ब्यूँझनुहोस्!-ले १९९० मै बताएको थियो
हालसालै युरोपमा “गाई बौलाउने रोगले” ठूलो हलचल मच्चाएको छ। यो रोग मानिसलाई पनि सर्नसक्छ भनी थुप्रै त्रसित छन्। धेरै मानिसहरूले यस रोगबाट संक्रमित जनावरको मासु खाँदा क्रोइत्सफेल्ट-याकोप रोग लाग्छ भन्छन्। यो रोग असाध्यै घातक हुन्छ, यसले मानिसको केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ। अतः, गाई बौलाउने रोगबारे प्रचारप्रसार हुन थालेपछि मानिसहरूले मासु खान कम गर्नु छक्कलाग्दो कुरा होइन।
एउटा चाखलाग्दो कुरा के छ भने, इटालीको पत्रिका टुटरज-को मे १९९६ को अंकमा स्टेफान्या फेरारीले यसो लेखिन्: “यस घातक रोगबारे बताएको पत्रिका हामीले १९९० मै पाएका थियौं। त्यो पत्रिका हो, यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्!” तिनले उल्लेख गरेको लेखको शीर्षक “बेलाइतमा ‘गाई बौलाउने’ समस्या” थियो र यो नोभेम्बर ८, १९९० को (अंग्रेजी) अंकमा छापिएको थियो। पहिलो चार अनुच्छेद उद्धृत गरेपछि फेरारीले “सरकारहरूले जनसाधारणलाई बताउनुभन्दा छ वर्षअघि नै ब्यूँझनुहोस्!-ले बताएकोमा” आश्चर्य व्यक्त गरिन्। तिनी अझ यसो भन्छिन्: “१९९० मा प्रकाशित यस्तो अत्यन्तै ताजा जानकारी देखेर कसै कसैले यसो भनेका छन्: ‘यहोवाका साक्षीहरूलाई यस्तो गम्भीर र महत्त्वपूर्ण कुरा थाह थियो भने तिनीहरूको मण्डली बाहिरका अरू मानिसहरूलाई किन नबताएको त?’ कुरा नलुकाइ भनौं: यहोवाका साक्षीहरूले १९९० मा बाइबल र त्यस लेख प्रकाशित भएको पत्रिका देखाउँदै हाम्रो घरमा आएको भए हामी कति जनाले त्यसलाई गम्भीरतापूर्वक लिनेथियौं?”
सन् १९९० मा “बेलाइतमा ‘गाई बौलाउने’ समस्या” लेख प्रकाशित हुँदा ब्यूँझनुहोस्! ६२ भाषाहरूमा सरदर १.२ करोड प्रतिहरू मुद्रण हुन्थ्यो। यहोवाका साक्षीहरू २०० भन्दा बढी मुलुकहरूमा त्यस सामयिक पत्रिका वितरण गर्न व्यस्त थिए। आज ब्यूँझनुहोस्! ८१ भाषाहरूमा सरदर १,८३,५०,००० प्रति प्रकाशित हुन्छ। यस पत्रिकाले आज पनि जानकारीमूलक र सामयिक लेखहरू प्रकाशित गर्छ। यदि तपाईं ब्यूँझनुहोस्!-का आगामी अंकहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस् अथवा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये नजीकैको ठेगानामा पत्राचार गर्नुहोस्।