के तपाईं बाह्य रूप हेरेर अड्कल काट्नुहुन्छ?
के तपाईं खोल हेरेर किताब यस्तो होला भनेर अड्कल काट्नुहुन्छ? त्यसो हो भने झुक्किनुहोला। त्यसो नहोस् भन्नाको लागि सर्वप्रथम त्यसको विषयवस्तु केलाउनुहुन्छ। तुर्की लोककथाको प्रख्यात पात्र, नजरुदीन होजको उदाहरणबाट हामी यो बुझ्नसक्छौं। (तुर्की शब्द होज-को अर्थ “शिक्षक” हो।) तिनी चतुर र सुधो अनि बुद्धिमान् र मूर्ख छन् . . . तिनी भक्तालु छन् तर तिनमा मानव कमजोरीहरू पनि छन्।” तिनी “जीवनमा आइपर्ने जस्तोसुकै घटनामा हार मान्दैनन्।”—जोन न्युनन्द्वारा लिखित होजका कथाहरू, अराम्को वर्ल्ड, सेप्टेम्बर-अक्टोबर १९९७.
एउटा कथा, होजले ओटोमान अधिकृतलाई भेटेर तिनको भोजमा सामेल हुने यात्रासित सम्बन्धित छ। “अप्ठ्यारो ढंगमा [नजरुदीन] घोडाबाट ओर्ले अनि बडेमानको मूल ढोका ढक्ढकाए। ढोका खुलेपछि थाह भयो, भोज सुरु भइसकेछ। आफ्नो परिचय दिन नपाउँदै त्यस भोजका मालिकले त्यस्तो धूलोमूलो लागेको लुगा हेर्दै, माग्नेहरूका लागि त्यहाँ कुनै ठाउँ छैन भनी छुच्चो वचन गरे।”
नजरुदीन त्यहाँबाट निस्केर काठीझोलाबाट लुगा झिकी “शानदार पोशाक लगाए: रेशमी भुवाको झल्लर भएको रवाफिलो पहिरन तथा रेशमको एकदमै ठूलो फेटा बाँधे। यस्तो लुगा लगाएपछि तिनले फेरि मूल ढोका ढक्ढक्याए।
“यसपटक भोजको मालिकले न्यानो स्वागत गरे . . . नोकरचाकरहरूले मीठा मीठा पकवानहरू तिनको अगाडि राखे। नजरुदीन होजले आफ्नो लुगाको खल्तीमा एक कचौरा सूप खन्याए। सेकेको मासु फेटाको मुजाहरूमा घुसाएको देख्दा अरू पाहुनाहरू छक्क परे। यी सब देखेर तर्सिएको घर मालिकको अगाडि भुवाको झल्लर प्लेटतिर पसार्दै यसो भनेर भुनभुनाउन थाले, ‘खाऊ भुवा, खाऊ!’
“ ‘हैन, यो के गरेको?’ घर मालिकले सोधे।
“होजले भने, ‘मालिक साहेब, म लुगालाई खुवाउँदैछु। तपाईंले आधा घण्टाअघि मसित गर्नुभएको व्यवहारअनुसार तपाईंले मेरो होइन, यी लुगाको अतिथि सत्कार गर्दै हुनुहुन्छ!’ ”
हामी कति धेरै चोटि बाहिरी रूपको भरमा सकारात्मक वा नकारात्मक अड्कल काट्छौं! यहोवाले दाऊदका दाजु एलीआबलाई इस्राएलको राजा हुन रोज्नुभएको होला भन्ठानेका अगमवक्ता शमूएललाई यहोवाले भन्नुभयो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। म त्यसलाई इन्कार गर्छु। परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (१ शमूएल १६:७) हो, यहोवाले हृदय हेर्नुहुन्छ, बाहिरी रूप होइन। तपाईं नि?
[पृष्ठ १७-मा भएको चित्र]
यहोवाले शमूएललाई बाहिरी रूपमा नअल्मलिने चेताउनी दिनुभयो