले तिनीहरूलाई असल नागरिक हुन मदत दिएको छ।
आफ्नो संघीय देशको कदर गर्ने र त्यसको उज्ज्वल भविष्य हेर्न चाहने सिंगापुरका नागरिकहरूले सिंगापुरमा यहोवाका साक्षीहरूले मान्यता पाउनुपर्ने तथ्यमाथि पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुपर्ने हो। तिनीहरूमाथिको प्रतिबन्ध हटाएर प्रत्येक नागरिकले पाउनुपर्ने स्वतन्त्रता अर्थात् उपासना गर्ने स्वतन्त्रता तिनीहरूलाई उपभोग गर्न दिनुपर्ने समय अहिल्यै हो।
[पृष्ठ २४-मा भएको पेटी]
विश्वको नजरबाट लुक्न सकेन
१. “सिंगापुर प्रहरीले सैन्य तरिकामा पुरुष, स्त्री र किशोरकिशोरी गरी जम्माजम्मी ६९ जनालाई गिरफ्तार गरेर प्रहरी मुख्यालयमा सोधपूछको लागि लगे। बाइबल अध्ययन सभाहरू विसर्जन गर्ने यो तरिका ठीक होइन।”—दि ओटावा सिटिजन, क्यानाडा, डिसेम्बर २८, १९९५, पृष्ठ ए१०.
२. “यी निर्दोष र अहानिकारक मानिसहरूप्रतिको आफ्नो अडानलाई सिंगापुर सरकारले संशोधन गरेमा अनि तिनीहरूलाई आफ्नो विश्वास कुनै डर वा रोकटोकबिना मान्न तथा प्रचार गर्न दिएमा धार्मिक स्वतन्त्रता र अन्तस्करणको स्वतन्त्रताप्रति चासो राख्ने सम्पूर्ण मानिसहरूका लागि यो साँच्चै सन्तुष्टिको स्रोत हुनेथियो।”—प्राध्यापक ब्रायन आर. विल्सन, युनिभर्सिटी अफ अक्सफर्ड, इंग्ल्याण्ड।
३. “विश्वभरिका निजामती मुक्ति मण्डलहरूले विरोध जनाउँदा जनाउँदै पनि सिंगापुर अदालतले गत नोभेम्बरदेखि एकपछि अर्को गर्दै पुर्पक्षको क्रममा यहोवाका ६३ साक्षीहरूलाई कैदी बनायो।”—आसाही इभनिंग न्युज, जापान १९, १९९६, पृष्ठ ३.
४. “यहोवाका साक्षीहरूलाई गिरफ्तारी वा कैदको कुनै डरबिना धार्मिक जमघट गर्न र धर्म मान्न दिइनुपर्छ। धार्मिक स्वतन्त्रता सिंगापुरको संविधानले ग्यारेन्टी दिएको मौलिक अधिकार हो।”—एमनेस्टी इन्टरनेशनल, नोभेम्बर २२, १९९५.
५. हङकङ क्याथोलिक डायोसिजको न्याय तथा शान्ति आयोगका अध्यक्ष चेन सियु-चिङले जून १, १९९५ मा मुख्य मन्त्री, ली क्वान युलाई प्रधानमन्त्रीको कार्यालयमा लेखेको पत्र यस्तो थियो: “सिंगापुर सरकारले सैन्य सेवामा भाग नलिनेहरूलाई नियम उल्लंघन गरेको अभियोगमा दोषी ठहऱ्याए पनि सैन्य सेवाको लागि योग्य नभएका अरू सदस्यहरूलाई धार्मिक जमघट गर्न छुट दिनुपर्ने हो। . . .
“तसर्थ, हामी तपाईंको सरकारलाई निम्न बुँदाहरू कार्यान्वयन गर्न अनुरोध गर्छौं:
१. यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध नलगाइयोस्। तिनीहरूले उपासना र अन्तस्करणको स्वतन्त्रता पाउन सकून्;
२. धार्मिक उद्देश्यको लागि मात्र जमघट गर्ने यहोवाका साक्षीहरूका सदस्यहरूमाथि अभियोग लगाउन बन्द गरियोस्।
३. केवल धार्मिक गतिविधिमा संलग्न भएको अभियोगमा हालै गिरफ्तार गरिएका यहोवा[का] साक्षीहरूलाई रिहाइ गरियोस्।”
[पृष्ठ २१-मा भएको चित्र]
अभियोग लगाएपछि अदालतमा यहोवाका साक्षीहरू
[पृष्ठ २१-मा भएको चित्र]
यी ७१ वर्षीया साक्षीले न्यायाधीशलाई भनिन्: “म यस सरकारको लागि खतरा होइन।” तैपनि, तिनलाई थुनामा हालियो