एउटा विशेष प्रकारको विवाह समारोह
उत्तर मोजाम्बिकमा सुन्दर पहाडहरूले घेरिएको हराभरा उपत्यका छ। यी पहाडहरू कुनै कुनै चट्टाने छन् त कतिपय लहलहाउँदा वनस्पतिले भरिएको छ। यहीं नै फिन्जगोइ गाउँ अवस्थित छ। हिउँदको चकमन्न रातमा आकाशका ताराहरू टलपलाउँछन् र चन्द्रमाको प्रचुर प्रकाशमा गाउँलेहरूका पराले छानाहरूसमेत चम्कन्छन्। यस्तै भव्य दृश्यहरूबीच अनौठो विवाह सम्पन्न भयो।
यस विशेष समारोहमा सरिक हुन सयौं मानिसहरूले घण्टौं र कोही कोहीले त दुई तीन दिनको लामो यात्रा समेत गरेका थिए। कोही कोही त हुँडार, सिंह र हात्ती जस्ता जनावरहरू भएका निर्जन तथा डरलाग्दा बाटाहरू पार गरेर आए। यहाँ आउनेहरूमध्ये थुप्रैले आ-आफ्नो गुण्टाबाहेक कुखुरा, बोका र तरकारीहरू पनि ल्याए। त्यस गाउँमा पुगेपछि तिनीहरू अक्सर मसीही अधिवेशनहरू आयोजना गरिने खुल्ला ठाउँमा भेला भए। यात्राबाट थकित भए तापनि तिनीहरू खुसी थिए र अब हुन लागेको घटनाको निम्ति उत्सुकता तिनीहरूको हँसिलो अनुहारमा झल्किन्थ्यो।
त्यहाँ विवाह गर्न को को आएका थिए? थुप्रै थिए! हो, दम्पतीहरूको ठूलो समूह थियो। ती दम्पतीहरू कुनै सनसनीपूर्ण शीर्षसमाचारमै आउने खालको विवाह समारोहमा सरिक हुन लागेका थिएनन्। यसको विपरीत, पहिला आफ्नो विवाह दर्ता गर्न नपाएका साथै दर्ता कार्यालय नभएको दुर्गम क्षेत्रहरूमा बस्ने इमानदार र असल मनसायले उत्प्रेरित दम्पतीहरू थिए। ती सबै दम्पतीहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेपछि विवाहको सन्दर्भमा ईश्वरीय स्तरहरूबारे थाह पाए। विवाहको सुरुआतकर्ता अर्थात् सृष्टिकर्तालाई प्रसन्न तुल्याउन आफू बसेको देशको कानुनअनुसार विवाह गर्नुपर्छ भनेर बुझे। येशूको जन्म हुनै लागेको समयतिर यूसुफ र मरियमले पनि विवाह दर्तासम्बन्धी कानुन पालन गरेका थिए।—लूका २:१-५.
त्यस समारोहको निम्ति तयारी
मोजाम्बिकस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले मदत गर्ने निर्णय गऱ्यो। प्रथमतः, कानुनअनुसार पूरा गर्नुपर्ने आवश्यक प्रक्रियाबारे पूर्ण जानकारी लिन राजधानी मापुटोको न्याय तथा आन्तरिक मन्त्रालयसित सम्पर्क राखियो। त्यसपछि, टाटे प्रान्तको राजधानीमा भएका मिसनरीहरूले थप प्रबन्धहरू मिलाउन स्थानीय अधिकारीहरूसित सम्पर्क राखे। मिसनरीहरू, साक्षी बस्ने अधिकृत तथा नागरिक परिचय विभागका अफिसरहरू सबै फिन्जगोइ गाउँ जाने मिति तय गरियो। त्यति नै बेला शाखा कार्यालयबाट सम्बन्धित सबै मण्डलीहरूलाई निर्देशन पत्र पठाइयो। साक्षीहरू तथा स्थानीय अधिकारीहरू सबै उत्सुकतापूर्वक यस अनौठो समारोहको प्रतीक्षामा थिए।
आइतबार, मे १८, १९९७ मा सरकारी अधिकारीहरू तथा तीन मिसनरीहरू फिन्जगोइ आइपुगे। स्थानीय अफिसरहरूले ती अतिथि अधिकारीहरूका निम्ति प्रशासन भवनसँगैको भवनमा आरामदायी कोठाहरू तयार पारेका थिए। तथापि, अतिथि अधिकारीहरू यहोवाका साक्षीहरूको आतिथ्यबाट यत्ति प्रभावित भए कि मिसनरीहरूसँगै छाप्रोहरूमा बस्न रुचाए। भान्छेहरूमध्ये एक जना स्थानीय मण्डलीको प्राचीन र विवाहको तयारीमा नगण्य काम गरिरहेका थुप्रै स्वयंसेवकहरूमध्ये एक जना परिभ्रमण निरीक्षक भएको थाह पाउँदा तिनीहरू तीन छक परे। त्यस्तैगरि तिनीहरू मिसनरीहरूको ठट्टा गर्नुपर्ने मिजास देखेर पनि प्रभावित भए। ती मिसनरीहरू कुनै गनगन नगरी साधारण छाप्रोमा बसिरहेका र ट्वाकले नुहाइरहेका पनि देखे। विभिन्न पृष्ठभूमिका मानिसहरूबीच यस्तो बलियो बन्धन तिनीहरूले यसअघि कहिल्यै देखेका थिएनन्। तथापि, तिनीहरू प्रभावित भएका सबैभन्दा मुख्य कुरा चाहिं स्थानीय नियमकानुन पालन गर्न र परमेश्वरको प्रबन्धअनुरूप चल्न ठूलठूलो त्यागहरूसमेत गर्न उत्प्रेरित गर्ने विश्वास देखेर हो।
उल्लासपूर्ण अवसर
दम्पतीहरू त्यहाँ पुग्नेबित्तिकै विवाहको निम्ति पहिलो आवश्यक प्रक्रिया थालियो। त्यो थियो, जन्म प्रमाणपत्र लिने। आफ्नो कागजातहरू नागरिक दर्ता टोलीलाई रुजू गराउन सबै जना धैर्यपूर्वक लाइनमा बसे। त्यहाँबाट फोटो खिच्नको निम्ति अर्को लाइनमा गए अनि आफ्नो परिचयपत्र लिन नागरिक परिचय विभाग टोली कहाँ गए। अनि, उत्सुकतापूर्वक कुरिरहेको विवाह प्रमाणपत्रको निम्ति नागरिक दर्ता टोली कहाँ फर्के। त्यसपछि माइकबाट तिनीहरूको नाउँ बोलाइएको सुन्न चुपो लागेर कुरिरहे। विवाह प्रमाण पत्र वितरण गर्दा सबै भावुक भए। अनमोल पदक जस्तैगरि प्रत्येक दम्पतीले आ-आफ्नो विवाह प्रमाणपत्र लिएको दृश्य उल्लासपूर्ण थियो।
हुन त यी सबै काम टन्टलापुर घाममा भएको थियो। तर, त्यस दिनको रमाहटलाई गर्मी या धूलो केहीले फरक पारेन।
सबै पुरुषहरू कोट टाइ लाएर ठाँटिएका थिए। महिलाहरू चाहिं परम्परागत वेशभुषामा थिए र तिनीहरूले कम्मरमा लामो, रंगीचंगी कापुलाने पनि बाँधेका थिए। कसैले त्यस्तै कपडामा बच्चा बोकेका थिए।
कामकुरा सबै सुचारुरूपले नै चल्यो तर दिनभरिमा भ्याउनै नसक्ने हूल थियो। अँध्यारो भइसकेपछि पनि अफिसरहरूले झिजो नमानी काम गरिरहे। त्यत्रो ठूलो त्याग गरेर आएका “हाम्रा भाइहरूलाई” अलपत्र छोड्न नमिल्ने तिनीहरूले बताए। तिनीहरूको त्यो सहयोगी र आत्म-त्यागी भाव हामी कहिल्यै बिर्सने छैनौं।
रात पर्दै जाँदा जाडो पनि बढ्दै गयो। कोही कोहीले त बस्न छाप्रो पाएका थिए तर थुप्रै दम्पतीहरू बाहिर आगो वरिपरि गुटमुटिएर बसिरहेका थिए। त्यस आनन्दमय अवसरलाई त्यस्तो वातावरणले केही फरक पारेन। आगो पट्याकपुटुक गरेको आवाज सँगसँगै हाँसो र चार वाद्यवादकले चार विभिन्न नोटहरू बजाइरहेका सुनिन्थ्यो। भर्खरै पाएको प्रमाणपत्र च्यापेर थुप्रैले आ-आफ्नो यात्राका कथाहरू सुनाउन थाले।
झिसमिसे उज्यालो हुनेबित्तिकै विवाह दर्ताको निम्ति लागेको खर्चमा केही चन्दा दिन आफूसित ल्याएको कुखुरा, बोका र तरकारीहरू बेच्न धेरै जना गाउँको बजारमा गए। आफ्नो परेको भाउभन्दा सस्तोमा बेचेर थुप्रैले साँच्चै ती जनावरको “बलि” चढाए। गरिब मानिसहरूका निम्ति बोका बहुमूल्य र महँगो थोक हो। तैपनि, विवाह दर्ता गर्न र आफ्नो सृष्टिकर्तालाई प्रसन्न तुल्याउन तिनीहरू त्यस्ता बलि चढाउन खुसी थिए।
यात्राका कठिनाइहरू
गन्तव्यस्थान आइपुग्न केही दम्पतीहरूले लामो दूरी यात्रा गर्नुपरेको थियो। शामबोको र तिनकी पत्नी हाकुलिराले पनि त्यस्तै लामो यात्रा गरेका थिए। तिनीहरूले आफ्नो कथा दोस्रो रात आफ्नो खुट्टा आगोमा सेकाउँदै सुनाए। एउटा आँखाले नदेख्ने र अर्को आँखाले पनि धमिलो मात्र देख्ने भए तापनि ७७ वर्षीय शामबोको आफ्नो ५२ वर्षको बन्धनलाई कानुनी रूप दिन कटिबद्ध भएको कारण मण्डलीको अरूसँगै तीन दिनको बाटो खाली खुट्टा हिंडे।
बहत्तर वर्षका आनसेल्मु केम्बोले झन्डै ५० वर्ष नेरीसित जीवन बिताइसकेका छन्। यात्रा गर्नुभन्दा केही दिनअघि आफ्नो बारीमा काम गर्दा खुट्टामा एउटा ठूलो काँडा बिझेको थियो। तिनलाई उपचार गर्न नजिकैको अस्पतालमा तुरुन्तै लगिएको थियो। तैपनि, सकीनसकी खोच्याउँदै हिंडेरै तिनी फिन्जगोइ पुगे। तिनलाई त्यहाँ पुग्न तीन दिन लाग्यो। विवाह प्रमाणपत्र पाउँदा आनसेल्मुको हर्षको सीमा रहेन।
अर्को उल्लेखनीय नवविवाहित इभान सिनोया थिए, तिनले पहिला बहुविवाह गरेका थिए। तिनले परमेश्वरको वचनबाट सत्य कुरा सिकेपछि आफ्नो पहिलो पत्नीसितको बन्धनलाई कानुनी रूप दिने निर्णय गरे तर उनले मानिनन् र अर्कै मान्छेसित गइन्। बाइबल अध्ययन गरिरहेकी तिनकी दोस्रो पत्नी विवाह गर्न राजी भइन्। तिनीहरू दुवै जना सिंह तथा अन्य जंगली जनावरहरू भएको खतरनाक बाटो पार गर्दै आए। तीन दिनको यात्रापछि तिनीहरू पनि कानुनी तवरमा विवाहित भए।
मिसनरी तथा सरकारी अधिकारीहरू आएको पाँच दिनपछि शुक्रबार काम सकियो। त्यस अवधिमा ४६८ परिचय पत्र र ३७४ जन्म प्रमाणपत्र जारी गरियो। विवाह प्रमाणपत्र चाहिं जम्मा २३३ वटा जारी गरियो! वातावरण आनन्ददायक थियो। थकानको बावजूद त्यो यात्रा सार्थक थियो भनी सबै सहमत भए। निस्सन्देह, त्यो अवसरमा उपस्थित सबैको लागि त्यस क्षण अविस्मरणीय हुनेछ। त्यो साँच्चै विशेष विवाह समारोह थियो!