अध्ययनका लागि सुझाव
उत्थानदायी टिप्पणीहरू तयारी गर्नुहोस्
सभामा हामी टिप्पणी दिने मौका पाउँछौँ। टिप्पणीहरूद्वारा हामी भाइबहिनीलाई प्रोत्साहन दिन सक्छौँ। (हिब्रू १०:२४, २५) त्यसोभए हामी कसरी अरूको उत्थान हुने टिप्पणीहरू तयारी गर्न सक्छौँ?
यहोवालाई प्रार्थना गर्नुहोस्। यहोवाको आदर हुने र अरूलाई प्रोत्साहन मिल्ने किसिमको टिप्पणी तयारी गर्न उहाँसित मदत माग्नुहोस्।—भज. ३५:१८.
प्रकाशनबाट सरसरती पढ्ने मात्र नगर्नुहोस्। आफ्नै शब्दमा टिप्पणी दिनुभयो भने तपाईँले आफ्नो विश्वास व्यक्त गर्न सक्नुहुन्छ। यसबाट अरूले पनि लाभ उठाउँछन्।
छोटो टिप्पणी दिनुहोस्। प्रायजसो सरल र छोटो टिप्पणी नै प्रोत्साहनदायी हुन्छ अनि धेरैले टिप्पणी दिने मौका पाउँछन्।—हितो. १०:१९.
आफ्नो टिप्पणीलाई सकारात्मक बनाउनुहोस्। टिप्पणी दिँदा भाइबहिनीलाई सल्लाह दिने वा तिनीहरूको आलोचना गर्ने नगर्नुहोस्।
टिप्पणी दिने मौका नपाए पनि तपाईँ अरूको उत्थान गर्न सक्नुहुन्छ। अरूको टिप्पणी ध्यान दिएर सुन्नुहोस् र त्यसको लागि तिनीहरूको प्रशंसा गर्नुहोस्।—हितो. १०:२१.