जागा रहो!
घृणाको कारण भइरहेको अपराधको अन्त—यसबारे बाइबल के भन्छ?
दुःखको कुरा, हिजोआज घृणाको कारण मानिसहरूले गर्ने अपराध सामान्य भएको छ। केवल जात, धर्म, संस्कृति, लिङ्गजस्ता कारणले मात्र पनि थुप्रै मानिसहरू आक्रमणको शिकार भएका छन्। यस्ता कुराहरूले मानिसहरूमा त्रास छाएको छ र थुप्रैलाई शारीरिक र भावनात्मक रूपमा गहिरो चोट पुगेको छ। कतिपयले आफ्नो ज्यान समेत गुमाएका छन्।
अहिलेका मानिसहरू “निष्ठुर, भलाइलाई प्रेम नगर्ने” र “स्वाभाविक स्नेह नभएका” हुनेछन् भनेर बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो। (२ तिमोथि ३:१-५) त्यसोभए घृणाको कारण हुने अपराधको कहिल्यै अन्त होला? यसबारे बाइबल के भन्छ?
घृणाको कारण भइरहेको अपराध कसरी अन्त हुनेछ?
ईश्वरले क्रूरताको अन्त गर्न सक्नुहुन्छ र त्यसो गर्नु पनि हुनेछ भनेर बाइबलले बताउँछ।
“कुकर्मीहरू नामेट हुनेछन् तर . . . नम्रहरूले पृथ्वी अधिकार गर्नेछन् अनि अपार शान्तिको आनन्द उठाउनेछन्।” (भजन ३७:९-११) ईश्वरले हिंस्रक मानिसहरूलाई अरूको हानि हुने काम गर्न दिनुहुनेछैन।
“[ईश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।” (प्रकाश २१:४) मानिसहरूले भोगेका शारीरिक, भावनात्मक र मानसिक असरलाई ईश्वरले पूर्ण रूपमा हटाउनुहुनेछ।
“[मरिसकेकाहरू] फेरि जीवित हुनेछन्।” (प्रेषित २४:१५) ईश्वरले मरिसकेका करोडौँ मानिसलाई फेरि जीवित पार्नुहुनेछ, जसमा घृणाले गर्दा आफ्नो ज्यान गुमाएका मानिसहरू पनि समावेश छन्।
अहिले घृणाको सामना कसरी गर्ने?
बाइबलले हामीलाई भविष्यको आशा दिनुका साथै अहिले व्याप्त घृणाको सामना गर्न मदत पनि दिन्छ। यी महत्त्वपूर्ण प्रश्नहरूको बाइबलले दिने जवाफ थाह पाउन हामी तपाईँलाई आग्रह गर्छौँ:
हिंसातर्फ धकेल्ने घृणामाथि विजय हासिल गर्न हामी के गर्न सक्छौँ? बाइबलले यसबारे के सिकाउँछ भनेर बुझ्न “घृणामाथि विजय” शीर्षकको प्रहरीधरहरा पत्रिका पढ्नुहोस्।
ईश्वरले किन यत्ति धेरै दुःखकष्ट रहिरहन दिनुभएको छ? यसबारे बाइबलको स्पष्ट जवाफ पाउन परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भन्ने भिडियो हेर्नुहोस्।