आधुनिक युनानी भाषामा नयाँ बाइबल
ग्रीसमा सम्पन्न “परमेश्वरको वचनमा विश्वास” जिल्ला अधिवेशनमा उपस्थित हुनेहरूका लागि अगस्त २३, १९९७ विशेष दिन थियो। अपराह्न कार्यक्रमको अन्तमा एउटा नयाँ बाइबल विमोचन गरियो। त्यो थियो, आधुनिक युनानी भाषामा पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद। यो सुनेर छक्क परेका श्रोताहरू हर्षको आँसु बगाउँदै लामो समयसम्म उभिएर ताली बजाइरहे!
यहोवाका साक्षीहरूले ग्रीक अर्थोडक्स पादरीद्वारा निकालिएको १९ औं शताब्दी बाइबल अनुवाद १९०५ देखि चलाउँदै आइरहेका थिए। तिनीहरूले यस बाइबलबाट धेरै वर्षसम्म खूबै काम चलाए। यद्यपि, केही समयदेखि यहोवाका साक्षीहरूले अझ सही र बुझ्न सजिलो बाइबल अनुवाद चाहिएको महसुस गरे। सन् १९९३ मा मसीही युनानी धर्मशास्त्रको नयाँ विश्व अनुवाद पाएर तिनीहरू खुसी भए। तथापि, अहिले आधुनिक युनानी भाषामा सम्पूर्ण बाइबल पाउँदा झनै आनन्दित भए।
मूल्यांकन व्यक्त गर्ने एक साक्षीले नयाँ विश्व अनुवाद-लाई “यहोवाको वाणी बोक्ने कविता, मन्द हावाको झोंका जसलाई हामीले पहिलो पटक आफ्नो भाषामा प्रस्ट बुझ्नसक्छौं” भने। कतिपयले घर पुग्नासाथ त्यो नयाँ बाइबल पढ्न थाले। अधिवेशन धाउने एक उत्साही व्यक्तिले बिहान एक बजेसम्म त्यो बाइबल पढ्दै रहे। तिनले अय्यूबको सम्पूर्ण पुस्तक पढी सिध्याए!
युनानी भाषामा प्रकाशित यो पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद सात वर्षे कठिन मेहनतको फल हो। प्राप्त एउटा पत्रमा यस्तो लेखिएको थियो: एउटी साक्षीले लेखिन्, “इमानदार मानिसहरूलाई यहोवाबारे सिकाउन हामीलाई यो नयाँ विश्व अनुवाद-ले ठूलो सघाउ पुऱ्याउनेछ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ।”