“येसुमाथिको विश्वास”—के उद्धार पाउन येसुमा विश्वास गरे पुग्छ?
बाइबलको जवाफ
ख्रिष्टियनहरू येसु मानिसजातिको पाप हटाउन मर्नुभयो भनी विश्वास गर्छन्। (१ पत्रुस ३:१८) तर उद्धार पाउन येसु उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गर्नु मात्र पर्याप्त छैन। प्रेतहरूलाई समेत येसु “परमेश्वरको छोरा” हुनुहुन्छ भनेर थाह छ। तर तिनीहरूले उद्धार पाउनेछैनन् बरु विनाश हुनेछन्।—लुका ४:४१; यहुदा ६.
उद्धार पाउन मैले के गर्नुपर्छ?
येसुले हाम्रा पापहरू हटाउन आफ्नो जीवन बलिदान दिनुभयो भनेर हामीले विश्वास गर्नुपर्छ। (प्रेषित १६:३०, ३१; १ युहन्ना २:२) यसमा येसु वास्तविक व्यक्ति हुनुहुन्थ्यो र उहाँबारे बाइबलमा उल्लेख गरिएका विवरणहरू सही छन् भनेर विश्वास गर्नु समावेश छ।
बाइबलको शिक्षा सिक्नुहोस्। (२ तिमोथि ३:१५) बाइबलमा बताइएअनुसार प्रेषित पावल र सिलासले जेलरलाई यसो भने: ‘येसुमा विश्वास गर्नुहोस् अनि तपाईँको उद्धार हुनेछ।’ अनि तिनीहरूले जेलरलाई “परमेश्वरको वचन”a सिकाउन थाले। (प्रेषित १६:३१, ३२) यसबाट परमेश्वरको वचनको आधारभूत ज्ञान नलिउन्जेल जेलरले येसुमा विश्वास गर्न सक्दैनथे भनी बुझ्न सक्छौँ। उनले धर्मशास्त्रमा आधारित सही ज्ञान लिनुपर्थ्यो।—१ तिमोथि २:३, ४.
पश्चात्ताप गर्नुहोस्। (प्रेषित ३:१९) विगतको गलत सोचाइ र खराब आनीबानीको लागि तपाईँले पश्चात्ताप गर्नुपर्छ। परमेश्वरलाई मन नपर्ने कामहरू गर्न छोड्नुभयो र “पश्चात्ताप गरेको देखिने कामहरू” गर्नुभयो भने तपाईँले पश्चात्ताप गर्नुभएको अरूले पनि थाह पाउनेछन्।—प्रेषित २६:२०.
बप्तिस्मा गर्नुहोस। (मत्ति २८:१९) येसुले उहाँको चेला बन्न बप्तिस्मा गर्नुपर्छ भन्नुभयो। अगाडि उल्लेख गरिएको जेलरले पनि बप्तिस्मा गरे। (प्रेषित २६:२०) त्यसैगरी प्रेषित पत्रुसले एउटा ठूलो भीडलाई येसुबारे सत्य कुरा सिकाएपछि “ज-जसले तिनको वचन खुसीसाथ स्विकारे, तिनीहरूले बप्तिस्मा गरे।”—प्रेषित २:४०, ४१.
येसुको आज्ञा पालन गर्नुहोस्। (हिब्रू ५:९) येसुले आज्ञा गर्नुभएका ‘सबै कुरा पालन’ गर्नेहरूले आफ्नो जीवनशैलीबाट आफू येसुको चेला भएको कुरा देखाइरहेका हुन्छन्। (मत्ति २८:२०) तिनीहरू वचन “सुन्ने मात्र होइन” बरु “पालन गर्ने” हुनेछन्।—याकुब १:२२.
अन्तसम्मै सहनुहोस्। (मर्कुस १३:१३) उद्धार पाउन येसुका चेलाहरू अन्तसम्मै “सहनशील हुनु आवश्यक छ”। (हिब्रू १०:३६) उदाहरणको लागि, प्रेषित पावलले येसुका सबै आज्ञाहरू पालन गरे अनि तिनी सधैँ परमेश्वरप्रति वफादार रहे। ख्रिष्टियन भएदेखि नमरुन्जेल तिनी सहनशील भइरहे।—१ कोरिन्थी ९:२७.
“पापीको प्रार्थना” भनेको के हो?
केही धर्मका मानिसहरूले “पापीको प्रार्थना” र “मुक्तिको प्रार्थना” जस्ता प्रार्थनाहरू गर्छन्। यस्तो प्रार्थना गर्नेहरूले आफू पापी हुँ भनी स्विकार्छन् र येसु ती पापहरू हटाउन मर्नुभयो भनी विश्वास गर्छन्। तिनीहरू येसुलाई आफ्नो हृदयमा वा जीवनमा बास गर्नुहोस् भन्छन्। तर बाइबलमा “पापीको प्रार्थना”-बारे उल्लेख गरिएको छैन र यस्तो प्रार्थना गर्नुपर्छ भनी बताइएको पनि छैन।
केही मानिसहरू “पापीको प्रार्थना” गरेपछि आफ्नो उद्धार हुनेछ भन्ने सोचाइ राख्छन्। तर कुनै पनि प्रार्थनाले उद्धारको ग्यारेन्टी दिँदैन। त्रुटिपूर्ण भएकोले हामी गल्ती गरिरहन्छौँ। (१ युहन्ना १:८) त्यसैले पापको क्षमा पाउन निरन्तर प्रार्थना गरिरहनुपर्छ भनेर येसुले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। (लुका ११:२, ४) उद्धार पाउने आशा भएका केही ख्रिष्टियनहरूले समेत त्यो आशा गुमाए किनभने तिनीहरू परमेश्वरबाट तर्किए।—हिब्रू ६:४-६; २ पत्रुस २:२०, २१.
“पापीको प्रार्थना”-को सुरुवात कहाँबाट भयो?
“पापीको प्रार्थना”-को सुरुवातबारे इतिहासकारहरूको धारणा बेग्लाबेग्लै छ। कोही-कोहीले यो प्रचलन ‘प्रोटेस्टेन्ट धर्म सुधार आन्दोलन’-को दौडान सुरु भएको हो भन्छन्। अरू कतिपयले भने “पापीको प्रार्थना” १८औँ र १९औँ शताब्दीमा धार्मिक अभियानको बेला सुरु भयो भन्छन्। कुरा जेसुकै भएपनि यो प्रचलन धर्मशास्त्रमा आधारित छैन। वास्तवमा यो बाइबलको शिक्षासित बाझिन्छ।
a यहोवा बाइबलमा उल्लेख गरिएको परमेश्वरको नाम हो।