बाइबलको शिक्षाले ल्याएको परिवर्तन
यी अनुभवहरू भियतनामका दुई पुरुषहरूका हुन्, जसको जीवनमा ठूलो परिवर्तन आयो। तिनीहरू धनसम्पत्तिले नै साँचो आनन्द र सुरक्षा दिन्छ भन्ने कुरामा विश्वस्त थिए। त्यसैले तिनीहरूले पैसा कमाउनको लागि आफ्नो र अरूको हानि हुने काम समेत गरे। तर पछि तिनीहरूले बाइबलको शिक्षाले मात्र साँचो शान्ति र सन्तुष्टि दिन सक्छ भनेर बुझे। तिनीहरूको अनुभवबाट हामी कसरी जिम्मेवार, नैतिकवान् र कानुन पालन गर्ने व्यक्ति हुन सक्छौँ भन्ने कुरा बुझ्नेछौँ।
पैसाको पछि लाग्ने जीवनशैलीदेखि साँचो आनन्दसम्मको यात्रा
सानै छँदा लान भान नुवनले युद्ध, सामाजिक अस्थिरता र गरिबीजस्ता समस्याहरू भोग्नुपऱ्यो। समय बित्दै जाँदा तिनलाई मानिस खुसी हुन धनी हुनै पर्छ जस्तो लाग्यो। सन् १९८८ मा तिनी कामको लागि जर्मनी गए। तिनले त्यहाँ रात-दिन नभनी खटिएर काम गरे।
दस वर्षपछि लानको भेट यहोवाका साक्षीहरूसित भयो। साक्षीहरूले तिनलाई बाइबलको हितोपदेशको किताब देखाए। यसमा लेखिएको कुरा तिनलाई एकदमै मनपऱ्यो किनभने तिनलाई उपदेश र बुद्धिले भरिएका कुराहरू पढ्न मन पर्थ्यो। बाइबलमा उपयोगी सल्लाहहरू छन् भनेर थाह पाउँदा तिनी अझ धेरै सिक्न इच्छुक भए। तिनले बाइबल किन्न चाहेको कुरा ती साक्षी बहिनीलाई बताए। ती बहिनीले आफू र आफ्नो श्रीमान्सँग बाइबल अध्ययन गरेमा कुनै शुल्क नलिई बाइबल दिने कुरा बताइन्। अर्को भेटमा उनले एउटा बाइबल र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने बाइबल अध्ययन सामग्री लगिन्।
साक्षीहरूसँग बाइबल अध्ययन गर्दै जाँदा हातहतियार बेच्ने काम गरिरहनु ठीक हो कि होइन भनेर लानले सोच्न थाले। तिनले त्यो काम छोड्नुपर्छ भनेर छिटै बुझे र त्यसै गरे। त्यो काम छोडेपछि तिनको आम्दानी ८० प्रतिशतले घट्यो। तिनले यस विषयमा प्रार्थना गरे र अरू कुराहरू बेच्न थाले। समयको दौडान तिनको आम्दानी बढ्दै गयो।
लानले बाइबलको शिक्षा अरूलाई सिकाउने काममा सक्दो धेरै समय बिताउने निर्णय गरे। तिनी आफूले सिकेको कुरा अरूलाई बताउन चाहन्थे। तर जर्मन भाषा राम्रोसँग बोल्न नआउने भएकोले आफूले चाहेजति गर्न सकेनन्। त्यसैले आफ्नै मातृभाषामा अरूलाई बाइबल सत्य सिकाउन सकियोस् भनेर तिनी भियतनाम फर्किए।
बाइबल सत्य सिकेपछि लानले आफ्नो सोचाइ र जीवनशैलीमा परिवर्तन ल्याए। अहिले तिनी, तिनकी पत्नी र तिनीहरूका छोराछोरी आनन्दित जीवन बिताउँदै छन्।
लान र तिनकी पत्नी
अपराधी जीवनशैलीदेखि उद्देश्यपूर्ण जीवनसम्मको यात्रा
सन् १९७६ मा भियतनामको ने आनमा जन्मिएका टान भिट फन धनी बन्न चाहन्थे। धनी बन्ने सपना बोकेर १९ वर्षको उमेरमै उनले घर छोडे। उनी गैरकानुनी रूपमा जर्मनी गए र एउटा आपराधिक समूहको सदस्य भए। उनी सधैँ बन्दुक बोक्थे र सुत्ने बेला समेत त्यसलाई आफ्नो सिरानीमुनि राख्थे। उनी अपहरण गर्ने काममा संलग्न भएकोले उनलाई गिरफ्तार गरियो र छ वर्षको जेल सजाय सुनाइयो। तर उनी दुई वर्षमै जेलबाट छुटे।
त्यसपछि टान अर्को आपराधिक समूहमा सामेल भए र फेरि अपराधहरू गर्न थाले। त्यसैले उनलाई फेरि गिरफ्तार गरियो तर अदालत भने लगिएन। किनभने उनले अपराध गरेको देख्नेहरू उनीविरुद्ध बयान दिन डराउँथे। उनी कुख्यात अपराधी भनेर चिनिन थाले। अन्तमा उनलाई फेरि गिरफ्तार गरियो र दस वर्षको जेल सजाय सुनाइयो। उनको व्यवहार देखेर जेलको गार्ड र अरू कैदीहरूले पनि उनी हिंस्रक व्यक्ति रहेछन् भनेर बुझे।
एकदिन एक जना सङ्गी कैदीले उनलाई यहोवाका साक्षीहरूले जेलभित्र गर्ने सभामा उपस्थित हुन निम्तो दिए। सुरुमा त उनी जान चाहेनन् तर त्यहाँ उपस्थित भएपछि भने उनले कहिल्यै अनुभव नगरेको शान्ति महसुस गरे। उनले त्यस सभामा यहोवाका साक्षीहरूले प्रकाशित गरेको बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने किताब पाए। टानले एकै रातमा पूरै किताब पढेर सिध्याए। त्यस किताबको एउटा अध्यायमा भएको बाइबल पदले उनको ध्यान खिच्यो। त्यहाँ मरेका मानिसहरूको अवस्था गहिरो निन्द्रामा परेको जस्तै हुन्छ भनेर बताइएको थियो। (उपदेशक ९:५; युहन्ना ११:११-१४) त्यसअघि टान आफ्ना मरिसकेका आफन्तहरूले उनलाई हेरिरहेका भए पनि खराब काम गर्नदेखि चाहिँ किन रोकेनन् भनेर सोच्ने गर्थे।
टान नियमित रूपमा यहोवाका साक्षीहरूको सभामा जान थाले। त्यहाँ हुने कार्यक्रमहरूमा बाइबलको शिक्षा दिइन्छ। परमेश्वर मानिसहरूलाई धेरै प्रेम गर्नुहुन्छ र त्यसमा उनी पनि पर्छन् भनेर थाह पाए। साथै उनले के सही र के गलत भनेर छुट्ट्याउन सिके र आफूमा भएको भौतिकवादी सोचाइ र हिंस्रक स्वभावलाई हटाउन कडा मेहनत गरे। उनको लागि सबैभन्दा गाह्रो कुरा भनेको आफ्नो रिस काबुमा राख्नु थियो तर प्रार्थना र कडा मेहनतले गर्दा उनी सफल भए। सन् २००९ मा उनले जेलभित्रै बप्तिस्मा गरे र यहोवाको साक्षी भए। पछि टान भियतनाम फर्के। उनी भन्छन्: “अहिले मेरो परिवार एकदमै खुसी छ र हामी परिवारै मिलेर यहोवाको उपासना गर्छौँ। उहाँले नै मलाई बचाउनुभयो र थुप्रै तरिकामा आशिष्हरू दिनुभयो। मेरो विगत सम्झिँदा म आफैलाई यस्तो प्रश्न गर्छु, ‘मैले यहोवालाई नचिनेको भए मेरो जीवन कस्तो हुन्थ्यो होला?’”
टान र उनको परिवार
बाइबलको शिक्षाले कसरी असल नागरिक बन्न मदत गर्छ?
बाइबलको शिक्षाले मानिसको जीवनमा राम्रो प्रभाव पार्न सक्छ भन्ने कुरा लान र टानको जीवनमा आएको परिवर्तनबाट देख्न सकिन्छ। तिनीहरूले पैसाको लागि मरिहत्ते गर्ने जीवनशैली त्यागे। लानले पहिला पैसा छ भने मात्र खुसी हुन सकिन्छ भनेर सोच्ने गर्थे। तर अहिले भने परमेश्वरमाथिको विश्वास र परिवारको साथ पाएकोले तिनी साँच्चै आनन्दित छन्। अर्कोतर्फ टान भने पहिले धनी बन्नको लागि कानुन तोड्थे। तर अहिले भने उनी अरूलाई इमानदार हुन र कानुन पालन गर्न सिकाउँछन्। लान र टान दुवैले भौतिकवादी जीवनशैली त्यागे र अरूलाई पनि आनन्दित जीवन बिताउन मदत गर्ने बाइबलको शिक्षा सिकाइरहेका छन्।