विश्वभरि यहोवाका साक्षीहरू कति छन्?
तपाईँहरू कस्तो व्यक्तिलाई आफ्नो सदस्यको रूपमा गन्नुहुन्छ?
हरेक महिना परमेश्वरको राज्यको सुसमाचार सक्रिय भई सुनाउनेहरूलाई यहोवाको साक्षीको रूपमा गनिन्छ। (मत्ति २४:१४) यसमा बप्तिस्मा गरेका सबै पर्छन्। साथै बप्तिस्मा नगरेका तर साक्षीकार्यमा भाग लिन योग्य भइसकेका व्यक्तिहरू पनि पर्छन्।
सदस्य बन्न चन्दा दिनुपर्छ?
पर्दैन। यहोवाको साक्षी हुन अथवा मण्डलीमा कुनै जिम्मेवारी पाउन चन्दा दिनुपर्दैन। (प्रेषित ८:१८-२०) तर यहोवाका साक्षीहरूले सङ्गठनको विभिन्न कामकुरा पूरा गर्नको लागि आफ्नो क्षमताअनुसार समय, शक्ति र स्रोतसाधन राजीखुसीले दिने गर्छन्। (२ कोरिन्थी ९:७) अनुदान दिने व्यक्तिले आफूले कति अनुदान दियो भनेर अरूलाई थाह दिँदैनन्।
साक्षीकार्यमा कति जना सक्रिय छन् भनेर कसरी पत्ता लगाउनुहुन्छ?
यहोवाका साक्षीहरू राजीखुसीले साक्षीकार्यमा भाग लिन्छन्। यसको रिपोर्ट हरेक महिना आफ्नो मण्डलीलाई दिन्छन्।
मण्डलीले सबै रिपोर्ट हिसाब गरेर त्यसको कुल सङ्ख्या निकाल्छ अनि शाखा कार्यालयमा पठाउँछ। त्यसपछि शाखा कार्यालयले प्रत्येक देशबाट आएको रिपोर्ट मुख्यालयमा पठाउँछ।
सेवा वर्षको अन्तमा प्रत्येक देशमा यहोवाका साक्षीहरू कति छन् भनेर कुल सङ्ख्या निकालिन्छ। त्यसपछि सबै देशको कुल सङ्ख्या जोडेर विश्वभरि यहोवाका साक्षीहरू कति छन् भनेर हिसाब गरिन्छ। अनि प्रत्येक देशबाट प्राप्त भएको विस्तृत रिपोर्ट हाम्रो वेबसाइटको “संसारभर” खण्डमा प्रकाशन गरिन्छ। यस रिपोर्टमा साक्षीकार्यसित सम्बन्धित अनुभवहरू पनि समावेश गरिएको हुन्छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूजस्तै हामी पनि यस्ता रिपोर्टहरूबाट प्रोत्साहन पाउँछौँ।—प्रेषित २:४१; ४:४; १५:३.
साक्षीकार्यमा भाग नलिने व्यक्तिलाई पनि आफ्नो सदस्यको रूपमा गन्नुहुन्छ?
गन्दैनौँ। तर हामी उनीहरूलाई हाम्रो सभामा स्वागत गर्छौँ। उनीहरूमध्ये धेरैजसो हरेक वर्ष मनाइने स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन्। साक्षीकार्यमा भाग नलिनेहरूको सङ्ख्या पत्ता लगाउन त्यस उत्सवमा उपस्थित भएकाहरूको कुल सङ्ख्याबाट यहोवाका साक्षीहरूको सङ्ख्यालाई घटाउँछौँ। सन् २०२५ को स्मरणार्थ उत्सवमा २,०६,३५,०१५ जना उपस्थित भएका थिए।
अरू थुप्रै व्यक्ति हाम्रो सभामा उपस्थित नभए पनि घरमै बसेर यहोवाका साक्षीहरूसित निश्शुल्क रूपमा बाइबलको कुरा सिकिरहेका छन्। सन् २०२५ मा हरेक महिना लगभग ७६,०३,१८२ वटा बाइबल अध्ययन सञ्चालन गरिएको थियो। यसमा समूह-समूहमा गरिएको बाइबल अध्ययन पनि समावेश थियो।
सरकारी तथ्याङ्क अनि तपाईँहरूको तथ्याङ्क किन फरक छ?
मानिसहरूले आफूलाई जुन धर्मको भनेर चिनाउँछन्, त्यसैको आधारमा सरकारले तथ्याङ्क निकाल्छ। उदाहरणको लागि, अमेरिकाको जनगणना विभागका अनुसार “मानिसहरूले आफूलाई जुन धार्मिक समूहको सदस्यको रूपमा चिनाउँछन्, त्यसैको आधारमा तथ्याङ्क निकालिन्छ। यसरी निकालिएको तथ्याङ्क वास्तविकतामा नभई मानिसहरूको विचारधारामा आधारित हुन्छ।” कसैले आफूलाई यहोवाको साक्षी भनेर चिनाउँदैमा तिनी हाम्रो सङ्गठनको सदस्य हुँदैनन्। बरु साक्षीकार्यमा भाग लिने अनि रिपोर्ट बुझाउने व्यक्ति मात्र हाम्रो सङ्गठनको सदस्य हुन्।
a सेप्टेम्बर १ देखि अर्को वर्षको अगस्त ३१ सम्मको समयावधिलाई सेवा वर्ष भनिन्छ। उदाहरणको लागि, २०१५ को सेवा वर्ष भनेको २०१४ को सेप्टेम्बर १ देखि २०१५ को अगस्त ३१ सम्मको समयावधि हो।