लाइटबेरर-ले आध्यात्मिक ज्योति दक्षिणपूर्वी एसियामा लैजान्छ
सन् १९३० दशकको सुरुतिरसम्म इन्डोनेसिया, मलेसिया र अहिले पापुआ न्यु गिनी भनेर चिनिने देशहरूमा सुसमाचार पुगेको थिएन। यी देशहरूमा सुसमाचार कसरी पुग्ने थियो? यो आवश्यकतालाई ध्यानमा राख्दै अस्ट्रेलिया शाखाले (अहिले अस्ट्रेलेजिया शाखा) इन्जिनले चल्ने एउटा जहाज किन्यो। त्यसको लम्बाइ १६ मिटर थियो र त्यसमा दुई वटा मस्तुल थियो। यसलाई लाइटबेरर (ज्योतिवाहक) भन्ने नाम दिइयो किनकि त्यस जहाजमा यात्रा गर्नेहरू सबै जना अग्रगामीa थिए र तिनीहरूले त्यस जहाजमा यात्रा गरेर टाढा-टाढासम्म आध्यात्मिक ज्योति फैलाउने थिए।—मत्ति ५:१४-१६.
न्यु गिनीमा प्रचारकार्य
फेब्रुअरी १९३५ मा ती सात जनाको टोली अस्ट्रेलियाको पूर्वीय तटमा पर्ने सिड्नीबाट उत्तरमा न्यु गिनीको पोर्ट मोरेस्बीतर्फ लाग्यो। तिनीहरूले बीच-बीचमा माछा मारे अनि तिनीहरू इन्धन, थप खानेकुरा अनि जहाज मर्मतको लागि बन्दरगाहहरूमा रोकिए। अप्रिल १०, १९३५ मा तिनीहरू क्वीन्सल्यान्डको कुकटाउनबाट निस्किए। खतरनाक ग्रेट ब्यारिअर रिफ पार गर्न तिनीहरूले जहाजको इन्जिन प्रयोग गरे। तर इन्जिनले अनौठो आवाज निकाल्न थाल्यो। त्यसैले इन्जिन बन्द गर्नुपर्ने भयो। अब के गर्ने होला? त्यहाँबाट फर्कने कि न्यु गिनीतर्फ यात्रा जारी राख्ने? क्याप्टेन एरिक इविन्सले यसो भने: “हामी कुनै हालतमा फर्कन चाहँदैनथ्यौँ।” त्यसैले लाइटबेरर अघि बढ्यो अनि अप्रिल २८, १९३५ मा सकुशल पोर्ट मोरेस्बी पुग्यो।
लाइटबेरर-मा यात्रा गरेको टोली, बायाँबाट: विलियम हन्टर, चार्ल्स ह्यारिस, एलन बक्नेल (भुईँमा बसेको), एल्फ्रेड रोवे, फ्रान्क डेवार, एरिक इविन्स, रिचर्ड नट्ले
मेकानिकले इन्जिन मर्मत गर्दै गर्दा फ्रान्क डेवारबाहेक बाँकी सबै जनाले पोर्ट मोरेस्बीमा सुसमाचार प्रचार गर्न थाले। फ्रान्क जसले “महसुर अग्रगामी” भन्ने नाम कमाएका थिए, तिनले यसो भने, ‘म टन्नै किताब बोकेर लगभग ३२ किलोमिटर भित्रसम्म प्रचार गर्न गएँ।’ फर्कँदा तिनी अर्कै बाटो भएर आए अनि तिनले गोही नै गोही भएको एउटा सानो खोला तर्नुपर्ने भयो। जेहोस् तिनी सकुशल सहरसम्म आइपुगे। त्यस टोलीको प्रचारकार्यको नतिजा राम्रो भयो। त्यतिबेला बाइबल साहित्यहरू स्विकारेका केही मानिस पछि गएर यहोवाको साक्षी बने।
जाभामा प्रचारकार्य
इन्जिन बनेपछि लाइटबेरर पोर्ट मोरेस्बीबाट डच इस्ट इन्डिजको (अहिले इन्डोनेसिया) जाभा टापुतर्फ लाग्यो। सरसामान किन्न तिनीहरू बीच-बीचमा रोकिए अनि जुलाई १५, १९३५ मा तिनीहरूले बाटाभियाको (अहिले जाकर्ता) बन्दरगाहमा जहाज बिसाए।
त्यस टोलीको एक जना सदस्य चार्ल्स ह्यारिस लाइटबेरर-को यात्रा टुङ्ग्याएर जाभामै बसे अनि तिनले त्यहाँ जोसका साथ सुसमाचार प्रचार गरिरहे।b तिनी भन्छन्: “त्यतिबेला हामी मुख्यतया बाइबल साहित्यहरू वितरण गर्दै एउटा सहरबाट अर्को सहर जान्थ्यौँ। मैले आफूसँग अरबी, चिनियाँ, डच, अङ्ग्रेजी र इन्डोनेसियन भाषाका साहित्यहरू बोकेको थिएँ। मानिसहरूले हाम्रा साहित्यहरू सजिलै स्विकार्ने भएकोले मैले एक वर्षमै १७ हजार प्रति साहित्य वितरण गरेँ।”
लाइटबेरर यात्रामा
चार्ल्सको जोसिलो प्रचारकार्य डच अधिकारीहरूको आँखाबाट लुक्न सकेन। एकचोटि एक जना अफिसरले जाभामा प्रचार गरिरहेको साक्षीलाई चार्ल्स बस्ने इस्ट जाभामा कति जना यहोवाका साक्षीहरू छन् भनेर सोधे। ती भाइले यस्तो जवाफ दिए: “एक जना मात्र हुनुहुन्छ।” अफिसर यसो भन्दै चिच्याए: “मैले पत्याउँछु भन्ठानेको? वितरण भएका साहित्यहरूको सङ्ख्या हेर्ने हो भने त्यहाँ प्रचार गर्नेहरूको बथानै हुनुपर्छ।”
सिङ्गापुर र मलेसियामा प्रचारकार्य
लाइटबेरर इन्डोनेसियाबाट सिङ्गापुरतर्फ लाग्यो र अगस्त ७ मा सिङ्गापुर पुग्यो। जहाज बिसाएको हरेक ठाउँमा भाइहरूले एम्प्लिफायर र लाउडस्पिकर प्रयोग गरेर भाषणहरू बजाउँथे। सुसमाचार प्रचार गर्ने यो तरिकाले धेरैको ध्यान खिच्यो। सिङ्गापुरको एउटा अखबारमा यस्तो समाचार छापिएको थियो: ‘बुधबार राती समुद्रमा एउटा चर्को आवाज गुन्जियो। त्यो बेग्लै किसिमको भाषण थियो, जुन “लाइटबेरर” भनिने जहाजमा बजाइएको थियो। अस्ट्रेलियाबाट आएदेखि त्यसले सिङ्गापुरमा वाच टावरका कार्यक्रमहरू सुनाइरहेको छ।’ त्यस अखबारले बताएअनुसार ‘मौसम राम्रो भएको बेला त ती भाषणहरू ३-४ किलोमिटर टाढासम्म पनि प्रस्टै सुनिन्थ्यो।’
लाइटबेरर सिङ्गापुरमै छँदा फ्रान्क डेवार त्यहाँबाट नयाँ असाइनमेन्टमा लागे। आफ्नो टोलीसँग छुट्टिने बेलाको कुरा सम्झँदै तिनले यसो भने: “हामीले सिङ्गापुरमा अग्रगामी सेवा गर्न थाल्यौँ तर हाम्रो बसोबास भने जहाजमै थियो। लाइटबेरर त्यहाँबाट हिँड्ने बेला एरिक इविन्सले भन्नुभएको एउटा कुरा सुनेर मेरो होसहवास उड्यो। उहाँले यसो भन्नुभयो: ‘ल फ्रान्क, तिमीले आफ्नो इलाकाको रूपमा सायम (अहिले थाइल्याण्ड) रोजेको छु भनेका थियौ। हाम्रो साथ यहाँसम्म मात्र हो। अब आफ्नो बाटो लाग!’ म त अक्क न बक्क परेँ अनि अनकनाउँदै यसो भनेँ: ‘सायम भन्ने ठाउँ कहाँ पर्छ, मलाई केही थाह छैन!’” एरिकले फ्रान्कलाई त्यहाँ जान क्वालालम्पुरबाट (अहिले मलेसिया) रेल चढ्नुपर्छ भनेर बताए। त्यसपछि फ्रान्क क्वालालम्पुरतर्फ लागे अनि केही महिनापछि थाइल्याण्ड पुगे।c
लाइटबेरर मलेसियाको पश्चिमी तटतर्फ लाग्दै गर्दा जोहोर बारु, मुआर, मलाका, क्लाङ्, पोर्ट स्विटेनह्याम (अहिले पोर्ट क्लाङ्) र पेनाङ्गमा रोकियो। त्यस टोलीले प्रत्येक बन्दरगाहमा लाउडस्पिकर बजाएर जहाजबाटै बाइबलआधारित भाषणका रेकर्डिङहरू सुनाए। त्यतिबेला इन्डोनेसियामा सेवा गरिरहेकी साक्षी जेन डेशँले यसो भनिन्: “त्यतिबेला आकाशबाट कुनै यान नै तल ओर्लेको भए पनि मानिसहरू सायद त्यत्तिको छक्क पर्ने थिएनन् होला।” रेकर्डिङ सुनाएपछि ती भाइहरू किनारामा गएर चासो देखाएका मानिसहरूलाई साहित्यहरू दिन्थे।
सुमात्रामा प्रचारकार्य
त्यो टोली पेनाङ्गबाट मलाका स्ट्रेट हुँदै सुमात्राको (अहिले इन्डोनेसियाको एउटा भाग) मेदानतर्फ लाग्यो। एरिक इविन्सले त्यतिबेलाको कुरा सम्झँदै यसो भने: “मेदानको बसाइँ साह्रै रमाइलो भयो। थुप्रै मानिसले चासो दिएर सुसमाचार सुने।” ती भाइहरूले त्यस इलाकामा लगभग ३ हजार वटा साहित्य वितरण गरे।
लाइटबेरर दक्षिणतर्फ लाग्दै गर्दा भाइहरूले सुमात्राको पूर्वपट्टि पर्ने मुख्य-मुख्य बन्दरगाहहरूमा प्रचार गरे। नोभेम्बर १९३६ मा जहाज सिङ्गापुर फर्कियो र त्यहाँबाट एरिक इविन्स छुट्टिए। केही हप्तापछि तिनले सिङ्गापुरमा बस्ने एक साक्षी बहिनी आइरिन स्ट्राउससित विवाह गरे। एरिक र आइरिनले सँगै मिलेर सुमात्रामा अग्रगामी सेवा गरिरहे। अब भने लाइटबेरर-लाई नयाँ क्याप्टेन चाहियो।
बोर्नियोमा प्रचारकार्य
लाइटबेरर-को नयाँ क्याप्टेन नोर्मन सिनियर थिए, जो तालिमप्राप्त नाविक थिए। तिनी सिड्नीबाट जनवरी १९३७ मा सिङ्गापुर आइपुगे। त्यसपछि त्यो टोली सिङ्गापुरबाट बोर्नियो र सेलेबेसतिर (अहिले सुलावेसी) लाग्यो। त्यहाँ तिनीहरूले व्यापक रूपमा प्रचार गरे र तिनीहरू सहरभित्र ४८० किलोमिटर परसम्म गए।
लाइटबेरर बोर्नियोको सामारिन्डा बन्दरगाहमा आइपुग्दा त्यस बन्दरगाहका नाइकेले हाम्रा भाइहरूलाई स्थानीय मानिसहरूलाई प्रचार गर्ने अनुमति दिएनन्। तर भाइ नोर्मनले हाम्रो प्रचारकार्य कस्तो हो भनेर बताएपछि तिनले हामीलाई सहयोग गरे अनि हाम्रा केही साहित्य पनि लिए।
एकचोटि त्यहाँका एक पादरीले भाइ नोर्मनलाई चर्चमा भाषण दिन बोलाए। तर आफैले भाषण दिनुको साटो भाइ नोर्मनले बाइबलसम्बन्धी भाषणहरूको पाँच वटा फोनोग्राफ रेकर्डिङ सुनाए र ती पादरीले राम्रो प्रतिक्रिया देखाए। ती पादरीले आफ्ना साथीहरूको लागि केही साहित्य पनि लिए। तर सुसमाचारप्रति राम्रो प्रतिक्रिया देखाउने पादरी उनी मात्र थिए। त्यहाँका अरू पादरीहरू यहोवाका साक्षीहरूको काम देखेर खुसी थिएनन्। तिनीहरू त्यस टोलीको साहसी प्रचारकार्य देखेर रिसले चूर भए अनि लाइटबेरर-लाई अरू बन्दरगाहमा छिर्न नदिन अख्तियारवालाहरूलाई दबाबसमेत दिए।
लाइटबेरर-ले यात्रा गरेका ठाउँहरू, जसको पुरानो नाम देखाइएको छ
लाइटबेरर अस्ट्रेलिया फर्कन्छ
पादरीहरूको दबाबमा लाइटबेरर-माथि रोक लगाइएपछि डिसेम्बर १९३७ मा लाइटबेरर अस्ट्रेलिया फर्कियो। त्यस टोलीले एकदम ठीक समयमै सिड्नी बन्दरगाहमा पुगेर आफ्नो यात्रा टुङ्ग्यायो। किनकि अप्रिल १९३८ मा त्यहाँ यहोवाका साक्षीहरूको अधिवेशन हुन लागेको थियो। लाइटबेरर सिड्नीबाट हिँडेको पनि तीन वर्षभन्दा लामो समय भइसकेको थियो। अस्ट्रेलियामा यहोवाका साक्षीहरूको गतिविधिमाथि प्रतिबन्ध लागेपछि १९४० दशकको सुरुतिर त्यो जहाज बेचियो। भाइ इविन्सले यसो भने: “उनले आफ्नो काम निक्कै राम्रोसित पूरा गरिन्।” लाइटबेरर-मा यात्रा गर्दाको समयलाई तिनले आफ्नो “जीवनको अत्यन्तै रमाइला वर्षहरू” भने।
लाइटबेरर-ले छोडेको सम्पदा
लाइटबेरर-मा यात्रा गरेको टोलीले घना बस्तीहरू भएको विशाल इलाकामा राज्यको बिउ छऱ्यो। अनि जस्तोसुकै खेदो आए पनि तिनीहरूले गरेको कामले बिस्तारै फल फलायो। (लुका ८:११, १५) ती अग्रगामीहरूले प्रचार गरेका ठाउँहरूमा अहिले ४० हजारभन्दा धेरै प्रचारक छन्। ती साहसी भाइहरू र असाध्यै सुहाउँदो नाम पाएको त्यस जहाजले हाम्रो लागि कत्ति ठूलो सम्पदा छोडेर गए!
a अग्रगामी भनेको यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरू हुन्।
b चार्ल्स ह्यारिसको जीवनी जून १, १९९४ को प्रहरीधरहरा-मा (अङ्ग्रेजी) प्रकाशित भएको थियो।
c यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९१ (अङ्ग्रेजी) को पृष्ठ १८७ हेर्नुहोस्।