तपाईँ कसरी परमेश्वरलाई चिन्न सक्नुहुन्छ?
बाइबलको जवाफ
परमेश्वरलाई चिन्न तपाईँले उहाँबारे सिक्नुपर्छ र उहाँलाई खुसी बनाउने कदमहरू चाल्नुपर्छ। अनि परमेश्वर ‘तपाईँसित नजिक हुनुहुनेछ।’ (याकुब ४:८) “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न” भनेर बाइबल बताउँछ।—प्रेषित १७:२७.
परमेश्वरलाई चिन्न के गर्नुपर्छ?
बाइबल पढ्नुहोस्
बाइबल के भन्छ? “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो।”—२ तिमोथि ३:१६.
अर्थ: बाइबलको लेखक परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो विचार बाइबल लेखकहरूको दिमागमा हालिदिनुभयो। यस विशेष किताबमार्फत हाम्रो जीवन कस्तो भएको चाहनुहुन्छ भनेर उहाँले बताउनुभएको छ। उहाँले आफ्नो व्यक्तित्वबारे पनि बताउनुभएको छ। जस्तै, प्रेम, न्याय र कृपा।—प्रस्थान ३४:६; व्यवस्था ३२:४.
तपाईँ के गर्न सक्नुहुन्छ? हरेक दिन बाइबल पढ्नुहोस्। (यहोसु १:८) पढेको कुरामा मनन गर्नुहोस्। त्यसको लागि आफैलाई सोध्नुहोस्: ‘यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?’—भजन ७७:१२.
उदाहरणको लागि, यर्मिया २९:११ पढ्नुहोस् र आफैलाई सोध्नुहोस्: ‘परमेश्वर मेरो लागि के चाहनुहुन्छ—शान्ति कि विपत्ति? उहाँ मैले दुःख पाएको चाहनुहुन्छ कि उज्ज्वल भविष्य?’
सृष्टिलाई नियाल्नुहोस्
बाइबल के भन्छ? “[परमेश्वरका] अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्।”—रोमी १:२०.
अर्थ: कुनै कलाकृति वा मेसिनलाई हेर्दा त्यसलाई बनाउने व्यक्तिबारे थुप्रै कुरा थाह पाउन सकिन्छ। त्यसैगरि परमेश्वरले सृष्टि गर्नुभएका कुराहरूलाई नियाल्दा हामी उहाँको व्यक्तित्वबारे थुप्रै कुरा सिक्न सक्छौँ। उदाहरणको लागि, मस्तिष्कको क्षमता र जटिलताबाट हामी परमेश्वरको बुद्धिबारे थाह पाउन सक्छौँ। अनि सूर्य र अरू ताराहरूको ऊर्जाबाट हामी उहाँको अथाह शक्तिबारे थाह पाउन सक्छौँ।—भजन १०४:२४; यसैया ४०:२६.
तपाईँ के गर्न सक्नुहुन्छ? सृष्टिका कुराहरू नियाल्न र त्यसमा मनन गर्न समय निकाल्नुहोस्। त्यसो गर्न आफैलाई सोध्नुहोस्: ‘सृष्टिमा भएका अचम्मलाग्दा कुराहरूबाट म परमेश्वरबारे के सिक्न सक्छु?’a तर सृष्टिका कुराहरूबाट मात्रै हामी सृष्टिकर्ताबारे सबै कुरा थाह पाउन सक्दैनौँ। त्यसैले उहाँले हामीलाई बाइबल दिनुभएको हो।
परमेश्वरको नाम प्रयोग गर्नुहोस्
बाइबल के भन्छ? “म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ। उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।”—भजन ९१:१४, १५.
अर्थ: परमेश्वरको नाम यहोवा हो, उहाँको नाम जान्ने र त्यसलाई आदरपूर्वक प्रयोग गर्नेहरूलाई उहाँ विशेष ध्यान दिनुहुन्छ।b (भजन ८३:१८; मलाकि ३:१६) उहाँ आफैले आफ्नो नाम बताउनुभएको छ। उहाँले यसो भन्नुभएको छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।”—यसैया ४२:८.
तपाईँ के गर्न सक्नुहुन्छ? यहोवाबारे कुरा गर्दा उहाँको नाम प्रयोग गर्नुहोस्।
प्रार्थनामा यहोवासित कुरा गर्नुहोस्
बाइबल के भन्छ? “यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्।”—भजन १४५:१८.
अर्थ: विश्वाससहित यहोवालाई पुकार्नेहरूसित उहाँ नजिक हुनुहुनेछ। प्रार्थना उपासनाको एउटा भाग हो र यसले परमेश्वरप्रतिको हाम्रो गहिरो आदर झल्काउँछ।
तपाईँ के गर्न सक्नुहुन्छ? नियमित रूपमा परमेश्वरलाई प्रार्थना गर्नुहोस्। (१ थिस्सलोनिकी ५:१७) आफ्नो भावना र चिन्ता-फिक्रीबारे उहाँलाई बताउनुहोस्।—भजन ६२:८.c
परमेश्वरमाथिको विश्वास बलियो बनाउनुहोस्
बाइबल के भन्छ? “विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ।”—हिब्रू ११:६.
अर्थ: परमेश्वरसित नजिक हुन हामीले उहाँमाथि विश्वास गर्नै पर्छ। बाइबलमा बताइएअनुसार परमेश्वरमाथि विश्वास गर्नु भनेको उहाँको अस्तित्व छ भनेर स्विकार्नु मात्र होइन। बरु परमेश्वरमाथि पूर्ण भरोसा गर्नु हो। त्यसमा उहाँका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन् र उहाँका स्तरहरूअनुसार चल्दा हाम्रै फाइदा हुनेछ भनेर विश्वास गर्नु समावेश छ। कुनै व्यक्तिसितको सम्बन्ध बलियो बनाउन तिनीमाथि विश्वास हुनै पर्छ।
तपाईँ के गर्न सक्नुहुन्छ? साँचो विश्वास ज्ञानमा आधारित हुन्छ। (रोमी १०:१७) त्यसैले बाइबल अध्ययन गर्नुहोस् अनि परमेश्वर किन भरोसायोग्य हुनुहुन्छ र उहाँका सल्लाहहरू किन भरपर्दा छन् भनेर आफै जाँच्नुहोस्। यहोवाका साक्षीहरू तपाईँसँगै बाइबल अध्ययन गर्न खुसी हुनेछन्।d
परमेश्वरलाई खुसी बनाउने कुराहरू गर्नुहोस्
बाइबल के भन्छ? “परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो।”—१ युहन्ना ५:३.
अर्थ: यहोवाको आज्ञा पालन गर्न सक्दो गरेर उहाँप्रति प्रेम देखाउनेहरूसित उहाँ नजिक हुनुहुन्छ।
तपाईँ के गर्न सक्नुहुन्छ? बाइबल अध्ययन गर्दा परमेश्वरलाई के मन पर्छ र के मन पर्दैन, याद गर्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘सृष्टिकर्तालाई खुसी बनाउन म कस्तो छाँटकाँट गर्न सक्छु?’—१ थिस्सलोनिकी ४:१.
परमेश्वरको सल्लाहअनुसार चलेर उहाँ तपाईँको ख्याल राख्नुहुन्छ भन्ने कुरा महसुस गर्नुहोस्
बाइबल के भन्छ? “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ।”—भजन ३४:८.
अर्थ: परमेश्वर कत्ति भलो हुनुहुन्छ भनेर थाह पाउन उहाँले तपाईँलाई निम्तो दिनुभएको छ। उहाँको प्रेम र साथ महसुस गर्नुभयो भने उहाँसित अझ नजिक हुने तपाईँको इच्छा बढ्नेछ।
तपाईँ के गर्न सक्नुहुन्छ? बाइबल पढ्दा परमेश्वरको सल्लाह लागू गर्नुहोस् र त्यसबाट हुने फाइदाहरू आफैले अनुभव गर्नुहोस्। (यसैया ४८:१७, १८) साथै परमेश्वरको मदत पाएर चुनौतीहरूको सामना गरेका, आफ्नो र परिवारको जीवनमा राम्रा परिवर्तनहरू गर्न सकेका अनि साँचो आनन्द पाएका व्यक्तिहरूको अनुभवबाट लाभ उठाउनुहोस्।e
परमेश्वरलाई चिन्नु भनेको के हो भन्नेबारे गलत धारणाहरू
गलत धारणा: परमेश्वर यत्ति शक्तिशाली अनि यत्ति महान् हुनुहुन्छ कि उहाँ हामीसित नजिक हुन चाहनुहुन्न।
तथ्य: हुनत परमेश्वर सबैभन्दा शक्तिशाली र महान् हुनुहुन्छ। तैपनि उहाँले हामीलाई आफूसित नजिक हुन निम्तो दिनुभएको छ। बाइबलमा उहाँसित घनिष्ठ मित्रता गाँसेका थुप्रै पुरुष तथा स्त्रीहरूको अनुभव पाइन्छ।—प्रेषित १३:२२; याकुब २:२३.
गलत धारणा: हामी परमेश्वरलाई चिन्न सक्दैनौँ किनकि उहाँ रहस्यमय हुनुहुन्छ।
तथ्य: परमेश्वरबारे केही कुरा बुझ्न गाह्रो छ। जस्तै, उहाँ अदृश्य हुनुहुन्छ। तैपनि हामी परमेश्वरलाई चिन्न सक्छौँ। बाइबलमा अनन्त जीवन पाउन हामीले उहाँलाई चिन्नुपर्छ भनेर बताइएको छ। (युहन्ना १७:३) बाइबलमा हाम्रो सृष्टिकर्ता र उहाँको व्यक्तित्वबारे हामीले बुझ्न सक्ने तरिकामा लेखिएको छ। साथै मानिसजाति र पृथ्वीको लागि उहाँले राख्नुभएको उद्देश्य र हाम्रो लागि तोक्नुभएको स्तरबारे पनि लेखिएको छ। (यसैया ४५:१८, १९; १ तिमोथि २:४) अनि माथि बताइएजस्तै बाइबलमा परमेश्वरको नाम उल्लेख गरिएको छ। (भजन ८३:१८) त्यसैले हामी परमेश्वरलाई चिन्न मात्र होइन उहाँसित नजिक हुन सक्छौँ।—याकुब ४:८.
a सृष्टिका कुराहरूमा परमेश्वरको बुद्धि कसरी झल्किन्छ, त्यसका केही उदाहरण विचार गर्न “सृष्टि या संयोग?” भन्ने शृङ्खला हेर्नुहोस्।
b यहोवा नामको अर्थ “बन्ने र बनाउने उहाँ नै हुनुहुन्छ” भन्ने हो। आफ्नो नाम हामीलाई बताउनुभएर उहाँले एक अर्थमा यसो भन्दै हुनुहुन्छ: ‘म आफ्नो इच्छा र उद्देश्य पूरा गरेरै छोड्छु। म आफ्नो वचन सधैँ पूरा गर्छु।’
c “किन प्रार्थना गर्ने? के ईश्वरले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।
d थप जानकारीको लागि बाइबल अध्ययन कसरी गरिन्छ? भन्ने भिडियो हेर्नुहोस्।
e “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” शृङ्खला हेर्नुहोस्।