प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ५/८ पृ. २२-२४
  • स-साना किताबहरूको मनमोहक जगत्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स-साना किताबहरूको मनमोहक जगत्‌
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसका विभिन्‍न पक्षहरू
  • बूढी औंले बाइबल
  • असामान्य धर्मशास्त्रीय खण्डहरू
  • सबैभन्दा सानो कुन?
  • बाइबलको वास्तविक लेखक को हो?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • किताबको विषयवस्तु
    सबैका लागि उपयोगी किताब
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ५/८ पृ. २२-२४

स-साना किताबहरूको मनमोहक जगत्‌

बेलाइतका ब्यूँझनुहोस्‌ ! संवाददाताद्वारा

सबैभन्दा ठूलो वा सबैभन्दा सानो वस्तु कुतूहल जगाउने खालका हुन्छन्‌। जस्तै, बडेमाको हिमाल, अथाह गहिरो समुद्र, गगनचुम्बी भवन, लामो नहर आदि। तर सबैभन्दा सानो किताब नि? स-साना किताबहरू मनमोहक हुन्छन्‌! हरेक काल्पनिक विषयका यस्ता स-साना किताबहरू कम्तीमा २० भाषाहरूमा लाखौं प्रतिहरू छापिएका छन्‌। तपाईं यस जगत्‌सित परिचित हुनुहुन्‍न भने आउनुहोस्‌, त्यसबारे छोटकरीमा बुझौं।

सानो किताबको व्याख्या कसरी गर्ने? यस्तो किताबको निर्धारित उचाइ तथा चौडाइ दुवै ७६ मिलिमिटरभन्दा बढी हुनु हुँदैन। यो नापमा किताबको आवरण पनि समावेश छ। तर सामान्य कुरामा पनि अति संकोची स्वभावका केही संकलनकर्ताहरू किताबका पृष्ठहरूको मात्र नाप लिन्छन्‌। यी स-साना खण्डहरू किन छापिए?

यसका विभिन्‍न पक्षहरू

धेरैले सोचेजस्तो नभई अधिकांश स-साना किताबहरू सररर पढ्‌न सकिन्छ। लघुपात्रो, ग्रन्थहरू, उपन्यास, नाटक, शब्दकोश तथा पवित्र लेखोटहरू सजिलै यताउता गर्न र प्रयोग गर्न सकिन्छ। उहिले उहिलेका मानिसहरू यी नै सुविधाका लागि स-साना खण्डहरू आफूसित राख्थे भने आधुनिक संकलकहरू चाहिं ती मुद्रण गर्नेहरू र खोल हाल्नेहरूको सीप देखेर त्यस्ता किताबहरू संकलन गर्छन्‌।

म्याग्निफाइङ ग्लासको मदत लिएर वा नलिएरै सररर पढ्‌न सकिने अक्षरहरू तयार पार्न मुद्रकहरूले निकै प्राविधिक समस्याहरू सामना गर्नुपर्थ्यो। तिनीहरूकै मिहेनतको फलस्वरूप आज हामीले रहरलाग्दा राम्रा किताबहरू देख्न पाएका छौं। छापिएको पृष्ठमा कुनै पनि दाग नहोस्‌ भनेर कागज तथा मसी उत्पादकहरू आफ्नो सीप लगाउन एक जुट हुन्थे।

किताब छापिसकेपछि त्यसमा खोल हालिन्छ र स-साना किताबहरूमा कुशलतासाथ खोल हाल्नुपर्ने हुनसक्छ। हाते औजारको मदतले छाला, सुन वा चाँदी, कछुवाको हाड अथवा इनामेलका स-साना सजिसजाउ अक्षरहरू मिलाउनु शिल्पकारको कौशलताको प्रमाण हो। अन्य खोलहरू भने रेशम वा मलमल अथवा जरी भरेका वा मोती अनि धातु या प्लास्टिकले सिंगारिएका हुन्छन्‌ भने केही किताबहरूलाई जोगाउन तिनमा झोलाजस्तो खोल पनि हुन्छन्‌।

छपाइको लागि अक्षरहरू मिलाउनेहरूले एक एक कुरालाई ध्यानमा राखेर चित्र बनाएका थिए। त्यस चित्रले अक्सर पृष्ठको सात वर्ग सेन्टिमिटरभन्दा पनि कम ठाउँलाई ढाक्छ! उदाहरणका लागि, सन्‌ १८९० तिर मुद्रित ३६८ पृष्ठको ब्राइसेको बूढी औंले अंग्रेजी शब्दकोश-मा बनाएको अंग्रेज शब्दकोशकार डा. श्‍यामुएल जनसनको तस्बिरलाई लिन सकिन्छ। यसको अर्को उदाहरण हो, १९०९ मा अंग्रेज अभिनेत्री एलन टेरीलाई अर्पण गरिएको शेक्सपियरको किङ रिचार्ड तृतीयाको मुख्य पृष्ठको चित्र।

पेरिसमा छापिएको बिब्लियतेक पर्तातीभ द्यु भ्वायाय्वुर एउटा सानो पुस्तकालय नै हो, जुन नेपोलियन बोनापार्टले छाउनी बसाल्दै हिंडेताक साथै बोक्थे भन्‍ने धारणा रहेको छ। यस फ्रान्सेली साहित्यका ४९ खण्डहरू छालाले मोहरेको बट्टामा राखिएका छन्‌ र उक्‍त बट्टा बन्द गर्दा लगभग ३० सेन्टिमिटरभन्दा अग्लो हुन्छ।

बूढी औंले बाइबल

अंग्रेजीमा थम्ब बाइबल भनिने बूढी औंले बाइबलहरू भन्‍ने बित्तिकै पूर्ण बाइबल नै हुनुपर्छ भनेको होइन। कुनै कुनैमा त “नयाँ नियम” मात्र हुन्छन्‌। अरू भने बाइबल कथाहरूका सारांश मात्र हुन्‌ वा ७,००० शब्दहरूमा छोट्याइएको सम्पूर्ण बाइबल इतिहास हुन्छन्‌। ती विशेषगरि बच्चाहरूका निम्ति तयार पारिएका थिए। तिनीहरूका शीर्षक द बाइबल इन मिनिएचर, पवित्र बाइबलको इतिहास (अंग्रेजी) र बालकको बाइबल (अंग्रेजी) आदि।

बूढी औंले बाइबलको नाउँ कसरी रहन गयो? कारण स्पष्ट छ, यो मानिसको बूढी औंलाको टुप्पोभन्दा अलिकता मात्र ठूलो छ। यद्यपि, बूढी औंले बाइबलहरूका तीन शतकहरू (अंग्रेजी) किताबले उक्‍त पदावली जर्नल टम थम्ब भनेर चिनिने ख्यातिप्राप्त अमेरिकी पुड्‌के चार्ल्स स्ट्राटन बेलाइत भ्रमण आएपछि जुराइएको थियो भन्‍ने अनुमान दिन्छन्‌। यो दाबीलाई समर्थन गर्ने तथ्यअनुसार टम थम्ब १८४४ मा बेलाइत आउनु र १८४९ मा पहिलोपटक लन्डनमा “बूढी औंले बाइबल” देखापर्नुले पनि यसको पुष्टि दिन्छ।

असामान्य धर्मशास्त्रीय खण्डहरू

साना बाइबलहरूको संसारमा थपिएको अर्को आश्‍चर्य हो, औंले नयाँ नियम (अंग्रेजी) जुन २० औं शताब्दीले कोल्टे फेर्दा छापिएको थियो। यो बाइबल औंलाजत्रै तीन सेन्टिमिटर मोटो र नौ सेन्टिमिटर लामो भएकोले यसको नाउँ ठ्याक्कै मिल्दो छ। यसको लम्बाइ ७६ मिलिमिटरभन्दा बढी भएकोले यसलाई स-साना किताब त भन्‍न मिल्दैन। यो सानो खण्डमा प्रयोग गरिएको ४-प्वाइन्ट टाइप साइज अति स्पष्ट छ र थुप्रैले म्याग्निफाइङ ग्लासको मदतबिना सजिलै पढ्‌नसक्छन्‌।

एउटा असाधारण उदाहरण हो, सचित्र बाइबल (अंग्रेजी) र यसका पदहरूका शीर्षक स्वर्ग जाने रेलमार्ग (अंग्रेजी) थियो। बेलाइतमा भर्खर भर्खरै रेलमार्ग सुरु भएकोले यो बाइबलले ५० वर्षभन्दा बढी समयसम्म आफ्नो प्रभाव जमाइरह्‍यो। सम्पादकले उक्‍त बाइबल छपाउन रेलमार्गसित मिल्ने खालको “तपाईंलाई अर्को मार्ग देखाउने” शीर्षकको दुई-पृष्ठे कविता तयार पारे। त्यो अर्को मार्ग “यहोवाका पुत्र येशू ख्रीष्ट” हुन्‌ भनेर परिचय दिइयो। कविता यसरी टुंगिन्छ: “हे मेरो छोरो, परमेश्‍वर भन्‍नुहुन्छ, तेरो हृदय मतर्फ फर्का। छिटो गर्‌—नत्र रेल छुट्‌ला।”

सन्‌ १९०० तिरको माइ मर्निङ काउन्सेलर खण्ड पनि असाधारण थियो। त्यसमा प्रत्येक दिनको निम्ति एउटा बाइबल पद छ र प्रत्येक महिनाको प्रस्तावनामा कुनै न कुनै तरिकामा ईश्‍वरीय नाउँ पनि उल्लेख गरिएको छ। उदाहरणका लागि, फेब्रुअरी महिनाको लागि “यहोवा शालोम” प्रयोग गरिएको छ। यो किताब र अगाडि उल्लेख गरिएको सचित्र बाइबल दुवैमा परमेश्‍वरको नाउँ यहोवा हो र उक्‍त नाउँ सय वर्षअघि बेलाइतमा सर्वसाधारणले प्रयोग गर्थे भन्‍ने तथ्य प्रकट हुन्छ।

सबैभन्दा सानो कुन?

शताब्दीयौंको दौडान सबैभन्दा सानो मुद्रित किताब कुन हो भन्‍ने विषयमा निकै होडबाजी चलेको थियो। मान्यता प्राप्त पहिलो दाबी १६७४ मा गरियो। सी. फान ल्याङ्‌जले लेखेका उक्‍त पुस्तक ब्लुम-होफ्या स-साना अक्षरहरूमा छापिएको थियो। मिनिएचर बूक्स-ले उक्‍त किताबलाई “नङजत्रो” भनेर व्याख्या गरेको थियो र यो नै २०० वर्षसम्म सबैभन्दा सानो किताब रहेको ठहऱ्‍यो।

दाँतेको सुप्रसिद्ध संस्करण ला डीभीना कोमेड्या २-प्वाइन्ट टाइपमा छापिएको थियो। उक्‍त टाइप अहिलेसम्म प्रयोग गरिएको सबैभन्दा सानो अक्षर अर्थात्‌ नाङ्‌गो आँखाले देख्नै नसकिने थियो भन्‍ने अनुमान लगाइन्छ। त्यो किताब इटालीको पादुवामा १८७८ मा तयार पारिएको थियो। यसको ३० पृष्ठहरू छाप्न एक महिना लाग्यो र प्रत्येक नयाँ ढाँचाको लागि नयाँ टाइप चाहियो। यसको बावजूद १,००० प्रतिहरू छापिए।

आकार घटाउँदै लाने क्रम १९७८ सम्म चल्यो। त्यतिखेर स्कटल्याण्डको पाइस्लेमा ग्लेनिफर प्रेसबाट छापिएको तीन अन्धा मुसाहरू (अंग्रेजी) नाउँ गरेको बाललहरी “संसारभरमै सबैभन्दा सानो किताब” ठहरियो। यो सीमित संस्करणलाई १९८५ मा यही मुद्रकले अर्को बाललहरी ओल्ड किङ कोल-को ८५ प्रति छापेर उछिन्यो! प्रत्येक प्रतिको नाप एक मिलिमिटर x एक मिलिमिटर मात्र थियो। कस्तो अचम्म, पाना पल्टाउन सियो चाहिन्छ!

लुइस बोन्डीअनुसार “धूलोका कणजत्रा” यस्ता अत्यन्त साना किताबहरूले अवर्णनीय धैर्य र शिल्पकारीताको प्रमाण दिन्छन्‌। तथापि, यी साना किताबहरूले यस्ता स-साना किताबको सुरुको धारणालाई अर्थात्‌ यस्ता किताबहरू सजिलै पढ्‌न सकिने हुनुपर्ने हो भन्‍ने धारणालाई लत्याएका छन्‌।

यस्ता रहरलाग्दा स-साना किताबहरूको विशिष्ट संकलन संग्रहालयहरू र कतिपय चाहिं व्यक्‍तिविशेषसित छन्‌। यी किताबहरूको मनमोहक जगत्‌ले कथम्‌कदाचित घत पाऱ्‍यो भने यी साना किताबहरूलाई बडो जतनका साथ प्रयोग गर्न नबिर्सनुहोस्‌। निस्सन्देह, यी कलात्मक छन्‌!

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

फोटोटेक्नीक प्रविधिद्वारा आकार घटाउने

स्कटल्याण्डका डेविड ब्राइसको “नयाँ नियम” अहिलेसम्मको सबैभन्दा सानो हो। सन्‌ १८९५ मा छापिएको उक्‍त नयाँ नियम १.९x१.६ सेन्टिमिटर र ०.८ सेन्टिमिटर मोटो मात्र थियो! यो कसरी छाप्न सकियो त? “फोटोटेक्नीक प्रविधिद्वारा आकार घटाउने” तरिकाबाट उक्‍त किताब अत्युत्तम तथा अति स्पष्ट बुझ्नेगरि छापियो,” भनी मिनिएचर बूक्स-मा लुइस बोन्डी बताउँछन्‌। लगभग १०० वर्षअघि तस्बिर खिच्ने प्रविधिले भर्खरै बामे सर्न थालेको बेला यस्तो उपलब्धि हासिल गर्नु चानचुने कुरा होइन।

डेविड ब्राइसले यही प्रविधि अपनाएर बूढी औंला आकारका पूरै बाइबलहरू थुप्रै छापे। अति साना छापा पढ्‌न गाह्रो हुनेहरूका लागि प्रत्येक बाइबलको आवरणभित्र एउटा सानो म्याग्निफाइङ ग्लास पनि हुन्छ। यही म्याग्निफाइङ ग्लासले गर्दा पाठकहरूलाई उक्‍त बाइबल पढ्‌न सम्भव भयो।

दोस्रो विश्‍वयुद्धताक र पछि साम्यवादीहरूले सताउँदा यहोवाका साक्षीहरूले फोटोटेक्नीक प्रविधिद्वारा आकार घटाउने तरिका सदुपयोग गर्दै आफ्ना साहित्यहरू छापेको कुरा उल्लेखनीय छ। यही प्रविधिबाट तयार पारिएको बाइबल अध्ययन गर्ने सामग्री सँगैको चित्रमा देखाइएको छ। सलाईको बट्टाभित्र लुकाएर उक्‍त साहित्य नाजी यातना शिविरमा रहेका यहोवाका साक्षीहरूका निम्ति गोप्य तरिकाले लगियो।

यो सलाईको बट्टामा अटाउँछ र यसैलाई यातना शिविरमा गोप्य तरिकाले लगियो

[पृष्ठ २२-मा भएको चित्र]

सानै भए तापनि स-साना किताबहरू सजिलै पढ्‌न सकिन्छ

[पृष्ठ २४-मा भएको चित्र]

स-साना किताबहरूको पुस्तकालय

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने