प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 अप्रिल पृ. २०-२५
  • “सबै सान्त्वनाका परमेश्‍वर”-बाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबै सान्त्वनाका परमेश्‍वर”-बाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा प्रयोग गरिएको सान्त्वना शब्दको अर्थ
  • हामी अरूलाई कसरी सान्त्वना दिन सक्छौँ?
  • तपाईँलाई सान्त्वना चाहिँदा
  • बेथेलमा सेवा गर्नेहरूलाई सान्त्वना दिन मिलाइएको प्रबन्ध
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 अप्रिल पृ. २०-२५

जून २२-२८, २०२६

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

“सबै सान्त्वनाका परमेश्‍वर”-बाट सिक्नुहोस्‌

“जुन सान्त्वना हामीले परमेश्‍वरबाट पाएका छौँ, त्यही सान्त्वनाद्वारा हामीले हरप्रकारका परीक्षामा परेकाहरूलाई सान्त्वना दिन सकौँ।”—२ कोरि. १:४.

सिक्न सकिने कुरा

सान्त्वना दिने सन्दर्भमा यहोवाको र उहाँको अनुकरण गर्नेहरूको उदाहरणबाट सिक्नेछौँ।

१. हामीले अरूलाई किन सान्त्वना दिनुपर्छ?

हामी कहिलेकाहीँ ‘विभिन्‍न परीक्षाले गर्दा दुःख भोग्छौँ।’ (१ पत्रु. १:६) त्यस्तो बेला हामी सबैलाई सान्त्वना र प्रोत्साहन चाहिन्छ। गाह्रो अवस्थामा परेको बेला सान्त्वना पाउँदा हामी ढुक्क महसुस गर्छौँ। त्यसैले हामी पनि गाह्रो अवस्थामा परेकाहरूलाई सान्त्वना दिन अग्रसर भइहाल्नुपर्छ। (मत्ति ७:१२) यहोवा “सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।” उहाँले “हरप्रकारका परीक्षामा परेकाहरूलाई सान्त्वना” दिनुहुन्छ। त्यसैले कसरी ‘एकअर्कालाई सान्त्वना दिने’ भनेर हामी उहाँबाट सिक्न सक्छौँ। (२ कोरि. १:३, ४; १ थिस्स. ४:१८) हामी कर्तव्यबोधले होइन तर भाइबहिनीहरूलाई प्रेम गरेकोले तिनीहरूलाई सान्त्वना दिन्छौँ। यस लेखमा हामी यी कुराहरू छलफल गर्नेछौँ: (१) बाइबलमा प्रयोग गरिएको सान्त्वना शब्दको अर्थ के हो? (२) हामी अरूलाई कसरी सान्त्वना दिन सक्छौँ? (३) आफूलाई सान्त्वना चाहिँदा हामी के गर्न सक्छौँ?

बाइबलमा प्रयोग गरिएको सान्त्वना शब्दको अर्थ

२. बाइबलमा प्रयोग गरिएको “सान्त्वना” शब्दले कस्तो फरक-फरक अर्थ दिन्छ?

२ बाइबलमा “सान्त्वना” भनेर अनुवाद गरिएको ग्रीक शब्दले सन्दर्भअनुसार फरक-फरक अर्थ दिन्छ। जस्तै: “प्रोत्साहन,” “अर्ती” वा “आग्रह।” (रोमी १२:८, फुटनोट) यो शब्दको शाब्दिक अर्थ “आफ्नो छेउमा बोलाउनु” भन्‍ने हुन्छ। यो अर्थ विचार गर्दा गाह्रो अवस्थामा परेको व्यक्‍तिलाई मदत गर्न उसको साथी तुरुन्तै ऊकहाँ गएको दृश्‍य कल्पना गर्न सक्छौँ। साथीले जस्तोसुकै तरिकामा मदत गरे तापनि उसले सान्त्वना पाएको महसुस गर्छ; उसले हौसला र बल पाउँछ।

३. बर्णाबासले सान्त्वना दिने सन्दर्भमा कस्तो उल्लेखनीय उदाहरण बसाले? (चित्र पनि हेर्नुहोस्‌।)

३ बाइबलको एउटा उदाहरण विचार गरौँ। युसुफ नाम गरेका ख्रिष्टियनले अरूलाई सान्त्वना र प्रोत्साहन दिने सन्दर्भमा उल्लेखनीय उदाहरण बसाले। त्यसैले प्रेषितहरूले तिनलाई बर्णाबास भन्‍ने नाम दिए, जसको अर्थ हुन्छ, “सान्त्वनाको छोरा।” (प्रेषि. ४:३६) यो नाम तिनको लागि एकदमै उपयुक्‍त थियो। त्यसैले तिनी यही नामले चिनिन थाले। बाइबलमा बर्णाबासले थुप्रै चोटि आफ्नो नामअनुसारकै काम गरेको विवरण पाउँछौँ। तिनी भाइबहिनीहरूलाई मदत गर्न अग्रसर भइहाल्थे। जस्तै, भर्खरै ख्रिष्टियन बनेका सावल अरू चेलाहरूलाई भेट्‌न यरुसलेम आएका थिए। तर सावलले पहिला ख्रिष्टियनहरूलाई खेदो गरेकोले अरू चेलाहरू उनलाई भेट्‌न डराए। बर्णाबास भने पावललाई मदत गर्न अघि सरे र उनलाई प्रेषितहरूकहाँ लगिदिए।—प्रेषि. ९:२६-२८.

बर्णाबासले सावललाई केही प्रेषितहरूकहाँ ल्याउँदै छन्‌। प्रेषितहरू सावललाई शङ्‌कालु नजरले हेर्दै छन्‌।

बर्णाबासले आफ्नो नामअनुसारकै काम गरे (अनुच्छेद ३ हेर्नुहोस्‌)


हामी अरूलाई कसरी सान्त्वना दिन सक्छौँ?

४. अरूलाई सान्त्वना दिने एउटा राम्रो तरिका के हो? (रोमी १:११, १२)

४ अवस्था मिल्छ भने भेट्‌न जानुहोस्‌। यहोवा सान्त्वना दिन आफ्ना सेवकहरूलाई प्रयोग गर्नुहुन्छ। जस्तै, भविष्यवक्‍ता एलिया निराश भएको बेला तिनलाई प्रोत्साहन दिन यहोवाले स्वर्गदूत पठाउनुभयो। (१ राजा १९:४-७) प्रेषित पावल पनि भाइबहिनीहरूलाई भेटेरै प्रोत्साहन दिन चाहन्थे। (रोमी १:११, १२ पढ्‌नुहोस्‌।) कसैलाई सान्त्वना दिन जाँदै हुनुहुन्छ भने तिनलाई एकैछिनको लागि मात्र भेट्‌नुको साटो तिनीसित केही समय बिताउनुहोस्‌। (१ कोरि. १६:७) तपाईँ भेट्‌न जान सक्नुहुन्‍न भने पनि एक कल फोन गर्न, चिठी लेख्न, कार्ड पठाउन वा मेसेज गर्न नबिर्सनुहोस्‌। तिनले त्यसबाट ठूलो सान्त्वना पाउन सक्छन्‌। अरूलाई सान्त्वना दिन यहोवा तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ। के तपाईँ इच्छुक हुनुहुन्छ?

५. भाइबहिनीहरूलाई भेटेरै सान्त्वना दिन किन गाह्रो हुन सक्छ?

५ अन्त झन्‌झनै नजिकिँदै जाँदा भाइबहिनीहरूलाई भेटेरै सान्त्वना दिन झनै गाह्रो हुन सक्छ। ओन्सिफरसले हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। तिनी एफिससका थिए। पावल रोमको कैदमा पर्दा ओन्सिफरस पावललाई सान्त्वना दिन चाहन्थे। त्यसैले तिनले पावललाई धुइँधुइँती खोजेर भेट्‌न आए। यसो गर्दा तिनी आफै पनि पक्राउमा पर्न वा मारिन समेत सक्थे। (२ तिमो. १:१६-१८) हाम्रो समयमा रुसका भाइबहिनीहरूले पनि खेदोमा परेकाहरूलाई सान्त्वना दिन यस्तै साहस देखाएका छन्‌। पक्राउ परेका साक्षीहरूलाई अदालतमा हाजिर गराइँदा तिनीहरूको हौसला बढाउन भाइबहिनीहरू अदालतमै उपस्थित हुन्छन्‌, जबकि त्यसो गर्दा उनीहरू आफै पनि पक्राउ पर्न सक्छन्‌। त्यस्ता भाइबहिनीलाई सान्त्वना दिन तपाईँ आफूलाई कसरी तयार बनाउन सक्नुहुन्छ? विगतका र अहिलेका यहोवाका जनहरूले एकअर्कालाई सान्त्वना दिन के गरेका छन्‌ अनि आफैले खेदो भोग्नुपर्दा कसरी आनन्द कायम राख्न सकेका छन्‌, त्यसबारे अध्ययन गर्न सक्नुहुन्छ।

६. अरूलाई सान्त्वना दिँदा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

६ ध्यान दिएर सुन्‍नुहोस्‌। भविष्यवक्‍ता एलियालाई आफू मारिन सक्छु जस्तो लाग्दा तिनले यहोवालाई आफ्नो मनको बह पोखे। हुनत उहाँलाई एलियाको अवस्था र तिनले कस्तो महसुस गर्दै छन्‌ भनेर थाह थियो। तैपनि उहाँ मायालु परमेश्‍वर हुनुभएकोले तिनको कुरा ध्यान दिएर सुन्‍नुभयो। एलियाले एउटै कुरा दोहोऱ्‍याइरहँदा पनि यहोवाले झर्को नमानी सुनिरहनुभयो। (१ राजा १९:९, १०, १४) त्यसैगरि भविष्यवक्‍ता हबकुकले आफ्नो चिन्ता र शङ्‌काबारे यहोवालाई बताए। तिनले बोलेको शैलीबाट तिनले यहोवाको अख्तियारलाई नै चुनौती दिएको जस्तो देखिएको हुन सक्छ। तैपनि उहाँ तिनीसित रिसाउनुभएन। बरु तिनको कुरा ध्यान दिएर सुन्‍नुभयो। (हब. १:२, ३) अहिले पनि कुरा त्यही हो। हुनत यहोवालाई हाम्रो आवश्‍यकता पहिल्यै थाह हुन्छ। तैपनि हामीले प्रार्थना गर्दा उहाँ ध्यान दिएर सुन्‍नुहुन्छ। हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ? भाइबहिनीले आफ्नो कुरा बताउँदा ध्यान दिएर र आदरपूर्वक सुनेर। हामी “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ।” तिनीहरूले कुनै गलत कुरा भने वा एउटै कुरा दोहोऱ्‍याइरहे भने पनि हामीले बीचैमा कुरा काट्‌नु हुँदैन वा रिसाउनु हुँदैन।—याकु. १:१९; उप. ७:९.

एक बहिनी धीरजी हुँदै एउटी निराश बहिनीको कुरा सुन्दै छिन्‌। राती अबेर भइसकेको छ।

भाइबहिनीको कुरा ध्यान दिएर सुनेर यहोवाको अनुकरण गर्नुहोस्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌)


७. अरूलाई कस्तो मदत चाहिएको हो भनेर हामी कसरी पत्ता लगाउन सक्छौँ?

७ तिनलाई कस्तो मदत चाहिएको हो, पत्ता लगाउनुहोस्‌। हामी यहोवाले जस्तो अरूको मनको कुरा पढ्‌न सक्दैनौँ। त्यसैले तिनको कुरा ध्यान दिएर सुन्‍नुपर्छ। त्यसो गऱ्‍यौँ भने मात्र तिनलाई कस्तो सान्त्वना चाहिएको हो भनेर थाह पाउन सक्छौँ। तपाईँलाई जुन कुराले सान्त्वना दिन्छ, तिनलाई पनि त्यही कुराले सान्त्वना दिन्छ भन्‍ने अड्‌कल नकाट्‌नुहोस्‌। किनकि हामी सबै जना फरक छौँ र हाम्रो आवश्‍यकता पनि फरक हुन्छ। त्यसैले कसैले आफ्नो कुरा बताउँदा हतार नगर्नुहोस्‌ बरु ध्यान दिएर सुन्‍नुहोस्‌। अनि तिनको मनको कुरा निकाल्न कौशलतापूर्वक प्रश्‍नहरू सोध्नुहोस्‌।—हितो. २०:५.

८. येसुले मार्था र मरियमलाई कसरी सान्त्वना दिनुभयो? (चित्रहरू पनि हेर्नुहोस्‌।)

८ लाजरसको मृत्यु हुँदा येसुले तिनका दिदीहरू मार्था र मरियमलाई कसरी सान्त्वना दिनुभयो, विचार गर्नुहोस्‌। भाइको मृत्यु भएकोले दुवै जना शोकमा परेका थिए। तर येसुले तिनीहरूलाई एउटै तरिकामा सान्त्वना दिनुभएन। मार्थाको कुरा सुनेपछि उहाँले तिनलाई फेरि जीवित हुने आशाबारे बताउनुभयो। यसले गर्दा तिनी पुनर्जीवनको आशामा अझ ढुक्क हुन सकिन्‌। पछि मरियम येसुकहाँ रुँदै आउँदा भने उहाँले तिनलाई फेरि जीवित हुने आशाबारे बताउनुभएन जस्तो देखिन्छ। बरु येसु तिनीसितै रुनुभयो र लाजरसलाई कहाँ राखिएको छ भनेर सोध्नुभयो। (युह. ११:२०-३५) यसबाट हामी के सिक्न सक्छौँ? कसैलाई सान्त्वना दिँदा ‘सबै रोगको लागि एउटै औषधी’ भनेजस्तो नगर्नुहोस्‌; बरु त्यो व्यक्‍तिलाई कस्तो सान्त्वना चाहिएको हो, पत्ता लगाउने कोसिस गर्नुहोस्‌।

चित्रहरूको सँगालो: एक एल्डर श्रीमती गुमाएका दुई जना भाइलाई तिनीहरूको घरमा भेट्‌न गएका छन्‌। १. एल्डरले रोइरहेका भाइको काँधमा हात राखेका छन्‌। २. एल्डरले पाको भाइसित पुराना फोटोहरू हेर्दै गर्दा शास्त्रपद पनि देखाएका छन्‌।

अरूलाई सान्त्वना दिँदा तिनलाई कस्तो मदत चाहिएको छ भनेर बुझ्ने कोसिस गर्नुहोस्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)a


९. हामी अरूलाई सान्त्वना दिन कसरी बाइबल प्रयोग गर्न सक्छौँ? (रोमी १५:४, ५)

९ बाइबल प्रयोग गर्नुहोस्‌। कसैलाई ‘धर्मशास्त्रबाट सान्त्वना’ दिँदा तिनले आशा पाउन सक्छन्‌। (रोमी १५:४, ५ पढ्‌नुहोस्‌।) त्यस आशाले गर्दा तिनले अझ धेरै सान्त्वना र प्रोत्साहन पाउन सक्छन्‌। (यसै. ४०:३१) अरूलाई प्रोत्साहन मिल्ने बाइबल पदहरू तपाईँ कसरी भेट्टाउन सक्नुहुन्छ? कसै-कसैले त्यस्ता पदहरूको सूची नै बनाएर राख्छन्‌। जस्तै, ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू भन्‍ने किताबको “सान्त्वना” अन्तर्गत भएका पदहरू। अनि तिनीहरू चाहिएको बेला त्यो सूची हेर्ने गर्छन्‌। अरूलाई प्रोत्साहन दिन बाइबल प्रभावकारी तरिकामा प्रयोग गर्न सकौँ भनेर यहोवासित मदत माग्नुहोस्‌। उहाँको पवित्र शक्‍तिले तपाईँलाई चाहिएको बेला उपयुक्‍त शास्त्रपदहरू सम्झन मदत गर्नेछ।—युह. १४:२६.

१०. अरूलाई सान्त्वना दिँदा हामी किन दयालु भई बोल्नुपर्छ?

१० दयालु भई बोल्नुहोस्‌। “सान्त्वना” भनेर अनुवाद गरिएको मूल भाषाको शब्दले “आग्रह” वा “अर्ती” भन्‍ने अर्थ पनि दिन्छ। कसैलाई सान्त्वना दिँदा कुनै-कुनै अवस्थामा तिनको सोचाइ सच्याउन अर्ती दिनुपर्ने वा आग्रह गर्नुपर्ने हुन सक्छ। त्यस्तो अवस्थामा केही भन्‍नुअघि राम्ररी सोचविचार गर्नुहोस्‌। नत्र त तपाईँको बोलीले तिनलाई सान्त्वना दिनुको साटो उल्टै चोट पुऱ्‍याउन सक्छ। (हितो. १२:१८) यहोवाले एलियालाई सान्त्वना दिनुभएको तरिका हामी अनुकरण गर्न सक्छौँ। तिनलाई यहोवाको सेवा गर्ने अब आफू मात्र बाँकी छु अनि आफूले भविष्यवक्‍ताको जिम्मेवारी राम्रोसँग पूरा गर्न सकिनँ जस्तो लागेको थियो। त्यतिबेला यहोवाले सीधै तिनको गल्ती औँल्याउनुभएन बरु तिनलाई आफ्नो सोचाइ सच्याउन दयालुपूर्वक मदत गर्नुभयो। (१ राजा १९:१५-१८) तपाईँ पनि दयालु हुनुभयो र सोचविचार गरेर मात्र बोल्नुभयो भने अरूले चाहिएकै मदत पाउनेछन्‌। सभामा भाषण वा टिप्पणी दिँदा सधैँ दयालु र सकारात्मक तरिकामा बोल्नुभयो भने भाइबहिनीले प्रोत्साहन र बल पाउनेछन्‌।

११. दुःखमा परेकाहरूलाई कस्तो मदत चाहिन सक्छ? (१ युहन्‍ना ३:१८)

११ व्यावहारिक मदत दिनुहोस्‌। दुःखमा परेकाहरूलाई सान्त्वनाका शब्दहरू मात्र भन्‍नु पर्याप्त नहुन सक्छ बरु केही व्यावहारिक मदत दिनुपर्ने हुन सक्छ। (१ युहन्‍ना ३:१८ पढ्‌नुहोस्‌।) यस सन्दर्भमा बर्णाबासले राम्रो उदाहरण बसाले। तिनले आफूसित भएको एक टुक्रा जमिन बेचे र त्यसबाट आएको पैसा भर्खरै बप्तिस्मा गरेका गरिब भाइबहिनीहरूको मदतको लागि अनुदान दिए। (प्रेषि. ४:३६, ३७) आज पनि थुप्रै भाइबहिनीहरूले यस्तै मनोभाव देखाएका छन्‌। पोल्याण्डकी गाब्रिएला बहिनीको घरलाई बाढीले ठूलो क्षति पुऱ्‍याएको थियो। तिनी भन्छिन्‌: “त्यतिबेला म र मेरो आमाबुबा एकदमै आत्तिएका थियौँ र हामीलाई निकै चिन्ता लागिरहेको थियो। मलाई के गर्ने, कसो गर्ने भइरहेको थियो। तर त्यति नै बेला नजिकैका मण्डलीहरूबाट भाइहरू आउनुभयो र हाम्रो घर मर्मतसम्भार गर्न दिनभरि मदत गर्नुभयो। यो देख्दा दुःखमा परेकाहरूलाई सान्त्वना दिन यहोवाले आफ्ना जनहरूलाई प्रयोग गर्नुहुन्छ भन्‍ने कुरामा मेरो विश्‍वास अझ बलियो भयो।”

१२. परीक्षा भोग्नुपर्दा वफादार रहनुभयो भने भाइबहिनीहरूले तपाईँबाट कस्तो प्रोत्साहन पाउन सक्छन्‌?

१२ परीक्षा भोग्नुपर्दा वफादार रहनुहोस्‌। थिस्सलोनिकाका भाइबहिनीहरूले देखाएको सहनशीलता र वफादारीबारे सुनेर आफूले निकै सान्त्वना र पुनःस्फूर्ति पाएको कुरा पावलले बताए। तिनीहरूको लागि आफूले गरेको मेहनत खेर गएन भन्‍ने कुरामा पावल ढुक्क थिए। (१ थिस्स. ३:५-८) साथै परीक्षाहरू भोग्नुपर्दा आफू वफादार रहेँ भने अरूले पनि त्यसबाट प्रोत्साहन पाउनेछन्‌ भन्‍ने कुरा पावललाई थाह थियो। (कल. २:१, २) त्यसरी नै परीक्षाको बेला तपाईँ यहोवाप्रति वफादार रहेको देख्दा भाइबहिनीहरूले प्रोत्साहन पाउन सक्छन्‌। यहोवाले तपाईँलाई मदत गर्नुभएजस्तै तिनीहरूलाई पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त हुन सक्नेछन्‌।

१३. अरूलाई सान्त्वना दिँदा हामीमा कुन गुण पनि हुनुपर्छ?

१३ धीरजी हुनुहोस्‌। निराश भएका भाइ वा बहिनीलाई सान्त्वना दिँदा तिनले तुरुन्तै हल्का महसुस नगर्न सक्छन्‌। तर बाइबलमा “एकअर्कालाई प्रोत्साहन दिइरहो” भन्‍ने सल्लाह पाउँछौ। “प्रोत्साहन दिइरहो” भन्‍ने अभिव्यक्‍तिले निरन्तर गरिरहनुपर्ने कामलाई बुझाउँछ। (१ थिस्स. ५:११) त्यसैले निराश व्यक्‍तिप्रति धीरजी हुनुहोस्‌; तिनलाई ढाडस र सान्त्वना दिइरहनुहोस्‌। (१ थिस्स. ५:१४) तर कहिलेकाहीँ हामी आफैलाई पनि सान्त्वना चाहिन सक्छ। यस्तो बेला हामी के गर्न सक्छौँ?

तपाईँलाई सान्त्वना चाहिँदा

१४-१५. चिन्ता र फिक्रीले सताउँदा हामीले के गर्नुपर्छ?

१४ यहोवालाई प्रार्थना गर्नुहोस्‌। चिन्ता र फिक्रीले सताउँदा सान्त्वनाको लागि यहोवालाई पुकार्नुहोस्‌। (भज. ९४:१९) उहाँलाई आफ्नो मनको बह पोखाउनुहोस्‌ अनि तपाईँलाई कस्तो महसुस भइरहेको छ भनेर तोकेरै बताउनुहोस्‌। (भज. ६२:८) हुनत तपाईँलाई कस्तो महसुस भइरहेको छ भनेर यहोवालाई थाह छ। तैपनि तपाईँले आफ्ना भित्री भावनाहरू यहोवालाई पोखाउँदा उहाँमाथि पूरा भरोसा राखेको देखिन्छ। हामीले यसरी उहाँमाथि विश्‍वास राखेर गरेको प्रार्थना यहोवा सुन्‍नुहुन्छ। हुनत प्रार्थनाको जवाफ हामीले सोचेको जस्तो नआउला तर यहोवाले कुनै न कुनै तरिकामा जवाफ भने पक्कै दिनुहुन्छ। (मर्कु. ११:२४) फिलिप्पी ४:६, ७ मा हामीलाई यस्तो आग्रह गरिएको छ: “आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।”

१५ अरूसित मदत माग्नुहोस्‌। तपाईँ भाइबहिनीहरूबाट सान्त्वना पाउन सक्नुहुन्छ। कुनै परिपक्व साथी वा तपाईँले भरोसा गर्न सक्ने एल्डरलाई आफ्ना भावनाहरू पोखाउनुहोस्‌। तर कस्तो महसुस भइरहेको छ वा कस्तो मदत चाहिएको हो भनेर तपाईँ आफैले नबताएसम्म तिनीहरूले थाह पाउन सक्दैनन्‌। (हितो. १४:१०) तपाईँ तिनीहरूलाई आफ्नो कुरा ध्यान दिएर सुनिदिन वा तिनीहरू आफैले पनि सान्त्वना पाएको कुनै बाइबल पद वा लेखबारे बताइदिन आग्रह गर्न सक्नुहुन्छ।

१६. भाइबहिनीले तपाईँलाई सान्त्वना दिन खोज्दा के हुन सक्छ तर तपाईँले कुन कुरा बिर्सनु हुँदैन?

१६ धीरजी र क्षमाशील हुनुहोस्‌। भाइबहिनीले तपाईँलाई प्रोत्साहन दिँदा तिनीहरूबाट केही गल्ती हुन सक्छ। जस्तै, तिनीहरूले भनेको वा गरेको कुराले गर्दा तपाईँको मन हलुका हुनुको साटो झनै भारी हुन सक्छ। त्यस्तो हुँदा पनि तिनीहरूप्रति धीरजी हुनुहोस्‌। (१ कोरि. १३:४, ७) याकुब ३:२ मा पाइने यी शब्दहरू कहिल्यै नबिर्सनुहोस्‌: “यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ।” भाइबहिनीहरू तपाईँलाई साँच्चै मदत गर्न चाहन्छन्‌। त्यसैले तिनीहरूको मनसायमा शङ्‌का नगर्नुहोस्‌। यो कुरा सधैँ मनमा राख्नुहोस्‌: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”—मत्ति २६:४१.

१७. हामीले कस्तो प्रयास गरिरहनुपर्छ?

१७ हामी सबैलाई सान्त्वना र प्रोत्साहन चाहिन्छ। तर अन्तको दिन झन्‌झन्‌ कठिन हुँदै जाँदा र शत्रुहरूको विरोध बढ्‌दै जाँदा हामीलाई झन्‌ धेरै सान्त्वना चाहिनेछ। त्यसैले एकअर्कालाई सान्त्वना दिन अझ धेरै प्रयास गरिरहौँ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • बाइबलमा प्रयोग गरिएको “सान्त्वना” शब्दको अर्थ के हो?

  • हामी कसरी अरूलाई सान्त्वना दिन सक्छौँ?

  • आफूलाई सान्त्वना चाहिँदा हामी के गर्न सक्छौँ?

गीत १३० क्षमा दिने गरौँ!

a चित्रको व्याख्या: एक एल्डर हालै पत्नीको मृत्यु भएको भाइको कुरा ध्यान दिएर सुन्दै छन्‌। पछि त्यही एल्डर केही वर्षअघि पत्नीको मृत्यु भएको भाइलाई भेट्‌न गएका छन्‌ र तिनीहरू उनीसित बिताएका रमाइला क्षणहरूबारे कुरा गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने