बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ / विश्वशान्ति—यो हासिल गर्न किन गाह्रो छ?
बाइबलको जवाफ
विश्वशान्ति ल्याउन मानिसहरूले गरेका प्रयासहरू असफल भएका छन् र भविष्यमा पनि असफल हुनेछन्। केही कारणहरू विचार गरौँ:
“आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।” (यर्मिया १०:२३) मानिसलाई आफैमाथि अधिकार गर्ने क्षमतासहित सृष्टि गरिएको होइन। त्यसैले तिनीहरूले चिरस्थायी शान्ति हासिल गर्न सक्दैनन्।
“शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्। त्यसको सास निस्किन्छ र त्यो माटैमा फर्किन्छ अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।” (भजन १४६:३, ४) राम्रो उद्देश्य राखेर काम गर्ने राजनैतिक नेताहरूले समेत युद्ध हुनुका मुख्य कारणहरू पूर्णरूपमा हटाउन सक्दैनन्।
“तर अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू . . . निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने” हुनेछन्। (२ तिमोथि ३:१-४) अहिले हामी यस दुष्ट संसारको “अन्तको दिनमा” बाँचिरहेका छौँ, जहाँ मानिसहरूको सोचाइ र मनोवृत्तिले गर्दा शान्ति कायम गर्न गाह्रो हुन्छ।
“पृथ्वी र समुद्रलाई भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।” (प्रकाश १२:१२) परमेश्वरको शत्रु सैतान पृथ्वीमा फालिएको छ र त्यसले मानिसहरूलाई आफ्नो दुष्ट चालअनुसार चल्न उक्साउँछ। सैतान “यस संसारको शासक” रहुन्जेल हामी कहिल्यै शान्तिमा रहन सक्दैनौँ।—युहन्ना १२:३१.
“[परमेश्वरको राज्यले] सबै राज्यलाई [परमेश्वरको विरोध गर्ने राज्यहरूलाई] चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।” (दानिएल २:४४) कुनै मानव सरकारले नभई परमेश्वरको राज्यले मात्र विश्वशान्ति ल्याएर मानिसहरूको इच्छा पूरा गर्नेछ।—भजन १४५:१६.