के सत्य अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ?
के तपाईँले सत्य र झूटबिचको भिन्नता धमिलिँदै गएको महसुस गर्नुभएको छ? अहिले मानिसहरूलाई सत्य र वास्तविकताले भन्दा भावना र व्यक्तिगत विचारधाराले धेरै प्रभाव पार्ने गर्छ। विश्वभरि थुप्रैले सत्यको औचित्य छैन भनेर विश्वास गर्छन्।
यो विचारधारा नयाँ होइन। लगभग दुई हजार वर्षअघि रोमी राज्यपाल पन्तियस पिलातसले येसुलाई खिसी गर्दै सोधे: “के हो सत्य?” (युहन्ना १८:३८) हुनत पिलातसले जवाफ पर्खेनन् तर तिनको प्रश्न भने महत्त्वपूर्ण थियो। बाइबलले तपाईँलाई यस प्रश्नको चित्तबुझ्दो जवाफ दिन्छ अनि सत्य के हो र झूट के हो भनेर अलमल्लमा परेको अहिलेको संसारमा तपाईँलाई सही कुरा पत्ता लगाउन मदत गर्छ।
के सत्य भेट्टाउन सकिन्छ?
सकिन्छ। तथ्यमा आधारित र नैतिक रूपमा सही कुरालाई बुझाउन बाइबलमा “सत्य” शब्द प्रयोग गरिएको छ। यहोवाa परमेश्वर सत्यको श्रोत हुनुभएकोले बाइबलमा उहाँलाई “सत्यका परमेश्वर” भनिएको छ। (भजन ३१:५) परमेश्वरले बाइबलद्वारा सत्य प्रकट गर्नुभएको छ। यस सत्यलाई बत्तीसित तुलना गरिएको छ किनकि यसले आज संसारमा व्याप्त गन्जागोलको बाबजुद हामीलाई सही बाटो देखाउन सक्छ।—भजन ४३:३; युहन्ना १७:१७.
तपाईँ कसरी सत्य भेट्टाउन सक्नुहुन्छ?
हामीले बाइबलको सत्य अन्धाधुन्ध वा भावनामा बहेर स्विकारेको परमेश्वर चाहनुहुन्न। बरु यसलाई आफ्नो सोचविचार गर्ने क्षमता चलाएर जाँच्न हामीलाई आग्रह गर्नुहुन्छ। (रोमी १२:१) हामीले उहाँलाई राम्रोसँग चिनेको र आफ्नो “सारा दिमागले” प्रेम गरेको उहाँ चाहनुहुन्छ अनि बाइबलबाट आफूले सिकेको कुरामा पक्का हुन प्रोत्साहन दिनु हुन्छ।—मत्ति २२:३७, ३८; प्रेषित १७:११.
झूटको सुरुवात कसले गऱ्यो?
झूटको सुरुवात परमेश्वरको शत्रु सैतान अर्थात् दियाबलबाट भएको हो, जसलाई बाइबलमा “झूटको बुबा” भनिएको छ। (युहन्ना ८:४४) त्यसले पहिलो मानव दम्पतीलाई परमेश्वरबारे झूटो कुरा बतायो। (उत्पत्ति ३:१-६, १३, १७-१९; ५:५) त्यसदेखि यता परमेश्वरबारे साँचो कुरा लुकाउन र उहाँबारे झूट फैलाउन सैतान लागिपरेको छ।—प्रकाश १२:९.
अहिले किन झूट बोल्नु सामान्य भइसक्यो?
हाम्रो समयलाई बाइबलमा “अन्तको दिन” भनिएको छ र सैतानले पहिला भन्दा अझ धेरै मानिसहरूलाई बहकाएर आफ्नो प्रभावमा पार्न सफल भएको छ। मानिसहरू अरूलाई बहकाउन र अरूको फाइदा उठाउन सजिलै झूट बोल्छन्। (२ तिमोथि ३:१, १३) आज धेरैजसो धर्महरूमा समेत झूट व्याप्त छ। हाम्रो समयबारे बाइबलमा भविष्यवाणी गरिएझैँ मानिसहरूले “आफूलाई जे सुन्न मन पर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला” पार्छन् र “सत्य सुन्नदेखि आफ्नो कान फर्काएर” झूटा कुराहरूमा ध्यान दिन्छन्।—२ तिमोथि ४:३, ४.
सत्य किन महत्त्वपूर्ण छ?
सत्यले एकअर्कामाथिको भरोसा विकास गर्न मदत गर्छ। भरोसा छैन भने मित्रता र समाज बलियो हुन सक्दैन। हाम्रो उपासना सत्यमा आधारित भएको परमेश्वर चाहनुहुन्छ भनेर बाइबल बताउँछ। बाइबल भन्छ: “[परमेश्वरको] उपासना गर्नेहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।” (युहन्ना ४:२४) बाइबलको सत्यले तपाईँलाई कसरी धर्महरूले फैलाएको झूटलाई चिन्न र तीबाट जोगिन मदत गर्न सक्छ भनेर थाह पाउन “कसै-कसैलाई किन परमेश्वरलाई प्रेम गर्न सकिँदैन जस्तो लाग्छ?” भन्ने शृङ्खलाबद्ध लेख पढ्नुहोस्।
परमेश्वर किन मैले सत्य थाह पाएको चाहनुहुन्छ?
परमेश्वर तपाईँले उद्धार पाएको चाहनुहुन्छ र त्यसको लागि तपाईँले उहाँबारे सत्य कुरा सिक्नु जरुरी छ। (१ तिमोथि २:४) तपाईँले सही र गलतबारे परमेश्वरको स्तर बुझेर त्यसैअनुसार चल्नुभयो भने उहाँसँग घनिष्ठ मित्रता गाँस्न सक्नुहुनेछ। (भजन १५:१, २) मानिसहरूलाई सत्य सिकाउन परमेश्वरले येसुलाई पृथ्वीमा पठाउनुभयो। हामीले येसुको शिक्षामा ध्यान दिएको परमेश्वर चाहनुहुन्छ।—मत्ति १७:५; युहन्ना १८:३७.
के परमेश्वरले झूटको अन्त गर्नुहुनेछ?
अवश्य। झूट बोलेर अरूबाट फाइदा उठाउने मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। झूट बोल्न नछोड्नेहरूलाई उहाँले पृथ्वीबाट हटाउने प्रतिज्ञा गर्नुभएको छ। (भजन ५:६) परमेश्वरले त्यसो गर्नुहुँदा यो प्रतिज्ञा पनि पूरा गरिरहनुभएको हुनेछ: “सत्य बोल्ने मानिस सधैँभरि रहन्छ।” —हितोपदेश १२:१९.
a साँचो ईश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।