फेरि जीवित हुनुभएको येसुको शरीर कस्तो थियो—भौतिक कि अदृश्य?
बाइबलको जवाफ
येसुबारे बाइबल यसो भन्छ: “उहाँ मानिसको रूपमा मर्नुभयो तर अदृश्य व्यक्तिको रूपमा ब्युँताइनुभयो।”—१ पत्रुस ३:१८; प्रेषित १३:३४; १ कोरिन्थी १५:४५; २ कोरिन्थी ५:१६.
येसु मासु र रगतको शरीरमा फेरि जीवित पारिनुहुने थिएन भनेर उहाँ आफैले भन्नुभएको थियो। “संसारले जीवन पाओस् भनेर” उहाँले फिरौतीस्वरूप आफ्नो शरीर दिनुहुने कुरा बताउनुभयो। (युहन्ना ६:५१; मत्ति २०:२८) यदि उहाँ मानव शरीरमै ब्युँताइनुभएको भए उहाँले तिर्नुभएको फिरौतीको बलिदान रद्द हुने थियो। त्यसैले त्यस्तो भएन किनभने बाइबलमा उहाँले “एकै चोटि सदाको लागि” रगत र मासुको शरीर बलिदान दिनुभयो भनेर बताइएको छ।—हिब्रू ९:११, १२.
येसु अदृश्य शरीरमा ब्युँताइनुभएको थियो भने चेलाहरूले कसरी उहाँलाई देख्न सके?
स्वर्गदूतहरू मानव शरीर धारण गर्न सक्छन्। उदाहरणको लागि, विगतमा त्यसरी मानव शरीर धारण गरेका स्वर्गदूतहरूले मानिसहरूसँगै खानपिनसमेत गरेका थिए। (उत्पत्ति १८:१-८; १९:१-३) तर तिनीहरू स्वर्गदूत भएकोले भौतिक शरीर छोड्न सक्थे।—न्यायकर्ता १३:१५-२१.
फेरि जीवित हुनुभएपछि येसुले पनि केही समयको लागि मानव शरीर धारण गर्नुभयो। येसुको शरीर अदृश्य भएकोले उहाँ अचानक प्रकट हुन र तुरुन्तै अलप हुन सक्नुहुन्थ्यो। (लुका २४:३१; युहन्ना २०:१९, २६) प्रत्येक पटक देखा पर्नुहुँदा उहाँको भौतिक शरीर परिवर्तन भइरहन्थ्यो। येसुका नजिकका साथीहरूले समेत उहाँले बोल्नुभएको वा गर्नुभएको कुराले गर्दा मात्र उहाँलाई चिन्न सकेका थिए।—लुका २४:३०, ३१, ३५; युहन्ना २०:१४-१६; २१:६, ७.
येसु प्रेषित थोमाकहाँ प्रकट हुनुहुँदा चोट लागेको शरीरमा देखा पर्नुभयो। उहाँले त्यसो गर्नुको कारण थोमाको विश्वास बलियो बनाउनको लागि थियो। किनभने येसु फेरि जीवित पारिनुभयो भन्ने कुरामा थोमाले शङ्का गरेका थिए।—युहन्ना २०:२४-२९.