प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जनवरी पृ. २६-३१
  • दयालु भई सत्य बोल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दयालु भई सत्य बोल्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सत्य कहाँ भेट्टाउन सक्छौँ?
  • हामी किन सत्य बोल्छौँ?
  • हामीले बाइबल सत्य कसरी बताउनुपर्छ?
  • हामीले बाइबल सत्य कहिले बताउनुपर्छ?
  • के तपाईँ सत्य र झूटबीचको भिन्‍नता छुट्ट्याउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • ‘सत्यका परमेश्‍वरले’ सधैँ आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जनवरी पृ. २६-३१

मार्च ३०–अप्रिल ५, २०२६

गीत ७६ भन कस्तो लाग्छ?

दयालु भई सत्य बोल्नुहोस्‌

“यहोवा, सत्यका परमेश्‍वर।”—भज. ३१:५.

सिक्न सकिने कुरा

हामीले किन सत्य बोल्नुपर्छ र अरूको हित हुनेगरि हामी कसरी बाइबल सत्य सिकाउन सक्छौँ?

१. यहोवाको परिवारको भाग बन्‍न हामीले के गर्नुपर्छ?

कोही भाइबहिनीलाई पहिलो पटक भेट्‌दा हामी अक्सर यो प्रश्‍न सोध्छौँ: “तपाईँले कसरी सत्य सिक्नुभयो?” यसको जवाफ फरक-फरक हुन सक्छ। केहीले “म सत्यमै हुर्किएको हुँ” भन्छन्‌। केहीले भने “म भर्खर सत्यमा आएको हुँ” भन्छन्‌। सत्यले हाम्रो जीवनमा ठूलो प्रभाव पारेकोले हामी यस्तो जवाफ दिन्छौँ। हामी सत्यलाई प्रेम गर्छौँ र त्यसैअनुसार जीवन बिताउँछौँ भने मात्र यहोवाको परिवारको भाग बन्‍न सक्छौँ। सत्यअनुसार जीवन बिताउनुमा आफ्नो बोली र व्यवहारमा इमानदार हुनु पनि समावेश छ।—भज. १५:१-३.

२. (क) मानिसहरूलाई येसुबारे कुन कुरा थाह थियो? (ख) येसुको सन्देशप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाउने थिए?

२ येसु सधैँ सत्य बोल्नुहुन्थ्यो। यो कुरा उहाँका शत्रुहरूले पनि स्विकारेका थिए। हुनत आफूले भन्‍ने सबै कुरा मानिसहरूलाई मन पर्नेछैन भनेर येसुलाई थाह थियो। तैपनि उहाँले सधैँ साँचो कुरा बोल्नुभयो। (मत्ति २२:१६) आफूले सिकाउने सत्यले पार्ने असरबारे येसुले यसो भन्‍नुभयो: “म छोरालाई बुबाविरुद्ध, छोरीलाई आमाविरुद्ध अनि बुहारीलाई सासूविरुद्ध उठाएर फूट गराउन आएको हुँ।” (मत्ति १०:३५) हुनत आफू र आफ्ना चेलाहरूले सिकाउने सत्यप्रति मानिसहरूले नकारात्मक प्रतिक्रिया देखाएको उहाँ चाहनुहुन्‍नथ्यो। तर मानिसहरूले त्यस्तो प्रतिक्रिया देखाउनेछन्‌ भनेर येसुलाई थाह थियो। (मत्ति २३:३७) कुरा स्पष्ट छ, येसुको सन्देशप्रति मानिसहरूले दुई फरक प्रतिक्रिया देखाउने थिए; कसैले सत्यलाई प्रेम गर्ने थिए तर अरूले भने घृणा गर्ने थिए।—२ थिस्स. २:९-११.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ हामीले सत्य बोलेको अरूलाई सधैँ मन नपर्न सक्छ। तैपनि हामी येसुले जस्तै सत्य बोल्न प्रयास गर्छौँ। हामीले प्रचार गर्ने र सिकाउने बाइबल सत्य कसै-कसैलाई मन नपर्न सक्छ। तैपनि हामी त्यसो गर्न छोड्‌दैनौँ। हामीले सत्य बोल्ने सन्दर्भमा ध्यान दिनुपर्ने केही कुराहरू छन्‌। यसबारे अझ राम्ररी बुझ्न यस लेखमा यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ: हामी सत्य कहाँ भेट्टाउन सक्छौँ? हामीले किन, कसरी र कहिले बाइबल सत्य बताउनुपर्छ? यी प्रश्‍नहरूको जवाफ थाह पाउँदा दयालु भई सत्य बोल्न सक्नेछौँ अर्थात्‌ कौशलता अपनाउन र ठीक समयमा ठीक कुरा बोल्न सक्नेछौँ।

सत्य कहाँ भेट्टाउन सक्छौँ?

४. हामी किन यहोवालाई सत्यको स्रोत भन्‍न सक्छौँ?

४ यहोवा सत्यको स्रोत हुनुहुन्छ। उहाँ सधैँ सत्य बोल्नुहुन्छ। जस्तै, यहोवाले सही र गलतबारे भन्‍नुभएका कुराहरू सत्य छन्‌। (भज. १९:९; ११९:१४२, १५१) उहाँले भविष्यबारे भन्‍नुहुने सबै कुरा सत्य साबित हुन्छन्‌। (यसै. ५५:१०, ११) उहाँ आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ। (गन्ती २३:१९) हो, यहोवाले झूट बोल्न असम्भव छ! (हिब्रू ६:१८) त्यसैकारण यहोवालाई “सत्यका परमेश्‍वर” भनिएको छ।—भज. ३१:५.

५. “सत्यका परमेश्‍वर”-लाई भेट्टाउन किन गाह्रो छैन? (प्रेषित १७:२७)

५ कोही-कोहीले “सत्यका परमेश्‍वर” यहोवालाई भेट्टाउन गाह्रो छ भन्छन्‌। तर वास्तवमा त्यस्तो होइन। यहोवा हुनुहुन्छ भन्‍ने प्रमाण सृष्टिमा छर्लङ्‌गै देखिन्छ। (रोमी १:२०) पावलले एथेन्स सहरका बुद्धिजीवीहरूसित कुरा गर्दा हामीले ‘परमेश्‍वरलाई खोजेको अनि भेट्टाएको’ उहाँ चाहनुहुन्छ भनेर बताए। साथै “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” भनेर पनि बताए। (प्रेषित १७:२७ पढ्‌नुहोस्‌।) वास्तवमा भन्‍ने हो भने सत्य खोजिरहेका नम्र मानिसहरूलाई यहोवा आफूतर्फ खिच्नुहुन्छ।—युह. ६:४४.

६. (क) हामीले बाइबलबाट कस्ता सत्यहरू सिक्न पाएका छौँ? (ख) ती सत्यहरू सिक्न पाएकोमा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?

६ यहोवालाई भेट्टाउन हामीले गर्न सक्ने एउटा कुरा बाइबलको अध्ययन गर्नु हो। बाइबल लेख्ने पुरुषहरू परमेश्‍वरको पवित्र शक्‍तिबाट उत्प्रेरित भएका थिए। (२ पत्रु. १:२०, २१) त्यसैले बाइबलमा लेखिएका सबै कुरा सत्य र भरपर्दा छन्‌। जस्तै, ब्रह्‍माण्डको र पृथ्वीमा जीवनको सुरुवातबारे बाइबलले बताउने कुरामा हामी विश्‍वास गर्न सक्छौँ। (उत्प. १:१, २६) हामी कसरी पापी भयौँ र हामीले किन दुःखकष्ट र मृत्यु भोग्छौँ भन्‍नेबारे बाइबलले बताउने कुरामा हामी भरोसा गर्न सक्छौँ। (रोमी ५:१२; ६:२३) “झूटको बुबा” सैतानले पुऱ्‍याएका सबै हानिलाई यहोवाले येसुमार्फत सच्याउनुहुनेछ भन्‍ने कुरामा पनि शङ्‌का गर्नुपर्दैन। (युह. ८:४४; रोमी १६:२०) येसुले दुष्टहरूलाई नाश गर्नुहुनेछ, मरेकाहरूलाई ब्युँताउनुहुनेछ, पृथ्वीलाई पहिलाकै अवस्थामा फर्काउनुहुनेछ र हामीलाई त्रुटिरहित हुन मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। (युह. ११:२५, २६; १ युह. ३:८) यहोवाले हामीलाई यस्ता अनमोल सत्यहरू सिकाउनुभएको छ। साथै ती अरूलाई सिकाउने मौका पनि दिनुभएको छ। यस्ता सत्य कुराहरू सिक्न र सिकाउन पाउनु हाम्रो लागि ठूलो सुअवसरको कुरा हो!—मत्ति २८:१९, २०.

हामी किन सत्य बोल्छौँ?

७-८. हामीले सत्य बोल्नुको मनसाय किन महत्त्वपूर्ण छ? एउटा उदाहरण दिनुहोस्‌। (मर्कुस ३:११, १२) (चित्रहरू पनि हेर्नुहोस्‌।)

७ यस लेखको सुरुमा सिकेजस्तै यहोवाको परिवारको भाग बन्‍न चाहन्छौँ भने हामीले सत्य बोल्नुपर्छ। तर यहोवालाई खुसी बनाउन सत्य बोल्नु मात्र पर्याप्त छैन। बरु हामी किन सत्य बोल्छौँ, त्यो यहोवाको लागि महत्त्वपूर्ण छ। येसु पृथ्वीमा हुनुहुँदाको एउटा घटना विचार गरौँ। (मर्कुस ३:११, १२ पढ्‌नुहोस्‌।) उहाँ गालिल समुद्रनजिकै आफूकहाँ आएको ठूलो भीडलाई सिकाउँदै हुनुहुन्थ्यो। भीडमा प्रेतले सताएका मानिसहरू पनि थिए। तिनीहरूले उहाँलाई देख्नेबित्तिकै दण्डवत्‌ गर्दै यसो भन्दै कराए: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ!” ती प्रेतहरूले येसुबारे सत्य कुरा भन्‍नुको कारण के थियो? तिनीहरूले मानिसहरूको भरोसा जित्न खोजेको र मानिसहरूले यहोवाको सेवा नगरून्‌ भन्‍ने चाहेको हुन सक्छ। हुनत प्रेतहरूले सत्य बोले तर तिनीहरूको मनसाय गलत थियो। तिनीहरूले येसुलाई झुक्क्याउन वा खुसी पार्न सकेनन्‌। त्यसैले येसुले ती प्रेतहरूलाई उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी कडा चेतावनी दिनुभयो।

८ यस विवरणबाट के सिक्न सक्छौँ? हामी कस्तो मनसायले सत्य बोल्छौँ, त्यो यहोवाको लागि महत्त्वपूर्ण छ। त्यसैले हामीले सही मनसाय राखेर सत्य सिकाउनुपर्छ। अनि हाम्रो सन्देश सुनेर कसैले हाम्रो महिमा गर्दा त्यसको श्रेय आफैले लिनु हुँदैन बरु यहोवालाई दिनुपर्छ।—मत्ति ५:१६; प्रेषित १४:१२-१५ तुलना गर्नुहोस्‌।

एक बहिनीले एउटी युवतीलाई अध्ययन गराइरहेको दुई वटा फरक दृश्‍य देखाइएको छ। १. ती बहिनीले आफैबारे मात्र बताइरहेकी छिन्‌ र बाइबल टेबुलमा घोप्टो पारेर राखेकी छिन्‌। २. ती बहिनी विद्यार्थीलाई बाइबल पद देखाउँदै छिन्‌।

बाइबल सत्य सिकाउँदा तपाईँ कोतर्फ ध्यान खिच्नुहुन्छ? (अनुच्छेद ७-८ हेर्नुहोस्‌)


९. हामी के गर्नदेखि होसियार हुनुपर्छ र किन?

९ आफ्नो महिमा खोज्नदेखि होसियार हुनुपर्ने अर्को क्षेत्र विचार गरौँ। मानौँ, एक जना एल्डरले तपाईँलाई भरोसा गरेर कुनै गोप्य जानकारी बताए र तपाईँले त्यो कुरा अरूलाई पनि भन्‍नुभयो। पछि तिनीहरूले तपाईँले भन्‍नुभएको कुरा सही रहेछ भनेर थाह पाए। त्यसपछि तिनीहरूले यस्तो सोच्न थाले: ‘ओहो, उसलाई त यस्तो गोप्य कुरा पनि थाह रहेछ है! उसलाई अझ कत्ति कुरा थाह होला!’ यसरी तपाईँ मानिसको नजरमा त महत्त्वपूर्ण देखिनुभयो तर परमेश्‍वरको नजरमा चाहिँ होइन। (हितो. ११:१३) किन? एउटा, तपाईँले गोप्य जानकारी अरूलाई बताउनुभयो। अर्को, तपाईँले सत्य त बोल्नुभयो तर तपाईँको मनसाय भने गलत थियो।

हामीले बाइबल सत्य कसरी बताउनुपर्छ?

१०. हाम्रो बोली “दयालु” हुनुपर्छ भन्‍नुको अर्थ के हो? (कलस्सी ४:६)

१० कलस्सी ४:६ पढ्‌नुहोस्‌। पावलले कलस्सीका ख्रिष्टियनहरूलाई ‘तिमीहरूको बोली सधैँ दयालु होस्‌’ भनेर सम्झाए। तिनले के भन्‍न खोज्दै थिए? यहाँ प्रयोग गरिएको मूल भाषाको अभिव्यक्‍तिले हाम्रो बोली अरूलाई फाइदा हुने किसिमको मात्र होइन तर स्विकार्न सजिलो हुने किसिमको पनि हुनुपर्छ भन्‍ने अर्थ दिन्छ।

११-१२. अरूलाई बाइबलको सत्य सिकाउँदा कुन कुरामा होसियार हुनुपर्छ? उदाहरण दिनुहोस्‌। (चित्रहरू पनि हेर्नुहोस्‌।)

११ अरूलाई बाइबलको सत्य सिकाउँदा पनि हामीले पावलको सल्लाह लागू गर्नुपर्छ। बाइबलमा पाइने सत्यलाई दुईधारे तरबारसित तुलना गरिएको छ, जसले मानिसको बाहिरी रूप र भित्री रूपलाई अलग पार्छ। अर्को शब्दमा भन्‍नुपर्दा, यसले हाम्रो र अरूको हृदयको विचार र मनसाय प्रकट गर्छ। (हिब्रू ४:१२) तर कौशलता अपनाएनौँ भने हामीले भनेको कुराले गर्दा अरूले ठेस खान सक्छन्‌ र अनावश्‍यक विवादसमेत हुन सक्छ। कसरी?

१२ मानौँ, तपाईँले प्रचारकार्यमा धर्ममा आस्था राख्ने एक जना मानिस भेट्‌नुभयो। तिनी हरेक दिन मूर्तिसामु झुकेर प्रार्थना गर्छन्‌ र हरेक वर्ष परिवारसँगै मिलेर क्रिसमस मनाउँछन्‌। हुनत तपाईँ पहिलो भेटमै बाइबल प्रयोग गरेर निर्जीव मूर्तिहरू पुज्नु मूर्खता हो अनि क्रिसमस बाइबलआधारित चाड होइन भनेर प्रमाणित गर्न सक्नुहुन्छ। (यसै. ४४:१४-२०; २ कोरि. ६:१४-१७) त्यसो गर्दा तपाईँले सत्य त बोल्नुभएको हुन्छ तर कौशलता अपनाउनुभएको भने हुँदैन।

एउटा दम्पतीले एक पुरुषलाई ढोकैमा साक्षी दिइरहेको दुई वटा फरक दृश्‍य देखाइएको छ। घरभित्र तिनको परिवार क्रिसमस ट्री सजाउँदै छ। १. दम्पतीले ती पुरुषलाई jw.org बाट “बाइबलले क्रिसमसबारे के भन्छ?” लेख देखाउँदै छन्‌। ती पुरुष हात बाँधेर सुनिरहेका छन्‌ र तिनको अनुहार हेर्दा चित्त नबुझेको जस्तो देखिन्छ। २. दम्पतीले ती पुरुषलाई jw.org बाट “तपाईँ कसरी असल बुबा बन्‍न सक्नुहुन्छ?” लेख देखाउँदै छन्‌। ती पुरुष मुस्कुराइरहेका छन्‌।

तपाईँ बाइबल सत्य कसरी कौशलतापूर्वक सिकाउन सक्नुहुन्छ? (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)a


१३. हामी आफ्नो बोलीलाई कसरी नुनले स्वादिलो पारेको जस्तै बनाउन सक्छौँ?

१३ पावलले हाम्रो बोली सधैँ नुनले स्वादिलो पारेको जस्तै हुनुपर्छ भनेर पनि बताए। तर तिनले मानिसहरूले बाइबलको सत्य स्विकारून्‌ भनेर त्यसलाई बङ्‌ग्याउनुपर्छ वा लुकाउनुपर्छ भन्‍न खोजेका होइनन्‌। बरु यहाँ तिनले हाम्रो बोली आफूलाई नभई हाम्रो कुरा सुन्‍ने व्यक्‍तिलाई स्वादिलो लाग्ने किसिमको हुनुपर्छ भनेर बताउँदै थिए। (अय्यु. १२:११) तर त्यसो गर्न सधैँ सजिलो हुँदैन। खानेकुराकै विषयमा विचार गरौँ! प्रायः हामी आफूलाई मीठो लाग्ने कुरा अरूलाई पनि मीठो लाग्छ होला भनेर सोच्ने गर्छौँ। बोलीको सन्दर्भमा पनि कुरा त्यही हो। हामी जसरी बोल्छौँ, त्यो सबैलाई मन पर्छ जस्तो हामीलाई लाग्ला तर त्यसो त होइन। जस्तै, कुनै-कुनै संस्कृतिमा मानिसहरू आफूभन्दा पाको व्यक्‍तिसित कुरा गर्दा समेत आफ्नो विचार सीधै बताउने गर्छन्‌। तर अर्को संस्कृतिमा भने त्यसरी बोल्नु अस्वीकार्य अनि अशिष्टसमेत देखिन्छ। त्यसैले हामीले ‘हरेकलाई कसरी जवाफ दिनुपर्ने हो, त्यो जान्‍नुपर्छ’ भनेर पावलले बताए। मतलब, हामीले आफ्नो बोली हामीलाई नभई हाम्रो कुरा सुन्‍ने व्यक्‍तिलाई मन पर्ने अनि हाम्रो नभई तिनको संस्कृतिले स्विकार्ने किसिमको बनाउनुपर्छ।

हामीले बाइबल सत्य कहिले बताउनुपर्छ?

१४. येसुले आफ्ना चेलाहरूलाई किन एकै चोटि सबै कुरा सिकाउनुभएन?

१४ येसुले चेलाहरूसित सधैँ दयालु भई बोल्नुभयो र तिनीहरूलाई थुप्रै कुरा सिकाउनुभयो। (मर्कु. ६:३४) तिनीहरूले अझ पनि धेरै कुरा सिक्न बाँकी थियो। तर येसुले तिनीहरूलाई सबै कुरा एकै चोटि सिकाउन खोज्नुभएन। किनभने उहाँले चेलाहरूको सीमितता बुझ्नुभएको थियो। तिनीहरूलाई कुनै-कुनै सत्य सिकाउने सही समय आएको छैन भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्‌ तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ।” (युह. १६:१२) यसबाट हामी के सिक्न सक्छौँ?

१५. हामीले बाइबल विद्यार्थीलाई किन सबै कुरा एकै चोटि सिकाउन खोज्नु हुँदैन? (हितोपदेश २५:११) (चित्र पनि हेर्नुहोस्‌।)

१५ हुनत हामीलाई बाइबलको धेरै कुरा थाह छ होला। तर त्यसो भन्दैमा बाइबल विद्यार्थीलाई सबै कुरा एकै चोटि सिकाउनुपर्छ भन्‍ने होइन। बरु तिनीहरूको परिस्थिति राम्ररी विचार गरेर सिकाउनुपर्छ। अनुच्छेद १२ मा चर्चा गरिएका मानिसबारे फेरि विचार गरौँ, जसले हरेक वर्ष आफ्नो परिवारसँगै क्रिसमस मनाउँछन्‌। हुनत हामीलाई क्रिसमस बाइबलआधारित चाड होइन अनि यो परमेश्‍वरको लागि स्वीकार्य छैन भनेर थाह छ। तर मानौँ, क्रिसमस आउँदै छ अनि तपाईँले त्यस व्यक्‍तिसित अध्ययन थाल्नुभएको एक-दुई हप्ता मात्र भएको छ। अब के तपाईँ तिनलाई क्रिसमसबारे बाइबलले के भन्छ भनेर तुरुन्तै बताउनुहुन्छ? अनि तिनले क्रिसमस मनाउन छोड्‌नुपर्छ भन्‍नुहुन्छ? त्यसो गर्नुभयो भने दयालु भई बोलिरहनुभएको हुँदैन। हुनत केही विद्यार्थीले आफूले सिकेको सबै कुरा तुरुन्तै लागू गर्छन्‌ तर कसै-कसैलाई भने समय लाग्न सक्छ। हामी आफ्ना विद्यार्थीहरूले प्रगति गरेको चाहन्छौँ। त्यसैले तिनीहरूले छाँटकाँट गर्नुपर्ने कुरा सही समयमा बताउनुपर्छ। यसको मतलब, आफूले त्यो छाँटकाँट गर्नुपर्छ भनेर स्विकार्न तिनीहरूको मन तयार भइसकेको हुनुपर्छ।—हितोपदेश २५:११ पढ्‌नुहोस्‌।

अगाडि देखाइएको दम्पती ती पुरुषलाई तिनको घरमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” पुस्तिकाबाट अध्ययन गराउँदै छन्‌। नजिकै क्रिसमस ट्री छ।

बाइबलको सत्य कहिले र कसरी बताउने भनेर निर्णय गर्नुपर्दा येसुको अनुकरण गर्नुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. हामी बाइबल विद्यार्थीहरूलाई ‘सत्यमा हिँडिरहन’ कसरी मदत गर्न सक्छौँ?

१६ मानिसहरूलाई यहोवाबारे सत्य कुरा सिकाउन पाउँदा हामीलाई खुसी लाग्छ। हामीलाई यत्तिको खुसी दिने कुरा सायद कमै होला! बाइबल विद्यार्थीहरूलाई ‘सत्यमा हिँडिरहन’ मदत गर्न तपाईँ यी कुराहरू गर्न सक्नुहुन्छ: तिनीहरूको लागि राम्रो उदाहरण बसाल्नुहोस्‌। (३ युह. ३, ४) तपाईँ परमेश्‍वरको वचनमा पाइने प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहुन्छ भनेर आफ्नो जीवनशैलीबाट देखाउनुहोस्‌। सत्य बोल्दा आफ्नो मनसाय पनि जाँच्नुहोस्‌। अरूलाई सत्य सिकाउँदा दयालु र कोमलतासाथ अनि सही समयमा बोल्नुहोस्‌। अनि कसैले तपाईँको महिमा गर्दा त्यसको श्रेय यहोवालाई दिनुहोस्‌। यसो गर्दा तपाईँले सत्यका परमेश्‍वर यहोवाको उपासना गरेको कुरा देखाइरहनुभएको हुनेछ।

तपाईँले यी बाइबल पदहरूबाट के सिक्नुभयो?

  • प्रेषित १७:२७

  • कलस्सी ४:६

  • हितोपदेश २५:११

गीत १६० “सुसमाचार”!

a चित्रको व्याख्या: पहिलो चित्रमा साक्षी भाइले घरधनीको क्रिसमस ट्री देख्छन्‌ अनि क्रिसमसबारे बाइबलले के बताउँछ भन्‍नेबारे लेख देखाउँछन्‌। दोस्रो चित्रमा तिनले बुबाहरूको लागि व्यावहारिक सल्लाहहरू भएको लेख देखाउँछन्‌। तपाईँको विचारमा यीमध्ये कुनचाहिँ तरिका प्रभावकारी होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने