के भ्रष्टाचार कहिल्यै अन्त होला?
भ्रष्टाचार एउटा विश्वव्यापी समस्या हो र यसको नतिजा धेरै नराम्रो भएको छ।a उदाहरणको लागि, कोभिड-१९ महामारीको दौडान थुप्रै देशका सरकारी अख्तियारवालाहरूले महामारी पीडितहरूलाई मदत दिन खर्च गर्नुपर्ने रकम आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरे। तिनीहरूको यस्तो कामले गर्दा थुप्रै मानिसले उपचार पाउन सकेनन् र नतिजास्वरूप उनीहरूले पीडा र मृत्यु भोग्नुपऱ्यो।
भ्रष्टाचारको असर धेरै हदसम्म फैलिएको छ। बेलायतका पूर्व-प्रधानमन्त्री डेभिड क्यामरुनले यसो भने: “भ्रष्टाचार माकुराको ठूलो जालोजस्तै हो अनि सबै देशहरू यसमा अल्झिएका छन्।”
तर अब छिट्टै सबै किसिमका भ्रष्टाचारको अन्त हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। किन? ईश्वरले अब के गर्नुहुनेछ भनेर बाइबलमा बताइएको कुरा विचार गरौँ।
ईश्वरले भ्रष्टाचारविरुद्ध कदम चाल्नुहुनेछ भनेर हामी किन भन्न सक्छौँ?
बाइबलमा ईश्वर आफैले यसो भन्नुभएको छ: “म यहोवा न्यायलाई प्रेम गर्छु; लुटपाट र अन्यायलाई म घृणा गर्छु।”b (यसैया ६१:८) भ्रष्टाचारको कारण मानिसहरूले भोग्नुपरेको दुःख ईश्वरको नजरबाट लुकेको छैन। (हितोपदेश १४:३१) उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “दीनदुःखी थिचोमिचोमा परेकोले . . . म तिनीहरूको पक्षमा खडा हुनेछु।”—भजन १२:५.
ईश्वरले के गर्नुहुनेछ? ईश्वरले अहिलेको मानव सरकारहरूमा परिवर्तनहरू ल्याउनुको सट्टा ती सबैलाई हटाएर आफ्नो राज्य खडा गर्नुहुनेछ, जसलाई “परमेश्वरको राज्य” भनिन्छ। (मर्कुस १:१४, १५; मत्ति ६:१०) बाइबल भन्छ: “स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, . . . त्यसले यी [अरू] सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।” (दानिएल २:४४) अहिले व्याप्त भ्रष्टाचार परमेश्वरले छिट्टै हटाउनुहुनेछ।
भ्रष्टाचारमुक्त सरकार
परमेश्वरले खडा गर्नुहुने सरकार कहिल्यै भ्रष्ट हुनेछैन भनेर किन भन्न सक्छौँ? निम्न कारणहरू विचार गरौँ।
१. शक्ति। यस राज्यले सर्वशक्तिमान् परमेश्वरबाटै शक्ति पाउँछ।—प्रकाश ११:१५.
यो किन महत्त्वपूर्ण छ? मानव सरकार चलाउनको लागि जनताकै पैसामा भर पर्नुपर्छ। यसले गर्दा घुस लिने, चोरी गर्ने र चलखेल गर्ने मानिसहरूले मौका पाएका छन्। तर अर्कोतर्फ, सर्वशक्तिमान् परमेश्वरमा भर पर्ने यो सरकारले भने मानिसहरूको सबै आवश्यकता पूरा गर्न सक्छ।—भजन १४५:१६.
२. शासक। परमेश्वरले येसु ख्रिष्टलाई यस राज्यको शासक नियुक्त गर्नुभएको छ।—दानिएल ७:१३, १४.
यो किन महत्त्वपूर्ण छ? असल मानव शासकहरूले समेत अरूको बहकाउमा परेर गलत काम गर्न सक्छन्। (उपदेशक ७:२०) त्यसको ठीक विपरीत, येसुलाई भने कसैले घुस दिन सक्दैन भनेर उहाँले प्रमाणित गरिसक्नु भएको छ। (मत्ति ४:८-११) साथै, उहाँ आफ्ना प्रजालाई निष्कपट प्रेम गर्नुहुन्छ र साँच्चै तिनीहरूको भलाइ चाहनुहुन्छ।—भजन ७२:१२-१४.
३. कानुन। परमेश्वरको राज्यको कानुनमा कुनै खोट छैन र यो कानुन पालन गर्नेहरूलाई यसले आनन्दित हुन मदत गर्छ।—भजन १९: ७, ८.
यो किन महत्त्वपूर्ण छ? मानिसले बनाएको कानुन अक्सर जटिल र बोझिलो हुनुको साथै कार्यान्वयन गर्न पनि गाह्रो हुन्छ। परिणामस्वरूप भ्रष्टाचार गर्नेहरूको लागि बाटो खुल्छ। तर अर्कोतर्फ परमेश्वरले बनाउनुभएको कानुन व्यवहारिक र फाइदाजनक छ। (यसैया ४८:१७, १८) यसले मानिसहरूले गर्ने काम मात्र होइन, तर तिनीहरूले कुन मनसायले त्यस्तो काम गरेका हुन्, त्यो समेत जाँच्न मदत गर्छ। (मत्ति २२:३७, ३९) हो, हृदयको कुरा बुझ्न सक्नुहुने परमेश्वरले मानिसहरूको मनसाय र परिस्थिति विचार गर्नुहुने भएकोले उहाँको कानुनले सबैलाई फाइदा पुऱ्याउँछ।—यर्मिया १७:१०.
बाइबलमा प्रतिज्ञा गरिएको भ्रष्टाचारमुक्त भविष्यबारे थप कुरा बुझ्नुहोस्।
परमेश्वरको राज्यले कहिल्यै भ्रष्टाचार गर्नेछैन भन्न सकिने थप तीन वटा कारण बुझ्न “परमेश्वरको राज्य—भ्रष्टाचारमुक्त सरकार” भन्ने लेख पढ्नुहोस्।
परमेश्वरले खडा गर्नुभएको सरकार के हो र यसले पृथ्वीको लागि के गर्नेछ भनेर बुझ्न परमेश्वरको राज्य के हो? भन्ने भिडियो हेर्नुहोस्।
बाइबलमा गरिएका प्रतिज्ञाहरूबाट तपाईँले कसरी लाभ उठाउन सक्नुहुन्छ भनेर थाह पाउन हामीसित निश्शुल्क बाइबल अध्ययन गर्नुहोस्।
a एउटा परिभाषाअनुसार “भ्रष्टाचार” भनेको व्यक्तिगत स्वार्थको लागि आफूले पाएको शक्तिको दुरुपयोग गर्नु हो।
b साँचो ईश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।