‘आफ्ना शत्रुहरूलाई प्रेम गर्नुको’ अर्थ के हो?
बाइबलको जवाफ
एउटा प्रख्यात उपदेशमा येसुले यसो भन्नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो।” (मत्ति ५:४४; लुका ६:२७, ३५) उहाँले भन्नुभएअनुसार हामीलाई घृणा र अन्याय गर्नेहरूलाई समेत हामीले मायालु व्यवहार गर्नुपर्छ।
येसुले आफूसित नराम्रो व्यवहार गर्नेहरूलाई समेत क्षमा दिएर शत्रुहरूलाई प्रेम गरेको देखाउनुभयो। (लुका २३:३३, ३४) शत्रुहरूलाई प्रेम गर भन्ने येसुको शिक्षा हिब्रू धर्मशास्त्रमा (अक्सर यसलाई पुरानो करार पनि भनिन्छ) लेखिएको कुरासित मेल खान्छ।—प्रस्थान २३:४, ५; हितोपदेश २४:१७; २५:२१.
“आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।”—मत्ति ५:४३, ४४.
यस लेखमा
शत्रुहरूलाई किन प्रेम गर्नुपर्छ?
परमेश्वरले उदाहरण बसाल्नुभएको छ। परमेश्वर “बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।” (लुका ६:३५) “उहाँले दुष्ट . . . माथि घाम लगाइदिनुहुन्छ।”—मत्ति ५:४५.
प्रेमले शत्रुमा परिवर्तन ल्याउन सक्छ। बाइबलमा हामीलाई शत्रुसित दयालु व्यवहार गर्न सल्लाह दिइएको छ। त्यहाँ लेखिएअनुसार दयालु व्यवहार गर्दा ‘हामीले कोइलाको भुङ्ग्रो उसको टाउकोमा थुपारिरहेका हुनेछौँ।’ (हितोपदेश २५:२२) यस पदमा चलाइएको उदाहरणले बहुमूल्य धातु निकाल्न कुनै पदार्थलाई तताउने प्रक्रियालाई बुझाउँछ। त्यसैगरि हामीले आफूलाई घृणा गर्नेहरूसित दयालु व्यवहार गऱ्यौँ भने तिनीहरूको मन पगालेर तिनीहरूमा भएको असल गुण भेट्टाउन मदत दिइरहेका हुनेछौँ।
शत्रुहरूलाई प्रेम देखाउने केही तरिका के-के हुन्?
“तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो।” (लुका ६:२७) बाइबल यसो भन्छ: “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ।” (रोमी १२:२०) तपाईँ बाइबलमा पाइने सुनौलो नियम लागू गरेर पनि थुप्रै तरिकामा शत्रुलाई प्रेम गरेको देखाउन सक्नुहुन्छ। बाइबलमा यस्तो सुनौलो नियम दिइएको छ: “यसबाहेक मानिसहरूले तिमीहरूलाई जे-जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—लुका ६:३१.
“तिमीहरूलाई सराप्नेहरूलाई आशिष् दिइरहो।” (लुका ६:२८) शत्रुहरूले हामीसित कठोर बोली बोल्दा समेत कोमल र विचारशील भई बोल्यौँ भने एक अर्थमा हामीले तिनीहरूलाई आशिष् दिइरहेका हुन्छौँ। बाइबल यसो भन्छ: “अपमानको बदला अपमान नगर। त्यसको उल्टो आशिष् देओ।” (१ पत्रुस ३:९) यो सल्लाहले मनमा भएको घृणा हटाउन मदत गर्छ।
“तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो।” (लुका ६:२८) कसैले तपाईँको अपमान गऱ्यो भने “खराबीको बदला खराबी” नगर्नुहोस्। (रोमी १२:१७) त्यसको सट्टा परमेश्वरसित तिनको लागि क्षमा माग्नुहोस्। (लुका २३:३४; प्रेषित ७:५९, ६०) बदला नलिनुहोस्, बरु उक्त मामिलालाई परमेश्वरको हातमा छोडिदिनुहोस् किनभने परमेश्वर सही न्याय गर्नुहुन्छ।—लेवी १९:१८; रोमी १२:१९.
“आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो, तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो, तिमीहरूलाई सराप्नेहरूलाई आशिष् दिइरहो, तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो।”—लुका ६:२७, २८.
“धीरजी र दयालु” हुनुहोस्। (१ कोरिन्थी १३:४) येसुको एक जना चेला पावलले प्रेमबारे व्याख्या गर्दा मत्ति ५:४४ र लुका ६:२७, ३५ मा उल्लेख गरिएको ग्रीक शब्द (अगापे) चलाएका छन्। हामी आफ्ना शत्रुहरूप्रति डाही वा कठोर हुनुको सट्टा धीरजी र दयालु भएर यस्तो प्रेम देखाउन सक्छौँ।
“प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन। यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन, यसले अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, यो आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ। यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ। प्रेम कहिल्यै अन्त हुँदैन।”—१ कोरिन्थी १३:४-८.
के हामीले शत्रुहरूविरुद्ध युद्ध लड्नुहुन्छ?
हुँदैन। किनकि येसुले आफ्ना चेलाहरूलाई शत्रुहरूसित लड्नु हुँदैन भनेर सिकाउनुभयो। उदाहरणको लागि, उहाँले यरुसलेममाथि आक्रमण हुन लाग्दा त्यहाँका मानिसहरूलाई युद्ध लड्नुको सट्टा सहरबाट भाग्न आदेश दिनुभयो। (लुका २१:२०, २१) येसुले आफ्नो चेला पत्रुसलाई यसो भन्नुभयो: “तिम्रो तरबार म्यानमै राख किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्।” (मत्ति २६:५२) बाइबल र मानव इतिहास हेर्ने हो भने पनि प्रथम शताब्दीका येसुका चेलाहरूले शत्रुहरूहरूसित युद्ध लडेनन्।a—२ तिमोथि २:२४.
शत्रुलाई प्रेम गर्नेबारे गलत धारणाहरू
गलत धारणा: परमेश्वरको व्यवस्थाअनुसार इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई घृणा गर्नुपर्थ्यो।
तथ्य: परमेश्वरको व्यवस्थामा यस्तो कुरा पाइँदैन। बरु त्यसमा आफ्नो छिमेकीलाई प्रेम गर्नू भनिएको छ। (लेवी १९:१८) “छिमेकी” भन्ने शब्दले साधारणतया अरू मानिसलाई बुझाउँछ। तर केही यहुदीहरूले भने यस शब्दले सङ्गी यहुदीहरूलाई मात्र बुझाउँछ भन्ने गलत धारणा राख्थे। त्यसैले तिनीहरू गैर-यहुदीहरू शत्रुहरू हुन् र तिनीहरूलाई घृणा गर्नुपर्छ भनेर सोच्थे। (मत्ति ५:४३, ४४) येसुले तिनीहरूको दृष्टिकोण सच्याउन असल छिमेकी वा सामरियालीको उदाहरण चलाउनुभयो।—लुका १०:२९-३७.
गलत धारणा: शत्रुहरूलाई प्रेम गर्नु भनेको तिनीहरूको गलत कामलाई समर्थन गर्नु हो।
तथ्य: कुनै मानिसको गलत कामलाई समर्थन नगरे पनि तिनलाई प्रेम गर्न सकिन्छ भनी बाइबल बताउँछ। उदाहरणका लागि, येसुले हिंसाको विरोध गर्नुभयो तर उहाँलाई मार्नेहरूको लागि प्रार्थना गर्नुभयो। (लुका २३:३४) येसु दुष्ट अनि पापीहरूलाई घृणा गर्नुहुन्थ्यो तैपनि पापीहरूको लागि आफ्नो ज्यानै दिनुभयो।—युहन्ना ३:१६; रोमी ६:२३.
a इ. डब्ल्यु. ब्रान्जद्वारा लिखित द राइज अफ क्रिस्चियानिटी किताबमा यस्तो लेखिएको छ: “सबै उपलब्ध जानकारीलाई राम्ररी केलाउँदा मार्कस अरेलियसको (इस्वी संवत् १६१ देखि १८० सम्मका रोमी सम्राट) समयसम्म कुनै पनि ख्रिष्टियनले सेनामा भाग लिएनन्। साथै पहिले सेनामा भएकाहरूले समेत ख्रिष्टियन भएपछि सैन्य सेवा छोडे।”