Thai Liang Lim/E+ via Getty Images
जागा रहो!
सामाजिक सञ्जालले युवाहरूमा पार्ने असर—एउटा विश्वव्यापी समस्या
सन् २०२५ को दौडान विश्वका विभिन्न राष्ट्रहरूले सामाजिक सञ्जालले युवाहरूमा पारेको प्रभावबारे चिन्ता व्यक्त गरेका छन्। एउटा देशले १६ वर्षमुनिका केटाकेटीहरूलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको छ भने अरू देशहरूले पनि त्यस्तै कदम चाल्ने विचार गर्दै छन्।
रोचक कुरा त कतिपय किशोरकिशोरीहरूले सामाजिक सञ्जालले हानि पुर्याउन सक्छ भनेर बुझेका छन्। पिउ रिसर्च सेन्टरले संयुक्त राज्य अमेरिकामा गरेको एउटा सर्वेक्षण अप्रिल २०२५ मा प्रकाशित गऱ्यो। त्यस रिपोर्टअनुसार “झण्डै आधाजसो किशोरकिशोरीहरूले (४८%) [सामाजिक सञ्जालले] आफ्नो उमेरका जवानहरूमा नराम्रो असर पारिरहेको कुरा बताए।”
युवाहरूको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने असरबारे स्वास्थ्य विशेषज्ञहरूले सजग गराउँदै आएका छन्। गत वर्ष अमेरिकी सर्जन जनरल डा. विवेक मूर्तिले यसो भने: “अहिले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको छ। यसो हुनुको विभिन्न कारणमध्ये एउटा सामाजिक सञ्जाल पनि हो।”
आमाबुबाले छोराछोरीलाई सामाजिक सञ्जालबाट आउने खतराहरूदेखि जोगाउन के गर्न सक्छन्? यसबारे बाइबलमा व्यावहारिक सल्लाह पाइन्छ।
आमाबुबाले के गर्न सक्छन्?
केही बाइबल सिद्धान्तहरू विचार गर्नुहोस्।
“चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.
सामाजिक सञ्जालले छोराछोरीमा नकारात्मक असर पुऱ्याउन सक्ने भएकोले तिनीहरूलाई सामाजिक सञ्जाल चलाउन दिनै पर्छ भन्ने दबाब महसुस नगर्नुहोस्। छोराछोरीलाई सामाजिक सञ्जाल चलाउने अनुमति दिनु अगाडि तपाईँले तिनीहरूको लागि केही नियम तोकिदिन सक्नुहुन्छ। जस्तै: कति समय चलाउने, कसलाई साथी बनाउने र कस्तो कुरा नहेर्ने।
अझ धेरै बुझ्न “के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?” र “सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्” भन्ने लेखहरू पढ्नुहोस्।
“समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१६.
तपाईँले छोराछोरीलाई सामाजिक सञ्जाल चलाउने अनुमति दिनुभएको छ भने त्यो कसरी चलाउने भनेर केही नियम तोकिदिनुहोस्। यसो गर्दा तिनीहरूकै सुरक्षा र फाइदा हुन्छ भनेर पनि बुझाउनुहोस्। छोराछोरीको आनीबानीमा केही परिवर्तन आएको याद गर्नुभयो भने सामाजिक सञ्जाल चलाउने सन्दर्भमा केही कडिकडाउ गर्न पछि नहट्नुहोस्।
सामाजिक सञ्जाल चलाउँदा होसियार हुनुपर्छ भनेर बुझाउन छोराछोरीलाई सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस् भन्ने ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्।
यस विषयमा थप बाइबलआधारित सुझावको लागि आमाबुबाहरूले “युवाहरूमा सामाजिक सञ्जालको नकारात्मक असरबारे उच्च स्वास्थ्य अधिकारीको चेतावनी—यसबारे बाइबल के भन्छ?” भन्ने लेख हेर्नुहोस्।
अझ धेरै जान्नुहोस्
बाइबलमा हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ भनेर बताइएको छ। (२ तिमोथि ३:१-५) तर यस्तो कठिन अवस्थासित जुझ्न बाइबलमा व्यावहारिक सल्लाह पनि दिइएको छ। “किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य समस्या—यसबारे बाइबल के भन्छ?” भन्ने लेखमा आमाबुबा र छोराछोरी दुवैको लागि उपयोगी हुने २० वटा भन्दा धेरै बाइबलआधारित सामग्रीहरू पाउन सक्नुहुन्छ।