प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 अप्रिल पृ. १४-१९
  • गाह्रो अवस्थाप्रति सही दृष्टिकोण राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गाह्रो अवस्थाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गाह्रो अवस्थाप्रति राख्नुपर्ने सही दृष्टिकोण
  • गलत दृष्टिकोणले हामीलाई नै हानि पुऱ्‍याउन सक्छ
  • गाह्रो अवस्था आउँदा चाल्नुपर्ने कदमहरू
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा हामीलाई सहनशील हुन कसरी मदत गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 अप्रिल पृ. १४-१९

जून १५-२१, २०२६

गीत १२२ स्थिर र अटल बस!

गाह्रो अवस्थाप्रति सही दृष्टिकोण राख्नुहोस्‌

“ममाथि दुःख र कठिनाइ आइपरे पनि म तपाईँकै आज्ञाहरूमा रमाइरहन्छु।”—भज. ११९:१४३.

सिक्न सकिने कुरा

गाह्रो अवस्थाप्रति सही दृष्टिकोण राख्यौँ भने आनन्द नगुमाउन र वफादार रहिरहन मदत पाउनेछौँ।

१-२. गाह्रो अवस्था आइपर्दा आनन्द नगुमाउन र वफादार रहिरहन हामीले के गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

के तपाईँले आफ्नो विश्‍वासको खातिर अन्याय, परिवारको विरोध वा खेदो सहँदै हुनुहुन्छ? के तपाईँले कुनै गम्भीर स्वास्थ्य समस्या वा वृद्धावस्थाका चुनौतीहरूको सामना गर्दै हुनुहुन्छ? अथवा कुनै दुःखद घटना वा प्रियजनको मृत्युले गर्दा शोकमा हुनुहुन्छ कि? यहोवाका थुप्रै वफादार सेवकहरूको जस्तै तपाईँको जीवन पनि ‘दुःख र पीडाले भरिएको’ हुन सक्छ।—भज. ९०:१०.

२ गाह्रो अवस्था आइपर्दा त्यसप्रति सही दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ? त्यसो गऱ्‍यौँ भने हामीले सहन सक्नेछौँ। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। हाम्रो जीवनमा आइपर्ने समस्याहरूलाई गाडी चलाउँदा बाटोमा आइपर्न सक्ने खतरा वा अवरोधहरूसित तुलना गर्न सकिन्छ। अगाडि कस्तो खतरा छ, त्यसको आधारमा गाडीलाई दायाँ वा बायाँ घुमाउनुपर्ने, स्पीड कम गर्नुपर्ने वा एकछिनको लागि गाडी रोक्नुपर्ने हुन सक्छ। अगाडि कस्तो खतरा छ भन्‍ने कुरा स्पष्टसित देख्यौँ भने मात्र सही कदम चाल्न सक्नेछौँ। तर बाफ वा धुलोले गर्दा गाडीको सिसा डम्मै ढाकिएको छ भने अगाडिको खतरा देख्न सकिँदैन। त्यसैगरि समस्या आइपर्दा आनन्द नगुमाउन र वफादार रहिरहन हामीले त्यसप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुपर्छ। यस लेखमा हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ: (१) गाह्रो अवस्थाप्रति हामीले राख्नुपर्ने सही दृष्टिकोण के हो? (२) गलत दृष्टिकोणले हामीलाई कसरी हानि पुऱ्‍याउन सक्छ? (३) गाह्रो अवस्था आइपर्दा सही दृष्टिकोण राख्न हामी कस्ता कदमहरू चाल्न सक्छौँ?

एक पुरुष गाडी चलाउँदै छन्‌ र अगाडिको सिसा धुलोले डम्मै ढाकेको छ। त्यसैले बाटो बन्द गर्न राखिएको छेकबार अचानक देख्दा तिनी झसङ्‌गै हुन्छन्‌।

गाह्रो अवस्था आइपर्दा हामीले त्यसप्रति सही दृष्टिकोण राख्यौँ भने त्यो सहन सक्नेछौँ (अनुच्छेद २ हेर्नुहोस्‌)


गाह्रो अवस्थाप्रति राख्नुपर्ने सही दृष्टिकोण

३. अहिले हामीले किन समस्याहरू भोग्नुपर्छ?

३ यस दुष्ट संसारमा हामीले गाह्रो अवस्था भोग्नै पर्छ। हामी त्रुटिपूर्ण रहुन्जेल अनि सैतानले यस संसारमाथि शासन गरुन्जेल गाह्रो अवस्था भोग्नुपर्छ। साथै यस संसारको अन्त नजिकिँदै जाँदा हामीले अझ धेरै समस्याहरू झेल्नुपर्नेछ, चाहे ती प्राकृतिक वा मानवनिर्मित विपत्तिहरूले गर्दा भएको होस्‌ वा दुष्ट मानिसहरूले गर्दा। (मत्ति २४:८; २ तिमो. ३:१३) यदि यहोवाले यस्ता सबै समस्याहरू अहिले नै हटाउनुभयो भने उहाँले सैतानलाई त्यसको दाबी सही साबित गर्न मदत गरिरहनुभएको जस्तो हुनेछ। सैतानले शासन गरुन्जेल हाम्रो जीवनमा कुनै न कुनै किसिमको “आपत्‌” आइरहनेछ।—उप. ९:१२.

४. ख्रिष्टको चेला भएकोले हामीले कस्ता समस्याहरू भोग्नुपर्छ?

४ ख्रिष्टको चेला भएकोले पनि हामीले अझ धेरै समस्याहरू भोग्नुपर्छ। चेलाहरूले आफ्नो विश्‍वासको खातिर खेदो भोग्नुपर्नेछ भनेर येसुले थुप्रै चोटि बताउनुभयो। (मत्ति २४:९; युह. १६:२) त्यसैले खेदो आइपर्दा हामी छक्क पर्दैनौँ र आफ्नो विश्‍वासलाई ढलपल हुन दिँदैनौं। (१ थिस्स. ३:३, ४) बरु यहोवाप्रति वफादार रहन प्रयास गरिरहन्छौँ। यसो गऱ्‍यौँ भने हामी अनन्त जीवनतर्फ पुऱ्‍याउने बाटोमा हिँडिरहेका छौँ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ। साथै यहोवा र सैतानबीचको ठूलो विवादमा हामी कसको पक्षमा छौँ भन्‍ने कुरा पनि देखाइरहेका हुन्छौँ। सैतानले फैलाएको एउटा झूट भनेको मानिसहरूले परमेश्‍वरप्रतिको प्रेमले गर्दा नभई आफ्नै स्वार्थ पूरा गर्न मात्र उहाँको सेवा गर्छन्‌ भन्‍ने हो। यो झूट साबित गर्न त्यसले यहोवाका जनहरूलाई आफ्नो मुख्य तारो बनाउँछ। (अय्यु. १:९-११) तैपनि यहोवाप्रतिको प्रेमले गर्दा हामी परीक्षाहरू सहन्छौँ। यसो गर्दा हामीले यहोवाको हृदयलाई खुसी बनाइरहेका हुन्छौँ।—हितो. २७:११.

५. उपदेशक ७:१३, १४ बाट हामी के सिक्न सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

५ यहोवाले गाह्रो अवस्था हुन दिनुहुन्छ। यहोवा कहिल्यै पनि दुष्ट काम गर्नुहुन्‍न र कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न। (याकु. १:१३) त्यसोभए सुलेमानले “दुःखको दिन”-लाई किन “साँचो परमेश्‍वरको काम” भने? (उपदेशक ७:१३, १४ पढ्‌नुहोस्‌।) तिनले यहोवाले खराब कुराहरू गराउनुहुन्छ भन्‍न खोजिरहेका थिएनन्‌। बरु ती कुराहरू हुन दिनुहुन्छ भन्‍न खोजिरहेका थिए। त्यसोभए सुलेमानका यी शब्दहरूबाट हामी के सिक्न सक्छौँ? पहिलो, सैतानको संसार रहुन्जेल र हामी त्रुटिपूर्ण होउन्जेल हाम्रो जीवनमा सुखको दिन र दुःखको दिन दुवै आउँछ। हामीले यो वास्तविकतालाई स्विकार्नै पर्छ। जीवनमा सुखको दिन आउँदा हामीले परमेश्‍वरको भलाइप्रति कृतज्ञ भएको देखाउनुपर्छ र त्यसलाई यहोवाले दिनुभएको उपहारको रूपमा हेर्नुपर्छ। दोस्रो, “भविष्यमा के हुनेछ,” त्यो हामीलाई थाह छैन। त्यसैले भविष्यमा आउने दिन सुखको दिन हुनेछ वा दुःखको दिन, त्यो हामी भन्‍न सक्दैनौँ। कुरा स्पष्ट छ, दुष्ट र सज्जन दुवैमाथि चिताउँदै नचिताएका समस्याहरू आइपर्न सक्छ।

चित्रहरूको सँगालो: एक पुरुष करेसाबारीमा गोलभेँडाका बोटहरू हेर्दै छन्‌। १. तिनी लटरम्म फलेका गोलभेँडाहरू खुसी भएर टिप्दै छन्‌। २. तिनी बोटमै कुहिएका गोलभेँडाहरू देखेर दुःखी भएका छन्‌।

सैतानको संसार रहुन्जेल हाम्रो जीवनमा सुखको दिन र दुःखको दिन दुवै आउँछ भन्‍ने वास्तविकतालाई स्विकार्नुपर्छ (अनुच्छेद ५ हेर्नुहोस्‌)


६. यहोवा हामीलाई किन परीक्षाहरू भोग्न दिनुहुन्छ? (हिब्रू १२:७, ११)

६ परीक्षाहरूप्रति सही दृष्टिकोण राख्यौँ भने यहोवाले हामीलाई आफैमाथि नभई उहाँमाथि भर पर्न सिकाउँदै हुनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौँ। हामीले भोग्ने हरेक परीक्षा यहोवा देख्नुहुन्छ। हामीले दुःख भोग्दा उहाँलाई पनि दुःख लाग्छ र हामीलाई मदत गर्न उहाँ सधैँ तयार रहनुहुन्छ। उहाँले हामीलाई ‘निस्पट्ट अन्धकार छाएको बेँसीमा हिँड्‌न’ अर्थात्‌ कुनै दुःखकष्ट भोग्न दिनुभए तापनि हामीलाई डोऱ्‍याइरहनुहुन्छ, हामीलाई माया गरेको कुरामा ढुक्क बनाइरहनुहुन्छ र सहने बल पनि दिइरहनुहुन्छ। (भज. २३:४) गाह्रो अवस्था भोग्नुपर्दा हामी आफूमा भएको कमीकमजोरी थाह पाउन सक्छौँ अनि परमेश्‍वरको मदत पाएर आफ्नो व्यक्‍तित्वलाई अझ राम्रो बनाउन सक्छौँ। (हिब्रू १२:७, ११ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, अय्युबले नम्रता विकास गर्नुपरेको थियो। हुनत अय्युबमाथि यहोवाले नै परीक्षा ल्याउनुभएको थिएन। तैपनि उहाँले तिनलाई परीक्षा भोग्न दिनुभयो र त्यसबाट तिनलाई थुप्रै बहुमूल्य पाठहरू सिकाउनुभयो। (अय्यु. ४२:१-६) अय्युबलाई जस्तै यहोवा हामीलाई पनि कुनै-कुनै परीक्षाहरू भोग्न दिनुहुन्छ। तर त्यस्ता परीक्षाहरूले हामीलाई सधैँभरिको लागि हानि पुऱ्‍याउन भने दिनुहुनेछैन। वफादार भएर परीक्षाहरू सह्‍यौँ भने हामी “पूरै विजयी” हुनेछौँ।—रोमी ८:३५-३९.

७. खेदो भोग्दा पनि तपाईँ किन आनन्दित हुन सक्नुहुन्छ?

७ खेदो भोग्नुपर्दा पनि हामी आनन्दित भइरहन सक्छौँ। तपाईँ आफ्नो विश्‍वासको खातिर खेदो भोग्दै हुनुहुन्छ भने यहोवाको अनुमोदन गुमाएँ भन्‍ने नसोच्नुहोस्‌। बरु यो कुरा मनमा राख्नुहोस्‌: तपाईँले यहोवाको आज्ञा पालन गरेकोले नै खेदो भोग्नुभएको हो। (मत्ति ५:१०-१२) यसरी आज्ञाकारी भएको देख्दा यहोवा खुसी हुनुहुन्छ र तपाईँलाई इनाम दिनुहुन्छ। यस्तो सही दृष्टिकोण राख्दा तपाईँ पनि येसुका प्रेषितहरूजस्तै उहाँको नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाउन सक्नुहुनेछ। (प्रेषि. ५:४०-४२) साथै तपाईँको वफादारी देखेर अरूले सत्य सिक्न र परमेश्‍वरको “महिमा” गर्न सक्छन्‌। (१ पत्रु. २:१२) यहोवाले युसुफलाई जस्तै तपाईँलाई पनि गाह्रो अवस्था अन्त भएपछि मात्र होइन बरु त्यो भोगिरहेकै समयमा पनि सफल तुल्याउनुहुनेछ।—उत्प. ३९:३, २३.

८. परीक्षाहरू आउँदा वफादार रहन मदत गर्ने अर्को कुरा के हो?

८ हामीले भोगिरहेका परीक्षाहरू अन्त हुनेछ। अय्युबको विवरणबाट हामीले गाह्रो अवस्था सधैँभरि भोग्नुपर्नेछैन बरु एक दिन अन्त हुनेछ भनेर थाह पाउन सक्छौँ। हुनत अय्युबले गाह्रो अवस्थाको सामना गर्नुपऱ्‍यो तर “यहोवाले अय्युबलाई पहिलेभन्दा धेरै आशिष्‌ दिनुभयो।” (अय्यु. ४२:१२) त्यसरी नै यहोवाले हामीलाई नयाँ संसारमा अहिलेभन्दा धेरै आशिष्‌ दिनुहुनेछ। दुःखैदुःखले भरिएको अहिलेको जीवन हामीले भविष्यमा पाउने अनन्त जीवनको तुलनामा एकदमै छोटो छ। त्यसैले हामीले भोगिरहेका परीक्षाहरू पनि क्षणिक हुन्‌ भन्‍न सक्छौँ। तर नयाँ संसारमा पाउने आशिष्‌हरू सधैँभरि रहनेछ। अन्तसम्मै वफादार रहनुपर्ने कत्ति राम्रो कारण! —मत्ति २४:१३.

गलत दृष्टिकोणले हामीलाई नै हानि पुऱ्‍याउन सक्छ

९. हामीले गाह्रो अवस्थाप्रति कस्तो गलत दृष्टिकोण राख्नु हुँदैन र किन?

९ गाह्रो अवस्थाप्रति सही दृष्टिकोण राख्न सकेनौँ भने परिस्थिति झनै बिग्रन सक्छ। जस्तै, हामीले भोगिरहेको गाह्रो अवस्था यहोवाले नै ल्याउनुभएको हो जस्तो हामीलाई लाग्न सक्छ। अय्युबलाई पनि त्यस्तै लागेको थियो। आफूले भोगिरहेका परीक्षाहरूप्रति यस्तो गलत दृष्टिकोण राखेकोले तिनले “परमेश्‍वरको सट्टा आफैलाई सही साबित गर्न खोजे।” (अय्यु. ३२:२) नाओमीले पनि आफूमाथि आइपरेका विपत्तिहरूको लागि सुरुमा त परमेश्‍वरलाई नै दोष दिइन्‌। (रुथ १:१३, २०, २१) यदि अय्युब र नाओमीले यस्तो गलत दृष्टिकोण राखिरहेको भए यहोवासितको तिनीहरूको सम्बन्ध बिग्रन सक्थ्यो। (हितो. १९:३) तर यहोवाले तिनीहरूलाई आफ्ना समस्याहरूप्रति सही दृष्टिकोण राख्न मदत दिनुभयो र तिनीहरू वफादार रहेकोमा आशिष्‌ दिनुभयो।

१०. परीक्षा भोग्नुपर्दा हामीलाई कस्तो लाग्न सक्छ?

१० हुनत हामीले भोगिरहेका परीक्षाहरू यहोवाले ल्याउनुभएको होइन भन्‍ने कुरामा हामी पक्का छौँ। तर हामीलाई यहोवाले मेरो दुःख देख्नुभएको छैन र उहाँलाई ममा कुनै चासो छैन भन्‍ने सोचाइ आउन सक्छ। यस्तो नकारात्मक सोचाइले निराश बनाउँछ र यहोवाको सेवा गरिरहन गाह्रो हुन्छ। (हितो. २४:१०) राजा दाउद र भविष्यवक्‍ता हबकुकले पनि गाह्रो अवस्थाको सामना गरे। अनि कहिलेकाहीँ तिनीहरूलाई यहोवाले मेरो प्रार्थना सुनिरहनुभएको छैन कि जस्तो लागेको थियो। (भज. १०:१; हब. १:२) तैपनि तिनीहरूले प्रार्थना गर्न छोडेनन्‌। यहोवाले ती वफादार पुरुषहरूको प्रार्थना सुन्‍नुभयो र आवश्‍यक मदत दिनुभयो। उहाँ हामीलाई पनि त्यसरी नै मदत गर्नुहुन्छ।—भज. १०:१७.

११. परीक्षाहरूप्रति सही दृष्टिकोण राखेनौँ भने के हुन सक्छ?

११ परीक्षाहरूप्रति सही दृष्टिकोण राख्न सकेनौँ भने परीक्षा आइपर्दा हामीलाई अचम्म लाग्न सक्छ। ‘ममाथि यस्तो परीक्षा आउन नहुने थियो’ जस्तो समेत लाग्न सक्छ। (१ पत्रु. ४:१२) येसुमाथि खेदो आइपर्नेछ भन्‍ने कुरा चेलाहरूले स्विकार्नै सकेनन्‌। (लुका १८:३३, ३४) उहाँले चेलाहरूलाई आफूमाथि के-कस्ता कुराहरू आइपर्नेछन्‌ भनेर स्पष्टसित बताउनुभएको थियो। तर प्रेषित पत्रुसले यहोवाले येसुमाथि त्यस्ता कुराहरू हुन दिनुहुनेछैन भन्‍ने सोचाइ राखे। यस्तो सोचाइले यहोवाको इच्छा पूरा गर्नदेखि बाधा पुऱ्‍याउनेछ भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले पत्रुसलाई हप्काउनुभयो। (मर्कु. ८:३१-३३) येसुको मृत्यु भइसकेपछि पनि चेलाहरूले उहाँ मारिनुको कारण राम्रोसँग बुझ्न सकेनन्‌। तैपनि उहाँले हार मान्‍नुभएन र तिनीहरूलाई मदत गरिरहनुभयो। फेरि जीवित हुनुभएपछि येसुले तिनीहरूलाई भेट्‌नुभयो। उहाँले तिनीहरूलाई ‘धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुभयो’ र आफूले भोग्नुपरेको दुःख र मृत्युप्रति सही दृष्टिकोण राख्न मदत गर्नुभयो। (लुका २४:२५-२७, ३२, ४४-४८) येसुले सिकाउनुभएको कुरामा मनन गर्दा चाँडै भोग्नुपर्ने खेदो सहन तिनीहरू तयार हुने थिए। हामीले खेदो र परीक्षाबारे बाइबलले बताएका कुराहरूमा मनन गऱ्‍यौँ भने त्यसको सामना गर्न तयार हुनेछौँ।

१२. आफ्नो अवस्थाप्रति गलत दृष्टिकोण राख्यौँ भने हामीलाई कस्तो लाग्न सक्छ?

१२ हामीले आफ्नो अवस्थाप्रति गलत दृष्टिकोण राख्यौँ भने हामीलाई त्यो अवस्था वास्तविकताभन्दा नाजुक लाग्न सक्छ। हामी कसरी यस्तो गलत दृष्टिकोण राख्न पुग्न सक्छौँ? यो कुरा बुझाउन येसुले अङ्‌गुर बगानका खेतालाहरूको उदाहरण बताउनुभयो। केही खेतालाहरूलाई मालिकले ज्याला दिने सन्दर्भमा अन्याय गरेको जस्तो लाग्यो। त्यसैले तिनीहरूले मालिकसित गुनासो गरे। मालिकले तिनीहरूमध्ये एक जनालाई यसो भने: “हेर भाइ, मैले तिमीलाई केही अन्याय गरेको छैनँ।” (मत्ति २०:१०-१३) वास्तवमा ती खेतालाहरूले ज्यालाको सन्दर्भमा गलत आशा राखेकोले आफूलाई अन्याय भएको जस्तो लागेको थियो। आज पनि केही साक्षीहरूले त्यस्तै महसुस गरेका छन्‌। जस्तै, आफूले चाहेको कुनै असाइनमेन्ट नपाउँदा वा आफूले पाइरहेको असाइनमेन्ट छोड्‌नुपर्दा तिनीहरूलाई अन्याय भएको जस्तो लाग्न सक्छ। त्यसोभए गाह्रो अवस्थाप्रति सही दृष्टिकोण राख्न हामी कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौँ?

गाह्रो अवस्था आउँदा चाल्नुपर्ने कदमहरू

१३. गाह्रो अवस्था भोग्नुपर्दा हामीलाई के हुन सक्छ?

१३ हामीले दुःखकष्ट भोग्नुपर्नेछ भनेर तपाईँले बाइबलबाट पक्कै राम्रोसँग बुझ्नुभएको छ। अनि गाह्रो अवस्था भोगिरहेकाहरूलाई सान्त्वना दिन केही बाइबल पदहरू पनि देखाउनुभएको छ होला। तर आफैले कुनै कठिनाइ भोग्नुपर्दा भने सही दृष्टिकोण राख्न गाह्रो हुन सक्छ। जस्तै, यहोवाले मलाई सजाय दिइरहनुभएको छ वा उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छैन जस्तो तपाईँलाई लाग्न सक्छ। त्यसोभए आफ्नो अवस्थाप्रति सही दृष्टिकोण राख्न तपाईँ कस्ता कदमहरू चाल्न सक्नुहुन्छ?

१४. गाह्रो अवस्था भोग्नुपर्दा तपाईँ केको लागि प्रार्थना गर्न सक्नुहुन्छ? (फिलिप्पी ४:१३)

१४ यहोवासित मदत माग्नुहोस्‌। तपाईँले कस्तो अवस्था भोगिरहनुभएको छ र त्यसले गर्दा कस्तो महसुस गर्दै हुनुहुन्छ भनेर यहोवालाई बताउनुहोस्‌। तपाईँ उहाँबाट कस्तो मदत चाहनुहुन्छ, प्रार्थनामा तोकेरै बताउनुहोस्‌। तपाईँ उहाँसित पवित्र शक्‍ति माग्न सक्नुहुन्छ। उहाँको पवित्र शक्‍तिले तपाईँलाई गाह्रो अवस्था सहन बल र बुद्धि दिनेछ। तर यो कुरा पनि नबिर्सनुहोस्‌, यहोवाले तपाईँको प्रार्थनाको जवाफ तपाईँले आशा गरेकोभन्दा फरक तरिकामा पनि दिन सक्नुहुन्छ। (एफि. ३:२०) तपाईँलाई मदत गर्न उहाँले स्वर्गदूतहरू वा भाइबहिनीहरूलाई पनि चलाउन सक्नुहुन्छ। (भज. ३४:७) उहाँले जुनसुकै तरिकामा मदत दिनुभए पनि त्यो स्विकार्नुहोस्‌। उहाँले तपाईँलाई प्रशस्त गरी पवित्र शक्‍ति दिनुहुनेछ अनि त्यसले तपाईँलाई जस्तोसुकै गाह्रो अवस्था सहन मदत गर्नेछ।—फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌।

१५. गाह्रो अवस्था सहन तपाईँलाई केले मदत गर्नेछ? (चित्र पनि हेर्नुहोस्‌।)

१५ आध्यात्मिक तालिका कायम राख्नुहोस्‌। गाह्रो अवस्था भोग्नुपर्दा आफ्नो तालिकाअनुसारै चल्न नसकिएला तर तपाईँ जे जति गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस्‌। “दुःख र कठिनाइ” भोगिरहेको बेला हामीले परमेश्‍वरको जस्तै सोचाइ राख्न झन्‌ धेरै प्रयास गर्नुपर्छ। (भज. ११९:१४३) त्यसैले नियमित रूपमा बाइबल पढ्‌नुहोस्‌ अनि त्यसको अध्ययन र मनन गर्नुहोस्‌। प्रचारकार्यमा सक्दो भाग लिनुहोस्‌। साथै सभामा उपस्थित हुन र भाग लिन पनि नछोड्‌नुहोस्‌। भाइबहिनीदेखि नटाढिनुहोस्‌। गाह्रो अवस्थामा एक्लै बसूँ जस्तो लाग्न सक्छ तर त्यसो नगर्नुहोस्‌।—हितो. १८:१.

एक भाइ हस्पिटलको बेडमा छन्‌ र भिडियो कन्फरेन्समार्फत “प्रहरीधरहरा” छलफलमा सहभागी भएका छन्‌। “प्रहरीधरहरा” पत्रिका र बाइबल पनि खुला छ।

आध्यात्मिक तालिका कायम राख्न सक्दो प्रयास गर्नुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. गाह्रो अवस्था आउँदा कस्ता शङ्‌काहरू उब्जिन सक्छन्‌ र त्यसलाई कसरी हटाउन सक्छौँ? (२ कोरिन्थी १०:४, ५)

१६ शङ्‌का हटाउन कदम चाल्नुहोस्‌। गाह्रो अवस्था आइपर्दा हाम्रो मनमा आफूबारे वा यहोवाबारे शङ्‌काहरू उब्जिन सक्छ र त्यसले हाम्रो मनमा ‘गहिरो जरा गाड्‌न सक्छ।’ तर हामीले त्यस्ता शङ्‌काहरूलाई ‘उखेल्नुपर्छ।’ (२ कोरिन्थी १०:४, ५ पढ्‌नुहोस्‌।) त्यसो गर्न बाइबल र हाम्रा प्रकाशनहरूमा पाइने “परमेश्‍वरको ज्ञान”-ले मदत गर्छ। जस्तै, के तपाईँलाई आफूमाथि यहोवाको अनुमोदन नभएकोले दुःख आइपरेको हो जस्तो लागिरहेको छ? त्यसो हो भने प्रेषित पावलबारे अध्ययन गर्नुहोस्‌। प्रचारकार्यमा लाग्दा तिनले थुप्रै गाह्रो अवस्थाहरूको सामना गर्नुपऱ्‍यो। तर त्यस्ता कठिनाइहरू भोग्नुपर्दा आफू ख्रिष्टको सेवक हुँ भन्‍ने कुरामा तिनी अझै विश्‍वस्त हुन सके। (२ कोरि. ११:२३-२७) के तपाईँलाई आफूले विगतमा गरेका गल्तीहरूको लागि यहोवाले साँच्चै क्षमा दिइसक्नुभयो भन्‍ने कुरामा शङ्‌का लागिरहेको छ? त्यसो हो भने यहोवाले हाम्रा पापहरूको क्षमा दिनुहुन्छ भनेर देखाउने बाइबल पदहरूको सूची बनाउनुहोस्‌। (यसै. ४३:२५) त्यसपछि ती पदहरू पढ्‌नुहोस्‌ र त्यसमा मनन गर्नुहोस्‌। (भज. ११९:९७) के तपाईँलाई कुनै दुःखद घटना भोग्नुपरेकोले यहोवाले आफ्ना वफादार सेवकहरूलाई जोगाउनुहुन्छ भन्‍ने प्रतिज्ञामा शङ्‌का लागेको छ? त्यसो हो भने परमेश्‍वरले किन दुःखकष्ट रहन दिनुहुन्छ अनि हामीमाथि जस्तोसुकै विपत्ति आइपरे पनि उहाँले हामीलाई आध्यात्मिक रूपमा कसरी जोगाउनुहुन्छ भन्‍नेबारे अनुसन्धान गर्नुहोस्‌। (भज. ९१:९-१२) साथै गाह्रो अवस्थामा पनि वफादार भई यहोवाको सेवा गरिरहन सकेका भाइबहिनीहरूको अनुभव पढ्‌नुहोस्‌।a

१७. गाह्रो अवस्था आउँदा हामीले के गर्नुपर्छ?

१७ के तपाईँ अहिले खासै ठूलो समस्या भोग्नु नपरेकोले सुखको दिन बिताउँदै हुनुहुन्छ? त्यसो हो भने यहोवाको भलाइको लागि उहाँलाई धन्यवाद दिनुहोस्‌ अनि यस्तो अनुकूल समयको पूरापूर सदुपयोग गर्नुहोस्‌। (उप. ७:१४) तर गाह्रो अवस्था आइपर्दा त्यसप्रति सही दृष्टिकोण राख्नुहोस्‌। अनि यहोवामाथिको भरोसालाई ढलपल हुन नदिनुहोस्‌। यसो गर्नुभयो भने यहोवाले तपाईँले ‘परीक्षा सहन सकोस्‌ भनेर त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।’ (१ कोरि. १०:१३) तर हाम्रा प्यारा भाइबहिनीले गाह्रो अवस्था भोगिरहेका छन्‌ भने नि? हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ? यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • गाह्रो अवस्थाप्रति सही दृष्टिकोण राख्न हामीलाई केले मदत गर्छ?

  • गलत दृष्टिकोणले हामीलाई कसरी हानि पुऱ्‍याउन सक्छ?

  • गाह्रो अवस्था आइपर्दा सही दृष्टिकोण राख्न हामी कस्ता कदमहरू चाल्न सक्छौँ?

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

a जस्तै, jw.org मा भर्जिनिया बहिनीको “गम्भीर रोगको बाबजुद तिनी दृढ छिन्‌” भन्‍ने अनुभव पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने