प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt १ कोरिन्थी १:१-१६:२४
  • १ कोरिन्थी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ कोरिन्थी
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी

कोरिन्थीहरूलाई पहिलो पत्र

१ परमेश्‍वरको इच्छाद्वारा ख्रिष्ट येसुको प्रेषित* बन्‍न बोलाइएको पावलबाट+ र हाम्रा भाइ सोस्थेनेसबाट २ कोरिन्थमा+ भएको परमेश्‍वरको मण्डलीलाई पत्र। हो, यो पत्र तिमीहरूका लागि हो, जो ख्रिष्ट येसुका चेलाहरू भएको नाताले पवित्र पारिएका छौ+ अनि पवित्र जनहरू बन्‍न बोलाइएका छौ। साथै तिनीहरूका लागि पनि हो, जसले जहाँसुकै भए तापनि हाम्रा प्रभु येसु ख्रिष्टको नाम लिइरहेका छन्‌,+ जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ:

३ परमेश्‍वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

४ ख्रिष्ट येसुमार्फत परमेश्‍वरले तिमीहरूलाई देखाउनुभएको असीम अनुग्रहको लागि म आफ्ना परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। ५ किनकि उहाँमा तिमीहरू हरेक कुरामा धनी भएका छौ, परमेश्‍वरको वचन घोषणा गर्ने क्षमतामा र पूर्ण ज्ञानमा।+ ६ ख्रिष्टसित सम्बन्धित साक्षीले+ तिमीहरूमाझ दह्रोगरि जरा गाडेको छ। ७ त्यसैले हाम्रा प्रभु येसु ख्रिष्ट प्रकट हुने समय उत्सुकतासाथ पर्खँदै गर्दा तिमीहरूमा कुनै वरदानको अभाव छैन।+ ८ हाम्रा प्रभु येसु ख्रिष्टको दिनमा तिमीहरूमाथि कुनै दोष नलागोस्‌ भनेर उहाँले तिमीहरूलाई अन्तसम्मै स्थिर पनि बनाउनुहुनेछ।+ ९ परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ।+ उहाँले तिमीहरूलाई आफ्नो छोरा, हाम्रा प्रभु येसु ख्रिष्टको साझेदार हुन बोलाउनुभयो।

१० भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा आग्रह गर्छु कि तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूबीच फूट नहोस्‌+ तर तिमीहरूको सोचाइ र विचार एउटै होस्‌।+ ११ किनकि हे मेरा भाइ हो, तिमीहरूमाझ फूट छ भनेर क्लोएको घरानाका कसै-कसैले मलाई खबर गरेका छन्‌। १२ मैले भन्‍न खोजेको कुरा के हो भने तिमीहरूमध्ये कसैले “म पावलको चेला हुँ,” कसैले “म अपोल्लसको चेला हुँ,”+ कसैले “म केफासको* चेला हुँ” अनि कसैले चाहिँ “म ख्रिष्टको चेला हुँ” भन्छौ रे। १३ के ख्रिष्ट तिमीहरूबीच विभाजित हुनुभएको छ? के पावल तिमीहरूका लागि खम्बामा मारिएको थियो र? वा के तिमीहरूले पावलको नाममा बप्तिस्मा गरेका थियौ र? १४ म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस+ र गायसबाहेक+ तिमीहरू कसैलाई बप्तिस्मा गराइनँ १५ ताकि मेरो नाममा बप्तिस्मा गरेँ भनेर तिमीहरूमध्ये कसैले नभनोस्‌। १६ हो, मैले स्तिफनासको घरानालाई+ पनि बप्तिस्मा गराएँ। अरू कसैलाई मैले बप्तिस्मा गराएँ कि गराइनँ, मलाई थाह छैन। १७ किनकि ख्रिष्टले मलाई बप्तिस्मा गराउन होइन तर सुसमाचार घोषणा गर्न पठाउनुभयो।+ अनि यो काम मैले बुद्धिजीवीहरूको भाषामा* गर्नु हुँदैन नत्र त ख्रिष्टको यातनाको खम्बा* बेकामको हुनेछ।

१८ नाश हुनेहरूका लागि यातनाको खम्बासित* सम्बन्धित सन्देश मूर्खता हो+ तर उद्धार पाउने हामीहरूका लागि भने यो परमेश्‍वरको शक्‍ति हो।+ १९ किनकि यस्तो लेखिएको छ: “बुद्धिमान्‌ मानिसहरूको बुद्धि म नष्ट पार्नेछु अनि विद्वानहरूको ज्ञानलाई म तिरस्कार गर्नेछु।”+ २० यस युगका* बुद्धिमान्‌ मानिसहरू कहाँ छन्‌? शास्त्रीहरू* कहाँ छन्‌? विवाद गर्ने मानिसहरू कहाँ छन्‌? परमेश्‍वरले संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? २१ किनकि आफ्नो बुद्धिमा भर परेको हुनाले+ संसारले परमेश्‍वरलाई चिनेन।+ हामी जे प्रचार गर्छौँ, त्यो संसारको लागि मूर्खता हो+ तर विश्‍वास गर्नेहरूलाई यही सन्देशद्वारा उद्धार गर्नु परमेश्‍वरलाई उचित लाग्यो। यसैमा परमेश्‍वरको बुद्धि देखिन्छ।

२२ यहुदीहरू चिन्ह खोज्छन्‌+ र ग्रीकहरू बुद्धिको खोजी गर्छन्‌ २३ तर हामी भने ख्रिष्ट खम्बामा मारिनुभएको विषयमा प्रचार गर्छौँ, जुन यहुदीहरूका लागि ठक्करको कारण र अन्यजातिहरूका लागि मूर्खता हो।+ २४ तर जो-जो बोलाइएका छन्‌, चाहे यहुदी होऊन्‌ वा ग्रीक, तिनीहरूका लागि ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति र परमेश्‍वरको बुद्धि हुनुहुन्छ।+ २५ किनकि जुन कुरालाई मानिसहरू परमेश्‍वरको मूर्खता ठान्छन्‌, त्यो कुरा मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ हुन्छ र जुन कुरालाई मानिसहरू परमेश्‍वरको कमजोरी ठान्छन्‌, त्यो कुरा मानिसहरूको बलभन्दा शक्‍तिशाली हुन्छ।+

२६ भाइहरू हो, तिमीहरू आफ्नै बोलावटलाई विचार गर। मानिसहरूको नजरमा* तिमीहरूमध्ये धेरै जना बुद्धिमान्‌, धेरै जना शक्‍तिशाली र धेरै जना खानदानी छैनौ*+ २७ तर बुद्धिमान्‌ मानिसहरूलाई सरममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई रोज्नुभयो अनि बलिया कुराहरूलाई सरममा पार्न परमेश्‍वरले संसारका कमजोर कुराहरूलाई रोज्नुभयो।+ २८ अनि अस्तित्वमा भएका कुराहरूलाई नभएझैँ तुल्याउन परमेश्‍वरले अस्तित्वमै नभएका कुराहरू—संसारका महत्त्वहीन कुराहरू र तुच्छ ठानिएका कुराहरूलाई रोज्नुभयो+ २९ ताकि कसैले पनि परमेश्‍वरसामु घमन्ड गर्न नसकोस्‌। ३० तर उहाँले गर्दा नै तिमीहरू ख्रिष्ट येसुसित एक भएका छौ। येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुहुन्छ। येसुद्वारा नै मानिसहरू धर्मी+ र पवित्र ठहरिन सक्छन्‌+ अनि उहाँले तिर्नुभएको फिरौतीद्वारा तिनीहरू मुक्‍त हुन सक्छन्‌+ ३१ ताकि लेखिएको यो कुराअनुसारै होस्‌: “जसले घमन्ड गर्छ, उसले यहोवा* परमेश्‍वरमा घमन्ड गरोस्‌।”+

२ यसकारण हे भाइ हो, जब म परमेश्‍वरको पवित्र रहस्य घोषणा गर्न तिमीहरूकहाँ आएँ,+ तब मैले ठूलठूला कुरा गरिनँ+ वा आफ्नो बुद्धि प्रदर्शन गर्न खोजिनँ। २ किनकि येसु ख्रिष्टको र उहाँलाई खम्बामा मारिएको विषयबाहेक अरू कुनै पनि कुरातर्फ तिमीहरूको ध्यान नखिच्ने अठोट मैले गरेँ।+ ३ म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले थरथर काँपिरहेको थिएँ। ४ अनि मैले जे बोलेँ र प्रचार गरेँ, ती बुद्धिले भरिएका जोडदार वचन थिएनन्‌ बरु त्यसले पवित्र शक्‍तिको तागत प्रदर्शन गऱ्‍यो+ ५ ताकि तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन तर परमेश्‍वरको शक्‍तिमा होस्‌।

६ अब जो-जो परिपक्व छन्‌, तिनीहरूसित हामी बुद्धिका कुरा गर्छौँ + तर यस युगको बुद्धि वा यस युगका* ती शासकहरूको बुद्धिको विषयमा त होइन, जसको अस्तित्व मेटिनेछ।+ ७ तर हामी पवित्र रहस्यमा+ भएको परमेश्‍वरको बुद्धि अर्थात्‌ लुकाइएको बुद्धिबारे कुरा गर्छौँ। परमेश्‍वरले हाम्रो गौरवका लागि यसो गर्ने उद्देश्‍य युगहरू सुरु हुनुभन्दा अघि राख्नुभएको थियो। ८ यस युगका* शासकहरूमध्ये कसैले पनि यस बुद्धिबारे थाह पाएनन्‌+ किनकि थाह पाएका भए त तिनीहरूले गौरवशाली प्रभुलाई मार्ने* नै थिएनन्‌। ९ तर जस्तो लेखिएको छ: “आँखाले नदेखेका, कानले नसुनेका अनि मानिसहरूको मनले नबुझेका कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।”+ १० परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा+ यी कुराहरू हामीलाई प्रकट गर्नुभएको छ+ किनकि पवित्र शक्‍तिले सबै कुरा, परमेश्‍वरका गहिरा कुराहरूसमेत+ खोजतलास गर्छ।

११ मानिसहरूमध्ये कसले पो अर्को मानिसको सोचाइ जान्‍न सक्छ र? आफ्नो मनमा के छ, त्यो त आफैलाई मात्र थाह हुन्छ। त्यसरी नै परमेश्‍वरको मनमा के छ, त्यो पनि उहाँको पवित्र शक्‍तिबाहेक अरू कसैलाई थाह छैन। १२ हामीले संसारको मनोभाव होइन तर परमेश्‍वरको पवित्र शक्‍ति पाएका छौँ + ताकि परमेश्‍वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौँ। १३ हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएका शब्दहरूद्वारा होइन+ तर पवित्र शक्‍तिले सिकाएका शब्दहरूद्वारा सिकाउँछौँ + किनभने हामी आध्यात्मिक कुराहरू* आध्यात्मिक शब्दहरूमार्फत* व्याख्या गर्छौँ।

१४ तर शारीरिक सोचाइ राख्ने मानिसले परमेश्‍वरको पवित्र शक्‍तिबाट आउने कुराहरू स्विकार्दैन किनकि ती कुराहरू उसको लागि मूर्खता हो अनि उसले ती बुझ्न सक्दैन किनभने ती कुराहरू आध्यात्मिक तरिकामा* जाँच्नु आवश्‍यक हुन्छ। १५ तथापि आध्यात्मिक* मानिसले सबै कुरा जाँच्छ+ तर उसलाई कुनै मानिसले जाँच्न सक्दैन। १६ किनकि “यहोवा* परमेश्‍वरलाई सिकाउन कसले पो उहाँको सोचाइ थाह पाएको छ र?”+ तर हामीसित भने ख्रिष्टको सोचाइ छ।+

३ त्यसैले हे भाइ हो, आध्यात्मिक* मानिसहरूसित कुरा गरेजस्तो गरी मैले तिमीहरूसित कुरा गर्न सकिनँ।+ तर शारीरिक सोचाइ राख्ने मानिसहरूसित अनि शिशुसमान ख्रिष्टियनहरूसित+ जस्तो गरी मैले कुरा गरेँ। २ मैले तिमीहरूलाई खँदिलो खानेकुरा होइन तर दूध खुवाएँ किनकि तिमीहरू पचाउन सक्ने भइसकेका थिएनौ। वास्तवमा तिमीहरू अहिले पनि त्यस्तै छौ+ ३ किनकि तिमीहरू अझै पनि शारीरिक सोचाइ राख्छौ।+ तिमीहरूमाझ डाह र कलह छ, त्यसैले के तिमीहरू शारीरिक सोचाइ राख्ने+ र संसारका मानिसहरूजस्तै हिँड्‌ने मानिसहरू भएनौ र? ४ यदि तिमीहरूमध्ये कोही “म पावलको चेला हुँ” भन्छौ र कोहीचाहिँ “म अपोल्लसको+ चेला हुँ” भन्छौ भने तिमीहरू संसारका मानिसहरूजस्तै भएनौ र?

५ त्यसोभए अपोल्लस को हो? अनि पावल को हो? तिनीहरू प्रभुले सुम्पनुभएको काम पूरा गर्ने सेवकहरू मात्र हुन्‌,+ जसद्वारा तिमीहरू येसुका चेला बन्यौ। ६ मैले रोपेँ,+ अपोल्लसले पानी हाले+ तर परमेश्‍वरले त्यसलाई हुर्काइरहनुभयो। ७ त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्‍वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।+ ८ रोप्ने र पानी हाल्ने दुवै जना एक हुन्‌* तर हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउनेछ।+ ९ किनकि हामी परमेश्‍वरका सहकर्मीहरू हौँ। तिमीहरूचाहिँ खेतीपाती गरिएको परमेश्‍वरको खेत अनि परमेश्‍वरको भवन हौ।+

१० परमेश्‍वरले मलाई देखाउनुभएको असीम अनुग्रहबमोजिम सिपालु निर्माताको रूपमा मैले जग बसालेँ + तर त्यसमाथि निर्माण भने अरू कसैले गरिरहेको छ। तर आफूले कसरी निर्माण गर्दै छु भनी हरेकले जाँचोस्‌। ११ किनकि पहिल्यै बसालिएको जगबाहेक अरू कुनै जग कसैले बसाल्न सक्दैन र त्यो जग येसु ख्रिष्ट हुनुहुन्छ।+ १२ अब यदि कसैले जगमाथि सुन, चाँदी, बहुमूल्य रत्न, काठ, पराल वा ठोसोले निर्माण गर्छ भने १३ परीक्षाको दिनमा हरेकको काम प्रकट हुनेछ किनभने आगोले त्यो प्रकट गर्नेछ।+ अनि हरेकको काम कस्तो छ, त्यो आगोले नै प्रमाणित गर्नेछ। १४ यदि जगमाथि निर्माण गरेको कसैको काम टिकिरहन्छ भने उसले इनाम पाउनेछ। १५ यदि कसैको काम जलेर नाश हुन्छ भने उसले नोक्सानी भोग्नेछ तर आफू भने बच्नेछ। यद्यपि ऊ आगोबाट मुस्किलले बचेको मानिसजस्तो हुनेछ।

१६ तिमीहरू परमेश्‍वरको मन्दिर हौ+ अनि परमेश्‍वरको पवित्र शक्‍ति तिमीहरूमा बास गर्छ भनेर के तिमीहरूलाई थाह छैन?+ १७ यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने परमेश्‍वरले उसलाई नाश गर्नुहुनेछ किनकि परमेश्‍वरको मन्दिर पवित्र छ र तिमीहरू नै त्यो मन्दिर हौ।+

१८ कसैले आफूलाई धोका नदेओस्‌: यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा* बुद्धिमान्‌ छु भनी सम्झन्छ भने ऊ मूर्ख बनोस्‌ ताकि ऊ बुद्धिमान्‌ बन्‍न सकोस्‌। १९ यस संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो किनकि यस्तो लेखिएको छ: “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूकै चालमा फसाउनुहुन्छ।”+ २० अनि फेरि: “बुद्धिमान्‌ मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा* परमेश्‍वरलाई थाह छ।”+ २१ त्यसैले कसैले पनि मानिसहरूमा घमन्ड नगरोस्‌ किनकि परमेश्‍वरले सबै चिज तिमीहरूलाई दिनुभएको छ; २२ चाहे पावल, चाहे अपोल्लस, चाहे केफास,*+ चाहे यो संसार, चाहे जीवन, चाहे मृत्यु, चाहे अहिले यहाँ भएका चिजहरू वा चाहे पछि आउने चिजहरू, ती सबै तिमीहरूकै हुन्‌ २३ अनि तिमीहरू ख्रिष्टका हौ+ र ख्रिष्टचाहिँ परमेश्‍वरको हुनुहुन्छ।

४ मानिसहरूले हामीलाई ख्रिष्टका सेवक* अनि परमेश्‍वरको पवित्र रहस्यका भण्डारे ठानून्‌+ भन्‍ने हामी चाहन्छौँ। २ यस सन्दर्भमा भण्डारेहरूबाट आशा गरिने कुरा के हो भने उनीहरू विश्‍वासयोग्य हुनुपर्छ। ३ अब तिमीहरूले वा कुनै मानव अदालतले मेरो जाँच गर्नु मेरो लागि त्यत्ति महत्त्वपूर्ण कुरा होइन। भनौँ भने म आफै पनि आफूलाई जाँच्दिनँ। ४ किनकि मलाई आफू कुनै कुराको दोषी छु जस्तो लाग्दैन। तैपनि यसो भन्दैमा म धर्मी साबित हुँदिनँ तर मलाई जाँच्ने यहोवा* परमेश्‍वर नै हुनुहुन्छ।+ ५ त्यसैले तोकिएको समय आउनुअघि अर्थात्‌ प्रभु नआउनुभएसम्म कुनै कुराको न्याय नगर।+ किनकि उहाँले नै अन्धकारमा लुकेका गोप्य कुराहरू प्रकाश पार्नुहुनेछ अनि हृदयका आशयहरूलाई प्रकट गर्नुहुनेछ। तब हरेकले आफूले पाउनुपर्ने प्रशंसा परमेश्‍वरबाट पाउनेछ।+

६ अब हे भाइ हो, मैले आफूलाई र अपोल्लसलाई उदाहरणको रूपमा चलाएर+ तिमीहरूकै हितका लागि यी कुरा भनेको हुँ ताकि हामीलाई हेरेर तिमीहरूले यो नियम सिक: “लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्नू,” नत्र त घमन्डले फुलेर+ तिमीहरूले एक जनाको पक्ष लिनेछौ र अर्कोलाई तुच्छ ठान्‍नेछौ। ७ किनकि अरूभन्दा फरक बनाउने के कुरा तिमीसित छ र? वास्तवमा कसैले नदिई तिमीले पाएको कुरा के छ र?+ अब यदि पाएका हौ भने कसैले नदिईकनै पाएजस्तो गरी तिमी किन घमन्ड गर्छौ?

८ के तिमीहरू तृप्त भइसक्यौ? के तिमीहरू धनी भइसक्यौ? अनि के तिमीहरूले हामीविनै राजाले झैँ राज गरिसक्यौ?+ तिमीहरूले साँच्चै राजाले झैँ राज गरेको भए त हुने थियो किनकि त्यसो हुँदो हो त हामीले पनि तिमीहरूसँगै राजाले झैँ राज गर्ने थियौँ।+ ९ किनकि मलाई लाग्छ, परमेश्‍वरले हामी प्रेषितहरूलाई मृत्युदण्ड पाएका मानिसहरूलाई झैँ रङ्‌गशालामा सबैभन्दा अन्तमा प्रदर्शन गर्न राख्नुभएको छ।+ किनकि हामी यो संसारका लागि, स्वर्गदूतहरूका लागि अनि मानिसहरूका लागि तमासा भएका छौँ।+ १० ख्रिष्टको पछि लागेकोले हामी मूर्ख ठानिएका छौँ + तर तिमीहरू भने ख्रिष्टको पछि लागेकोले आफैलाई समझदार ठान्छौ; हामी कमजोर छौँ तर तिमीहरू त बलिया छौ; तिमीहरूको इज्जत छ तर हाम्रो त बदनामी भएको छ। ११ अहिलेसम्म हामी भोकै छौँ,+ तिर्खाएका छौँ,+ झुत्रेझाम्रे छौँ,* पिटाइ* खाँदै छौँ,+ घरबारविहीन छौँ १२ अनि हामी आफ्नै हातले कडा परिश्रम गरिरहेका छौँ।+ अरूले अपमान गर्दा हामी आशिष्‌ दिन्छौँ,+ खेदो गर्दा धैर्य गर्दै सहन्छौँ,+ १३ निन्दा गर्दा हामी मीठो वचनले जवाफ दिन्छौँ।*+ हामी अहिलेसम्म संसारको लागि कसिङ्‌गर* अनि सबै कुराको कसरझैँ भएका छौँ।

१४ तिमीहरूलाई सरममा पार्न त होइन तर तिमीहरूलाई मेरा प्यारा छोराछोरी ठानेर सल्लाह दिन म यी कुराहरू लेख्दै छु। १५ ख्रिष्टमा तिमीहरूको १० हजार अभिभावक* होलान्‌ तर तिमीहरूको बुबा भने पक्कै पनि धेरै छैनन्‌ किनकि सुसमाचारमार्फत ख्रिष्ट येसुमा म तिमीहरूको बुबा भएको छु।+ १६ त्यसैले म आग्रह गर्छु, तिमीहरू मेरो अनुकरण गर्नेहरू होओ।+ १७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्‍वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्‌।+

१८ कोही-कोही घमन्डले यसरी फुलेका छन्‌ कि मानौँ, म तिमीहरूकहाँ आउन लागेकै होइनँ। १९ तर यहोवा* परमेश्‍वरको इच्छा भए म छिट्टै तिमीहरूकहाँ आउनेछु अनि जो घमन्डले फुलेका छन्‌, तिनीहरू के भन्छन्‌, त्यो होइन तर परमेश्‍वरको शक्‍ति तिनीहरूसित छ कि छैन, त्यो जान्‍न चाहन्छु। २० किनकि मानिसले बोल्ने कुराबाट होइन तर उसले परमेश्‍वरको शक्‍ति पाएको देखिने काम गर्छ वा गर्दैन, त्यसबाट ऊ परमेश्‍वरको राज्यको अधीनमा छ कि छैन भनेर देखिन्छ। २१ तिमीहरू के चाहन्छौ: म तिमीहरूकहाँ छडी लिएर आऊँ+ कि प्रेम र कोमलताको भाव लिएर?

५ भनौँ भने तिमीहरूमाझ अवैध यौनसम्बन्ध*+ राख्ने एक जना मानिस छ भनेर मैले सुनेको छु, यस्तो सम्बन्ध, जुन अन्यजातिका मानिसहरूले समेत राख्दैनन्‌। तिमीहरूमध्ये कसैले आफ्नै बुबाकी पत्नीलाई राखेको छ रे।+ २ के तिमीहरू यो कुरामा घमन्ड गर्छौ? बरु तिमीहरूले त शोक गर्नुपर्ने होइन र?+ अनि यस्तो काम गर्ने मानिसलाई आफ्नो बीचबाट हटाउनुपर्ने होइन र?+ ३ म त्यहाँ तिमीहरूकहाँ नभए तापनि मेरो मन त्यहीँ छ र यस्तो काम गर्ने मानिसलाई आफू त्यहीँ उपस्थित भएजस्तै गरी मैले दोषी साबित गरिसकेँ। ४ जब तिमीहरू प्रभु येसुको नाममा भेला हुन्छौ, तब मेरो मन अनि हाम्रा प्रभु येसुको शक्‍ति पनि तिमीहरूसित हुनेछ। ५ त्यसैले तिमीहरूले त्यस्तो मानिसलाई सैतानको हातमा सुम्पिदेओ+ ताकि त्यस मानिसले मण्डलीभित्र ल्याएको पापी झुकाव नष्ट होस्‌ र प्रभुको दिनमा मण्डलीको असल झुकाव सुरक्षित रहोस्‌।+

६ तिमीहरूले घमन्ड गर्नु ठीक छैन। अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ भनेर के तिमीहरूलाई थाह छैन?+ ७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्‍न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्‍त छौ। ८ त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।+

९ अवैध यौनसम्बन्ध* राख्नेहरूसित सङ्‌गत गर्न छोड्‌नू भनेर मैले आफ्नो पत्रमा तिमीहरूलाई लेखेको थिएँ १० तर अवैध यौनसम्बन्ध* राख्ने यस संसारका मानिसहरूसित+ वा लोभी मानिसहरूसित वा लुटाहा वा मूर्तिपूजकहरूसित पटक्कै सङ्‌गत नगर्नू भन्‍न खोजेको त होइन नत्र त तिमीहरू यस संसारबाट साँच्चै निस्केर जानुपर्नेछ।+ ११ तर अब म त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नू+ भनेर तिमीहरूलाई लेख्दै छु, जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध* राख्छ वा जो लोभी+ वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ* वा जो पियक्कड+ वा लुटाहा हो।+ त्यस्तो मानिससित त खाँदै नखाओ। १२ बाहिरकाहरूको न्याय गर्न मलाई के खाँचो? तिमीहरूले भित्रकाहरूकै न्याय गर्नुपर्ने होइन र? १३ बाहिरकाहरूको न्याय त परमेश्‍वरले नै गर्नुहुन्छ।+ “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”+

६ तिमीहरूमध्ये कोही दुई जनाबीच मतभेद हुँदा+ पवित्र जनहरूसामु जानुको साटो अधर्मी मानिसहरूसामु अदालत जाने हिम्मत कसरी गर्छौ? २ अथवा पवित्र जनहरूले संसारको न्याय गर्नेछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ यदि संसारको न्याय गर्ने तिमीहरू नै हौ भने के तिमीहरू यस्ता झिनामसिना कुराहरूको छिनोफानो गर्न चाहिँ अयोग्य छौ? ३ हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए यस जीवनका कुराहरूको न्यायचाहिँ किन नगर्ने? ४ त्यसो हो भने तिमीहरूबीच यस जीवनका कुराहरूको छिनोफानो गर्नुपर्दा+ मण्डलीले अयोग्य ठानेका मानिसहरूलाई किन तिमीहरू आफ्नो न्यायाधीश बनाउँछौ? ५ तिमीहरूलाई सरममा पार्न म यो कुरा भन्दै छु। के तिमीहरूमाझ आफ्ना भाइहरूको न्याय गरिदिन सक्ने बुद्धिमान्‌ मानिस कोही छैन? ६ त्यसो गर्नुको साटो एक जना भाइ अर्को भाइको विरुद्धमा अदालत जान्छ, त्यो पनि बेग्लै आस्था भएकाहरूसामु!

७ साँच्चै भन्‍ने हो भने तिमीहरूले एकअर्कालाई मुद्दा लगाउनु तिमीहरूको हार हो। बरु तिमीहरू किन अन्याय सहँदैनौ?+ बरु तिमीहरू किन ठगिएरै बस्दैनौ? ८ त्यसो गर्नुको साटो तिमीहरू अन्याय गर्छौ र ठग्छौ, त्यो पनि आफ्नै भाइहरूलाई!

९ अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+ ११ तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर परमेश्‍वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ,+ पवित्र पार्नुभएको छ+ अनि हाम्रा प्रभु येसु ख्रिष्टको नाममा र आफ्नो पवित्र शक्‍तिद्वारा धर्मी ठहराउनुभएको छ।+

१२ सबै कुरा मेरो लागि न्यायसङ्‌गत* छन्‌ तर सबै कुरा फाइदाजनक भने छैनन्‌।+ सबै कुरा मेरो लागि न्यायसङ्‌गत छन्‌ तर म आफूलाई कुनै कुराको वशमा पर्न दिन्‍नँ। १३ खानेकुरा पेटको लागि र पेट खानेकुराको लागि हो तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ।+ शरीर अवैध यौनसम्बन्धको* लागि होइन तर प्रभुको लागि हो+ अनि प्रभुचाहिँ शरीरको लागि हुनुहुन्छ। १४ तर परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा+ प्रभुलाई मृत्युबाट ब्युँताउनुभयो+ र हामीलाई पनि ब्युँताउनुहुनेछ।+

१५ तिमीहरूका शरीर ख्रिष्टका अङ्‌गहरू हुन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए के म ख्रिष्टका अङ्‌गहरूलाई लगेर वेश्‍याका अङ्‌गहरूसित जोडूँ? त्यस्तो त हुनै सक्दैन! १६ जो वेश्‍यासित जोडिन्छ, ऊ र त्यो वेश्‍या एउटै शरीर हुन्छन्‌ भनेर के तिमीहरूलाई थाह छैन? किनकि परमेश्‍वर भन्‍नुहुन्छ, “ती दुई एउटै शरीर हुन्छन्‌।”+ १७ तर जो प्रभुसित जोडिन्छ, उसको र प्रभुको झुकाव एउटै हुन्छ।+ १८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+ १९ के तिमीहरूलाई थाह छैन, तिमीहरूको शरीर तिमीहरूमा बास गर्ने त्यस पवित्र शक्‍तिको मन्दिर हो,+ जुन तिमीहरूले परमेश्‍वरबाट पाएका हौ?+ साथै आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन+ २० किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ।+ त्यसकारण तिमीहरू आफ्नो शरीरले परमेश्‍वरको महिमा गर।+

७ अब तिमीहरूले लेखेको कुराको विषयमा म के भन्छु भने पुरुषले स्त्रीलाई नछुनु* नै बेस हो। २ तर अवैध यौनसम्बन्धलाई* हल्कासित लिन थालिएकोले हरेक पुरुषको आफ्नै पत्नी+ अनि हरेक स्त्रीको आफ्नै पति होस्‌।+ ३ पतिले आफ्नी पत्नीलाई दिनुपर्ने हक देओस्‌ अनि पत्नीले पनि आफ्नो पतिलाई दिनुपर्ने हक देओस्‌।+ ४ पत्नीको आफ्नो शरीरमाथि अधिकार हुँदैन तर उसको पतिको हुन्छ; त्यसैगरि पतिको पनि आफ्नो शरीरमाथि अधिकार हुँदैन तर उसकी पत्नीको हुन्छ। ५ तिमीहरू एकअर्कालाई यस हकबाट वञ्चित नगर। प्रार्थनामा समय बिताउन तिमीहरूले त्यसो गर्नुपरे तापनि आपसी समझदारीमा अनि समय तोकेर मात्र गर। त्यसपछि तिमीहरू फेरि एकसाथ होओ ताकि तिमीहरूको आत्मसंयमको कमीले गर्दा सैतानले तिमीहरूलाई प्रलोभनमा नपारिरहोस्‌। ६ तथापि म यो आज्ञाको रूपमा त होइन तर तिमीहरूको परिस्थितिलाई ध्यानमा राखेर भन्दै छु। ७ तर हरेक पुरुष मजस्तै भइदिए हुन्थ्यो भन्‍ने मलाई लाग्छ। तथापि हरेकले परमेश्‍वरबाट आ-आफ्नै वरदान पाएको हुन्छ,+ कसैले यस्तो त कसैले त्यस्तो।

८ अब म अविवाहित अनि विधवाहरूलाई यो भन्‍न चाहन्छु कि तिनीहरू मजस्तै रहनु नै तिनीहरूका लागि बेस हो।+ ९ तर यदि तिनीहरूमा आत्मसंयम छैन भने तिनीहरूले विवाह गरून्‌ किनकि कामवासनाले जल्नुभन्दा विवाह गर्नु नै बेस हो।+

१० विवाह गरेका मानिसहरूलाई म, म होइनँ वास्तवमा प्रभु यस्तो निर्देशन दिनुहुन्छ: पत्नी आफ्नो पतिबाट छुट्टिएर नबसोस्‌।+ ११ तर यदि छुट्टिने नै हो भने कि त ऊ अविवाहित बसोस्‌ कि पतिसित फेरि मिलाप गरोस्‌। पतिले पनि आफ्नी पत्नीलाई त्याग्नु हुँदैन।+

१२ त्यसैगरि अरूलाई म, प्रभु होइन तर म यसो भन्छु:+ यदि कुनै भाइकी पत्नीको बेग्लै आस्था छ र ऊ आफ्नो पतिसित बस्न राजी छे भने उसले आफ्नी पत्नीलाई नत्यागोस्‌। १३ अनि कुनै स्त्रीको बेग्लै आस्था भएको पति छ र ऊ आफ्नी पत्नीसित बस्न राजी छ भने उसले आफ्नो पतिलाई नत्यागोस्‌। १४ किनकि बेग्लै आस्था भएको पति आफ्नी पत्नीसितको सम्बन्धले गर्दा पवित्र ठहरिन्छ, त्यसैगरि बेग्लै आस्था भएकी पत्नी आफ्नो ख्रिष्टियन पतिसितको सम्बन्धले गर्दा पवित्र ठहरिन्छे। नत्र त तिमीहरूका छोराछोरी अशुद्ध हुने थिए तर तिनीहरू अहिले पवित्र छन्‌। १५ तर यदि बेग्लै आस्था हुनेचाहिँ अलग हुन* चाहन्छ भने उसलाई अलग हुन देऊ। यस्तो परिस्थितिमा भाइ वा बहिनी बन्धनमा रहँदैन। परमेश्‍वरले तिमीहरूलाई शान्तिमा रहन बोलाउनुभएको हो।+ १६ किनकि ए पत्नी हो, आफ्नो पतिसित बस्यौ भने कतै तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि, के थाह?+ अनि ए पति हो, आफ्नी पत्नीसित बस्यौ भने कतै तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि, के थाह?

१७ यहोवा* परमेश्‍वरले हरेकलाई जे-जस्तो भाग दिनुभएको छ अनि जे-जस्तो अवस्थामा बोलाउनुभएको छ, हरेक मानिस त्यसबमोजिम चलोस्‌।+ त्यसैले म सबै मण्डलीलाई यही निर्देशन दिन्छु। १८ के कुनै मानिसलाई खतना* भएको अवस्थामा बोलाइएको थियो?+ त्यसोभए ऊ त्यही अवस्थामा रहिरहोस्‌। के कुनै मानिसलाई खतना नभएको अवस्थामा बोलाइएको थियो? त्यसोभए उसले खतना नगरोस्‌।+ १९ खतना हुनु कुनै ठूलो कुरा होइन न त खतना नहुनु नै+ तर परमेश्‍वरको आज्ञा पालन गर्नु ठूलो कुरा हो।+ २० हरेकलाई जे-जस्तो अवस्थामा बोलाइएको थियो, ऊ त्यही अवस्थामा रहिरहोस्‌।+ २१ के तिमी दास छँदा बोलाइएका थियौ? त्यसोभए त्यसको चिन्ता नगर।+ बरु यदि तिमी स्वतन्त्र हुन सक्छौ भने त्यस मौकाको फाइदा उठाऊ। २२ किनकि जसलाई दास छँदा बोलाइएको थियो, ऊ प्रभुमा स्वतन्त्र पारिएको मानिस हो र उहाँकै हो।+ त्यसैगरि जसलाई स्वतन्त्र मानिस छँदा बोलाइएको थियो, ऊ ख्रिष्टको दास हो। २३ तिमीहरू दाम तिरेर किनिएका हौ,+ त्यसैले मानिसहरूको दास बन्‍न छोड। २४ भाइहरू हो, हरेकलाई जे-जस्तो अवस्थामा बोलाइएको थियो, परमेश्‍वरसामु ऊ त्यही अवस्थामा रहिरहोस्‌।

२५ अब जो कौमार्य अवस्थामा छन्‌,* तिनीहरूका लागि मसित प्रभुले दिनुभएको कुनै आज्ञा छैन। तैपनि प्रभुबाट कृपा पाएर विश्‍वासयोग्य भएको व्यक्‍तिको नाताले म आफ्नो राय दिन्छु।+ २६ मलाई लाग्छ, हालको कठिन परिस्थितिलाई विचार गर्दा कुनै पुरुष अहिले जस्तो अवस्थामा छ, त्यही अवस्थामा रहिरहनु नै बेस हो। २७ के तिम्री पत्नी छे? त्यसोभए ऊबाट मुक्‍त हुन नखोज।+ के तिम्री पत्नी छैन? त्यसोभए पत्नी खोज्न छोड। २८ तर तिमीले विवाह गऱ्‍यौ भने पनि कुनै पाप गरेका हुनेछैनौ। त्यसैगरि जो कौमार्य अवस्थामा छ, उसले विवाह गऱ्‍यो भने कुनै पाप गरेको हुनेछैन। तथापि जसले विवाह गर्छ, उसले शारीरिक दुःखकष्ट झेल्नेछ। तर म तिमीहरूलाई त्यसबाट जोगाउन चाहन्छु।

२९ यसबाहेक भाइहरू हो, म के भन्छु भने, समय थोरै मात्र बाँकी छ।+ त्यसैले अबदेखि ज-जसको पत्नी छ, तिनीहरू पत्नी नभएकाहरूजस्तै होऊन्‌। ३० त्यसैगरि रुनेहरू नरुनेहरूजस्ता, रमाउनेहरू नरमाउनेहरूजस्ता, किनमेल गर्नेहरू आफूसित केही नभएकाहरूजस्ता ३१ अनि संसारको उपभोग गर्नेहरू त्यसको पूरा उपभोग नगर्नेहरूजस्ता होऊन्‌ किनकि यस संसारको दृश्‍य परिवर्तन हुँदै छ। ३२ साँच्चै, तिमीहरू निष्फिक्री होओ भन्‍ने म चाहन्छु। अविवाहित पुरुषले कसरी प्रभुलाई खुसी पारूँ भनी प्रभुकै कुराहरूको विषयमा फिक्री गर्छ। ३३ तर विवाहित पुरुषले कसरी पत्नीलाई खुसी पारूँ भनी संसारकै कुराहरूको विषयमा फिक्री गर्छ+ ३४ र उसको मन विभाजित हुन्छ। त्यसैगरि अविवाहित स्त्री वा कुमारीले आफ्नो शरीर र दिमाग दुवै कसरी चोखो राखूँ भनी प्रभुका कुराहरूको विषयमा फिक्री गर्छे।+ तथापि विवाहित स्त्रीले भने कसरी आफ्नो पतिलाई खुसी पारूँ भनी संसारकै कुराहरूको विषयमा फिक्री गर्छे। ३५ तिमीहरूलाई बन्देज लगाउन* त होइन तर तिमीहरूकै फाइदाका लागि म यो भन्दै छु। म तिमीहरूलाई उचित काम गर्न र कुनै अलमलविना निरन्तर प्रभुको सेवा गर्न उत्प्रेरित गर्दै छु।

३६ यदि कसैलाई आफ्नो यौनइच्छालाई काबूमा राख्न सकिँदैन भन्‍ने लाग्छ* र यस्तो अवस्थामा विवाह गर्नु नै उचित हो जस्तो लाग्छ भने बैँस पार गरिसकेको भए उसले विवाह गरोस्‌; उसले पाप गरेको हुँदैन। यस्ता मानिसहरूले विवाह गरून्‌।+ ३७ तर विवाह गर्ने आवश्‍यकता महसुस नभएकोले र आफूलाई काबूमा राख्न सक्ने भएकोले यदि कसैले आफ्नो हृदयमा अविवाहितै रहने* अठोट गरेको छ अनि आफ्नो अठोट बदल्दैन भने उसले असलै गर्छ।+ ३८ त्यसैले विवाह गर्नेले* पनि असलै गर्छ। तर जसले विवाह गर्दैन, उसले झनै असल गर्छ।+

३९ आफ्नो पति जीवित छउन्जेल पत्नी आफ्नो पतिकै बन्धनमा हुन्छे।+ तर उसको पति मऱ्‍यो भने उसले जोसित चाहन्छे, उसैसित विवाह गर्न सक्छे तर प्रभुको चेलासित मात्र।+ ४० तर मेरो विचारमा ऊ जुन अवस्थामा छे, त्यही अवस्थामा रही भने ऊ झनै आनन्दित हुनेछे। म विश्‍वस्त छु, मसित पनि परमेश्‍वरको पवित्र शक्‍ति छ।

८ अब म मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा लेख्दै छु:+ यसबारे हामी सबैसित ज्ञान छ भनेर हामीलाई थाह छ।+ ज्ञानले घमन्ड बढाउँछ तर प्रेमले उन्‍नति गराउँछ।+ २ यदि कसैले आफूलाई कुनै कुरा थाह छ भनी सोच्छ भने उसले त्यसबारे जे थाह पाउनुपर्ने हो, त्यो थाह पाइसकेको हुँदैन। ३ तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने परमेश्‍वरले उसलाई चिन्‍नुहुन्छ।

४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्‍वर एक जना मात्र हुनुहुन्छ।+ ५ थुप्रै “ईश्‍वर” र थुप्रै “प्रभु” भएझैँ चाहे स्वर्गमा होस्‌ वा पृथ्वीमा, ईश्‍वर कहलिएकाहरू त छन्‌+ ६ तर वास्तवमा हाम्रो लागि परमेश्‍वर एकै जना हुनुहुन्छ,+ जो बुबा हुनुहुन्छ+ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौँ।+ अनि प्रभु एकै जना हुनुहुन्छ, जो येसु ख्रिष्ट हुनुहुन्छ र जसद्वारा सबै कुरा भए+ अनि हामी उहाँद्वारै भयौँ।

७ तैपनि यो ज्ञान सबै मानिससित छैन।+ पहिला मूर्तिहरूलाई पुजेको हुनाले कोही-कोही आज पनि केही खाँदा त्यो खानेकुरा मूर्तिलाई चढाइएको खानेकुरा हो कि भनी सोच्छन्‌।+ अनि उनीहरूको अन्तस्करण कमजोर भएकोले दूषित हुन्छ।+ ८ तर खानेकुराले हामीलाई परमेश्‍वरसित घनिष्ठ बनाउँदैन।+ यदि खाँदैनौँ भने हामीलाई केही नोक्सान हुँदैन अनि खान्छौँ भने पनि केही फाइदा हुँदैन।+ ९ तर सचेत रहो, छनौट गर्न पाउने तिमीहरूको अधिकार कमजोरहरूका लागि कुनै किसिमले ठक्करको कारण नबनोस्‌।+ १० यदि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्तिहरू पुजिने मन्दिरमा खाइरहेको देख्यो भने कमजोर मानिसको अन्तस्करण मूर्तिहरूलाई चढाइएको खानेकुरा खान सुरिँदैन र? ११ तिम्रो ज्ञानले गर्दा कमजोर मानिस बरबाद भइरहेको हुन्छ, तिम्रो त्यो भाइ, जसको निम्ति ख्रिष्ट मर्नुभयो।+ १२ जब तिमीहरूले यसरी आफ्ना भाइहरूको विरुद्धमा पाप गर्छौ अनि तिनीहरूको कमजोर अन्तस्करणलाई चोट पुऱ्‍याउँछौ,+ तब तिमीहरूले ख्रिष्टको विरुद्धमा पाप गरिरहेका हुन्छौ। १३ त्यसैले यदि खानेकुराले गर्दा मेरो भाइलाई ठक्कर पुग्छ भने म फेरि कहिल्यै मासु खाँदिनँ ताकि मैले गर्दा मेरो भाइले ठक्कर नखाओस्‌।+

९ के म स्वतन्त्र छैनँ? के म प्रेषित होइनँ? के मैले हाम्रा प्रभु येसुलाई देखेको छैनँ?+ के तिमीहरू प्रभुमा मेरो काम होइनौ? २ म अरूका लागि प्रेषित नभए तापनि तिमीहरूका लागि त पक्कै हुँ! किनकि प्रभुमा मैले पाएको प्रेषितको जिम्मेवारीको पुष्टि गर्ने छाप तिमीहरू नै हौ।

३ मेरो आलोचना गर्नेहरूलाई म यस्तो सफाइ दिन्छु: ४ हामीसित खाने र पिउने अधिकार छैन र? ५ हामीसित बाँकी प्रेषितहरू र प्रभुका भाइहरू+ अनि केफासले*+ जस्तै ख्रिष्टियन बहिनीलाई विवाह गरेर+ आफूसँगै यात्रामा लैजाने अधिकार छैन र? ६ वा बर्णाबास+ र मसित चाहिँ काम नगरी जीविका चलाउने अधिकार छैन र? ७ कुनचाहिँ सैनिकले आफ्नै खर्च बेहोरेर सेवा गर्छ र? त्यस्तो को छ, जसले अङ्‌गुर बगान लगाएर त्यसको फल खाँदैन?+ वा त्यस्तो को छ, जसले बगालको हेरचाह गर्छ तर त्यसको दूध भने पिउँदैन?

८ के म यी कुराहरू मानिसको दृष्टिकोणबाट भन्दै छु? मोसाको व्यवस्थाले पनि यी कुराहरू बताउँदैन र? ९ किनकि मोसाको व्यवस्थामा यस्तो लेखिएको छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ के परमेश्‍वरले गोरुहरूको फिक्री गरेर यसो भन्‍नुभएको हो? १० वा हाम्रै लागि उहाँले यसो भन्‍नुभएको हो? वास्तवमा हाम्रै लागि यो लेखिएको थियो किनभने हलो जोत्ने मानिसले केही अनाज पाउने आशामा हलो जोत्नुपर्छ अनि दाइँ गर्ने मानिसले केही अनाज पाउने आशामा दाइँ गर्नुपर्छ।

११ यदि हामीले तिमीहरूमाझ आध्यात्मिक कुराहरू* छरेका छौँ भने के तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्नु गलत हुनेछ?+ १२ यदि अरू मानिसहरूसित तिमीहरूमाथि यस्तो हक जमाउने अधिकार छ भने हामीसित अझ धेरै अधिकार छैन र? तैपनि हामीले यस्तो हक जमाएका छैनौँ + बरु ख्रिष्टको विषयमा सुसमाचार फैलाउन कुनै बाधा नपुगोस्‌ भनेर सबै कुरा सहिरहेका छौँ।+ १३ मन्दिरमा पवित्र सेवा चढाउनेहरूले मन्दिरकै कुराहरू खान्छन्‌ अनि वेदीमा निरन्तर सेवा गर्नेहरूले वेदीमै चढाइएका कुराहरूको भाग पाउँछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ १४ यसरी प्रभुले सुसमाचार घोषणा गर्नेहरूलाई सुसमाचारद्वारै जीविका चलाउन आज्ञा दिनुभएको छ।+

१५ तर मैले यी प्रबन्धहरूमध्ये एउटैको पनि उपभोग गरेको छैनँ।+ वास्तवमा मेरो लागि पनि यस्तै प्रबन्ध गरियोस्‌ भनेर मैले यी कुराहरू लेखेको होइनँ किनकि त्योभन्दा त म मर्नु नै बेस—अहँ, मेरो घमन्ड गर्ने आधार म कसैलाई खोस्न दिन्‍नँ!+ १६ यदि म अहिले सुसमाचार घोषणा गर्दै छु भने त्यो मेरो लागि घमन्ड गर्ने कुनै कारण होइन किनकि यो त मेरो दायित्व नै हो। बरु मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!+ १७ यदि मैले यो काम राजीखुसीले गरेँ भने मलाई इनाम छ। तर नचाहँदा-नचाहँदै मैले यो काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।+ १८ त्यसोभए मेरो इनाम के हो? यही कि सुसमाचार सुनाउँदा मैले शुल्क नलिई सुनाउन सकूँ अनि सुसमाचार सुनाउने सन्दर्भमा आफूले पाएको अधिकारको दुरुपयोग नगरूँ।

१९ हुनत म सबै मानिसबाट स्वतन्त्र छु तर सकेसम्म धेरैलाई हासिल गर्न सकूँ भनेर मैले आफूलाई सबैको दास बनाएको छु। २० त्यसैले यहुदीहरूलाई हासिल गर्न म यहुदीहरूका लागि यहुदीजस्तै भएँ+ अनि व्यवस्थाको अधीनमा भएकाहरूलाई हासिल गर्न म व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएजस्तै भएँ।+ २१ परमेश्‍वरसामु म व्यवस्था नभएको मानिस होइनँ किनकि म ख्रिष्टको व्यवस्थाको अधीनमा छु+ तैपनि व्यवस्था नभएकाहरूलाई हासिल गर्न व्यवस्था नभएकाहरूको लागि म व्यवस्था नभएजस्तै भएँ। २२ कमजोरहरूलाई हासिल गर्न म कमजोरहरूका लागि कमजोरै भएँ।+ सम्भव भएसम्म केहीलाई बचाउन सकूँ भनेर म सबै किसिमका मानिसका लागि सबै कुरा भएको छु। २३ अरूलाई सुसमाचार बाँड्‌न म यसको निम्ति सबथोक गर्छु।+

२४ दौडमा भाग लिने सबै धावक दौडन्छन्‌ तर पुरस्कार भने एक जनाले मात्र पाउँछ भनेर के तिमीहरूलाई थाह छैन? यसैले तिमीहरू पुरस्कार पाउन सक्नेगरि दौड।+ २५ प्रतियोगितामा भाग लिने हरेक मानिसले* सबै कुरामा आत्मसंयम गर्छ। तिनीहरू विनाशी मुकुट पाउनलाई त्यसो गर्छन्‌+ तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई।+ २६ त्यसैले म अन्धाधुन्ध दौडिन्‍नँ+ अनि जथाभाबी हावामा मुक्का हान्दिनँ। २७ तर म आफ्नो शरीरलाई कुट्‌छु अनि पिट्‌छु*+ र त्यसलाई दास बनाएर राख्छु ताकि अरूलाई प्रचार गरिसकेपछि म आफैचाहिँ कसै गरी अयोग्य नठहरिऊँ।

१० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्‍ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+ २ अनि मोसाको पछि लाग्दा सबै जनाको बादल र समुद्रद्वारा बप्तिस्मा भयो। ३ सबैले परमेश्‍वरले दिनुभएको एउटै भोजन खाए+ ४ र सबैले परमेश्‍वरले दिनुभएको एउटै पानी पिए।+ तिनीहरू परमेश्‍वरको त्यस चट्टानबाट पानी पिउँथे, जुन तिनीहरूको पछिपछि लाग्थ्यो। त्यस चट्टानले ख्रिष्टलाई सङ्‌केत गर्थ्यो।*+ ५ यद्यपि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्‍वर खुसी हुनुभएन। त्यसैले तिनीहरू निर्जनभूमिमा मारिए।+

६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+ ७ तिनीहरूमध्ये कोही-कोही मूर्तिपूजक बनेजस्तो हामी नबनौँ, जस्तो लेखिएको छ: “तिनीहरू खान र पिउनलाई बसे अनि रमाइलो गर्नलाई उठे।”+ ८ तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध* राखे र एकै दिनमा २३ हजार मारिए;+ हामीचाहिँ अवैध यौनसम्बन्ध* नराखौँ। ९ तिनीहरूमध्ये कोही-कोही यहोवा* परमेश्‍वरको परीक्षा लिएकोले सर्पहरूद्वारा नाश भएका थिए; हामीचाहिँ उहाँको परीक्षा नलेऔँ।+ १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ। ११ अब तिनीहरूमाथि आइपरेका यी कुराहरू हाम्रो लागि उदाहरण हुन्‌ अनि युगहरूको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।+

१२ यसकारण जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस्‌ नत्र त ऊ लड्‌नेछ।+ १३ साधारणतया सबै मानिसलाई आइपर्ने परीक्षाबाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।+ परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन+ बरु तिमीहरूले सहन सक भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।+

१४ त्यसैले ए मेरा प्रियहरू हो, मूर्तिपूजाबाट भाग।+ १५ समझ भएका मानिसहरूसित बोलेझैँ म तिमीहरूसित बोल्दै छु; म जे भन्दै छु, त्यो सही हो वा गलत, तिमीहरू आफै फैसला गर। १६ जब हामी धन्यवादको कचौराको निम्ति धन्यवाद चढाउँछौँ, तब हामी ख्रिष्टको रगतको भागीदार भइरहेका हुँदैनौँ र?+ जब हामी रोटी भाँचेर खान्छौँ, तब हामी ख्रिष्टको शरीरको भागीदार भइरहेका हुँदैनौँ र?+ १७ रोटी एउटै छ, त्यसैले हामी धेरै जना भए तापनि एउटै शरीर हौँ + किनकि हामी सबैले त्यही एउटै रोटी खाँदै छौँ।

१८ जो जन्मजात इस्राएलीहरू हुन्‌, तिनीहरूलाई हेर: बलि चढाइएका थोक खानेहरू वेदीका भागीदारहरू होइनन्‌ र?+ १९ त्यसोभए के मैले मूर्तिलाई बलि चढाइएका थोकहरूको वा मूर्तिको महत्त्व छ भन्‍न खोजेको हो? २० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्‌, त्यो परमेश्‍वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्‌।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्‍ने म चाहन्‍नँ।+ २१ तिमीहरूले यहोवा* परमेश्‍वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले “यहोवाको* टेबुल”-बाट+ खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ। २२ वा ‘के हामीले यहोवा* परमेश्‍वरलाई डाही बनाइरहेका छौँ’?+ हामी उहाँभन्दा बलिया छौँ र?

२३ सबै कुरा न्यायसङ्‌गत* छन्‌ तर सबै कुरा फाइदाजनक छैनन्‌। सबै कुरा न्यायसङ्‌गत छन्‌ तर सबै कुरा उत्थानदायी हुँदैनन्‌।+ २४ हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।+

२५ मासु-बजारमा जे बेचिन्छ, आफ्नो अन्तस्करणको खातिर केही सोधपुछ नगरी खाओ। २६ किनकि “धर्ती र यसमा भएका सबै थोक यहोवाकै* हुन्‌।”+ २७ यदि बेग्लै आस्था भएको कुनै व्यक्‍तिले तिमीहरूलाई निम्तो दियो र तिमीहरूलाई जाने इच्छा भयो भने तिमीहरूसामु राखिएका सबै थोक आफ्नो अन्तस्करणको खातिर केही सोधपुछ नगरी खाओ। २८ तर यदि कसैले तिमीहरूलाई “यो बलि चढाइएको खानेकुरा हो” भन्यो भने त्यो कुरा बताउने मानिसको खातिर र अन्तस्करणको खातिर नखाओ।+ २९ मैले तिम्रो होइन तर अर्को मानिसको अन्तस्करणको कुरा गरेको हुँ। किनकि मेरो स्वतन्त्रताको न्याय अर्को मानिसको अन्तस्करणले किन गर्ने?+ ३० यदि म धन्यवाद चढाएर खान्छु भने जे कुराको लागि म धन्यवाद चढाउँछु, त्यसैको लागि म किन निन्दित हुने?+

३१ त्यसकारण चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।+ ३२ यहुदीहरू र ग्रीकहरूका लागि अनि परमेश्‍वरको मण्डलीका लागि ठक्करको कारण नबन,+ ३३ जसरी मैले पनि सबै मानिसलाई हरेक कुरामा खुसी पार्न कोसिस गरिरहेको छु अनि आफ्नो होइन तर धेरै जनाको हित खोजिरहेको छु+ ताकि तिनीहरूले उद्धार पाउन सकून्‌।+

११ मैले ख्रिष्टको अनुकरण गरेजस्तै तिमीहरू मेरो अनुकरण गर।+

२ म तिमीहरूको तारिफ गर्छु किनकि सबै कुरामा तिमीहरू मलाई सम्झन्छौ अनि मैले तिमीहरूलाई जे-जस्ता शिक्षाहरू दिएको थिएँ, त्यसलाई तिमीहरूले पक्रिराखेका छौ। ३ तर तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ;+ त्यसैगरि स्त्रीको शिर पुरुष+ अनि ख्रिष्टको शिर परमेश्‍वर हुनुहुन्छ।+ ४ आफ्नो शिर ढाकेर प्रार्थना वा भविष्यवाणी गर्ने पुरुषले आफ्नो शिरको बेइज्जत गर्छ। ५ तर शिर नढाकी प्रार्थना वा भविष्यवाणी गर्ने स्त्रीले+ आफ्नो शिरको बेइज्जत गर्छे किनकि त्यसो गर्नु भनेको कपाल खौरिएकी स्त्री हुनुजस्तै हो। ६ यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने उसले आफ्नो कपाल काटोस्‌। तर यदि स्त्रीले कपाल काट्‌नु वा खौरनु अपमानजनक कुरा हो भने उसले आफ्नो शिर ढाकोस्‌।

७ पुरुषले आफ्नो शिर ढाक्नु हुँदैन किनकि ऊ परमेश्‍वरको प्रतिरूप+ अनि महिमा हो तर स्त्रीचाहिँ पुरुषको महिमा हो। ८ किनकि परमेश्‍वरले स्त्रीबाट पुरुष बनाउनुभएको होइन तर पुरुषबाट स्त्री बनाउनुभएको हो।+ ९ त्यसैगरि स्त्रीको निम्ति पुरुष सृष्टि गरिएको होइन तर पुरुषको निम्ति स्त्री सृष्टि गरिएकी हो।+ १० त्यसैकारण स्वर्गदूतहरूको खातिर+ स्त्रीले अधीनताको चिन्हस्वरूप आफ्नो शिर ढाक्नुपर्छ।

११ यसबाहेक प्रभुका चेलाहरूमाझ स्त्रीविना पुरुषको अस्तित्व हुँदैन न त पुरुषविना स्त्रीको अस्तित्व हुन्छ। १२ किनकि स्त्री पुरुषको शरीरबाट सृष्टि गरिएको हो+ र पुरुषचाहिँ स्त्रीबाट जन्मेको हो। तर सबै थोक परमेश्‍वरबाटै आएका हुन्‌।+ १३ तिमीहरू आफै फैसला गर: के स्त्रीले शिर नढाकी परमेश्‍वरलाई प्रार्थना गर्नु उचित हो? १४ के प्रकृति आफैले लामो कपाल पुरुषको निम्ति अनादर हो भनेर तिमीहरूलाई सिकाउँदैन? १५ तर स्त्रीको कपाल लामो छ भने त्यो उसको निम्ति गौरव हो किनकि शिरपोसको साटो तिनलाई कपाल दिइएको छ। १६ तथापि यदि कुनै मानिस अरू नै चलनलाई लिएर बहस गर्न चाहन्छ भने हामीसित अरू कुनै चलन छैन न त परमेश्‍वरका मण्डलीहरूसित छ।

१७ तर यी निर्देशनहरू दिँदा म तिमीहरूको तारिफ गर्दिनँ किनकि तिमीहरू भेला हुँदा तिमीहरूको फाइदाभन्दा बढ्‌ता हानि नै भइरहेको छ। १८ किनकि पहिलो कुरा त, तिमीहरू मण्डलीमा भेला हुँदा तिमीहरूबीच फूट हुन्छ भनेर मैले सुनेको छु र केही हदसम्म म त्यो पत्याउँछु। १९ तिमीहरूबीच गुटबन्दी पनि पक्कै हुनेछ+ र यसले गर्दा तिमीहरूमाझ परमेश्‍वरले स्विकार्नुभएका मानिसहरू को हुन्‌, त्यो प्रकट हुनेछ।

२० जब तिमीहरू एक ठाउँमा भेला हुन्छौ, वास्तवमा तिमीहरू प्रभुको साँझको भोज खान भेला हुँदैनौ।+ २१ किनकि प्रभुको साँझको भोज खाने बेला सुरु हुनुअघि नै कसै-कसैले साँझको खाना खाइसकेका हुन्छन्‌, त्यसैले कोही भोकै हुन्छन्‌ त कोही पिएर मात्तिसकेका हुन्छन्‌। २२ के खान र पिउनलाई तिमीहरूको आफ्नै घर छैन? वा के तिमीहरू परमेश्‍वरको मण्डलीलाई तुच्छ सम्झन्छौ अनि केही नहुनेलाई लाजमा पार्छौ? म तिमीहरूलाई के भनूँ? के म तिमीहरूको तारिफ गरूँ? यो कुरामा म तिमीहरूको तारिफ गर्दिनँ।

२३ प्रभुबाट मैले जे पाएँ, तिमीहरूलाई त्यही सिकाएँ। यही कि जुन रात+ प्रभु येसुलाई धोका दिइने थियो, त्यो रात उहाँले रोटी लिनुभयो २४ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्‍नुभयो: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+ २५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+ २६ किनकि जब-जब तिमीहरू यो रोटी खान्छौ अनि यो कचौराबाट पिउँछौ, प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको घोषणा गरिरहेका हुन्छौ।

२७ यसकारण जसले आफू अयोग्य हुँदाहुँदै पनि रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको सन्दर्भमा दोषी हुनेछ। २८ मानिसले पहिला आफूलाई जाँचेर योग्य ठहराओस्‌+ अनि मात्र उसले रोटी खाओस्‌ र कचौराबाट पिओस्‌। २९ किनकि शरीरको अर्थ के हो, त्यो नबुझी खाने र पिउनेले आफूलाई दोषी ठहराउँछ। ३० त्यसैकारण तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ अनि कति त मृत्युको चिर निद्रामा परिसकेका छन्‌।*+ ३१ तर हामी वास्तवमा के हौँ, जाँचेर थाह लगायौँ भने दोषी ठहरिनेछैनौँ। ३२ तथापि जब हामी दोषी ठहरिन्छौँ, तब हामी यहोवा* परमेश्‍वरबाट अनुशासन पाउँछौँ+ ताकि हामीले संसारसँगै सजाय नपाऔँ।+ ३३ यसकारण हे मेरा भाइ हो, जब तिमीहरू यो भोज खान भेला हुन्छौ, तब एकअर्कालाई पर्ख। ३४ यदि कसैलाई भोक लागेको छ भने उसले घरमै खाओस्‌ नत्र त तिमीहरू दोषी साबित हुन भेला भइरहेका हुनेछौ।+ बाँकी अरू कुराचाहिँ म त्यहीँ आएर मिलाउँला।

१२ अब हे भाइ हो, आध्यात्मिक वरदानहरूका*+ विषयमा तिमीहरू अनजान रहो भन्‍ने म चाहन्‍नँ। २ तिमीहरूलाई थाहै छ, पहिले तिमीहरूको आस्था बेग्लै हुँदा* तिमीहरू बहकिएका थियौ र बोल्न नसक्ने ती मूर्तिहरूको उपासना गर्थ्यौ+ अनि तिनीहरूले जहाँ लैजान्थे, तिमीहरू त्यतै जान्थ्यौ। ३ अब तिमीहरूले यो थाह पाओ भन्‍ने म चाहन्छु कि परमेश्‍वरको पवित्र शक्‍ति पाएर कसैले “येसु श्रापित हो!” भन्दैन अनि पवित्र शक्‍तिविना कसैले “येसु प्रभु हुनुहुन्छ!” भन्‍न सक्दैन।+

४ वरदान विभिन्‍न छन्‌ तर पवित्र शक्‍ति भने एउटै छ;+ ५ सेवाको काम विभिन्‍न छन्‌+ तर प्रभु भने एउटै हुनुहुन्छ ६ अनि कामहरू विभिन्‍न छन्‌ तर सबै मानिसमा ती कामहरू गराउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ।+ ७ तर हरेक मानिसमा पवित्र शक्‍तिको काम जे-जसरी प्रकट हुन्छ, त्यो सबैको फाइदाको लागि हो।+ ८ उदाहरणका लागि, कसैले पवित्र शक्‍तिले गर्दा बुद्धिको कुरा गर्ने* वरदान पाएको हुन्छ, कसैले त्यही पवित्र शक्‍तिअनुसार ज्ञानको कुरा गर्ने वरदान पाएको हुन्छ, ९ कसैले त्यही पवित्र शक्‍तिबाट विश्‍वासको वरदान पाएको हुन्छ,+ कसैले त्यही शक्‍तिबाट निको पार्ने वरदान पाएको हुन्छ+ १० अनि कसैले शक्‍तिशाली कामहरू गर्ने,+ कसैले भविष्यवाणी गर्ने, कसैले प्रेरित वचनको अर्थ बुझ्ने,+ कसैले विभिन्‍न भाषा बोल्ने+ अनि कसैले विभिन्‍न भाषाको उल्था गर्ने वरदान पाएको हुन्छ।+ ११ तर यी सबै काम एउटै पवित्र शक्‍तिद्वारा हुन्छ अनि त्यसले आफ्नो इच्छाबमोजिम प्रत्येकलाई ती वरदानहरू बाँडिदिन्छ।

१२ किनकि जसरी शरीर एउटै छ तर यसका अङ्‌गहरू धेरै छन्‌ अनि शरीरका अङ्‌गहरू धेरै भए तापनि शरीर एउटै हो,+ ख्रिष्ट पनि त्यस्तै हुनुहुन्छ। १३ किनकि चाहे यहुदी हौँ वा ग्रीक, दास हौँ वा स्वतन्त्र, हामी सबैको एउटै पवित्र शक्‍तिद्वारा एउटै शरीरमा बप्तिस्मा भयो र हामी सबैले एउटै पवित्र शक्‍ति पायौँ।

१४ वास्तवमा शरीर एउटा अङ्‌ग मात्र होइन बरु धेरै अङ्‌ग मिलेर बनेको हुन्छ।+ १५ खुट्टाले “म हात होइनँ, त्यसैले म यो शरीरको भाग होइनँ” भन्दैमा के त्यो शरीरको भाग हुँदैन? १६ अनि कानले “म आँखा होइनँ, त्यसैले म यो शरीरको भाग होइनँ” भन्दैमा के त्यो शरीरको भाग हुँदैन? १७ यदि सिङ्‌गै शरीर आँखा हुँदो हो त केले सुन्‍ने? अनि सिङ्‌गै शरीर कान हुँदो हो त केले सुँघ्ने? १८ तर परमेश्‍वरले आफ्नो इच्छाअनुसार शरीरका प्रत्येक अङ्‌गलाई आ-आफ्नो ठाउँमा राख्नुभएको छ।

१९ तिनीहरू सबै एउटै अङ्‌ग हुँदा हुन्‌ त त्यो शरीर हुन्थ्यो र? २० अब अङ्‌गहरू धेरै छन्‌ तर शरीर भने एउटै छ। २१ आँखाले हातलाई यसो भन्‍न सक्दैन: “मलाई तिम्रो खाँचो छैन” अथवा टाउकोले खुट्टाहरूलाई यसो भन्‍न सक्दैन: “मलाई तिमीहरूको खाँचो छैन।” २२ बरु शरीरका कमजोर देखिने अङ्‌गहरू नै झन्‌ नभई हुँदैन २३ अनि शरीरका जुन अङ्‌गहरूलाई हामी त्यति आदरयोग्य ठान्दैनौँ, त्यसैलाई झन्‌ बढी आदर दिन्छौँ + अनि अशोभनीय ठानेका अङ्‌गहरूलाई हामी झन्‌ बढी शोभा दिन्छौँ २४ जबकि हाम्रा आकर्षक अङ्‌गहरूलाई त्यत्ति ख्यालै गर्नुपर्दैन। तर परमेश्‍वरले शरीरलाई यसरी मिलाउनुभएको छ कि थोरै आदर पाएको अङ्‌गले धेरै आदर पाओस्‌ २५ ताकि शरीरमा कुनै फूट नहोस्‌ बरु यसका अङ्‌गहरूले एकअर्काको ख्याल गरून्‌।+ २६ एउटा अङ्‌गले दुःख पायो भने अरू सबै अङ्‌गले सँगसँगै दुःख भोग्छन्‌+ वा एउटा अङ्‌गले इज्जत पायो भने अरू सबै अङ्‌ग पनि सँगसँगै खुसी हुन्छन्‌।+

२७ अब तिमीहरू ख्रिष्टको शरीर हौ+ अनि तिमीहरू प्रत्येकचाहिँ त्यसका विभिन्‍न अङ्‌ग हौ।+ २८ अनि परमेश्‍वरले मण्डलीमा प्रत्येकलाई आ-आफ्नो ठाउँमा राख्नुभएको छ: पहिलो, प्रेषितहरू;+ दोस्रो, भविष्यवक्‍ताहरू;+ तेस्रो, शिक्षकहरू;+ त्यसपछि शक्‍तिशाली काम गर्नेहरू;+ निको पार्ने वरदान पाएकाहरू;+ मदत गर्नेहरू; नेतृत्व लिने क्षमता भएकाहरू+ अनि विभिन्‍न भाषा बोल्नेहरू।+ २९ सबै जना प्रेषित हुन्‌ र? सबै जना भविष्यवक्‍ता हुन्‌ र? सबै जना शिक्षक हुन्‌ र? सबै जनाले शक्‍तिशाली कामहरू गर्छन्‌ र? ३० सबै जनाले निको पार्ने वरदान पाएका छन्‌ र? सबै जना विभिन्‍न भाषा बोल्छन्‌ र?+ सबै जनाले उल्था* गर्छन्‌ र?+ ३१ तर तिमीहरू अझ ठूलठूला वरदान पाउन कोसिस गरिरहो।*+ अनि म तिमीहरूलाई सबैभन्दा उत्तम मार्ग देखाउनेछु।+

१३ यदि म मानिसहरू र स्वर्गदूतहरूका भाषाहरू बोल्छु तर मसित प्रेमचाहिँ छैन भने म ट्‌वाङट्‌वाङ बज्ने घण्टा वा झ्याइँझ्याइँ गर्ने झ्याली मात्र हुन्छु। २ अनि यदि मसित भविष्यवाणी गर्ने वरदान छ, मलाई सबै पवित्र रहस्य थाह छ, मसित सबै ज्ञान छ+ अनि डाँडाहरू सार्न सक्नेसम्मको विश्‍वास छ तर प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।*+ ३ अनि घमन्ड गर्न सकूँ भनेर मैले अरूलाई खुवाउन आफ्नो सारा सम्पत्ति दिएँ+ र आफ्नो ज्यानै दिएँ तर मसित प्रेमचाहिँ छैन भने+ मलाई केही लाभ हुँदैन।

४ प्रेम+ धीरजी+ र दयालु+ हुन्छ। प्रेमले डाह गर्दैन।+ यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन,+ ५ यसले अभद्र व्यवहार गर्दैन,+ आफ्नै फाइदा खोज्दैन,+ यो आवेशमा आउँदैन।+ यसले खराबीको* हिसाब राख्दैन।+ ६ यो कुकर्ममा खुसी हुँदैन+ तर सत्यमा खुसी हुन्छ। ७ यसले सबै कुरा खप्छ,+ सबै कुरा पत्यार गर्छ,+ सबै कुराको आशा गर्छ+ र सबै कुरा सहन्छ।+

८ प्रेम कहिल्यै अन्त हुँदैन।* तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्‌, ती हराएर जानेछन्‌; चाहे भाषाहरू* होऊन्‌, ती लोप हुनेछन्‌; चाहे ज्ञान होस्‌, त्यो बिलाएर जानेछ। ९ हामीसित अधुरो ज्ञान छ+ र हामी अधुरै भविष्यवाणी गर्छौँ १० तर जब हामीसित पूर्ण ज्ञान हुन्छ, तब अधुरो ज्ञान बिलाएर जानेछ। ११ जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थेँ, बालकले जस्तै सोच्थेँ, बालकले जस्तै तर्क गर्थेँ। तर अहिले म वयस्क भएको छु र मैले बालकजस्तो हुन छोडिदिएको छु। १२ अहिले हामी धातुको ऐनामा हेरेजस्तो धमिलो छाया मात्र देख्छौँ तर त्यतिबेला आमनेसामने देख्नेछौँ। अहिले मसित अधुरो ज्ञान मात्र छ तर जसरी परमेश्‍वरसित मबारे पूरा* ज्ञान छ, त्यतिबेला मसित पनि पूरा ज्ञान हुनेछ। १३ अब विश्‍वास, आशा र प्रेम—यी तीन रहिरहन्छन्‌ तर यीमध्ये सर्वोत्तमचाहिँ प्रेम हो।+

१४ प्रेमको पछि लाग। साथै आध्यात्मिक वरदानहरू* पाउन कोसिस गरिरहो* तर विशेषगरि भविष्यवाणी गर्ने वरदान।+ २ जसले अरू भाषा बोल्छ, उसले मानिसहरूसित होइन तर परमेश्‍वरसित बोल्छ किनकि उसले पवित्र शक्‍तिद्वारा पवित्र रहस्यहरू+ बताउँछ तर त्यो कसैले बुझ्दैन।+ ३ तथापि जसले भविष्यवाणी गर्छ, उसले आफ्नो बोलीद्वारा मानिसहरूको उत्थान गर्छ, प्रोत्साहन दिन्छ र सान्त्वना दिन्छ। ४ जसले अरू भाषा बोल्छ, उसले आफ्नै उत्थान गर्छ तर जसले भविष्यवाणी गर्छ, उसले मण्डलीको उत्थान गर्छ। ५ तिमीहरू सबैले विभिन्‍न भाषा बोलेको+ तर अझ विशेषगरि भविष्यवाणी गरेको+ म चाहन्छु। वास्तवमा विभिन्‍न भाषा बोल्नेभन्दा भविष्यवाणी गर्ने ठूलो हो किनकि विभिन्‍न भाषा बोल्नेले आफूले बोलेको भाषा उल्था* नगरेसम्म त्यसद्वारा मण्डलीको उत्थान हुँदैन। ६ तर भाइहरू हो, अहिले तिमीहरूकहाँ आएर मैले विभिन्‍न भाषा बोलेँ तर परमेश्‍वरबाट पाएको सन्देश प्रकट गरिनँ+ वा केही ज्ञान दिइनँ+ वा केही भविष्यवाणी गरिनँ वा केही शिक्षा सिकाइनँ भने मबाट तिमीहरूलाई के फाइदा?

७ त्यो त सुरताल केही नछुट्टिनेगरि बाँसुरी वा वीणाजस्ता बाजा बजाएको जस्तै हुन्छ। त्यसरी बजाउने हो भने बाँसुरी वा वीणामा कुनचाहिँ धुन बजाएको हो, कसरी थाह पाउन सकिन्छ र? ८ हुन पनि बिगुल बजाउनेले प्रस्ट बुझिनेगरि बजाएन भने युद्धको निम्ति को तयार होला? ९ त्यसैगरि तिमीहरूको जिब्रोले पनि सजिलै बुझ्न नसकिने बोली बोल्यो भने के बोलेको हो, कसरी थाह पाउने? वास्तवमा तिमीहरू हावामा बोलिरहेका हुनेछौ। १० संसारमा धेरै किसिमका भाषा होलान्‌ तैपनि कुनै भाषा अर्थहीन हुँदैन। ११ यसकारण यदि बोलेको कुराको अर्थ मैले बुझिनँ भने त्यो बोल्ने मानिसको लागि म विदेशीजस्तो अनि मेरो लागि ऊ विदेशीजस्तो हुनेछ। १२ त्यसैले तिमीहरूले पनि पवित्र शक्‍तिका वरदानहरू पाउने तीव्र चाहना राखेकोले मण्डलीको उत्थानका लागि ती वरदानहरू प्रशस्त मात्रामा पाउने कोसिस गर।+

१३ त्यसकारण अरू भाषा बोल्नेले आफूले बोलेको कुरा उल्था* गर्न सकूँ भनेर प्रार्थना गरोस्‌।+ १४ किनकि यदि मैले अर्को भाषामा प्रार्थना गरिरहेको छु भने आफूले पाएको पवित्र शक्‍तिको वरदानद्वारा मैले प्रार्थना गरिरहेको हुन्छु तर मेरो दिमागले भने त्यो बुझ्न सक्दैन। १५ त्यसोभए के गर्ने त? म पवित्र शक्‍तिको वरदानद्वारा प्रार्थना गर्नेछु तर म आफ्नो दिमागले पनि बुझेर गर्नेछु। म पवित्र शक्‍तिको वरदानद्वारा स्तुतिगान गाउनेछु तर म आफ्नो दिमागले पनि बुझेर गाउनेछु। १६ तिमीले पवित्र शक्‍तिको वरदानद्वारा आफ्नो प्रार्थनामा स्तुति चढाउँदा तिमीहरूमाझ भएको साधारण मानिसले तिमीले भनेको कुरा बुझेकै छैन भने तिमीले चढाएको धन्यवादको प्रार्थनाको लागि उसले कसरी “आमिन” भन्‍ने? १७ हो, तिमीले राम्ररी धन्यवादको प्रार्थना चढाइरहेका हुन्छौ तर अर्को मानिसको उत्थान भइरहेको भने हुँदैन। १८ म परमेश्‍वरलाई धन्यवाद चढाउँछु कि तिमीहरू सबैले भन्दा म धेरै भाषामा बोल्छु। १९ यद्यपि मण्डलीमा अरू भाषामा १० हजार शब्द बोल्नुभन्दा त आफ्नो दिमागले बुझेर पाँच शब्द बोल्नु नै मलाई बेस लाग्छ ताकि अरूलाई निर्देशन* दिन सकूँ।+

२० हे भाइ हो, समझशक्‍ति चलाउने मामिलामा साना केटाकेटी नहोओ+ तर खराबीको मामिलामा साना केटाकेटी होओ+ अनि समझशक्‍ति चलाउने मामिलामा पूरा बढेका मानिसहरू होओ।+ २१ मोसाको व्यवस्थामा लेखिएको छ: “‘विदेशीहरूको भाषामा र अपरिचितहरूको बोलीमा* म यी मानिसहरूसित कुरा गर्नेछु तैपनि तिनीहरूले मेरो कुरा सुन्‍नेछैनन्‌,’ यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ।”+ २२ यसकारण विभिन्‍न भाषा भनेको विश्‍वास गर्नेहरूका निम्ति होइन तर विश्‍वास नगर्नेहरूका निम्ति चिन्ह हो।+ अर्कोतिर भविष्यवाणीचाहिँ विश्‍वास नगर्नेहरूका निम्ति होइन तर विश्‍वास गर्नेहरूका निम्ति चिन्ह हो। २३ त्यसकारण यदि सम्पूर्ण मण्डली एकसाथ भेला भएर सबैले विभिन्‍न भाषामा बोलिरहेको बेला सर्वसाधारण वा विश्‍वास नगर्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूको दिमाग खुस्केछ भन्दैनन्‌ र? २४ तर यदि तिमीहरू सबैले भविष्यवाणी गरिरहेको बेला विश्‍वास नगर्ने वा सर्वसाधारण कोही त्यहाँ आयो भने तिमीहरू सबैको वचनले उसलाई सुधार्छ र आफूलाई राम्ररी केलाउन उत्प्रेरित गर्छ। २५ तब उसको मनमा भएका गोप्य कुराहरू प्रकट हुन्छन्‌ र उसले घोप्टो परेर परमेश्‍वरको उपासना गर्दै यसो भन्‍नेछ: “परमेश्‍वर साँच्चै तपाईँहरूमाझ हुनुहुँदो रहेछ।”+

२६ भाइहरू हो, त्यसोभए के गर्नुपर्ने हो त? तिमीहरू एकसाथ भेला हुँदा एक जनाले परमेश्‍वरको भजन गाउँछ, अर्कोले सिकाउँछ, अर्कोले परमेश्‍वरबाट पाएको सन्देश प्रकट गर्छ, अर्कोले विदेशी भाषा बोल्छ अनि अर्कोले उल्था गरिदिन्छ।+ सबै कुरा एकअर्काको उत्थानको निम्ति होस्‌। २७ यदि कसैले अर्को भाषा बोल्छ भने बढीमा दुई वा तीन जनाले मात्र बोलून्‌, त्यो पनि पालैसित; अनि कसैले त्यसको उल्था* गरोस्‌।+ २८ तर यदि त्यहाँ उल्था गर्ने कोही छैन भने तिनीहरू मण्डलीमा चुपचाप बसून्‌ र मनमनै परमेश्‍वरसित बोलून्‌। २९ दुई वा तीन जना भविष्यवक्‍ता+ बोलून्‌ अनि अरूले त्यसको अर्थ बुझून्‌। ३० तर यदि अर्को व्यक्‍तिले परमेश्‍वरबाट केही सन्देश पायो भने जो बोलिरहेको छ, ऊचाहिँ चुप लागोस्‌। ३१ तिमीहरू सबैले पालैसित भविष्यवाणी गर्न सक्छौ ताकि सबैले सिकून्‌ र सबैले प्रोत्साहन पाऊन्‌।+ ३२ अनि पवित्र शक्‍तिद्वारा भविष्यवाणी गर्ने आफ्नो वरदानलाई भविष्यवक्‍ताहरूले काबूमा राखून्‌। ३३ किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।+

पवित्र जनहरूका सबै मण्डलीमा जस्तै ३४ स्त्रीहरू मण्डलीमा चुपचाप रहून्‌ किनकि तिनीहरूलाई बोल्ने अनुमति छैन।+ मोसाको व्यवस्थाले पनि बताएझैँ तिनीहरू अधीनमा रहून्‌।+ ३५ तर यदि तिनीहरू केही कुरा बुझ्न चाहन्छन्‌ भने घरमा आ-आफ्ना पतिलाई नै सोधून्‌ किनकि स्त्रीको लागि मण्डलीमा बोल्नु अपमानजनक कुरा हो।

३६ के परमेश्‍वरको वचन तिमीहरूबाट निस्केको हो र? वा के यो तिमीहरूलाई मात्र दिइएको हो र?

३७ यदि कसैले आफूलाई भविष्यवक्‍ता वा पवित्र शक्‍तिको वरदान पाएको मानिस ठान्छ भने मैले तिमीहरूलाई लेखेका यी कुराहरू प्रभुकै आज्ञा हुन्‌ भनी उसले स्विकारोस्‌। ३८ तर यदि कसैले यी कुराहरूलाई तिरस्कार गर्छ भने उसलाई पनि तिरस्कार गरिनेछ।* ३९ त्यसैले मेरा भाइहरू हो, भविष्यवाणी गर्ने काममा मेहनत गरिरहो+ तर विभिन्‍न भाषा बोल्नेहरूलाई पनि नरोक।+ ४० तर सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले होस्‌।+

१५ हे भाइ हो, अब म तिमीहरूलाई त्यही सुसमाचार सम्झाउन चाहन्छु, जुन मैले तिमीहरूलाई घोषणा गरेको थिएँ+ र तिमीहरूले स्विकारेका पनि थियौ अनि त्यसमा तिमीहरू दृढ छौ। २ तिमीहरूले मबाट सुनेको सुसमाचारलाई बलियोगरि पक्रिराख्यौ भने तिमीहरूको उद्धार हुनेछ नत्र त तिमीहरू बेकारमा येसुको चेला बनेका हुनेछौ।

३ किनकि आफूले पाएका कुराहरू मैले तिमीहरूलाई सुम्पिदिएँ र तीमध्ये सबैभन्दा महत्त्वपूर्ण यही हो कि धर्मशास्त्रमा लेखिएबमोजिमै ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो+ ४ अनि उहाँलाई गाडियो,+ हो, धर्मशास्त्रमा लेखिएबमोजिमै+ उहाँ तेस्रो दिनमा+ ब्युँताइनुभयो।+ ५ अनि उहाँ केफासकहाँ* देखा पर्नुभयो+ र त्यसपछि ती बाह्रै जनाकहाँ देखा पर्नुभयो।+ ६ त्यसपछि उहाँ एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो,+ जसमध्ये धेरैजसो हामीसितै छन्‌ तर कोही भने मृत्युको चिर निद्रामा परिसकेका छन्‌। ७ यसपछि उहाँ याकुबकहाँ+ अनि त्यसपछि सबै प्रेषितकहाँ देखा पर्नुभयो।+ ८ तर अन्तमा उहाँ मकहाँ पनि देखा पर्नुभयो।+ त्यसैले म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ।

९ प्रेषितहरूमध्ये म सबैभन्दा सानो हुँ र म प्रेषित भनिन लायक पनि छैनँ किनभने मैले परमेश्‍वरको मण्डलीको खेदो गरेँ।+ १० तर म जे हुँ, त्यो परमेश्‍वरको असीम अनुग्रहले गर्दा भएको हुँ। अनि उहाँले मलाई देखाउनुभएको असीम अनुग्रह बेकार साबित भएन किनकि मैले तिनीहरू सबैले भन्दा धेरै मेहनत गरेँ अनि त्यो म आफैले त होइनँ तर परमेश्‍वरले मलाई देखाउनुभएको असीम अनुग्रहले गरेको हो। ११ चाहे मैले होस्‌ वा तिनीहरूले, हामीले यही कुरा प्रचार गरिरहेका छौँ अनि तिमीहरूले यही कुरामा विश्‍वास गरेका छौ।

१२ अब यदि ख्रिष्ट मृत्युबाट ब्युँताइनुभयो भनेर हामी प्रचार गर्छौँ भने+ मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भनी तिमीहरूमध्ये कोही-कोही कसरी भन्छौ? १३ वास्तवमा यदि मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भने ख्रिष्ट पनि ब्युँताइनुभएको छैन। १४ तर यदि ख्रिष्ट ब्युँताइनुभएको छैन भने हाम्रो प्रचारकार्य साँच्चै बेकार हो र तिमीहरूको विश्‍वास पनि बेकार हो। १५ यसबाहेक परमेश्‍वरले ख्रिष्टलाई ब्युँताउनुभयो भनेर+ हामीले परमेश्‍वरको विरुद्धमा झूटो साक्षी पनि दिइरहेका हुन्छौँ+ किनभने परमेश्‍वरले मरेकाहरूलाई वास्तवमा ब्युँताउनुहुन्‍न भने उहाँले ख्रिष्टलाई पनि ब्युँताउनुभएन। १६ किनकि यदि मरेकाहरू नब्युँताइने हुन्‌ भने ख्रिष्ट पनि ब्युँताइनुभएको छैन। १७ साथै यदि ख्रिष्ट ब्युँताइनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ हो; तिमीहरू अझै पनि आफ्ना पापैमा छौ।+ १८ यसो हो भने मृत्युको चिर निद्रामा परेका ख्रिष्टका चेलाहरू पनि सधैँको लागि नष्ट भए।+ १९ यदि हामीले यस जीवनको लागि मात्र ख्रिष्टमा आशा राखेका हौँ भने हामी मानिसहरूमध्ये सबैभन्दा दयनीय हौँ।

२० तर अब ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल हुनुहुन्छ।+ २१ किनकि एकै जना पुरुषले गर्दा मृत्यु आयो,+ त्यसकारण मरेकाहरू पनि एकै जना पुरुषद्वारा फेरि जीवित पारिनेछन्‌।+ २२ जसरी आदमले गर्दा सबै मर्दै छन्‌,+ त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।+ २३ तर हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई।+ त्यसपछि जो ख्रिष्टका हुन्‌, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।+ २४ यसपछि उहाँले सबै सरकार, सबै अख्तियार र शक्‍तिलाई नामेट पारेपछि अन्तमा परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ, जो उहाँको बुबा हुनुहुन्छ।+ २५ किनकि परमेश्‍वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले राजाको रूपमा शासन गर्नै पर्छ।+ २६ सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।+ २७ किनकि परमेश्‍वरले “सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो।”+ तर ‘सबै कुरा पाउमुनि राखिएका छन्‌’+ भन्‍नुको अर्थ परमेश्‍वर पनि ख्रिष्टको अधीनमा हुनुहुनेछ भन्‍ने चाहिँ होइन तर परमेश्‍वरले नै सबै कुरा ख्रिष्टको अधीनमा राखिदिनुहुनेछ भन्‍ने हो।+ २८ तर जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌ भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै+ अधीनमा बस्नुहुनेछ।+

२९ नत्र भने मृत्युको निम्ति बप्तिस्मा भइरहेकाहरूले के गर्ने?+ मरेकाहरू नब्युँताइने हुन्‌ भने मृत्युको निम्ति तिनीहरूको बप्तिस्मा किन भइरहेको छ त? ३० हामी पनि किन हरघडी खतरामा परिरहन्छौँ?+ ३१ म दिनहुँ मृत्युको सामना गर्छु। भाइहरू हो, यो कुरा त्यति नै पक्का छ, जति हाम्रा प्रभु ख्रिष्ट येसुमा म तिमीहरूको विषयमा गर्व गर्छु भन्‍ने कुरा पक्का छ। ३२ यदि अरू मानिसले जस्तै* मैले पनि एफिससमा जङ्‌गली जनावरहरूसित लडेको भए+ मलाई के फाइदा हुन्थ्यो र? यदि मरेकाहरू ब्युँताइनेछैनन्‌ भने “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”+ ३३ नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।*+ ३४ होसमा आओ, असल काम गर र पाप गर्न छोडिदेओ किनकि कसै-कसैसित परमेश्‍वरको ज्ञान छैन। तिमीहरूलाई सरममा पार्न मैले यसो भनेको हुँ।

३५ तैपनि कसैले सोध्ला: “मरेकाहरू कसरी ब्युँताइनेछन्‌? तिनीहरू कस्तो किसिमको शरीर लिएर आउनेछन्‌?”+ ३६ ए बेसमझ मानिस! तिमी जे छर्छौ, पहिले त्यो नमरीकन फेरि जीवित हुँदैन। ३७ अनि तिमी जे छर्छौ, त्यो उम्रिसकेको बिरुवा* होइन तर गेडा मात्र हो, चाहे त्यो गहुँको होस्‌ वा अरू कुनै अन्‍नको। ३८ तर परमेश्‍वरले त्यसलाई आफ्नो इच्छाअनुसारको शरीर दिनुहुन्छ अनि हरेक बिउलाई आ-आफ्नै शरीर दिनुहुन्छ। ३९ सबै शरीर एकै किसिमका हुँदैनन्‌, मानिसको शरीर एक किसिमको, गाईवस्तुको अर्कै किसिमको, चराचुरुङ्‌गीको अर्कै किसिमको र माछाको अर्कै किसिमको हुन्छ। ४० त्यसैगरि स्वर्गीय शरीर+ र पार्थिव शरीर पनि छन्‌+ तर स्वर्गीय शरीरको महिमा एक किसिमको हुन्छ अनि पार्थिव शरीरको महिमा अर्कै किसिमको। ४१ सूर्यको महिमा एक किसिमको हुन्छ, चन्द्रमाको महिमा अर्कै किसिमको हुन्छ+ अनि ताराको महिमा अर्कै किसिमको हुन्छ; भनौँ भने हरेक ताराको महिमा फरक-फरक हुन्छ।

४२ मरेकाहरू फेरि जीवित हुँदा पनि त्यस्तै हुन्छ। जुन शरीर छरिन्छ, त्यो विनाशी हुन्छ तर जुन शरीर ब्युँताइन्छ, त्यो अविनाशी हुन्छ।+ ४३ अनादरमा छरिएको शरीर महिमामा ब्युँताइन्छ।+ दुर्बलतामा छरिएको शरीर शक्‍तिमा ब्युँताइन्छ।+ ४४ रगत र मासुको शरीर छरिन्छ, अदृश्‍य शरीर ब्युँताइन्छ। रगत र मासुको शरीर हुन्छ भने अदृश्‍य शरीर पनि हुन्छ। ४५ यस्तो लेखिएको छ: “पहिलो आदम जीवित मानिस भए।”+ अन्तिम आदमचाहिँ जीवन दिने अदृश्‍य व्यक्‍ति भए।+ ४६ तैपनि पहिलो शरीर अदृश्‍य होइन, रगत र मासुको हो तर पछिल्लोचाहिँ अदृश्‍य हो। ४७ पहिलो मानिस पृथ्वीको हो र माटोले बनेको हो;+ दोस्रो मानिसचाहिँ स्वर्गका हुन्‌।+ ४८ माटोले बनेको त्यो मानिस जस्तो थियो, माटोले बनेका अरू पनि त्यस्तै छन्‌। अनि ती स्वर्गीय जन जस्ता छन्‌, अरू स्वर्गीय जन पनि त्यस्तै छन्‌।+ ४९ अनि जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ,+ त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।+

५० तथापि हे भाइ हो, म तिमीहरूलाई भन्छु, रगत र मासु परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन न त जे विनाशी छ, त्यो अविनाशीको हकदार हुन सक्छ। ५१ हेर! म तिमीहरूलाई एउटा पवित्र रहस्य बताउँछु: हामी सबै जना मृत्युको चिर निद्रामा पर्नेछैनौँ तर हामी सबैको परिवर्तन हुनेछ,+ ५२ एकै क्षणमा, आँखाको एक निमेषमा,* बिगुलको अन्तिम आवाजको दौडान। किनकि बिगुल फुकिनेछ+ अनि मरेकाहरू अविनाशी भएर ब्युँताइनेछन्‌ र हाम्रो परिवर्तन हुनेछ। ५३ किनकि यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्नै पर्छ+ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्नै पर्छ।+ ५४ जब यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्छ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्छ, तब लेखिएको यो भनाइ पूरा हुनेछ: “मृत्युलाई सधैँको निम्ति निलियो।”+ ५५ “ए मृत्यु, तेरो विजय खोइ? ए मृत्यु, तेरो खील खोइ?”+ ५६ पाप त्यो खील हो, जसले मृत्यु निम्त्याउँछ+ र पापको शक्‍ति मोसाको व्यवस्था हो।*+ ५७ तर परमेश्‍वरलाई धन्यवाद छ किनकि हाम्रा प्रभु येसु ख्रिष्टद्वारा उहाँले हामीलाई विजयी तुल्याउनुहुन्छ!+

५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+

१६ अब पवित्र जनहरूको निम्ति उठाइने चन्दाको विषयमा+ गलातियाका मण्डलीहरूलाई मैले जे निर्देशन दिएँ, तिमीहरू पनि त्यहीबमोजिम गर्न सक्छौ। २ हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो औकातअनुसार केही छुट्ट्याएर राख्नू ताकि म आउँदा चन्दा सङ्‌कलन गर्न नपरोस्‌। ३ अनि तिमीहरूले आफ्ना पत्रहरूमा ज-जसलाई सिफारिस गरेका छौ, म त्यहाँ आएपछि तिनीहरूलाई नै तिमीहरूले राजीखुसीले दिएको चन्दा दिएर यरुसलेम पठाउँला।+ ४ तथापि म आफै त्यहाँ जान उपयुक्‍त भयो भने तिनीहरू पनि मसँगै जानेछन्‌।

५ तर म्यासिडोनियाको यात्रा गरेपछि म तिमीहरूकहाँ आउनेछु किनभने म म्यासिडोनिया भएरै आउनेछु+ ६ अनि सायद म तिमीहरूकहाँ केही दिन वा हिउँदभरि बसुँला, त्यसपछि म जहाँ जाउँला, तिमीहरूले मलाई अलि परसम्म पुऱ्‍याइदिनू। ७ अहिले म तिमीहरूलाई यात्राको बीचमा एकैछिनको लागि मात्र भेटेर जान चाहन्‍नँ किनकि यहोवा* परमेश्‍वरको अनुमति भए तिमीहरूसित केही समय बिताउने आशा मैले राखेको छु।+ ८ तर पेन्तिकोसको चाड नसिद्धिएसम्म म एफिससमै बस्छु+ ९ किनकि सेवा गर्ने मौकाको ठूलो ढोका मेरो निम्ति खुलेको छ+ तर विरोध गर्नेहरू पनि धेरै छन्‌।

१० यदि तिमोथि+ तिमीहरूकहाँ आए भने तिमीहरूले तिनलाई ढुक्क महसुस गराउनू किनकि मजस्तै तिनी पनि यहोवा* परमेश्‍वरको काम गर्दै छन्‌।+ ११ तसर्थ कसैले तिनलाई हेला नगरोस्‌। बरु तिनलाई सकुशल बिदा गरिदेओ ताकि तिनी यहाँ मकहाँ आउन सकून्‌ किनकि म र अरू भाइहरू तिनलाई पर्खिरहेका छौँ।

१२ अब हाम्रा भाइ अपोल्लसलाई+ भाइहरूसँगै तिमीहरूकहाँ जान मैले निकै आग्रह गरेको थिएँ तर तिनी अहिले तिमीहरूकहाँ आउन चाहेनन्‌। तर पछि मौका मिलेपछि तिनी आउनेछन्‌।

१३ जागा रहो,+ विश्‍वासमा स्थिर भएर बस,+ साहसी होओ,*+ पराक्रमी हुँदै जाओ।+ १४ तिमीहरूबीच सबै काम प्रेमपूर्वक होस्‌।+

१५ अब हे भाइ हो, स्तिफनासको घराना अखैयाको पहिलो फल हुन्‌ र पवित्र जनहरूको सेवामा तिनीहरूले आफैलाई अर्पण गरेका छन्‌ भनेर तिमीहरूलाई थाहै छ। त्यसैले म तिमीहरूलाई यस्तो आग्रह गर्छु: १६ तिमीहरू पनि यस्ता मानिसहरूको अनि सहयोग गर्ने र मेहनत गर्ने सबैको अधीनमा बस्ने गर।+ १७ तर स्तिफनास,+ फोर्टुनाटस र अखाइकस यहाँ भएकोले म खुसी छु किनकि तिनीहरूले मलाई तिमीहरूको कमी महसुस हुन दिएका छैनन्‌। १८ तिनीहरूले मलाई अनि तिमीहरूलाई स्फूर्ति दिएका छन्‌। त्यसैले यस्ता मानिसहरूको कदर गर।

१९ एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। अक्विला र प्रिस्का अनि तिनीहरूको घरमा भेला हुने मण्डलीले+ तिमीहरूलाई प्रभुमा हार्दिक अभिवादन पठाएका छन्‌। २० सबै भाइले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गर।

२१ अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु।

२२ यदि कसैले प्रभुलाई माया गर्दैन भने त्यो श्रापित होस्‌। हे हाम्रा प्रभु, आउनुहोस्‌! २३ प्रभु येसुको असीम अनुग्रह तिमीहरूसित रहोस्‌। २४ तिमीहरू सबै, जो ख्रिष्ट येसुका चेलाहरू हौ, तिमीहरूलाई मेरो प्रेम।

शब्दावली हेर्नुहोस्‌।

तिनलाई पत्रुस पनि भनिन्छ।

वा “छट्टु बोलीमा।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, मोसाको व्यवस्थामा पोख्त व्यक्‍तिहरू।

वा “मानिसहरूको स्तरअनुसार।”

वा “गण्यमान्य परिवारका होइनौ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “खम्बामा मार्ने।”

वा “परमेश्‍वरसित सम्बन्धित कुराहरू।”

वा “पवित्र शक्‍तिद्वारा पाएका शब्दहरूमार्फत।”

वा “ती कुराहरू परमेश्‍वरको पवित्र शक्‍तिद्वारा।”

वा “पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने।”

वा “दुवैको एउटै उद्देश्‍य छ।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

तिनलाई पत्रुस पनि भनिन्छ।

वा “ख्रिष्टको अधीनमा बसेर काम गर्ने।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “नाङ्‌गा छौँ।”

वा “मुक्का।”

शा., “हामी बिन्ती गर्छौँ।”

वा “फोहोर।”

वा “शिक्षक।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “मौखिक दुर्व्यवहार गर्छ।”

वा “धोकामा नपर।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुषहरू।”

वा “मौखिक दुर्व्यवहार गर्नेहरू।”

वा “जायज।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

अर्थात्‌, यौनसम्बन्ध राख्नको लागि नछुनु।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “छुट्टिन।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “जसले कहिल्यै विवाह गरेका छैनन्‌।”

शा., “फन्दामा पार्न।”

वा “यदि कसैलाई आफ्नो कौमार्य अवस्थासित अनुचित व्यवहार गरिरहेको छु भन्‍ने लाग्छ।”

वा “कौमार्य अवस्थामै रहिरहने।”

वा “विवाह गरेर आफ्नो कौमार्य गुमाउनेले।”

तिनलाई पत्रुस पनि भनिन्छ।

वा “परमेश्‍वरका कुराहरू।”

वा “हरेक खेलाडीले।”

वा “सजाय दिन्छु; कडा अनुशासनमा राख्छु।”

वा “त्यो चट्टान ख्रिष्ट हुनुहुन्थ्यो।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतहरूलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “जायज।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

यसले परमेश्‍वरसितको तिनीहरूको सम्बन्ध टुटिसकेको कुरालाई जनाएको हुनुपर्छ।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “परमेश्‍वरले दिनुहुने वरदानहरूका।”

शा., “तिमीहरू अन्यजातिका मानिसहरू हुँदा।”

वा “बुद्धिको सन्देश सुनाउने।”

वा “अनुवाद।”

वा “जोसका साथ खोजिरहो।”

वा “म बेकारको हुँ।”

वा “गल्तीको।”

वा “असफल हुँदैन।”

अर्थात्‌, चमत्कारी ढङ्‌गमा अरू भाषामा बोल्ने क्षमता।

वा “सही।”

वा “परमेश्‍वरले दिनुहुने वरदानहरू।”

वा “जोसका साथ खोजिरहो।”

वा “अनुवाद।”

वा “अनुवाद।”

वा “मौखिक निर्देशन।”

शा., “ओठमा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “अनुवाद।”

वा सम्भवतः “कोही अनजान रहन्छ भने अनजानै रहिरहोस्‌।”

तिनलाई पत्रुस पनि भनिन्छ।

वा सम्भवतः “मानिसको दृष्टिकोणअनुसार।”

वा “नैतिकतालाई भ्रष्ट पार्छ।”

शा., “शरीर।”

वा “एक झिम्काइमा।”

वा “मोसाको व्यवस्थाले पापलाई शक्‍ति दिन्छ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “पुरुषार्थ देखाइरहो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने