प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt यहुदा १-२५
  • यहुदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहुदा
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
यहुदा

यहुदाको पत्र

१ म यहुदा, जो येसु ख्रिष्टको दास अनि याकुबको भाइ हुँ,+ ती बोलाइएका जनहरूलाई+ लेख्दै छु, जसलाई परमेश्‍वर, हाम्रा बुबाले प्रेम गर्नुभएको छ र येसु ख्रिष्टको निम्ति जोगाइराख्नुभएको छ:+

२ तिमीहरूले पाइरहेको कृपा, शान्ति अनि प्रेम प्रशस्त हुँदै जाओस्‌।

३ हे प्रियहरू हो, हुनत मैले हामी सबैले पाउने उद्धारको विषयमा+ तिमीहरूलाई लेख्ने हरप्रयास गरेको थिएँ तर त्यस विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड+ भनी आग्रह गर्नु नै मैले आवश्‍यक ठानेँ, जुन विश्‍वास पवित्र जनहरूलाई एकै चोटि सदाको लागि सुम्पिइएको थियो। ४ मैले लेख्नुको कारण के हो भने तिमीहरूमाझ केही यस्ता मानिसहरू सुटुक्क घुसेका छन्‌, जसलाई धर्मशास्त्रले धेरै अघि नै दण्डयोग्य ठहराइसकेको थियो। यी भक्‍तिहीन मानिसहरू हुन्‌, जो परमेश्‍वरको असीम अनुग्रहलाई निर्लज्ज आचरणमा*+ चल्ने बहाना बनाउँछन्‌ अनि हाम्रा एक मात्र मालिक र प्रभु येसु ख्रिष्टलाई विश्‍वासघात गर्छन्‌।+

५ हुनत तिमीहरूलाई यी सबै कुरा राम्ररी थाहै छ तैपनि म के सम्झाउन चाहन्छु भने यहोवा* परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रबाट* उद्धार गरेर ल्याउनुभएपछि+ तिनीहरूमध्ये ज-जसले विश्‍वास देखाएनन्‌, तिनीहरूलाई नाश गर्नुभयो।+ ६ त्यसैगरि आफ्नो ठाउँमा नबसेर आफ्नो उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई+ महादिनमा न्याय गर्न उहाँले घोर अन्धकारमा अनन्त बन्धनमा राख्नुभएको छ।+ ७ त्यसरी नै सदोम र गमोराका अनि वरपरका सहरहरूका मानिसहरू पनि ती स्वर्गदूतहरूजस्तै घोर अवैध यौनसम्बन्धमा* चुर्लुम्म डुबे अनि अप्राकृतिक शारीरिक इच्छाको पछि लागे।+ त्यसैले तिनीहरूले दण्ड भोगे र आगोद्वारा सधैँभरिको लागि नाश पारिए अनि तिनीहरू हाम्रो निम्ति चेतावनीमूलक उदाहरण बने।+

८ यी सबै कुरा थाह हुँदाहुँदै पनि तिमीहरूमाझ सुटुक्क घुसेका यी मानिसहरू कल्पनाको दुनियाँमा डुब्छन्‌, अरूको शरीरलाई बिटुलो पार्छन्‌, अख्तियारलाई तुच्छ ठान्छन्‌ अनि महिमित जनहरूबारे दुर्वचन बोल्छन्‌।+ ९ मोसाको शरीरबारे दियाबलसित वादविवाद हुँदा+ प्रधान-स्वर्गदूत+ माइकलले+ अपशब्द बोलेर त्यसलाई दोष लगाउने हिम्मत गर्नुभएन+ बरु “यहोवाले* तँलाई हप्काऊन्‌” भन्‍नुभयो।+ १० तर यी मानिसहरू भने आफूले राम्ररी नबुझेका कुराहरूविरुद्ध अपशब्द बोल्दै हिँड्‌छन्‌।+ अनि जुन कुरा यिनीहरू बेसमझ पशुले जस्तै आफ्नो सहज ज्ञानले बुझ्छन्‌,+ त्यसअनुसार चलेर आफूलाई भ्रष्ट पारिरहन्छन्‌।

११ यिनीहरूलाई धिक्कार छ किनभने यिनीहरू कयिनको बाटोमा हिँडेका छन्‌,+ इनाम पाउनका लागि बालामको गलत बाटोमा दौडिरहेका छन्‌+ अनि कोरहले जस्तै विद्रोही कुरा गरेर+ नाश भएका छन्‌!+ १२ यिनीहरू तिमीहरूले लगाएको भोजमा* तिमीहरूसँगै खान्छन्‌। तर यिनीहरू पानीमुनि लुकेका चट्टानहरू हुन्‌।+ यिनीहरू आफ्नै पेट मात्र भर्ने गोठालाहरू हुन्‌ र यसो गर्न डराउँदैनन्‌।+ यिनीहरू बतासले यताउता हुर्ऱ्याइरहेका त्यस्ता बादलहरू हुन्‌, जसबाट पानी बर्सिँदैन।+ यिनीहरू फल लाग्ने मौसममा पनि फल नफलाउने त्यस्ता रूखहरू हुन्‌, जो पूरै मरिसेकका छन्‌* अनि जरैसमेत उखेलिसकिएका छन्‌। १३ यिनीहरू समुद्रमा जथाभाबी उर्लने त्यस्ता छालहरू हुन्‌, जो आफ्नै बेइज्जती निम्त्याउँछन्‌।+ यिनीहरू दिशाहीन ताराहरू हुन्‌, जो निस्पट्ट अन्धकारमा सधैँभरिका लागि रहनेछन्‌।+

१४ हो, आदमपछि सातौँ पुस्ताका हनोकले+ पनि यसो भन्दै यिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा* परमेश्‍वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित+ १५ सबैलाई दण्ड दिन,+ भक्‍तिहीनहरूलाई तिनीहरूले परमेश्‍वरविरुद्ध खडा भएर गरेका सबै भक्‍तिहीन कामको निम्ति दोषी ठहराउन अनि भक्‍तिहीन पापीहरूलाई तिनीहरूले उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन आउनुभयो।”+

१६ यी मानिसहरू गनगनाउँछन्‌,+ आफ्नो जीवनप्रति असन्तोष व्यक्‍त गर्छन्‌, आफ्नै कुइच्छामा चल्छन्‌,+ ठूलठूला कुराको धक्कु लगाउँछन्‌ अनि आफ्नो स्वार्थ पूरा गर्न चापलुसी गर्छन्‌।+

१७ तर हे प्रियहरू हो, तिमीहरूचाहिँ हाम्रा प्रभु येसु ख्रिष्टका प्रेषितहरूले* पहिले भनेका* कुराहरू सम्झ। १८ तिनीहरू तिमीहरूलाई यसो भन्‍ने गर्थे: “आफ्ना कुइच्छाहरू पूरा गर्न आखिरी समयमा गिल्ला गर्नेहरू देखा पर्नेछन्‌।”+ १९ यिनीहरू फूट ल्याउने,+ पाशविक* र आध्यात्मिकता नभएका* मानिसहरू हुन्‌। २० तर हे प्रियहरू हो, तिमीहरूचाहिँ आफ्नो अतिपवित्र विश्‍वासलाई बलियो बनाओ अनि पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार प्रार्थना गर+ २१ ताकि हाम्रा प्रभु येसु ख्रिष्टको कृपाद्वारा अनन्त जीवन+ पाउने समयलाई पर्खुन्जेल तिमीहरूले आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न सक।+ २२ साथै जो शङ्‌कालु भएका छन्‌,+ तिनीहरूलाई कृपा देखाइरहो;+ २३ तिनीहरूलाई आगोबाट तानेर बचाओ।+ तर अरूलाई पनि कृपा देखाउन नछोड। तिमीहरू आफू पनि होसियार रहो ताकि तिनीहरूको पापको दागले तिमीहरूलाई असर गर्न नपाओस्‌।*+ तिनीहरूको पापलाई घृणा गर।

२४ जसले तिमीहरूलाई ठेस खानदेखि बचाउन सक्नुहुन्छ अनि जसले आफ्नो महिमासामु* तिमीहरूलाई निष्खोट खडा गराउन+ र ठूलो आनन्द दिन सक्नुहुन्छ, २५ उहाँ एक मात्र परमेश्‍वर र हाम्रा उद्धारक हुनुहुन्छ। हाम्रा प्रभु येसु ख्रिष्टमार्फत बितेका समयमा, अहिले अनि सदासर्वदा महिमा, वैभव, शक्‍ति र अख्तियार उहाँकै होस्‌। आमिन।

वा “छाडा आचरणमा।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “इजिप्टबाट।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “प्रेम-भोजमा।”

शा., “दुई चोटि मरिसकेका छन्‌।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “भविष्यवाणी गरेका।”

वा “शारीरिक सोचाइ राख्ने।”

वा “पवित्र शक्‍ति नभएका।”

शा., “तिनीहरूको शरीरको दाग लागेको तिनीहरूको लुगालाई समेत घृणा गर।”

वा “महिमित उपस्थितिमा।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने