प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१५ पृ. १७-२१
  • यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन्ततः मैले हासिल गरेको लक्ष्य
  • तास्मानियामा अग्रगामी सेवा गर्दै
  • क्षेत्रीय निरीक्षकको काम र गिलियड
  • एउटा अविस्मरणीय अनुभव
  • नयाँ मिसनरीहरू आइपुग्छन्‌
  • हाम्रो हालको जिम्मेवारी
  • खुसीसाथ यहोवाको निर्देशन स्वीकार्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाले मलाई युवावस्थादेखि नै सिकाइरहनुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१५ पृ. १७-२१

जीवनी

यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो

म्याक्स लोइडको वृत्तान्तमा आधारित

कुरा सन्‌ १९५५ को हो। म र एक जना मिसनरी साथी सेवाको दौडान दक्षिण अमेरिकाको पाराग्वेमा थियौं। एक रात हामी बसिरहेको घरलाई एकदमै आक्रोशित भीडले घेरा हाल्यो र यसो भन्दै करायो: “हाम्रो देवता रक्‍त पिपासु देवता हो। ऊ यी विदेशीहरूको रगत पिउन चाहन्छ।” हामी विदेशीहरू कसरी यो ठाउँमा आइपुग्यौं?

म अस्ट्रेलियामा हुर्कें-बढें। त्यहींबाट नै यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो। सन्‌ १९३८ मा मेरो बुबाले एक जना साक्षीले दिनुभएको शत्रुहरू (अङ्‌ग्रेजी) शीर्षकको किताब स्वीकार्नुभयो। उहाँ अनि आमालाई पहिल्यैदेखि स्थानीय पादरीहरू देखेर दिक्क लागेको थियो। किनभने तिनीहरू बाइबलको कुनै-कुनै कुरालाई नीतिकथाको रूपमा बताउँथे। त्यो किताब स्वीकारेको करिब एक वर्षपछि मेरो बुबाआमाले यहोवालाई समर्पण गरेको कुरा जाहेर गर्न बप्तिस्मा गर्नुभयो। त्यसदेखि यता यहोवाको इच्छाअनुसार गर्नु हाम्रो परिवारको प्रमुख भाग नै बन्यो। मेरी दिदी लेस्ली मभन्दा पाँच वर्षले जेठी हुनुहुन्थ्यो। बुबाआमाले बप्तिस्मा गरिसकेपछि उहाँले बप्तिस्मा गर्नुभयो र त्यसपछि सन्‌ १९४० मा मैले नौ वर्षको उमेरमा बप्तिस्मा गरें।

दोस्रो विश्‍वयुद्ध सुरु भएको केही समयपछि नै अस्ट्रेलियामा यहोवाका साक्षीलाई बाइबल साहित्यहरू प्रकाशन गर्न अनि वितरण गर्न प्रतिबन्ध लगाइयो। त्यसैले मैले सानो छँदा बाइबल मात्र प्रयोग गरेर आफ्नो विश्‍वासबारे अरूलाई बताउन सिकें। म किन झन्डा सलामी गर्दिनँ अनि युद्धरत राष्ट्रहरूको पक्ष लिंदिनँ, त्यो कुरा बुझाउन स्कूलमा सधैं बाइबल बोकेर जान्थें।—प्रस्थ. २०:४, ५; मत्ती ४:१०; यूह. १७:१६; १ यूह. ५:२१.

स्कूलका धेरैजसो साथीहरू मलाई “जर्मन जासुस” भन्थे, त्यसैले मसित सङ्‌गत गर्दैनथे। त्यतिबेला स्कूलमा फिल्म देखाइन्थ्यो। फिल्म सुरु हुनुअघि सबै जना उठ्‌नुपर्थ्यो र राष्ट्रिय गान गाउनुपर्थ्यो। तर मचाहिं उठ्‌दिनथें। त्यसैले दुई/तीन जना केटाहरूले मलाई कपाल तानेर उठाउन खोज्थे। बाइबलआधारित विश्‍वासलाई नत्यागेको कारण अन्ततः मलाई स्कूलबाट निकालियो। तर मैले घरमै बसेर स्कूले शिक्षा बराबरको शिक्षा लिन सकें।

अन्ततः मैले हासिल गरेको लक्ष्य

मैले चौध वर्ष पुगेपछि अग्रगामीको रूपमा पूर्ण-समय सेवा सुरु गर्ने लक्ष्य राखेको थिएँ। तर त्यसभन्दाअघि मैले जागिर खानुपर्छ भनेर बुबाआमाले भन्‍नुहुँदा म साह्रै खिन्‍न भएँ। मैले कोठा भाडा तिर्नुपर्छ अनि खानाको पनि पैसा दिनुपर्छ भनेर उहाँहरूले भन्‍नुभयो। तर १८ वर्ष पुगिसकेपछि मैले अग्रगामी सेवा सुरु गर्न सक्छु भनेर उहाँहरूले बताउनुभयो। उहाँहरूसित सधैंजसो नै मैले कमाएको पैसाको विषयमा बहस हुन्थ्यो। म आफूले कमाएको पैसा अग्रगामी सेवा गर्नको लागि बचाएर राख्न चाहन्छु भन्थें तर उहाँहरूले मलाई राख्नै दिनुहुन्‍नथ्यो, सबै लिनुहुन्थ्यो।

अग्रगामी सेवा सुरु गर्ने समय आएपछि बुबाआमाले मसित बसेर कुरा गर्नुभयो। मैले उहाँहरूलाई दिएको सबै पैसा बैंकमा राखेको छ भनेर बताउनुभयो। त्यसपछि लुगाफाटा किन्‍न अनि अग्रगामी सेवाको लागि आवश्‍यक पर्ने अन्य सरसामान किन्‍न उहाँहरूले त्यो पैसा मलाई फिर्ता गर्नुभयो। आफ्नो खुट्टामा उभिन सिकोस्‌ अनि अरूमा भर पर्नु नपरोस्‌ भनेर नै उहाँहरूले त्यसो गर्नुभएको रहेछ! त्यो तालिम कत्ति अनमोल थियो, म बयानै गर्न सक्दिनँ।

दिदी र म सानो छँदा अग्रगामीहरू अक्सर हाम्रो घरमा बस्नुहुन्थ्यो र हामीलाई उहाँहरूसित प्रचार जान रमाइलो लाग्थ्यो। सप्ताहन्तमा हामी घर-घरको प्रचार गर्न, सडक-साक्षी दिन अनि बाइबल अध्ययनहरू गर्नमै व्यस्त हुन्थ्यौं। त्यसताका मण्डलीका प्रकाशकको लक्ष्य महिनाको ६० घण्टा बुझाउनुथियो। मेरी आमाले प्रायजसो त्यो लक्ष्य पूरा गर्नुहुन्थ्यो। त्यसैले उहाँको उदाहरणले दिदी र मलाई राम्रो प्रभाव पाऱ्‍यो।

तास्मानियामा अग्रगामी सेवा गर्दै

मलाई अग्रगामीको रूपमा पहिलो पटक खटाइएको ठाउँ अस्ट्रेलियाको तास्मानिया नाम गरेको टापु थियो। त्यहाँ मैले दिदी र भिनाजुसँगै मिलेर सेवा गरें। तर केही समयपछि नै उहाँहरू गिलियड स्कूलको १५ औं कक्षामा उपस्थित हुनको लागि त्यहाँबाट हिंड्‌नुभयो। म एकदमै लजालु स्वभावको थिएँ अनि योभन्दाअघि कहिल्यै घरबाट टाढा बसेको थिइनँ। कोही-कोहीले त म त्यहाँ तीन महिनाभन्दा बढी टिक्न सक्दैन भन्‍ने सोचेछन्‌। तर एक वर्षभित्रै अर्थात्‌ सन्‌ १९५० मा म कम्पनी सेवक नियुक्‍त भएँ। कम्पनी सेवकलाई अहिले एल्डरहरूको निकायको संयोजक भनिन्छ। पछि म विशेष अग्रगामीको रूपमा नियुक्‍त भएँ र मसँगै सेवा गर्न अर्को जवान भाइलाई खटाइयो।

हामी दुई जनालाई तामा खानी भएको विकट ठाउँमा पठाइयो। त्यहाँ कोही पनि साक्षीहरू थिएनन्‌। बस यात्रा गरेर साँझतिर मात्र हामी त्यस ठाउँमा पुग्यौं। पहिलो रात हामी एउटा पुरानो होटेलमा बस्यौं। अर्को दिन प्रचार जाँदा हामीले घरधनीहरूलाई ‘कतै कोठा खाली छ कि’ भनेर सोध्यौं। दिन ढल्किनै लाग्दा एक जना मानिसले प्रेस्बाइटेरियन चर्च नजिकै रहेको पादरीको घरमा कोठा खाली छ भनेर बताए। तर त्यसको लागि त्यहाँको डिकनसित कुरा गर्न तिनले हामीलाई सल्लाह दिए। उनी मित्रैलो स्वभावका थिए अनि हाम्रो लागि कोठा मिलाइदिए। हरेक दिन पादरीकै घरबाट प्रचारको लागि निस्कनु साँच्चै अनौठो देखिन्थ्यो।

त्यो इलाका निकै फलदायी थियो। हामीले मानिसहरूसित राम्रो कुराकानी गर्न सक्यौं र थुप्रै बाइबल अध्ययन पनि सुरु गऱ्‍यौं। त्यहाँका चर्चका अधिकारीहरूले यो कुरा थाह पाएपछि अनि हामी यहोवाका साक्षीहरू पादरीको घरमा बसेको कुरा थाह पाएपछि हामीलाई तुरुन्तै त्यहाँबाट निकाल्न तिनीहरूले त्यहाँको डिकनलाई दबाब दिए। फेरि हामी घरबारविहीन भयौं।

भोलिपल्ट मध्यदिनसम्म प्रचार गरिसकेपछि हामीले बास खोज्न थाल्यौं। हामीले भेट्टाउन सकेको सबैभन्दा उपयुक्‍त ठाउँ भनेकै रङ्‌गशालाको छत मुनिको ठाउँ थियो। हामीले आफ्ना सुटकेसहरू त्यहीं लुकायौं र फेरि प्रचार गर्न गयौं। रात पर्नै लागिसकेको थियो तैपनि हामीले त्यो इलाका सिध्याउन बाँकी घरहरूमा प्रचार गर्ने निधो गऱ्‍यौं। एउटा घरमा हामीलाई एक जना मान्छेले आफ्नो घरपछाडि रहेको दुई कोठे सानो घरमा बास उपलब्ध गराए।

क्षेत्रीय निरीक्षकको काम र गिलियड

अग्रगामी सेवा गरेको लगभग आठ महिनापछि मैले अस्ट्रेलिया शाखा कार्यालयबाट क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने निम्तो पाएँ। यो निम्तो पाउँदा म एकदमै छक्क परें किनभने म २० वर्षको मात्र थिएँ। लगभग दुई हप्ताको तालिम पाइसकेपछि मैले मण्डलीहरूलाई प्रोत्साहन दिन आफ्नो नियमित भ्रमण सुरु गरें। मैले भ्रमण गरेको ठाउँका प्रायजसो सबै भाइबहिनीहरू मभन्दा पाका थिए। तैपनि उहाँहरू कसैले पनि मेरो जवान अवस्थालाई तुच्छ दृष्टिले हेर्नुभएन बरु मैले गरिरहेको कामको मोल गर्नुभयो।

मण्डलीहरूको भ्रमण गर्दा मैले विभिन्‍न कुरा अनुभव गरें। कुनै हप्ता म बसद्वारा यात्रा गर्थें, कुनै हप्ता ट्रामद्वारा (रेलजस्तै खालको गाडी), कुनै हप्ता कारद्वारा अनि कुनै हप्ताचाहिं सुटकेस अनि प्रचार गर्दा बोक्ने झोला भिरेर मोटरसाइकल पछाडि बसेर यात्रा गर्थें। सँगी साक्षीहरूसित बस्नु साँच्चै आनन्दको कुरा थियो। कम्पनी सेवकको जिम्मेवारी सँभालिरहेका एक जना भाइले आफ्नो घरको निर्माणकार्य नसिद्धिए तापनि मलाई उहाँको घरमा राख्न औधी चाह गर्नुभयो। त्यो हप्ता मेरो लागि बाथटबमा ओछ्यान बनाइयो। जेहोस्‌, त्यो हप्ता हामी दुवै जनाको लागि निकै उत्थानदायी रह्‍यो।

सन्‌ १९५३ मा अर्को एउटा अचम्मको कुरा भयो। मैले गिलियड स्कूलको २२ औं कक्षामा उपस्थित हुनको लागि फाराम पाएँ। तर मेरो मनमा खुसी अनि दुःख दुवै थियो। किन, थाह छ? दिदी र भिनाजुले सन्‌ १९५०, जुलाई ३० मा गिलियड स्कूलबाट स्नातक गरिसकेपछि उहाँहरूलाई पाकिस्तानमा सेवा गर्न खटाइएको थियो। तर एक वर्ष नपुग्दै दिदी बिरामी पर्नुभयो र बित्नुभयो। यो घटना घटेको केही समयपछि नै म पनि विदेशी भूमिमा जाँदा बुबाआमालाई कस्तो लाग्ला भनेर मैले सोचें। तर उहाँहरूले मलाई यसो भन्‍नुभयो: “बाबु, यहोवाले जहाँ पठाउनुहुन्छ, त्यहीं गएर सेवा गर।” त्यसपछि मैले बुबालाई कहिल्यै देख्न पाइनँ। उहाँ सन्‌ १९५७ मा बित्नुभयो।

केही समयपछि नै अरू पाँच जना अस्ट्रेलियाली भाइबहिनीसँगै न्यु योर्क सहरमा जान छ हप्ते जहाज-यात्रा सुरु गरें। यात्राको क्रममा हामीले बाइबल पढ्‌ने, अध्ययन गर्ने अनि सँगी यात्रीहरूलाई साक्षी दिने काम गऱ्‍यौं। सन्‌ १९५३, जुलाईमा याङ्‌की रङ्‌गशालामा अन्तरराष्ट्रिय अधिवेशन आयोजना गरिएको थियो। गिलियड स्कूल सञ्चालन हुने ठाउँमा जानुअघि हामी त्यस अधिवेशनमा उपस्थित हुन गयौं। त्यस अधिवेशनको उपस्थिति १,६५,८२९ थियो।

गिलियड स्कूलमा उपस्थित हुन आएका १२० जना विद्यार्थी संसारको कुना-कुनाबाट आएका थिए। हामीलाई खटाइएको ठाउँ, दीक्षान्त समारोहमा मात्र थाह पायौं। त्यसैले हामी छिटो-छिटो गिलियड स्कूलको पुस्तकालयमा आफूलाई खटाइएको देशबारे बुझ्न गयौं। मलाई खटाइएको देश पाराग्वे, राजनैतिक रूपमा उथलपुथल भइरहेको देश रहेछ। पाराग्वेमा आइपुगेको केही समयपछिको कुरा हो, मैले एक बिहान अरू मिसनरीहरूलाई राती केको “हल्लीखल्ली” हो भनेर सोधें। उहाँहरूले हाँस्दै यसो भन्‍नुभयो: “क्रान्ति कस्तो हुन्छ, यो त तपाईंको पहिलो अनुभव हो। त्यहाँ बाहिर हेर्नुस्‌ त!” हेरेको त चारैतिर सिपाहीहरू पो रहेछन्‌!

एउटा अविस्मरणीय अनुभव

एकचोटि म क्षेत्रीय निरीक्षकसँगै टाढाको एउटा मण्डलीको भ्रमण गर्न र नयाँ विश्‍व समाजको क्रियाकलाप (अङ्‌ग्रेजी) शीर्षकको फिल्म देखाउन गएँ। हामीले आठ/नौ घण्टाको यात्रा गऱ्‍यौं। पहिला रेलमा, त्यसपछि घोडा-बग्गीमा अनि अन्तमा गोरुले तान्‍ने गाडामा। हामीले जेनरेटर र प्रोजेक्टर पनि बोकेका थियौं। आफ्नो गन्तव्यमा आइपुगेको भोलिपल्ट हामी फार्महरूमा गयौं र सबैलाई त्यस रात देखाइने फिल्म हेर्न आउनको लागि निम्तो दियौं। लगभग १५ जना मानिसहरू आए।

फिल्म हेरेको करिब २० मिनेट भएको थियो। हामीलाई जतिसक्दो चाँडो घरभित्र पस्न भनियो। हामीले प्रोजेक्टर लियौं र घरभित्र पस्यौं। मैले माथि उल्लेख गरेको घटना यही समयमा घटेको थियो। मानिसहरू बन्दुक पड्‌काउँदै ठूलो स्वरमा यसरी कराइरहेका थिए: “हाम्रो देवता रक्‍त पिपासु देवता हो। ऊ यी विदेशीहरूको रगत पिउन चाहन्छ।” त्यहाँ दुई जना मात्र विदेशी थिए। त्यसमध्ये एक जना त मै थिएँ। फिल्म हेर्न आएकाहरूले त्यो जमातलाई घरभित्र छिर्नदेखि रोक्यो। तर ती विरोधीहरू बिहान तीन बजेतिर फेरि आए, बन्दुक पड्‌काउन थाले अनि भोलिपल्ट बाटोमा हामीलाई ठीक पार्ने धम्की दिन थाले।

त्यहाँका भाइहरूले अदालतका अधिकारीलाई सम्पर्क गरे। अनि ती अधिकारी दुईवटा घोडा लिएर हामीलाई लिन आए। फर्कने क्रममा झाडी र झाङनजिक आइपुग्दा तिनले बन्दुक निकाल्थे र चारैतिर आँखा डुलाउँथे। त्यहाँको यातायातको महत्त्वपूर्ण साधन भनेकै घोडा रहेछ। त्यसैले मैले पनि पछि एउटा घोडा लिएँ।

नयाँ मिसनरीहरू आइपुग्छन्‌

पादरीहरूले निरन्तर विरोध गरे तापनि हामीले प्रचारकार्यमा सफलता हासिल गरिनै रह्‍यौं। सन्‌ १९५५ मा पाँच जना नयाँ मिसनरीहरू आइपुगे। त्यसमध्ये एक जना क्यानेडियाली बहिनी एल्सी स्वानसन पनि थिइन्‌। तिनले गिलियड स्कूलको २५ औं कक्षाबाट स्नातक गरेकी थिइन्‌। तिनलाई अर्कै सहरमा खटाइनुअघि हामीले केही समय शाखा कार्यालयमा सँगै बिताएका थियौं। तिनको बुबाआमाले कहिल्यै सच्चाइ स्वीकारेनन्‌। बुबाआमाको साथ नपाए तापनि तिनले आफ्नो जीवन यहोवाको सेवामा बिताइन्‌। सन्‌ १९५७, डिसेम्बर ३१ मा हाम्रो विवाह भयो। त्यसपछि हामी पाराग्वेको दक्षिणी भागमा रहेको मिसनरी गृहमा बस्यौं। त्यस गृहमा हामी दुई जना मात्र बस्थ्यौं।

हामी बसेको घरभित्र धारो थिएन। तर घरपछाडि एउटा इनार थियो। धारो नभएकोले हामी घरभित्रै नुहाइधुवाइ गर्न वा चर्पीको प्रयोग गर्न सक्दैनथ्यौं। हामीसित लुगा धुने मेसिन पनि थिएन। यहाँसम्म कि एउटा फ्रिज पनि थिएन। हामी हरेक दिन जति खानेकुरा चाहिन्छ, त्यति मात्र किन्थ्यौं। जीवन सरल बनाएकोले अनि मण्डलीका भाइबहिनीहरूसित मायालु सम्बन्ध विकास गरेकोले त्यो क्षण हाम्रो वैवाहिक जीवनको सबैभन्दा रमाइलो क्षण बन्यो।

सन्‌ १९६३ मा आमालाई भेट्‌न हामी अस्ट्रेलिया फर्क्यौं। त्यहाँ आइपुगेको केही समय नबित्दै आमालाई हृदयघात भयो। आफ्नो छोरालाई दस वर्षपछि देख्न पाएकोले उहाँलाई त्यस्तो भएको हुनुपर्छ। पाराग्वे फर्कने दिन नजिकिंदै जाँदा हामीले एउटा एकदमै गाह्रो निर्णय गर्नुपऱ्‍यो। आमाको हेरविचार गरेर बस्ने कि उहाँलाई अरूको जिम्मामा अस्पतालमै छोडेर पाराग्वे फर्कने? यस विषयमा धेरै प्रार्थना गरेपछि एल्सी र मैले आमाकै हेरविचार गरेर बस्ने निर्णय गऱ्‍यौं। सन्‌ १९६६ मा उहाँको मृत्यु नहोउन्जेल हामीले उहाँको सेवा गऱ्‍यौं र पूर्ण-समय सेवालाई पनि निरन्तरता दिइरहन सक्यौं।

अस्ट्रेलियामा वर्षौंसम्म क्षेत्रीय निरीक्षक र जिल्ला निरीक्षकको रूपमा सेवा गर्न पाउनु अनि राज्य सेवा स्कूलमार्फत एल्डरहरूलाई सिकाउन पाउनु साँच्चै सुअवसर थियो। त्यसपछि हाम्रो जीवनले अर्को मोड लियो। मलाई अस्ट्रेलियामा सबैभन्दा सुरुमा गठन गरिएको शाखा समितिको सदस्यको रूपमा नियुक्‍त गरियो। त्यसपछि शाखा कार्यालयको नयाँ भवन बनाउँदा मलाई निर्माण समितिको अध्यक्ष नियुक्‍त गरियो। थुप्रै अनुभवी अनि सहयोगी सहकर्मीहरूको सहायताले सुन्दर भवन निर्माण भयो।

त्यसपछि मलाई सेवा विभागमा खटाइयो। सेवा विभागले देशभरिको प्रचारकार्यको निरीक्षण गर्छ। मैले प्रान्तीय निरीक्षकको रूपमा भाइबहिनीहरूलाई मदत र प्रोत्साहन दिन संसारभरिका विभिन्‍न शाखामा भ्रमण गर्ने सुअवसर पनि पाएँ। साथै, यहोवाप्रति आज्ञाकारी भएको कारण झ्यालखाना अनि यातना शिविरहरूमा बसेका भाइबहिनीहरू भएको देशमा भ्रमण गर्ने मौका पनि पाएँ। तिनीहरूले वर्षौंसम्म, यहाँसम्म कि दशकौंसम्म झ्यालखाना अनि यातना शिविरहरूमा जीवन बिताएका थिए। विशेषगरि तिनीहरूसँगको भेटले मलाई आफ्नो विश्‍वास बलियो बनाउन मदत गऱ्‍यो।

हाम्रो हालको जिम्मेवारी

सन्‌ २००१ मा थकाइलाग्दो प्रान्तीय भ्रमण सकेर फर्केपछि हामीले न्यु योर्कको ब्रूक्लिनमा सेवा गर्ने निम्तो पायौं। त्यो निम्तो-पत्रमा मलाई संयुक्‍त राज्य अमेरिकाको नवगठित शाखा समितिमा काम गर्न भनिएको थियो। एल्सी र मैले प्रार्थनापूर्वक विचार गऱ्‍यौं र त्यो निम्तो खुसीसाथ स्वीकाऱ्‍यौं। ब्रूक्लिनमा सेवा गरेको अहिले ११ वर्ष नाघिसक्यो।

यहोवाले जहाँ पठाउनुहुन्छ, त्यहीं जान तयार हुने असल श्रीमती पाएकोमा म खुसी छु। एल्सी र म ८१ वर्षका भयौं तैपनि हाम्रो स्वास्थ्य तुलनात्मक रूपमा राम्रै छ। सदा-सदा यहोवाको शिक्षाबाट आनन्द उठाउने दिनको र सधैं उहाँको इच्छाअनुसार चल्नेहरूले पाउने अपार आशिष्‌को हामी तीव्र प्रतीक्षामा छौं।

[पृष्ठ १९-मा भएको चित्र]

कुनै हप्ता म बसद्वारा यात्रा गर्थें, कुनै हप्ता ट्रामद्वारा (रेलजस्तै खालको गाडी), कुनै हप्ता कारद्वारा अनि कुनै हप्ताचाहिं सुटकेस अनि प्रचार गर्दा बोक्ने झोला भिरेर मोटरसाइकल पछाडि बसेर यात्रा गर्थें

[पृष्ठ २१-मा भएको चित्र]

सदा-सदा यहोवाको शिक्षाबाट आनन्द उठाउने दिनको हामी तीव्र प्रतीक्षामा छौं

[पृष्ठ १८-मा भएको चित्र]

बायाँ: अस्ट्रेलियामा क्षेत्रीय निरीक्षकको रूपमा काम गर्दा

दायाँ: बुबाआमासँग

[पृष्ठ २०-मा भएको चित्र]

सन्‌ १९५७, डिसेम्बर ३१, विवाहको दिन

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने