दृष्टिविहीनहरूको लागि मदत
आज विश्वभरि ४ करोड ३० लाख दृष्टिविहीन मानिसहरू छन् भने २९ करोड ५० लाख कमजोर दृष्टि भएका मानिसहरू छन्।a दुःखको कुरा, यस्ता व्यक्तिहरू अन्याय र दुर्व्यवहारको सिकार भएका छन्।
दृष्टिविहीन मानिसहरू देख्दा ईश्वर कस्तो महसुस गर्नुहुन्छ? तिनीहरूबारे बाइबल के भन्छ? यहोवाका साक्षीहरूले आज तिनीहरूलाई कसरी मदत गर्दै छन्?
दृष्टिविहीन मानिसहरू देख्दा ईश्वर कस्तो महसुस गर्नुहुन्छ?
यहोवाb दृष्टिविहीन मानिसहरूप्रति गहिरो चासो राख्नुहुन्छ भनेर बाइबल बताउँछ। अरूले तिनीहरूलाई निष्पक्ष व्यवहार गरेको उहाँ चाहनुहुन्छ। साथै दृष्टिविहीन मानिसहरूले उहाँले दिनुहुने शिक्षाबाट लाभ उठाएको पनि चाहनुहुन्छ। त्यति मात्र होइन, उहाँले तिनीहरूलाई भविष्यको उज्ज्वल आशा पनि दिनुभएको छ।
बाइबल पद: “अन्धालाई उल्टो बाटोतिर पठाइदिने मानिस श्रापित होस्।”—व्यवस्था २७:१८.
अर्थ: पुरातन समयमा परमेश्वरले आफ्ना मानिसहरूलाई दिनुभएको नियमले दृष्टिविहीन मानिसहरूलाई दुर्व्यवहारको सिकार हुनबाट जोगाउँथ्यो।
बाइबल पद: “परमेश्वर पक्षपाती हुनुहुन्न।”—प्रेषित १०:३४.
अर्थ: परमेश्वरले दृष्टिविहीनहरूलाई देख्न सक्ने मानिसहरूलाई जत्तिकै बहुमूल्य ठान्नुहुन्छ।
बाइबल पद: येसुले “थुप्रै अन्धालाई पनि दृष्टि दिनुभयो।”—लुका ७:२१.
अर्थ: येसुले पृथ्वीमा हुनुहुँदा केही मानिसहरूको दृष्टि फर्काउनुभएर भविष्यमा परमेश्वरको राज्यले के गर्नेछ भनी देखाउनुभयो।
बाइबल पद: “अन्धाहरूका आँखा खोलिनेछन्।”—यसैया ३५:५.
अर्थ: अब चाँडै यहोवा परमेश्वरको राज्यले पृथ्वीमा शासन गर्न थालेपछि दृष्टिविहीनहरूले फेरि देख्न सक्नेछन् भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ।
यहोवाका साक्षीहरूले दृष्टिविहीनहरूलाई कसरी मदत गर्दै छन्?
हामी यहोवाका साक्षीहरू परमेश्वरले दिनुहुने आशाको सन्देश विश्वभरिका दृष्टिविहीनहरूसम्म पुऱ्याउन यथासक्दो गरिरहेका छौँ। कसरी?
हामी बाइबल, बाइबलआधारित प्रकाशनहरू र भिडियोहरू दृष्टिविहीन र कमजोर दृष्टि भएकाहरूले लाभ उठाउन सक्ने फर्म्याटहरूमा प्रकाशित गर्छौ, जसमा ब्रेल, ठूलो अक्षरमा छापिएका प्रकाशनहरू र अडियो समावेश छन
नियमित रूपमा हुने हाम्रा सभाहरूमा दृष्टिविहीनलगायत सबैलाई स्वागत गरिन्छ।
कोही एक जना यहोवाको साक्षीसित व्यक्तिगत रूपमै भेटेर बाइबल अध्ययन गर्न हामी सबैलाई आग्रह गर्छौँ।c
यी सबै कुराको लागि कुनै शुल्क लाग्दैन। किन? किनभने येसुले यस्तो आज्ञा दिनुभयो: “तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।”—मत्ति १०:८.
यहोवाका साक्षीहरू दृष्टिविहीनहरूप्रति निष्कपट चासो राख्छन्। हामीसँगै परमेश्वरको उपासना गर्न चाहनेहरूले असल र मदतकारी साथीहरू पाउन सक्छन्। केही दृष्टिविहीन यहोवाका साक्षीहरूको अनुभव विचार गरौँ।
स्वीडेनकी तलिता अलनाशीको दृष्टि जन्मैदेखि कमजोर छ। आमाबुबाले उनलाई बाइबलको कुरा कसरी सिकाए अनि उनी र उनको परिवारले साथीहरूबाट कसरी माया र साथ पाए, थाह पाउनुहोस्।
अमेरिकाका जेम्स रायन जन्मैदेखि बहिरा थिए र पछि दृष्टिविहीन पनि भए। तिनको जीवन कसरी अर्थपूर्ण भएको छ, थाह पाउनुहोस्।
फिलिपिन्सकी सिन्थिया पाब्लो सुन्न र देख्न सक्दिनन्। कोभिड-१९ महामारीको दौडान सङ्गी उपासकहरूले उनलाई कसरी मदत गरे? यसबारे थाह पाउन “महामारीको दौडान बहिरा र दृष्टिविहीन बहिनीले मण्डलीको साथ पाइन्” भन्ने लेख पढ्नुहोस्।
हामी बाइबल अध्ययनको लागि के-कस्ता सामग्री उपलब्ध गराउँछौँ?
ब्रेल प्रकाशनहरू। हामी विभिन्न भाषाका पूरै र आंशिक बाइबल ब्रेल लिपिमा प्रकाशित गर्छौँ। (ब्रेल लिपिका बाइबल कुन-कुन भाषामा उपलब्ध छन् भनेर थाह पाउन “ब्रेल लिपिमा बाइबलको नयाँ संसार अनुवाद” भन्ने पेटी हेर्नुहोस्।) हामी बाइबलआधारित अरू थुप्रै प्रकाशनहरू पनि ब्रेल लिपिमा प्रकाशित गर्छौँ। हामीले ब्रेल सिक्न चाहनेहरूको लागि ब्रेल पढ्न सिक्नुहोस् नामको अभ्यास पुस्तिका प्रकाशित गरेका छौँ। देख्न सक्ने व्यक्तिले यो प्रकाशन प्रयोग गरेर दृष्टिविहीन व्यक्तिलाई ब्रेल सिक्न मदत दिन सक्छन्।
छापिएको ब्रेल प्रकाशनहरू पाउनको लागि कोही एक जना यहोवाको साक्षीसित कुरा गर्नुहोस् वा तपाईँकहाँ भेट्न आउन अनुरोध गर्नुहोस्।
jw.org बाट नोटटेकर उपकरणकाd लागि फाइलहरू डाउनलोड गर्नुहोस्।
ठूलो अक्षरमा छापिएका प्रकाशनहरू र जुम गर्न मिल्ने डिजिटल प्रकाशनहरू। कमजोर दृष्टि भएकाहरूका लागि ठूलो अक्षरमा छापिएका थुप्रै प्रकाशनहरू उपलब्ध छन्। हाम्रो jw.org वेबसाइटको पृष्ठलाई जुम गरे पनि अक्षर ठीकसित देखिने गरी डिजाइन गरिएको छ। JW Library एपमा भएका प्रकाशनहरूको अक्षरलाई पनि सानो या ठूलो बनाउन सकिन्छ।
ठूलो अक्षरमा छापिएका प्रकाशनहरू पाउनको लागि कोही एक जना यहोवाको साक्षीसित कुरा गर्नुहोस् वा तपाईँकहाँ भेट्न आउन अनुरोध गर्नुहोस्।
jw.org मा ठूलो अक्षरका डिजिटल प्रकाशनहरू डाउनलोड गर्नुहोस्, जुन छापिएका प्रकाशनहरूजस्तै छन्।
अडियो प्रकाशनहरू। हामीले नयाँ संसार अनुवाद बाइबलको अडियो रेकर्डिङ २०० भन्दा बढी भाषामा प्रकाशित गरेका छौँ। त्यसको साथै हामीले थुप्रै बाइबलआधारित प्रकाशनहरूको पनि अडियो रेकर्डिङ गर्छौँ। यी रेकर्डिङहरूमा चित्रको व्याख्या पनि समावेश गरिएको हुन्छ।
jw.org र JW Library एपमा अडियो प्ले गर्नुहोस् वा डाउनलोड गर्नुहोस्।
jw.org बाट स्क्रिन रिडर र डिजिटल टकिङ बुक प्लेयरजस्ताe उपकरणहरूमा पढ्न मिल्ने फाइलहरू डाउनलोड गर्नुहोस्।
दृश्य वर्णन भएका भिडियोहरू।f यहोवाका साक्षीहरूले दृश्य वर्णन भएका बाइबलआधारित भिडियोहरू सय भन्दा बढी भाषामा प्रकाशित गर्छन्। यी भिडियोहरूले मानिसहरूलाई बाइबलको व्यवहारिक सल्लाह बुझ्न र लागू गर्न मदत गर्छ।
तल दिइएका केही भिडियो शृङ्खलाका दृश्य वर्णन सुन्नुहोस्:
सभा र कार्यक्रमहरू। विश्वभरिका मण्डलीहरूमा हरेक हप्ता हामी एकसाथ सिक्न र उपासना गर्न भेला हुन्छौँ। हामी प्रत्येक वर्ष ठूला कार्यक्रमहरूको पनि आयोजना गर्छौँ, जसमा बाइबलको शिक्षा सिकाइन्छ। त्यस्ता कार्यक्रमहरूको दौडान देखाइने भिडियोहरूको दृश्य वर्णन सुन्न सकिने प्रबन्ध मिलाउन पनि सक्दो प्रयास गर्छौँ। हाम्रा सभा र कार्यक्रमहरूमा सुन्न र देख्न दुवै नसक्नेहरूको लागि हात समाएर दोभासे गर्ने प्रबन्ध पनि मिलाइन्छ। हामी सबैलाई स्वागत गर्छौँ; कसैलाई पक्षपात गर्दैनौँ।
हाम्रो सभा हुने ठाउँ पत्ता लगाउनुहोस्।
हाम्रो वार्षिक अधिवेशनबारे जान्नुहोस्।
वर्षकै सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम अर्थात् येसुको मृत्युको स्मरणार्थमा उपस्थित हुनुहोस्।
होसे लुइस आयाला मेक्सिकोमा बस्छन्। तिनी जन्मैदेखि बहिरा थिए र २९ वर्षको उमेरमा तिनी दृष्टिविहीन पनि भए। तिनको लागि हाम्रा सभाहरू कत्तिको महत्त्वपूर्ण छ र तिनले बाइबलको प्रभावकारी शिक्षक बन्न कस्तो मदत पाए, थाह पाउनुहोस्।
a “कमजोर दृष्टि” भएको व्यक्तिमा आँखाको यस्तो समस्या हुन्छ, जसलाई हटाउन सकिँदैन र यसले तिनको दैनिक जीवनलाई असर गर्छ। यस लेखमा “दृष्टिविहीन”-ले देख्न नसक्ने र कमजोर दृष्टि भएका दुवैलाई बुझाउँछ।
b परमेश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।
c निश्शुल्क बाइबल अध्ययन कसरी गरिन्छ भनेर थाह पाउन अनुरोध गर्न सक्नुहुन्छ।
d नोटटेकरहरू सजिलै यताउता लैजान मिल्ने इलेक्ट्रोनिक उपकरणहरू हुन्, जसमा रिफ्रेश गर्न मिल्ने ब्रेल डिस्प्ले वा लेखिएको कुरा कम्प्युटरले आवाज निकालेर पढिदिने वा दुवै सुविधा हुन्छन्। रिफ्रेश गर्न मिल्ने डिस्प्लेले पिनहरू तल र माथि सारेर ब्रेल अक्षर बनाउँछ। नोटटेकर प्रयोग गर्दा ब्रेलमा छापिएका कागजहरूको आवश्यकता पर्दैन।
e स्क्रिन रिडरहरू र डिजिटल टकिङ बुक प्लेयरले कम्प्युटरको आवाज वा पहिल्यै रेकर्ड गरिएको अडियो प्रयोग गरेर अक्षरहरू आवाज निकालेर पढ्छ। यस प्रविधिले प्रकाशनको कुनै निश्चित भागहरू सजिलै भेट्टाउन मदत गर्छ।
f दृश्य वर्णन भनेको भिडियोमा के-के भइरहेको छ भनेर बताउन गरिएको थप व्याख्या हो।