अन्यायरहित संसार—के तपाईं यसको तिर्सना गर्नुहुन्छ?
ती नवटा मस्तुल भएको दुइ तले काठे जहाज स.रा.अ. स्थित केप कोड, मासाचुसेट्समा किनारा लाग्यो। नाविक दल र १०१ यात्रीहरू ६६ दिने लामो समुद्री यात्राले लखतरान भएका छन्। धार्मिक सतावट र आर्थिक कठिनाइको बोझबाट मुक्त हुन तिनीहरूले आन्द्र महासागरको एक किनारदेखि अर्को किनारसम्म कठिन यात्रा गरेका छन्।
नोभेम्बर ११, १६२० मा मेफ्लावर नामक त्यस जहाजबाट उत्रेपछि ती यात्रीहरूका नयनहरू नयाँ जीवनको आशाले जगमगाउछन्। एउटा उत्तम संसारको आधार बसाल्ने उत्कट अभिलाषा लिएर जहाजका अधिकांश वयस्क पुरुष यात्रीहरूले मेफ्लावर सम्झौतामा हस्ताक्षर गछर्न्। त्यस सम्झौतामा तिनीहरूले “सम्पूर्ण इलाकाका मानिसहरूका निम्ति भलाइ” गर्न “अन्यायरहित र निष्पक्ष कानुन” लागू गर्ने कुराप्रति सम्मति जनाए। के तिनीहरूले आशा गरेको नैतिकवान र न्यायसंगत अर्थात् एउटा अन्यायरहित संसार वास्तविकता हुन सकेको छ?
मेफ्लावर जहाजमा बसेर हस्ताक्षर गरिएको सम्झौतालाई अमेरिकी सरकार प्रणालीको एउटा आधारशिला मानिन्छ। तर संसारका अन्य भागहरूमा झैं अमेरिकामा पनि अन्याय रोक्न सकेको छैन। उदाहरणका लागि, पसल लुटेर पसलेलाई गोली हानी सुइँकुच्चा ठोक्दै गर्दा उसलाई प्रहरीले पछाडिबाट गोली हानेको व्यक्तिलाई विचार गर्नुहोस्। उसले प्रहरी तथा न्यु योर्क शहर विरुद्ध मुद्दा हाल्यो र मुद्दा जितेर उल्टै लाखौं डलर पायो।
अर्को उदाहरण पनि विचार गर्नुहोस्। क्यालिफोर्नियास्थित पसाडिनामा कानुनका विद्यार्थीहरूले बार परीक्षा दिइरहेको बेला एक जना विद्यार्थी मूर्छा परेर भुइँमा डङग्रङ्ङ लडे। चिकित्सक नआएसम्म नजीकैका दुइ विद्यार्थीहरूले हतारपतार कृत्रिम श्वासप्रश्वास प्रक्रियाद्वारा तिनलाई होसमा ल्याउने प्रयास गरे। त्यसो गर्दा तिनीहरूको ४० मिनेट खेर गयो। तर तिनीहरूले परीक्षा सिध्याउन थप ४० मिनेट समय पाऊँ भनी निवेदन गर्दा बार अफिसरहरूले स्वीकृति दिएनन्।
अपराधी गतिविधिको लागि दिइने सजाय पनि अन्यायपूर्ण हुन्छ। अर्थविश्लेषक एड रूबेन्सटाइन भन्छन्: “धेरैजसो अपराधीहरू कहिल्यै गिरफ्तार हुँदैनन्। गिरफ्तार गरिएकाहरू विरुद्ध पनि विरलै मुद्दा चलाइन्छ। अधिकांश दोषीहरूलाई जमानतमा रिहाइ गरिन्छ। अपराधीले पूर्वानुमान गरेजस्तो सजाय पाउँछ नै भन्ने कुनै निश्चय छैन।” डकैतीहरूको तथ्यांकमा आधारित तिनको निष्कर्षअनुसार एउटा सशक्त चोर “कैदको पञ्जाबाट ९८ प्रतिशतभन्दा बढी मुक्त रहन्छ।” सजाय विरलै मात्र दिइने भएकोले एकमाथि अर्को अपराध र अपराधका शिकार हुनेहरूको संख्या बढ्दै गइरहेछन्।—उपदेशक ८:११.
धेरै मुलुकहरूमा अल्पसंख्यक धनीहरू झनै धनी हुँदै गइरहेका छन् भने बहुसंख्यक गरिबहरू चाहिं आर्थिक अन्यायको दलदलमा धसिंदै गइरहेका छन्। छालाको रंग, जातीय पृष्ठभूमि, भाषा, लिंग वा धर्मजस्ता कुराहरूले गर्दा मानिसहरू जीवनस्तर उकास्न अथवा स्वावलम्बी बन्न सक्दैनन्। त्यसैकारण, आर्थिक अन्यायको बिगबिगी हुन्छ। उदाहरणका लागि, द न्यु योर्क टाइम्स् अनुसार, “हिन्दू बाहुल्य दक्षिण एसियामा, विशेषगरि भारत र नेपालमा २.५ खरब मानिसहरू अछूत परिवारमा जन्मन्छन् र अछूत भएरै मर्छन्।” यसको कटु परिणामस्वरूप करोडौं मानिसहरू गरिबी, भोक र बिमारीको चपेटमा परेका छन्। तिनीहरूले कोक्रोदेखि चिहानसम्मै अन्याय झेल्नुपर्छ।
मानिसले नियन्त्रण गर्नै नसक्ने अन्यायबारे नि? जन्मजात अन्धो, मन्दबुद्धि वा विकृत बच्चाहरूबारे कल्पना गर्नुहोस् त। आफ्नो बच्चा लुलालंगडा जन्म्यो अथवा बच्चाको मृत्यु भयो भने, नजीकैमा अर्की आइमाईले स्वस्थ बच्चा खेलाएको देख्दा के कुनै आइमाईले अन्याय महसुस गर्दिनन् र?
दुःखको कुरा, जताततै अन्यायको राज फैलिएको छ। परिणामस्वरूप, दुःखकष्टको भेलै आएको छ भने शान्ति, आनन्द तथा सन्तुष्टिको चाहिं विकट अनिकाल परेको छ। आफूले देखेका वा भोगेका अन्यायले गर्दा धेरै व्यक्तिहरू हिंसात्मक कार्यमा हात हाल्छन्। तर त्यस्तो कार्यले त झन् दुःखकष्टहरू बढाउँछ मात्र। अधिकांश युद्धहरूको जड नै अन्याय हो।
अन्यायरहित संसार बनाउन मानिस किन असफल भएको? के यस्तो संसार सपना मात्र हो?
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Corbis-Bettmann
[पृष्ठ ४-मा भएका चित्र]
मेफ्लावर सम्झौतामा हस्ताक्षर गर्दैछन्
[स्रोत]
Corbis-Bettmann