युवाहरू सोध्छन्
म कसरी दुःखद अवस्थाको सामना गर्न सक्छु?
दुःखद अवस्था जोकोहीलाई पनि आउन सक्छ। बाइबल यसो भन्छ: “वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, ... किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।” (उपदेशक ९:११) यसमा केही किशोरकिशोरीहरू पनि पर्छन्, जसले दुःखद अवस्थाको सामना गरेका छन्। तिनीहरूले कसरी त्यसो गर्न सकेका छन्। आउनुहोस्, दुई वटा अनुभव विचार गरौँ।
रिबेका
म १४ वर्षकी छँदा मेरो ममी-ड्याडीको डिभोर्स भयो।
म आफैलाई यसो भन्थेँ: ‘मेरो ममी-ड्याडीको डिभोर्स हुनै सक्दैन। ड्याडीलाई केही समय मात्र चाहिएको होला! उहाँले ममीलाई माया गर्नुहुन्थ्यो। तर उहाँले ममीलाई किन छोड्नुभयो? अनि उहाँले मलाई किन छोड्नुभयो?’
यसबारे अरूसित कुरा गर्न मलाई गाह्रो लाग्थ्यो। यो कुरा म सोच्न समेत चाहन्नथे। म एकदमै रिसाउँथे तर त्यतिबेला मैले त्यो कुरा यादै गरिनँ। मलाई चिन्ता-फिक्रीले सताउन थाल्यो अनि राति निद्रा पनि लाग्दैनथ्यो।
म १९ वर्षकी छँदा क्यान्सरको कारण मैले ममीलाई गुमाएँ। उहाँ मेरो सबैभन्दा मिल्ने साथी हुनुहुन्थ्यो।
ममी-ड्याडीको डिभोर्सले गर्दा मलाई निकै गाह्रो भइरहेको थियो। त्यसमाथि ममीको मृत्यु हुँदा मलाई त्यो पीडा सहन झनै गाह्रो भयो। त्यो कुराले मलाई अझै पनि सताइरहन्छ। राती सुत्न मलाई पहिलेभन्दा अझै गाह्रो भएको छ। अनि मलाई चिन्ता-फिक्रीले पनि पिरोलिरहन्छ।
त्यतिबेला मैले आफूलाई मदत गर्ने केही कुराहरू भेट्टाए। जस्तै, हितोपदेश १८:१ मा अरूदेखि अलग्गै बस्न खोज्नु हुँदैन भनेर बताइएको छ। त्यसैले म त्यो सल्लाह लागू गर्ने प्रयास गर्छु।
म यहोवाको साक्षी हुँ। त्यसैले म बाइबलआधारित प्रोत्साहनदायी प्रकाशनहरू पढ्ने गर्छु। ममी-ड्याडीको डिभोर्स हुँदा मलाई मदत गरेको एउटा किताब भनेको युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ हो। विशेषगरि त्यस किताबको खण्ड २ मा भएको “के म एकल आमाबुबा भएको परिवारमा खुसी हुन सक्छु?” (अङ्ग्रेजी) अध्यायले मलाई मदत गऱ्यो।
मैले चिन्ता-फिक्रीको सामना गर्न मत्ति ६:२५-३४ बाट निकै मदत पाएकी छु। पद २७ मा येसुले यसो भन्नुभएको छ: “तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हातa लम्ब्याउन सक्छौ र?”
दुःखकष्ट हामी सबैलाई आउँछ। तर हामी कसरी त्यसको सामना गर्छौँ, त्यो महत्वपूर्ण छ। यो कुरा मैले मम्मीबाट सिकेँ। उहाँले थुप्रै समस्याहरू झेल्नुपऱ्यो। पहिला उहाँको डिभोर्स भयो, त्यसपछि उहाँलाई दीर्घकालीन रोग लाग्यो। तर अवस्था जतिसुकै गाह्रो भए पनि उहाँले सधैँ सकारात्मक मनोवृत्ति राख्नुभयो। अनि आफ्नो जीवनको अन्तसम्मै परमेश्वरप्रतिको विश्वास बलियो बनाइराख्नुभयो।
यसबारे सोच्नुहोस्: दुःखद अवस्थाको सामना गर्न तपाईँलाई बाइबल र बाइबलआधारित प्रकाशनहरूले कसरी मदत गर्न सक्छ?—भजन ९४:१९.
कोर्डेल
म १७ वर्षको छँदा बुबाले मेरो अगाडि अन्तिम सास लिनुभयो। बुबालाई गुमाउँदा भएको पीडा मलाई पहिले कहिल्यै भएको थिएन। मेरो मन छियाछिया भयो।
बुबा मेरो साथमा हुनुहुन्न भन्ने कुरा मलाई विश्वास गर्नै गाह्रो भयो। कपडाले ढाकेर राखिएको शव मेरो बुबाको हो भनेर पत्याउनै सकिनँ। म आफैलाई भन्थेँ: ‘बुबा भोलि उठिहाल्नुहुन्छ नि?’ मैले एकदमै शून्य अनि खोक्रो महसुस गरेँ।
मेरो परिवारमा सबै जना यहोवाको साक्षी हो। बुबाको मृत्यु हुँदा मण्डलीका भाइबहिनीहरू हाम्रो ठूलो सहारा बन्नुभयो। उहाँहरूले हामीलाई खाना बनाएर ल्याइदिनुहुन्थ्यो अनि हामी सँगै बस्नुहुन्थ्यो। उहाँहरूले लामो समयसम्म हामीलाई यसरी मदत गरिरहनुभयो। यस्तो साथ पाउँदा यहोवाका साक्षीहरू नै साँचो ख्रिष्टियन हुन् भनेर म विश्वस्त हुन सकेँ।—युहन्ना १३:३५
दोस्रो कोरिन्थी ४:१७, १८ बाट पनि मैले धेरै सान्त्वना पाए। त्यहाँ यसो भनिएको छ: “सङ्कष्ट क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ। यस दौडान हामी आफ्नो नजर देखिने कुराहरूमा होइन तर नदेखिने कुराहरूमा राख्छौँ किनकि देखिने कुराहरू अस्थायी हुन्छन् तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्।”
विशेषगरि पदको अन्तिम भागले मेरो मन छोयो। मृत्युअघि बुबाले भोग्नुभएको पीडा अस्थायी थियो तर परमेश्वरले दिनुभएको भविष्यको सुन्दर आशा भने चिरस्थायी हुन्छ। बुबाको मृत्युपछि मैले आफ्नो जीवन कसरी बिताइरहेको छु भनेर सोच्ने अनि लक्ष्यहरू राख्ने मौका पाएँ।
यसबारे सोच्नुहोस्: दुःखद अवस्थाको सामना गर्दा तपाईँले आफ्ना लक्ष्यहरू केलाउन कसरी मदत पाउनुहुन्छ?—१ युहन्ना २:१७.
a एक हात भनेको लगभग ४५ सेन्टिमिटर वा १.५ फिट बराबर हुन्छ।