के येसुले विवाह गर्नुभयो? के येसुका दाजुभाइ दिदीबहिनी थिए?
बाइबलको जवाफ
हुनत येसुको वैवाहिक अवस्थाबारे बाइबलमा तोकेरै लेखिएको छैन तर उहाँ अविवाहित हुनुहुन्थ्यो भनेर चाहिँ बाइबल विवरणहरूले स्पष्ट पार्छ।a निम्न कुराहरू विचार गरौँ।
१. बाइबलमा येसुको परिवारबारे अनि सेवामा उहाँलाई साथ दिने र उहाँलाई मारिँदा उहाँको साथमा हुने स्त्रीहरूबारे बताइएको छ तर उहाँकी पत्नी थिइन् भनेर चाहिँ कतै उल्लेख गरिएको पाइँदैन। (मत्ति १२:४६, ४७; मर्कुस ३:३१, ३२; १५:४०; लुका ८:२, ३, १९, २०; युहन्ना १९:२५) बाइबलले यस विषयमा केही नबताउनुको सम्भाव्य कारण उहाँले कहिल्यै विवाह नगर्नुभएकोले नै हो।
२. परमेश्वरको सेवामा अझ धेरै गर्न सकियोस् भनेर अविवाहित रहनेहरूबारे येसुले आफ्ना चेलाहरूलाई भन्नुभयो: “जो अविवाहित रहन सक्छ, ऊ अविवाहित नै रहोस्।” (मत्ति १९:१०-१२) परमेश्वरप्रति पूर्ण हृदयले सेवा गर्न अविवाहितै रहने छनौट गर्नेहरूका लागि उहाँले नमुना बसाल्नुभयो।—युहन्ना १३:१५; १ कोरिन्थी ७:३२-३८.
३. येसुको मृत्युको ठीक अगाडि उहाँले आफ्नी आमाको ख्याल राख्न प्रबन्ध मिलाउनुभयो। (युहन्ना १९:२५-२७) यदि येसु विवाहित हुनुहुन्थ्यो वा उहाँका छोराछोरी थिए भने तिनीहरूको पनि ख्याल राख्न प्रबन्ध मिलाउनुहुने थियो।
४. बाइबलमा पतिहरूको लागि येसुको उदाहरण चलाइएको छ तर उहाँले मानव पत्नीलाई कस्तो व्यवहार गर्नुभयो भनेर चाहिँ बताइएको छैन। बरु बाइबल यसो भन्छ: “हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२५) यदि येसुले पृथ्वीमा हुनुहुँदा विवाह गर्नुभएको थियो भने त्यस पदमा उहाँले पतिको रूपमा पूरा गर्नुहुने भूमिकालाई नै उदाहरणको रूपमा चलाइने थिएन र?
के येसुका भाइबहिनी थिए?
हो, थिए। येसुका कम्तीमा पनि छ जना भाइबहिनी थिए। तीमध्ये उहाँका भाइहरू याकुब, युसुफ, सिमोन र यहुदाका साथै कम्तीमा दुई जना बहिनीहरू पनि थिए। (मत्ति १३:५४-५६; मर्कुस ६:३) ती भाइबहिनीहरू येसुकी आमा र उनका पति युसुफबाट जन्मेका थिए। (मत्ति १:२५) बाइबलमा येसुलाई मरियमको “पहिलो सन्तान” भनिएको छ, जुन कुराले उनको अरू सन्तान पनि थिए भनेर देखाउँछ।—लुका २:७.
येसुका भाइहरूबारे गलत धारणा
मरियम जीवनभर कुमारी रहिन् भन्ने धारणालाई जोड दिन कसै-कसैले “भाइहरू” (ग्रीक भाषाको अडेलफोइ शब्दले “दाइहरू” वा “आध्यात्मिक दाजुभाइहरू” भन्ने अर्थ पनि दिन्छ।) भन्ने शब्दलाई विभिन्न अर्थ लगाएका छन्। उदाहरणको लागि, येसुका भाइहरू युसुफको पहिलो विवाहबाट जन्मिएका छोराहरू हुन् भनी कोही-कोही सोच्छन्। तर बाइबलले भने दाउदलाई प्रतिज्ञा गरिएको सिंहासनको उत्तराधिकारी येसु हुनुहुन्थ्यो भनेर बताउँछ। (२ समुएल ७:१२, १३; लुका १:३२) यदि येसु जन्मिनुभन्दा अघि नै युसुफका छोराहरू थिए भने तीमध्ये जेठो चाहिँ कानुनी रूपमा युसुफको उत्तराधिकारी हुने थियो।
के यो शब्दले येसुका आध्यात्मिक भाइहरूलाई अर्थात् उहाँका चेलाहरूलाई बुझाउँछ? यो धारणा धर्मशास्त्रसित बाझिन्छ किनभने कुनै समय “उहाँका भाइहरू उहाँमाथि विश्वास गर्दैनथे” भनी बाइबल बताउँछ। (युहन्ना ७:५) बाइबलले येसुका भाइहरू र उहाँका चेलाहरूबीचको भिन्नता स्पष्ट पार्छ।—युहन्ना २:१२.
अर्को एउटा धारणाअनुसार येसुका भाइहरू एउटै आमाबुबाबाट जन्मेको नभई रगतको नाता पर्ने दाजुभाइ थिए। तर ग्रीक धर्मशास्त्रमा “दाजुभाइ,” “नातेदार” र “एउटै आमाबुबाबाट जन्मेको नभई रगतको नाता पर्ने दाजुभाइ”-लाई बुझाउन फरक-फरक शब्द प्रयोग गरिएको छ। (लुका २१:१६; कलस्सी ४:१०) थुप्रै बाइबलविद्हरूले पनि येसुका भाइबहिनीहरू उहाँका वास्तविक भाइबहिनीहरू हुन् भनेर स्विकारेका छन्। उदाहरणको लागि, दि एक्पोजिटर्स बाइबल कमेन्ट्री यसो भन्छ: “‘दाजुभाइ’ भन्ने अभिव्यक्तिले एकदमै तार्किक ढङ्गमा मरियम र युसुफका छोराहरूलाई नै बुझाउँछ। त्यसैले येसुका भाइहरू उहाँकै आमाले जन्माएका भाइहरू थिए।”
a बाइबलमा येसुलाई दुलहा भनिएको छ तर यसको प्रसङ्ग विचार गर्दा यो प्रतीकात्मक रूपमा मात्र लेखिएको थियो भनेर स्पष्ट हुन्छ।—युहन्ना ३:२८, २९; २ कोरिन्थी ११:२.